विश्व सहकार्यको बदलिँदो स्वरूपबारे वाग्ले र जयशंकरबीच संवाद
बिरगंज, पर्सा, ६ कार्तिक
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप, बहुपक्षीयताको भविष्य र क्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको छ।
भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको सत्रमा दुई नेताबीच उक्त विषयमा विचार आदानप्रदान भएको हो। सत्रमा जयशंकर प्रमुख वक्ता र अर्थमन्त्री वाग्ले अतिथि वक्ताका रूपमा सहभागी थिए।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले शीतयुद्धको अन्त्यपछि विश्वले व्यापार तथा आर्थिक क्षेत्रमा बहुपक्षीय सहकार्यलाई प्राथमिकता दिएको स्मरण गराउँदै पछिल्ला वर्षमा यसको आधार कमजोर बन्दै गएको बताए।
व्यापारिक गुटहरूको विस्तार र विश्वव्यापी आर्थिक विखण्डन बढिरहेका बेला विपद् प्रतिकार्य, पोषण, ऊर्जा तथा स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय र क्षेत्रीय सहकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने प्रश्न उनले उठाए।
वाग्लेले अन्तर्राष्ट्रिय सहकार्यका प्रयासलाई औपचारिक संस्थागत संरचनामार्फत बलियो बनाउनुपर्ने हो वा साझेदार मुलुकबीचको आपसी समझदारीका आधारमा अघि बढाउनु उपयुक्त हुने हो भन्ने विषयमा पनि जयशंकरको धारणा मागे।
‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’ भन्ने प्रश्न गर्दै उनले बहुध्रुवीय विश्व व्यवस्थामा क्षेत्रीय तथा उपक्षेत्रीय सहकार्यले कस्तो भूमिका खेल्न सक्छ भन्ने जिज्ञासा राखे।
औपचारिक संरचनाभन्दा परिणाममुखी सहकार्यमा जोड
जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले पछिल्ला दुई दशकमा देशहरू औपचारिक प्रतिबद्धताभन्दा व्यावहारिक र परिणाममुखी सहकार्यतर्फ आकर्षित हुँदै गएको बताए।
उनका अनुसार औपचारिक संस्थागत संरचना निर्माण गर्दा वार्ता, प्रशासनिक प्रक्रिया, आर्थिक दायित्व र नियम निर्धारणमै धेरै समय खर्च हुने गरेको छ। यसले कतिपय अवस्थामा सहकार्यको मूल उद्देश्यलाई नै ओझेलमा पार्न सक्ने उनको भनाइ थियो।
औपचारिक संरचना आवश्यक पर्ने क्षेत्रमा त्यस्तो व्यवस्था उपयुक्त हुने भए पनि सबै प्रकारका सहकार्यलाई संस्थागत संरचनामा बाँध्न आवश्यक नरहेको उनले स्पष्ट पारे।
जयशंकरले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलाई औपचारिक सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गर्दै सहकार्यको स्वरूप सम्बन्धित विषय, साझेदार मुलुक र प्रतिबद्धताको स्तरअनुसार फरक हुन सक्ने बताए।
त्यसैगरी, उनले ब्रिक्स र सांघाई सहयोग सङ्गठनको संरचनाबीचको भिन्नता औँल्याए। ब्रिक्ससँग आफ्नै सचिवालय र सबै सदस्यले हस्ताक्षर गरेको लिखित बडापत्र नरहेको उल्लेख गर्दै उनले सबै सहकार्य संयन्त्र एउटै ढाँचामा सञ्चालन हुन नसक्ने धारणा राखे।
‘तपाईंले मलाई प्रवृत्तिबारे सोध्नुभयो, म भन्छु—प्रवृत्ति स्पष्ट रूपमा बढी तदर्थ र समान विचारधारा भएका समूहहरूतर्फ गइरहेको छ,’ जयशंकरले भने।
भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यभन्दा फरक प्रकृतिका त्रिपक्षीय, चतुर्पक्षीय तथा समान विचारधारा भएका मुलुकका करिब ५० वटा समूह निर्माण गरेको प्रसङ्ग उल्लेख गर्दै उनले कम प्रशासनिक भार र ठोस नतिजा दिने सहकार्यप्रति देशहरूको रुचि बढिरहेको बताए।
विपद् प्रतिकार्यमा भारतको सहयोगप्रति नेपालको कृतज्ञता
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले नेपालले भारतबाट प्राप्त गरेको विपद् प्रतिकार्य सहयोगको प्रशंसा पनि गरे।
उनले सन् २०१५ को विनाशकारी भूकम्प तथा हालै रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्का बेला भारतले केही घण्टाभित्रै सहयोग उपलब्ध गराएको स्मरण गरे। विपद्का समयमा प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ रहेको उनको भनाइ थियो।
विश्वव्यापी तनाव, आर्थिक विखण्डन र प्रमुख शक्तिहरूको बदलिँदो भूमिकाका बीच अन्तर्राष्ट्रिय सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित संवादले बहुपक्षीयता, क्षेत्रीय साझेदारी र परिणाममुखी कूटनीतिका विभिन्न पक्षलाई उजागर गरेको छ।
दुई नेताबीचको छलफलले बदलिँदो विश्व व्यवस्थामा सबै देशका लागि एउटै संस्थागत मोडेलभन्दा पनि आवश्यकता, साझा हित र परिणामअनुसार सहकार्यका लचिला स्वरूप अपनाउने बहसलाई महत्त्व दिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






