लिग २ का शीर्ष दुई टोलीसँग महत्त्वपूर्ण शृंङ्खला खेल्दै नेपाल
लिग २ को अंकतालिकामा शीर्ष २ मा रहेका दुई टोली अमेरिका र स्कटल्यान्डसँग नेपालले महत्त्वपूर्ण शृंङ्खला खेल्दै छ । नेपाल ए ले एसोसियटका यी बलिया टोलीलाई हराएकाले सिनियर टोलीमाथि पनि केही दबाब रहनेछ ।
.
- नेपाली क्रिकेट टोलीले लिग २ मा अमेरिका र स्कटल्यान्डसँग आगामी २९ वैशाखदेखि घरेलु मैदानमा महत्त्वपूर्ण शृंङ्खला खेल्नेछ।
- नेपाल ए टोलीले अमेरिका र स्कटल्यान्डसँग अभ्यास एकदिवसीय खेल खेल्दै दुवैलाई हराइसकेको छ र सिनियर टोलीमा दबाब बढेको छ।
- इशान पान्डे पहिलोपटक ओडीआई टोलीमा परेका छन् र सहायक प्रशिक्षक वसन्त शाहीले उनको प्रवेशले मिडल अर्डर बलियो हुने बताए।
२७ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टोलीले गत साता घरेलु मैदानमा लिग २ को एउटा शृंङ्खला खेल्यो । ओमान र यूएईसँगको उक्त शृंङ्खलामा ४ मध्ये ३ खेल नेपालले जितेको छ ।
नेपालले घरेलु मैदानमै फेरि अर्को शृंङ्खला खेल्दै छ । यसपटक भने नेपालले तुलनात्मक रूपमा बलिया टोलीसँग खेल्दै छ । लिग २ को अंकतालिकामा शीर्ष २ मा रहेका दुई टोली अमेरिका र स्कटल्यान्डसँग नेपालले महत्त्वपूर्ण शृंङ्खला खेल्दै छ ।
यसबीचमा नेपाल ए टोलीले भने अमेरिका र स्कटल्यान्डसँग अभ्यास एकदिवसीय खेल खेलेको छ । ए टोलीले दुवै टोलीलाई हराइसकेको पनि छ । यस्तै नेपाल ए टोलीबाट खेलेका इशान पान्डे सिनियर टोलीमा पनि परिसकेका छन् ।
लिग २ को अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको नेपालले बलियो अवस्थामा रहेका दुई टोली अमेरिका र स्कटल्यान्डमाथि जित निकाल्न सके सुनमा सुगन्धजस्तै हुनेछ । नेपालले महत्त्वूर्ण अंक हासिल गर्नेछ भने माथि रहेका टोलीलाई हराउँदा शीर्ष ४ को सम्भावना पनि बढ्न सक्छ ।
अर्कोतर्फ, नेपाल ए ले एसोसियटका यी बलिया टोलीलाई हराउँदा सिनियर टोलीमाथि पनि केही दबाब बढ्नेछ । अब खेलाडीहरूले दबाबमा रूपमा लिन्छन् वा प्रेरणाका रूपमा लिन्छन् त्यो भने हेर्न बाँकी छ ।
नेपाली टोलीका सहायक प्रशिक्षक वसन्त शाहीले खेलाडीहरूका लागि चुनौती हुने तर अवसर पनि रहेको बताएका छन् । ‘यसअघि हामी चमत्कारिक प्रदर्शन गरेर ओडीआई रिटेन र विश्वकप छनोट दुवै सिधै गर्यौं । अब सधैं चमत्कार पनि हुँदैन’ शाहीले भने, ‘आगामी सबै खेल जित्ने आशा चाहिँ गर्न सकिन्छ । नभएपनि १२ मध्ये कम्तीमा १० खेल जित्ने लक्ष्य राख्नुपर्छ । त्यसका लागि घरेलु सिरिज नै महत्त्वपूर्ण हुन्छ ।’
नेपाल ए को प्रदर्शन, सिनियर टिमलाई चुनौती
