लोकप्रिय नेतालाई झ्यालखानामा थुन्ने प्रवृत्ति बन्द गरियोस् : रेशम चौधरी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले जनताबाट लोकप्रिय मत पाएका नेताहरूलाई झ्यालखानामा थुन्ने राजनीतिक प्रवृत्ति अन्त्य गर्न माग गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले मञ्चमा आसीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेतर्फ संकेत गर्दै यस्तो धारणा राखेका हुन्।
आफू विगतमा जेलमा रहेका बेला लामिछानेले भेट्न आएको प्रसंग स्मरण गर्दै चौधरीले लोकप्रिय हुनु र जनताको समर्थन पाउनु नै जेल जाने अवस्था बन्न नहुने बताए।
‘धेरै लोकप्रिय भयो र जनताले धेरै मन परायो भने जाने बाटो झ्यालखानामा रहेछ। छातीमा छ लोगो सांसद पदको, बाटो देखायो सरकार कालो कोठरीको, धेरै भोट पाएर होला झ्यालखानामा बन्द छु भन्ने अवस्था आयो,’ उनले भने, ‘आइन्दा यो कुरा बन्द गरियोस्।’
गगन थापाप्रति आशावादी
चौधरीले कांग्रेस सभापति गगन थापाप्रति भने आशा व्यक्त गरेका छन्। पुराना पुस्ताका नेताहरूले देश निर्माण गर्न नसकेको टिप्पणी गर्दै उनले अब नयाँ पुस्ताका नेताहरूबाट देशले परिवर्तनको अपेक्षा गरेको बताए।
‘हिजो सबै कपाल फुलेर आफूलाई युवा भन्नेहरूले देश बिगारे, अहिले पूरै कपाल काला भएकाहरूले पनि देश बनाउने छनक देखाएका छैनन्,’ उनले भने, ‘अब गगनजी जस्तो आधा कपाल र १०–२० वटा दाह्री फुलेका नेताले देश पक्कै बनाउँछन् भन्ने विश्वास छ।’
थारु समुदायको राजनीतिक प्रतिनिधित्वबारे प्रश्न
कांग्रेसले कमैया मुक्ति र संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै चौधरीले संविधानमा विभिन्न समुदायका अधिकार उल्लेख भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गरे।
उनले थारु समुदायको राजनीतिक प्रतिनिधित्वबारे प्रश्न गर्दै नेपालको सत्ताको नेतृत्व तहमा थारु समुदायका व्यक्ति कहिले पुग्ने भन्ने प्रश्न उठाए।
‘नेपालको संविधानमा ६.७ प्रतिशत रहेका थारुहरू सत्ताको कुर्सीमा कहिले पुग्ने ? हाम्रा थारु सेनापति, प्रधानन्यायाधीश र मुख्यसचिव कहिले हुने ?’ उनले प्रश्न गरे।
टीकापुरलाई छुट्टै जिल्ला बनाउन माग
चौधरीले ऐतिहासिक टीकापुरलाई छुट्टै जिल्ला घोषणा गर्नसमेत माग गरेका छन्। उनका अनुसार २०२७ सालमै टीकापुरलाई लिएर योजना बनेको र जेनेभाको नक्सासमेत ल्याइएको थियो। तर नेपाललाई ७७ जिल्ला बनाउँदा टीकापुरलाई छुट्टै जिल्लाका रूपमा समेटिएन।
उनले टीकापुरलाई तत्काल छुट्टै जिल्ला घोषणा गरी आवश्यक सीमांकन गर्न सरकारसँग माग गरे।
‘सबै पहिचान मिलेर नेपाल सुन्दर बन्छ’
सम्बोधनका क्रममा चौधरीले आफूले ३५० भन्दा बढी राष्ट्रिय गीत गाएको उल्लेख गर्दै नेपाल विभिन्न जातजाति, भाषा, संस्कृति र पहिचानको साझा देश भएको बताए।
उनले धोती, टोपी, माला लगायत विभिन्न समुदायका पहिचान र संस्कृतिको सम्मान गर्दै सबैको पहिचान मिलेर नै नेपाल सुन्दर बन्ने धारणा राखे।
चौधरीले राजनीतिक अधिकारसँगै सबै समुदायको पहिचान, प्रतिनिधित्व र समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






