KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
ओलीलाई बिदा गरेर तेस्रो पुस्ता नेतृत्वमा ल्याउन चाहन्छ एमाले

ओलीलाई बिदा गरेर तेस्रो पुस्ता नेतृत्वमा ल्याउन चाहन्छ एमाले

काठमाडौँ – भदौको जेनजी आन्दोलन र फागुन २१ को चुनावबाट करिब करिब संकटमा परिसकेको नेकपा (एमाले)मा तेस्रो पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बहस तीव्र भएको छ।

वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प दोस्रो तहका नेता विष्णु पौडेल, शंकर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायत नभएको भन्दै तेस्रो पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बहस र दबाब बढेको हो।

 

Call Us for Ads

भ्रातृसंगठनका केही नेता मिलेर विशेष महाधिवेशनको अभियान चलाइरहेका छन् । उनीहरूले नेतृत्व परिवर्तनको माग गर्दै दस्तावेज लेख्ने काम पनि गरिरहेका छन्। हस्ताक्षर अभियान चलाएको सूचना त्रिवि शिक्षण अस्पतालको हिरासतमा रहेका अध्यक्ष ओलीकहाँ पुगेपछि कारबाही अगाडि बढाउन खोजे। त्यसपछि युवा समयानुकूल नेतृत्व परिवर्तनको मागसहित दस्तावेज लेखनमा रहेको एक नेताले जानकारी दिए। 

ती नेताका अनुसार पदाधिकारीबाटै धेरैजनाले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर गर्ने आश्वासन दिएका थिए। तर अध्यक्ष ओलीले कारबाही अगाडि बढाउन खोजेपछि उनीहरू अर्को विकल्पमा लागेका हुन्। एमालेको पहिलो पुस्ताका रूपमा रहेका ओली र ईश्वर पोखरेल लगायतको विकल्प दोस्रो तहका पोखरेल, पौडेललगायत नभएर तेस्रो तहका हुनुपर्ने एमाले युवा नेताहरूको ठहर छ।

 

एमालेमा अहिले तेस्रो तहका नेता योगेश भट्टराई, प्रदीप ज्ञवाली, बिन्दा पाण्डे, गोकर्ण विष्ट, उषाकिरण तिमल्सेना, विद्या भट्टराई, समिक बडाल, सुहाङ नेम्बाङ, नरेश रोकाया, रचना खड्का, नवीना लामा, सुजन कडारियासहित छन् । भ्रातृसंगठन अनेरास्ववियुका नेताहरू थुप्रैले तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गरिरहेका छन् । उनीहरूले दोस्रो पुस्ता पनि ओलीसँगै बिदा हुनुपर्ने आवाज उठाइरहेका छन्।

पार्टी पुनर्गठनको माग उठिरहँदा नेतृत्वबाट अवहेलना खेप्नुपर्ने डर नेतृत्वलाई छ। पहिलो पुस्ता र दोस्रो पुस्तालाई बिदा हुन आग्रह गर्दा आफूलाई नै पार्टीबाट निष्कासन गर्ने डरका कारण धेरै नेता चुप रहेको बताइन्छ।‘पदाधिकारीबाट पनि तेस्रो तहका नेता चाँडै एउटा समझदारीमा पुग्ने सम्भावना बढेको छ। ओली उपचारका क्रममा रहेका कारण नेतृत्व परिवर्तनको एजेन्डा उठाउनु सान्दर्भिक नहुने भनेर केही समय मौन बसेका हौँ,’ एमालेका एक नेताले भने, ‘सबै एक ठाउँमा आएर पहिलो र दोस्रो तहका नेतालाई बिदा नगरेसम्म अहिलेको अवस्थामा सुधार गर्न सकिँदैन । र, त्यसो नभए जनभावनाअनुसार अगाडि बढ्न सकिँदैन। पार्टी पुनर्गठन गर्नुपर्ने अवस्था छ। अहिले प्राप्त जनादेशको सम्मान गर्दै समयानुकूल नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनलाई सबैले जरूरी ठानेका छन्।’

