भारतीय कन्टेन्ट क्रियटर अञ्जली अरोडाको अभिनय रहेको फिल्म ‘महाकाव्य श्री रामायण कथा’ बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि फिल्मका निर्माता प्रकाश महोबियाले चर्चामा रहेको ‘रामायण’ फिल्मको टिममाथि गम्भीर आरोप लगाएका छन्।
नितेश तिवारीको निर्देशनमा रणबीर कपूर र यश अभिनीत ‘रामायण’ यसै दीपावलीमा सिनेमाघरमा रिलिज हुने तयारीमा छ। ठूलो बजेट र चर्चित कलाकारका कारण बहुप्रतीक्षित मानिएको उक्त फिल्म रिलिज हुनुअघि नै पौराणिक कथामा आधारित अर्को फिल्म ‘महाकाव्य श्री रामायण कथा’ गत २५ सेप्टेम्बरमा भारतका सिनेमाघरमा प्रदर्शनमा आएको थियो।
तर रिलिजअघि नै कलाकार छनोट र फिल्मको भीएफएक्सलाई लिएर आलोचना खेपेको ‘महाकाव्य श्री रामायण कथा’ ले बक्स अफिसमा खासै प्रभाव पार्न सकेन। फिल्म असफल भएपछि निर्माता प्रकाश महोबियाले यसको कारणबारे बोल्दै रणबीर कपूर अभिनीत ‘रामायण’को टिमले आफ्नो फिल्मविरुद्ध नकारात्मक मार्केटिङ गरेको आरोप लगाएका हुन्।
भारतको इन्डिया टुडेसँगको कुराकानीमा महोबियाले फिल्मलाई सुरुदेखि नै नकारात्मक प्रचारको सामना गर्नुपरेको दाबी गरे। उनका अनुसार युट्युबर र इन्फ्लुएन्सरहरूमार्फत फिल्मबारे नकारात्मक धारणा फैलाइएको थियो।
महोबियाले भनेका छन्, “सुरुदेखि नै नकारात्मक मार्केटिङ गरिएको थियो। हामीले आफ्ना दर्शकसम्म पुग्ने मौका नै पाएनौँ। जसले हाम्रो फिल्म हेरे, उनीहरूलाई फिल्म निकै मन परेको थियो। तर यदि उनीहरूले फिल्म हेर्न नै पाएनन् भने आफ्नो धारणा कसरी बनाउँछन्?”
उनले ठूला बजेटका अन्य फिल्महरू पनि यही विषयमा आउन लागेकाले आफ्नो फिल्मविरुद्ध नकारात्मक प्रचारका लागि युट्युबर तथा इन्फ्लुएन्सरहरूलाई अवसर दिइएको दाबी गरे।
उनका अनुसार, “हामीलाई प्राप्त जानकारीअनुसार युट्युबर, इन्फ्लुएन्सर र अन्य व्यक्तिहरूलाई नकारात्मक मार्केटिङका धेरै अवसर दिइएका थिए। उनीहरूले गलत जानकारी फैलाइरहेका थिए र मानिसहरूलाई हाम्रो फिल्म नहेर्न भनिरहेका थिए।”
यद्यपि, निर्माता महोबियाले लगाएको यो आरोपबारे ‘रामायण’को टिमको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
अञ्जली अरोडाको सीता भूमिकालाई लिएर विवाद
‘महाकाव्य श्री रामायण कथा’ अभिषेक सिंहको निर्देशनमा बनेको फिल्म हो। फिल्ममा अञ्जली अरोडासँगै देव शर्मा र रजनीश दुग्गललगायत कलाकारको अभिनय छ।
फिल्म प्रदर्शनमा आउनुअघि नै सीताको भूमिकामा अञ्जली अरोडालाई छनोट गरिएको विषयमा सामाजिक सञ्जालमा विरोध र आलोचना भएको थियो। त्यस्तै, फिल्मको भीएफएक्सलाई लिएर पनि दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट विभिन्न प्रतिक्रिया आएका थिए।
अर्कोतर्फ, नितेश तिवारी निर्देशित रणबीर कपूर र यश अभिनीत ‘रामायण’ ठूलो बजेट, स्टारकास्ट र अन्तर्राष्ट्रिय स्तरको निर्माणका कारण भारतीय फिल्म उद्योगकै बहुप्रतीक्षित प्रोजेक्टमध्ये एक बनेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा यसलाई लिएर दर्शकमाझ उत्सुकता पनि बढिरहेको छ।
काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले अभिनेत्री एवं पत्नी स्वस्तिमा खड्कासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै रमाइलो व्यंग्य गरेका छन्।
निश्चलले स्वस्तिमासँगको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘धन्न बिहे गरिहालिएछ। नत्र त सिंगलै भइने रहेछ।’
पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित बनेको ‘धन्न...’ शैलीलाई पछ्याउँदै निश्चलले यस्तो व्यंग्यात्मक पोस्ट गरेका हुन्। उनको यो पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न रमाइला प्रतिक्रिया दिएका छन्।
केही समययता सामाजिक सञ्जालमा ‘धन्न...’ शैलीका व्यंग्यात्मक टिप्पणी र पोस्टहरू चर्चामा छन्। प्रधानमन्त्री बालेन्द्र शाहले कांग्रेस महाधिवेशनमा भएको आलोचनापछि ‘धन्न खुलामञ्च राम्रो बनाइएछ...’ भन्दै सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेपछि यो शैली थप चर्चामा आएको थियो।
त्यसपछि विभिन्न व्यक्तिले आफ्ना पोस्ट तथा प्रतिक्रियामा यही शैलीलाई रमाइलो र व्यंग्यात्मक ढंगले प्रयोग गर्दै आएका छन्।
निश्चलको पछिल्लो पोस्ट पनि यही शैलीको रमाइलो निरन्तरता देखिन्छ। स्वस्तिमासँगको तस्बिरसँगै लेखिएको उनको उक्त भनाइले सामाजिक सञ्जालमा हाँसो र रमाइला प्रतिक्रियासहित चर्चा पाइरहेको छ।
काठमाडौं । चर्चित हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ अब टेलिभिजन र चलचित्रमा मात्र सीमित रहेनन्, विद्यालयको पाठ्यपुस्तकमा समेत देखिन थालेका छन्। कक्षा १ का विद्यार्थीका लागि तयार गरिएको ‘हाम्रो सेरोफेरो’ विषयको पाठ्यपुस्तकमा उनको तस्वीर समावेश गरिएको छ।
अर्जुन घिमिरेले सामाजिक सञ्जालमार्फत कक्षा १ को उक्त पाठ्यपुस्तकको तस्वीर सार्वजनिक गर्दै खुसी व्यक्त गरेका छन्। पुस्तकको अभ्यास खण्डमा विभिन्न चर्चित कलाकारका तस्वीर राखेर विद्यार्थीलाई उनीहरूको पहिचान गरी नाम लेख्न भनिएको छ।
अभ्यासमा मदनकृष्ण श्रेष्ठ, दीपाश्री निरौला, बसुन्धरा भुसाल, हरिवंश आचार्य, अर्जुन घिमिरे ‘पाँडे’ र राजेश हमालका तस्वीर समावेश छन्।
‘हिजो आजका कुरा’ हुँदै ‘भद्रगोल’मा ‘पाँडे’ पात्रमार्फत लोकप्रिय बनेका अर्जुन घिमिरे पछिल्लो समय चलचित्रमा समेत सक्रिय छन्। उनको चर्चित संवाद ‘सक्किगो नि, का बुढा क्या!’ नेपाली दर्शकमाझ निकै लोकप्रिय छ।
टेलिभिजनका हास्य कार्यक्रम हुँदै चलचित्रसम्म आफ्नो छुट्टै पहिचान बनाउन सफल घिमिरेको तस्वीर विद्यालयको पाठ्यपुस्तकमै समावेश भएपछि सामाजिक सञ्जालमा उनलाई बधाई तथा शुभकामना दिने क्रम बढेको छ।
कक्षाको किताबमा आफ्नो तस्वीर देखिनु कलाकारका लागि मात्र नभई उनको लामो कलायात्राको सम्मानका रूपमा समेत हेरिएको छ। बालबालिकाले सानै उमेरमा नेपाली कला क्षेत्रका परिचित कलाकारबारे चिन्ने अवसर पाउने भएकाले पाठ्यपुस्तकमा कलाकारहरूको समावेशलाई सकारात्मक रूपमा लिइएको छ।
अजय देवगन अभिनीत बहुप्रतीक्षित हिन्दी फिल्म ‘दृश्यम ३: द कन्क्लुजन’ ले प्रदर्शनको पहिलो दिनमै बक्स अफिसमा शानदार कमाइ गरेको छ। अक्टोबर २, २०२६ अर्थात् शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले भारतमा पहिलो दिन ६६.७५ करोड भारु कमाएको बताइएको छ।
