KATHMANDU WEATHER
Horizontal Scroll Menu
कार्यपालिका सदस्य देखि सांसदसम्म : सुशिल कुमार कानुको राजनीतिक यात्रा

कार्यपालिका सदस्य देखि सांसदसम्म : सुशिल कुमार कानुको राजनीतिक यात्रा

वीरगंज २३ फाल्गुन । पर्सा क्षेत्रको राजनीतिमा सक्रिय रहँदै आएका सुशिल कुमार कानु स्थानीय तहबाट सुरु भएको आफ्नो राजनीतिक यात्रालाई संघीय संसदसम्म पु¥याउन सफल भएका छन् । जनताको विश्वास र निरन्तर सक्रियताका कारण उनले कार्यपालिका सदस्य देखि सांसदसम्मको यात्रा तय गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा सुशिल कुमार कानु वीरगंज महानगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । कार्यपालिका सदस्यका रूपमा उनले स्थानीय विकास, जनसेवा र सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।

त्यसपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले वीरगंज महानगरपालिका वडा नम्बर १० बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उक्त निर्वाचनमा उनी वडाध्यक्षमा निर्वाचित हुँदै स्थानीय तहको नेतृत्व सम्हालेका थिए । वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले वडाको विकास, सरसफाइ, सडक तथा आधारभूत सेवामा सुधारका लागि विभिन्न पहल गरेका थिए ।

यसै राजनीतिक सक्रियता र जनसमर्थनका आधारमा २०८२ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा सांसदमा निर्वाचित भएका छन् । स्थानीय तहबाट सुरु भएको उनको राजनीतिक यात्रा अब संघीय संसदसम्म पुगेको छ ।

कानुले पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका अजय चौरसियालाई पछि पार्दै राजनीतिमा नयाँ अध्याय सुरु गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कानुले ३० हजार ७ सय ४० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौरसियाले ११ हजार ८ सय ९० मत प्राप्त गरेका छन् । यससँगै कानुले चौरसियालाई १८ हजार ८ सय ५० मतान्तरले पराजित गरेका हुन् ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार रिमा यादवले ११ हजार ६ सय ५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन् ।

यससँगै सुशिल कुमार कानुको कार्यपालिका सदस्यदेखि वडाध्यक्ष हुँदै सांसदसम्मको यात्रा पर्सा जिल्लाको राजनीतिमा उल्लेखनीय रूपमा हेरिएको छ । स्थानीय स्तरबाट उदाएको नेतृत्व संघीय संसदसम्म पुगेको उदाहरणका रूपमा उनको राजनीतिक यात्रालाई लिइएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३