पार्टीमा पूर्व पदाधिकारी रहिसकेका अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले यथास्थितिमा चल्न नसक्ने एघारौँ महाधिवेशन अगाडिबाट नै उठाएका थिए। पुस अन्तिम साताको एमालेको महाधिवेशनमा पनि ओली सम्मानपूर्वक बिदा हुनुपर्ने कुरा उठेको थियो। तर उनले आफ्नो शक्ति परीक्षण गर्न नेतृत्वमा दोहोरिए । एमाले कब्जा गरे पनि फागुन २१ को निर्वाचनले उनलाई जीवनकै ठूलो धक्का दियो ।

ओलीले शक्ति हत्याएर एघारौँ महाधिवेशनबाट फेरि अध्यक्ष बनेपछि निर्वाचनमा होमिएको एमाले तेस्रो स्थानमा पुगेको छ। अहिलेसम्मकै लज्जास्पद हार व्यहोरेको एमालेले २०७९ को निर्वाचनमा ७९ सिट जितेको थियो। २०८२ को निर्वाचनमा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी जम्मा २५ सिट जितेको छ।

ओलीको विकल्प युवा पुस्ता

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित युवा नेता सुहाङ नेम्बाङले समयानुकूल नेतृत्व परिवर्तन हुनुपर्ने आवाज उठाइरहेका छन्। यो कुरा उनले पार्टीको संसदीय दलको बैठक र अन्य फोरममा राख्न थालेपछि ओलीले उनीमाथि कारबाही गर्न खोजेको देखिन्छ।

संसदीय दलको नेतामा दाबी गर्दा सुहाङलाई रोक्न ओली र महासचिव शंकर पोखरेलले सबै शक्ति लगाए । सुहाङलाई रोक्ने पक्षमा तत्कालीन उपाध्यक्ष विष्णु पौडेल पनि थिए। अहिले शक्ति सन्तुलनमा विष्णु र शंकर एकै ठाउँ उभिएको बताइन्छ। तर एमाले शीर्ष स्रोतका अनुसार विष्णु र शंकर अहिले पनि एक नभई आ–आफ्नै ढङ्गले ओलीपछिको नेतृत्व लिने दौडमा छन् ।

सार्वजनिक रूपमा युवाले तेस्रो पुस्तालाई विशेष महाधिवेशन गरेर नेतृत्व सुम्पिनुपर्ने आवाज उठाइरहँदा ओली पक्षीय युवाहरू उनीहरूलाई छानीछानी कारबाही गर्ने तयारीमा देखिन्छन्। विशेषतः प्रतिनिधिसभामा ताप्लेजुङबाट निर्वाचित क्षितिज थेबे, एमाले सचिव महेश बस्नेत, पूर्व सांसद महेश बर्तौला लगायतका नेता ओलीलाई अगाडि बढाउने पक्षमा छन्।

अहिले केही नेताले शक्ति सन्तुलनका लागि पूर्वराष्ट्रपति भण्डारीलाई विशेष महाधिवेशनबाट नेतृत्वमा ल्याउनुपर्ने आवाज उठाइरहेका छन्। यता युवाले भने भण्डारी पनि अहिलेको विकल्प नभएको बताइरहेका छन् ।

‘पूर्वराष्ट्रपति पनि ६० वर्ष कटेको हुनाले अहिले एमालेमा विकल्पका रुपमा अघि सार्ने अवस्था छैन,’ अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामा भन्छिन्, ‘अबको नेतृत्व त म हो। म भन्नाले म मात्रै होइन, अबको नेतृत्व र पदाधिकारीमा युवा आउनुपर्छ। युवा भन्नाले म पनि युवा अन्तर्गतै पर्छु।’

उनी परिस्थिति आएमा एमालेको जिम्मेवारी लिन आफू र आफूजस्ता युवाहरू तयार रहेको बताउँछिन्।