लिग २ को आगामी शृंङ्खला खेल्न नेपाल आइसकेका अमेरिका र स्कटल्यान्डले नेपाल ए टोलीसँग अभ्यास एकदिवसीय खेलिसकेका छन् । स्कटल्यान्डसँग दुवै अभ्यास खेल नेपाल ए ले जितिसकेको छ भने अमेरिकालाई पनि एक खेलमा हराइसकेको छ र अर्को खेल सोमबार हुँदैछ ।
नेपाल ए टोलीले यसअघि ओमानसँग पनि एकदिवसीय खेलेको थियो जहाँ एक जित र एक हारको नतिजा निकालेको थियो ।
नेपाल ए को टोलीबाट युवा खेलाडीहरूले राम्रो प्रदर्शन गर्दै एसोसियटकै बलिया टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । अभ्यास खेल मात्र भएपनि यी खेलले विपक्षीलाई मानसिक रूपमा केही सचेत गराउन भूमिका खेल्ने नेपाल ए का खेलाडीहरूले उल्लेख गर्दै आएका छन् ।
नेपाल ए ले गरेको यो प्रदर्शनबाट सिनियर टिममा पनि एकप्रकारको दबाब बढेको छ । सिनियर टिमले पनि अब जितको नतिजा निकाल्नु पर्ने देखिन्छ । एकतर्फ नेपाल लिग २ मा चुनौतीपूर्ण अवस्थामा छ र यहाँबाट धेरैभन्दा धेरै खेल जित्न आवश्यक छ । त्यसमाथि पनि घरेलु शृङ्खला भएकाले नेपाल धेरैभन्दा धेरै अंक बटुल्न चाहन्छ ।
ए टिमको राम्रो प्रदर्शनबाट मनोवैज्ञानिक रूपले सिनियर टिमलाई केही फाइदा पनि हुने सहायक प्रशिक्षक शाहीले बताए । ‘अब ए टिमसँग हारेपछि उनीहरूको मनोबल केही कम पक्कै भएको छ, त्यहीभएर उनीहरू अलिकति दबाबमा चाहिँ खेल्ने नै छन् । त्यसको फाइदा हामीले लिन सक्नुपर्छ’ शाहीले भनेका छन् ।
‘विपक्षी टोलीले पनि कमब्याक सोचेको हुन्छ । ए टिमसँग हारेर राष्ट्रिय टोलीसँग खेल्दा उनीहरू सतर्क पनि हुन्छन् । टिमले यो कुरालाई कसरी लिन्छ भन्ने कुरा हो, उनीहरूले त्यही कुरामा ध्यान दिए भने उनीहरूलाई पनि फाइदाको कुरा हुन सक्छ’ शाहीले थपे ।
इशानको ‘इन्ट्री’
बाँयाहाते ब्याटर इशान पान्डे नेपालको ओडीआई टोलीमा पहिलोपटक परेका छन् । इशानले टी-२०आईमा ७ वर्षअघि डेब्यू गरिसकेको भएपनि ओडीआईमा भने मौका पाएकै थिएनन् ।
उनले सन् २०१९ मा नेपालका लागि टी-२०आई डेब्यू गरेका थिए । टी-२०आईमा इशानले नेपालका लागि ४ खेल खेलेका छन् । चारवटै खेल २०१९ मा खेलेका हुन् भने त्यसयता राष्ट्रिय टोलीबाट खेलेका छैनन् ।
इशानले गत संस्करणको जय ट्रफीमा शतकसहितको प्रदर्शन गरेपछि लिग २ का लागि क्याम्पमा परेका थिए । तर त्यसपछि पश्चिम एसियाको युद्धका कारण लिग २ स्थगित भएको थियो ।
यसबीचमा पीएम कप पनि भयो । पीएम कपपछि लिग २ को टोली घोषणा हुँदा भने इशान टोलीमा परेनन् । तर अब भने नेपाल ए बाट पनि राम्रो गर्दै आएका इशान सिनियर राष्ट्रिय टोलीमा परेका हुन् ।