अभिषेक पाठकको निर्देशनमा बनेको फिल्ममा अजय देवगनले पुनः विजय सालगांवकरको भूमिका निर्वाह गरेका छन्। फिल्मले भारतमा १५,७५९ शोमार्फत उक्त कमाइ गरेको हो।
विदेशी बजारबाट समेत करिब १५ करोड भारु थपिएपछि फिल्मको पहिलो दिनको विश्वव्यापी कलेक्सन ९५.१० करोड भारु पुगेको बताइएको छ।
फिल्मको पहिलो दिनको कमाइ अजय देवगनको फिल्मी करियरकै सबैभन्दा ठूलो ओपनिङ बनेको छ। साथै, सन् २०२६ का हिन्दी फिल्ममध्ये ‘धुरन्धर द रिभेन्ज’पछि ‘दृश्यम ३’ दोस्रो ठूलो ओपनिङ गर्ने फिल्म बनेको दाबी गरिएको छ।
यसले यसअघि रणवीर सिंह अभिनीत ‘धुरंधर’को ३० करोड, शाहरुख खानको ‘पठान’को ५७ करोड र रणवीर कपूरको ‘एनिमल’को ६३ करोड भारुको पहिलो दिनको कमाइलाई समेत पछि पारेको बताइएको छ।
विश्वव्यापी कलेक्सनको तुलना गर्दा पनि फिल्मले पहिलो दिनमै करिब ९५ करोड भारु कमाउँदै ‘कल्की’को ९५ करोड र ‘सलार’को ९१ करोड भारुको पहिलो दिनको कलेक्सनलाई उछिनेको दाबी गरिएको छ।
अग्रिम बुकिङमै देखिएको थियो ठूलो माग
‘दृश्यम ३’ को रिलिजअघि नै अग्रिम बुकिङमा दर्शकको उल्लेख्य माग देखिएको थियो। बुकिङ खुलेको सात दिनमै भारतमा फिल्मको अग्रिम कलेक्सन ६०.१७ करोड भारु पुगेको बताइएको छ। यसमा ब्लक गरिएका सिटको आम्दानीसमेत समावेश थियो।
ब्लक गरिएका सिटको रकम हटाउँदा अग्रिम कूल सङ्कलन ४९.२९ करोड भारु रहेको बताइएको छ। यस क्रममा ५१,५७० शोका लागि करिब १८.०२ लाख टिकट बिक्री भएको उल्लेख छ।
पहिलो दिनको यो प्रदर्शनसँगै ‘दृश्यम ३’ ले आगामी दिनमा बक्स अफिसमा अझ ठूलो कलेक्सन गर्ने अपेक्षा गरिएको छ।
बलिउडका चर्चित हास्य कलाकार राजपाल यादव पछिल्लो समय पुनः चर्चामा आएका छन्। विभिन्न सञ्चारमाध्यममा उनको आर्थिक अवस्था कमजोर भएको खबर सार्वजनिक भएपछि बलिउडका धेरै कलाकारहरूले उनलाई साथ र सहयोग गर्न थालेको बताइएको छ।
राजपाल यादवका म्यानेजर गोल्डीका अनुसार, कलाकारको अवस्थाबारे जानकारी बाहिर आएपछि उद्योगका धेरै व्यक्तिहरूले सहयोगको हात बढाएका छन्। उनले भनेका छन् कि अभिनेता सलमान खान, सोनु सूद र अजय देवगन लगायतका कलाकारहरूले राजपाल यादवलाई साथ दिएका छन् र आवश्यक आर्थिक सहयोगसमेत गरेका छन्।
बलिउडमा सहकर्मी कलाकारहरूबीच कठिन समयमा सहयोग गर्ने परम्परा पुरानै मानिन्छ। विगतमा पनि कलाकारहरूलाई स्वास्थ्य वा आर्थिक समस्यामा पर्दा अन्य कलाकारहरूले साथ दिएको उदाहरणहरू भेटिन्छन्। राजपाल यादवको मामिलामा पनि त्यस्तै समर्थन देखिएको बताइन्छ।
राजपाल यादव लामो समयदेखि बलिउडमा सक्रिय रहँदै आएका कलाकार हुन्। उनले विभिन्न चलचित्रमा हास्य अभिनयमार्फत दर्शकको मन जितेका छन्। पछिल्ला वर्षहरूमा केही व्यक्तिगत तथा आर्थिक समस्याका कारण उनी कम चलचित्रमा देखिए पनि, उनका प्रशंसकहरूको समर्थन भने यथावत रहेको देखिन्छ।
यस घटनाले बलिउडमा कलाकारहरूबीचको एकता र सहकार्यको भावना झल्किएको भन्दै सामाजिक सञ्जालमा पनि विभिन्न प्रतिक्रिया आइरहेका छन्। धेरैले कठिन समयमा साथीको साथ दिनु सकारात्मक सन्देश भएको बताएका छन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