एमालेकी पूर्वकेन्द्रीय सदस्य उषाकिरण तिमल्सेना पनि भण्डारी अहिले ओलीको विकल्प नरहेको बताउँछिन्। उनले सामाजिक सञ्जालमा पनि नयाँ सोच, ऊर्जा र परिवर्तनशील क्षमतासहितका युवाले पार्टी सञ्चालन गर्नुपर्ने बताउँदै आएकी छन्।

यो नेतृत्व फेल भयो, सरकारलाई टक्कर दिने हुनुपर्छ : समिक बडाल

 

अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल एमालेमा अहिलेको युग सुहाउँदो नेतृत्व आउनुपर्ने बताउँछन्। उनी जनताले जुन तरिकाले ४० वर्षमुनिका युवालाई विश्वास गरेर प्रधानमन्त्री बनाएका छन्, त्यसलाई सम्हाल्न सक्ने र त्यसको प्रतिवाद गर्न सक्ने नेतृत्व एमालेमा आउनुपर्ने बताउँछन्।

‘एमालेको भविष्य सुनिश्चित हुने गरी सरकारकै स्तरको नेता आउनुपर्छ। को व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्ने बहस भविष्यमा गरौँला। तर आज जुन उमेर समूहले सरकारको नेतृत्व गरेको छ, त्यही समूहको नेतृत्वमा हुनुपर्छ। अहिले एमालेमा तीन तहको पुस्ता देखिएको छ। तेस्रो पुस्ता अर्थात् नयाँ पुस्ताको एमालेमा भविष्य छैन भन्ने अवस्था आए पार्टीका लागि ठूलो घाटा हुन्छ’, उनी भन्छन्, ‘आमयुवा उमेर समूहले मेरो भविष्य एमालेमै छु भन्ने प्रत्याभूति हुने नेतृत्व अब खोज्नुपर्छ। एमालेभित्र सांगठनिक अपरेशन जरूरी छ ।’ 

बडाल अहिलेको सरकारलाई चुनौती दिन सक्ने नेतृत्व चाहिने बताउँछन् । ‘अहिलेको सरकारले जुन काम अघि बढाउँछ, त्यसलाई बुझ्ने र प्रतिवाद गर्ने पनि त्यही पुस्ता हो। २०८२ को निर्वाचन हेर्दा पटकपटक अवसर पाएका नेताहरूलाई जनताले रोजेका छैनन्’, उनी भन्छन्, ‘एमालेले पहिलो फ्रन्टमा युवालाई राखेर पुरानो पुस्तालाई अभिभावकका रुपमा लैजानुपर्छ। पुरानो पुस्तालाई अपमान गर्दै बिदा गर्नुपर्ने होइन, अनुभवका आधारमा मार्गदर्शन गर्ने भूमिका दिनुपर्छ। युवालाई बोलीमा होइन, व्यवहारमै अवसर दिनुपर्छ।’

बडाल विशेष महाधिवेशनले मात्रै सबै समस्या समाधान नहुने बताउँछन्। एकताबद्ध रूपमा युवालाई अगाडि ल्याउन सके एमाले दुर्घटनाबाट बच्न सक्ने उनको विश्वास छ।

‘लामो समय जेल जीवन बिताएर आन्दोलन नेतृत्व गरेको नेतृत्व भएकाले उहाँले युवालाई अगाडि ल्याउनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ। त्यसैले हामी प्रतीक्षामा छौँ,’ उनी भन्छन्, ‘युगअनुकूल नेतृत्वमा युवाको सहभागिता हुनेछ भन्नेमा विश्वस्त छु।’

समयानुकूल नेतृत्व परिवर्तनको आवाज उठ्छ, अहिले रोकियौँ  : दीपक धामी

 

अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायतले नेतृत्व परिवर्तनको माग राख्दै हस्ताक्षर अभियान चलाएको दाबी गरिन्छ। उनीहरूले विशेष महाधिवेशन र नेतृत्व हस्तान्तरणको एजेन्डा अघि सारेको स्रोतको भनाइ छ। तर धामीले भने हस्ताक्षर अभियानमा आफू संलग्न नरहेको स्पष्ट पारेका छन्।