इशानले राष्ट्रिय टोलीबाट खेल्न पाउँदा उत्साहित रहेको बताएका छन् । ‘लामो समयपछि टिममा मौका पाएको छु, आफ्नो बेस्ट दिनेछु । एकदम गाह्रो अवस्थामा टिममा परेको छु, अब राम्रो खेल्नैपर्ने अवस्था छ’ इशानले भनेका छन् ।
नेपालको मिडल अर्डरले राम्रो गर्न नसकिरहेको अवस्थामा इशानको प्रवेशले मिडल अर्डरको प्रदर्शन ब्यालेन्स पनि गर्न सक्छन् । यसका बाबजुद इशानले पार्ट टाइम स्पिन पनि गर्न सक्छन् । बसिरको स्थानमा टिममा आएका इशानको मुख्य जिम्मेवारी भने ब्याटिङमै रहनेछ ।
सहायक प्रशिक्षक शाहीले पनि बाँयाहाते ब्याटर मिडल अर्डरमा हुँदा सशक्त हुने बताए । ‘दुवै टोलीमा लेफ्ट आर्म बलरहरू पनि छन् । हाम्रो मिडल अर्डरमा इशान हुनुले ब्याटिङमा पनि एउटा ब्यालेन्स बनाउँछ । इशानले राम्रो पनि गरिरहेको छ, बलिङ विकल्प पनि रहन्छ’ शाहीले भने ।
पछिल्लो लय र हेड टु हेड
लिग २ को अंकतालिकामा अमेरिका र स्कटल्यान्ड शीर्ष २ मा भएका टोलीहरू हुन् । अमेरिकाले २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा ३४ अंकका साथ दोस्रोमा छ ।
नेपालले भने २४ खेलमा १८ अंक मात्र जोडेर सातौं स्थानमा छ । नेपालभन्दा माथि क्यानडाको २४ खेलमा २१ अंक छ भने नामिबियाको २८ खेलमा २२ अंक, नेदरल्यान्ड्सको २४ खेलमा २८ अंक छ । ओमानको २८ खेलमा ३१ अंक छ ।
हेड टु हेडको कुरा गर्दा नेपालले अमेरिकासँग ४ खेल जित्दा ६ खेलमा पराजित भएको छ । एक खेल टाइ भएको छ । घरेलु मैदानमा भएका दुवै खेल नेपालले जितेको छ ।
पछिल्लोपटक कीर्तिपुरमा यी दुई टोली सन् २०२० मा भिडेका थिए जहाँ नेपालले अमेरिकालाई एक खेलमा ३५ रनमै अलआउट समेत गरेको थियो ।
यता स्कटल्यान्डसँग भने नेपालले ५ खेल जित्दा ४ खेलमा पराजित भएको छ । नेपालले स्कटल्यान्डसँग पनि घरेलु मैदानमा भएका दुवै खेल जितेको छ ।
पछिल्लोपटक भने यूएईमा भएको शृंङ्खलामा नेपाल अमेरिकासँग दुवै खेलमा पराजित भएको थियो भने स्कटल्यान्डमा भएको शृंङ्खलामा स्कटल्यान्डसँग १ खेल जित्दा १ खेलमा पराजित भएको थियो ।
***
नेपाल, अमेरिका र स्कटल्यान्डबीचको लिग २ शृंङ्खला आउँदो मंगलबार (२९ वैशाख) देखि सुरु हुँदैछ ।
नेपालले स्कटल्यान्डसँग २९ वैशाखमा खेल्नेछ भने २ जेठमा अमेरिकासँग, ४ जेठमा स्कटल्यान्डसँग अनि ८ जेठमा अमेरिकासँग खेल्नेछ ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, इशान पान्डे, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल,
सोमपाल कामी, सन्दीप लामिछाने, करण के सी, ललित राजवंशी
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३