‘नेतृत्वको निर्णय उचित ढङ्गले पछि गर्छौँ। केही व्यक्तिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएको जानकारी छ, तर म त्यसमा संलग्न छैन,’ धामी भन्छन्, ‘अध्यक्ष ओली हिरासतमा बसेको र अहिले अस्पतालमा रहेका बेला नेतृत्व परिवर्तनको माग उठाउनु कतिको नैतिक हुन्छ, सोच्नुपर्छ।’

अहिले पार्टी सङ्कटमा रहेकाले नेतृत्व बिरामी हुँदा यस्तो विषय उठाउनु उचित नहुने उनी बताउँछन्। ‘समयानुसार नेतृत्व हस्तान्तरण आवश्यक हुन्छ भन्नेमा हामी सहमत छौँ। तर अहिले पार्टी एकताबद्ध भएर आत्मसमीक्षा गर्ने समय हो,’ उनी भन्छन्, ‘अध्यक्ष आफैँले समयअनुसार नेतृत्व हस्तान्तरण गर्ने निर्णय लिनुहुन्छ भन्ने विश्वास छ।’

 नेतृत्वलाई निकाल्ने पक्षमा छैनौँ, राम्रोसँग सोचेर बिदा हुनुपर्छ : नवीना लामा

अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामा महाधिवेशन अगाडिदेखि नै तेस्रो पुस्ताको नेतृत्वको पक्षमा रहेको बताउँछिन्। ‘पटकपटक अवसर पाएका नेताहरूले फेरि नेतृत्व लिनु उचित होइन,’ उनी भन्छिन्, युवा नेतृत्वलाई बेवास्ता गरेर महाधिवेशन गरिएको थियो, तर अहिले हाम्रो एजेन्डा सही रहेको पुष्टि भएको छ।’

वर्तमान नेतृत्वले आफ्नो विवेक प्रयोग गर्दै समयानुकूल नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनी बताउँछिन्। ‘केपी ओलीको विकल्प खोज्दा संगठन बुझेको र वर्तमान अवस्था सम्हाल्न सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्छ,’ उनी भन्छिन्, हामी पदाधिकारीमा पुग्न चाहन्छौँ, युवाले नेतृत्व लिनुपर्छ।’

उनले नेतृत्वलाई जबर्जस्ती हटाउने पक्षमा आफू नरहेको तर सम्मानपूर्वक बिदाइ गर्दै युवालाई नेतृत्व दिनुपर्ने बताइन्। ‘पुरानो पुस्ताको अनुभव लिएर नयाँ पुस्ताले पार्टी सम्हाल्नुपर्छ,’ लामा भन्छिन्, अहिलेको नेतृत्व र विचार दुवै फेल भएका छन्। अब सम्मानजनक बिदाइ जरुरी छ।’

निरज सोध्छन् अस्पतालमा हुँदा नेतृत्व परिवर्तनको कुरा उठाउनु कतिको नैतिक ?

 

युवा सङ्घका प्रवक्ता निरज पौडेल अहिले नेतृत्व परिवर्तनको बहस सान्दर्भिक नभएको बताउँछन्। ‘सङ्कटको बेला आफ्नै नेतृत्वमाथि प्रहार गर्नु उचित होइन,’ उनी भन्छन्, नेतृत्व परिवर्तनको कुरा पार्टीभित्रै उठ्नुपर्छ, बाहिर होइन।’

उनका अनुसार एमाले अहिले एकजुट भएर परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा छ। ‘लोकप्रियताका आधारमा नेतृत्व परिवर्तन हुँदैन,’ पौडेल भन्छन्, ‘पार्टी परिमार्जन आवश्यक छ, नेतृत्व होइन।’

उनी निर्वाचनको समीक्षा गर्दै आगामी रणनीति तय गर्नुपर्नेमा जोड दिन्छन्। ‘अहिले धैर्य र एकता आवश्यक छ,’ उनी भन्छन्, नेतृत्व बिरामी हुँदा उसलाई हटाउने कुरा गर्नु पार्टी नैतिकताविपरीत हुन्छ।’

 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation