KATHMANDU WEATHER
Horizontal Scroll Menu

बिग स्कूल मोडेल’मा तिलोत्तमा : ६ वटा ठूलामा गाभिए, ७ वटाको तह मिलान

५ वैशाख, बुटवल । सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका ‘बिग स्कूल मोडेल’मा अघि बढ्न शुरु गरेको छ ।

अति न्यून विद्यार्थी संख्याका विद्यालयको शैक्षिक गुणस्तर कमजोर र राज्यको लगानीको प्रतिफल नआएको ठहर सहित तिलोत्तमा ठूला विद्यालय (बिग स्कूल) मोडेलमा अघि बढेको हो ।

 

 

तिलोत्तमा भित्र हाल एक गुठी सहित ४२ सरकारी विद्यालयमा १९ हजारभन्दा बढी र ४२ संस्थागत विद्यालयमा २३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

विशेषगरी आधारभूत तहमा विद्यार्थी संख्या न्यून हुँदा राज्यको लगानी अनुसार शैक्षिक गुणस्तर ज्यादै कमजोर देखिएपछि शिक्षा विज्ञ, प्रधानाध्यापक, व्यवस्थापन समितिसँग विभिन्न चरणमा छलफल र अध्ययनपछि कानून नै बनाएर साना विद्यालयहरु एकीकरण (मर्ज) र केही विद्यालयमा तह मिलान गरी ठूला विद्यालयमा रुपान्तरण गर्न शुरु गरेको छ ।

नगरपालिकाले विद्यालय मर्जसँगै शैक्षिक सुधार गर्न मापदण्ड तयार गरी लागू गरेको छ । मापदण्डअनुसार कम्तीमा एउटा कक्षामा १५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था गरिएको छ । मापदण्ड नपुगेका विद्यालयहरूलाई समायोजन गरिएको छ भने मापदण्ड पूरा गरेका विद्यालयहरूलाई यथावत राखिएको छ ।

पहिलो चरणमा नगरभित्रका एक गुठी सहित ४२ वटा सरकारी विद्यालयमध्ये ६ वटा साना विद्यालयलाई नजिकका ठूला विद्यालयमा गाभेर ३६ वटा कायम भएका छन् । यस्तै सात वटा विद्यालयहरुमा तह मिलान गरिएको छ ।

‘नगरभित्र कतिपय विद्यालयमा ६ जना विद्यार्थी र ५ जना शिक्षक थिए, तीन धुर जग्गामा विद्यालय भवन थियो,’ नगरपालिकाका सामाजिक विकास शाखा संयोजक रवि सेन्चुरीले भने, ‘विद्यार्थीको प्रार्थना गर्ने र खेल्ने ठाउँ सडक थियो, यस्तो अवस्थाले कस्तो शैक्षिक गुणस्तरको कल्पना गर्ने ? त्यसैले बिग स्कूल मोडलमा गयौं ।’

बिग स्कूल मोडेलमा जाँदा विद्यार्थीलाई नि:शुल्क यातायातका लागि विद्यालयको आफ्नै बस व्यवस्था हुने, विद्यालय र विद्यार्थीहरुमा शैक्षिक गुणस्तर सुधारको प्रतिस्पर्धा बढ्ने विज्ञहरुसँगको सुझावका आधारमा बिग स्कूल मोडल उपयुक्त लागेको सेन्चुरीले बताए ।

नगर प्रमुख रामकृष्ण खांणले बिग स्कूल मोडेलमा गएर सरकारी विद्यालयको गुणस्तरमा आमूल सुधार ल्याउने उद्देश्यले ९ सदस्यीय कार्यदलले दुई महिना स्थलगत अध्ययन गरेर आएको रिपोर्ट अनुसार विद्यालय मर्ज गर्ने रुपान्तरणकारी निर्णय गरेको बताए । ‘लगातार घट्दो विद्यार्थी संख्या, कमजोर शैक्षिक उपलब्धि, शिक्षक–विद्यार्थी अनुपातको असन्तुलन, अभिभावकको घट्दो चासो र राज्यका तर्फबाट प्रति विद्यार्थी उच्च लागतजस्ता समस्या हटाएर बिग स्कूल मोडेलमा सरकारी विद्यालयप्रति आकर्षण बढाउन यो कदम चालिएको हो’ उनले भने ।

समायोजन (मर्ज) अन्तर्गत तिलोत्तमा–१६ का बोहिया आधारभूत विद्यालय र कोटहिमाई मिसुजु आधारभूत विद्यालयलाई समेट्दै कोटहिमाई मिसुजु आधारभूत विद्यालयमा एकीकृत गरिएको छ ।

तिलोत्तमा–१२ का कोटियामाई आधारभूत विद्यालयलाई सरस्वती आधारभूत विद्यालयमा समायोजन गरिएको छ ।

तिलोत्तमाको मणिग्रामस्थित नेपालकै ठूलो मध्येको एक शान्ति नमुना मावि

त्यस्तै तिलोत्तमा–६ को मेदिनी आधारभूत विद्यालयलाई तिलोत्तमा–५ स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा गाभिएको छ । तिलोत्तमाको मणिग्रामस्थित नेपालकै ठूलो मध्येको एक शान्ति नमुना माविमा ५ हजार बढी विद्यार्थी अध्ययनरत छन् । गत वर्षको एसईईमा यो विद्यालयबाट १८ जनाले चार जीपीए ल्याएका थिए ।

तिलोत्तमा–१४ को नमुना महिला आधारभूत विद्यालयलाई सोही वडाको टिकुलिगढ माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।

तिलोत्तमा–११ को नवज्योति शंकरमान आधारभूत विद्यालयलाई भुल्के माध्यमिक विद्यालयमा र तिलोत्तमा–१३ को सेमरी आधारभूत विद्यालयलाई जनता माध्यमिक विद्यालयमा समायोजन गरिएको नगरपालिकाका सामाजिक विकास शाखा संयोजक रवि सेन्चुरीले बताए ।

तह मिलानतर्फ तिलोत्तमा–१७ को बाल विकास आधारभूत विद्यालय र तिलोत्तमा–८ को ज्योति आधारभूत विद्यालयलाई कक्षा ८ बाट घटाएर कक्षा ५ सम्म सीमित गरिएको छ ।

तिलोत्तमा–११ को शिवपुर माध्यमिक विद्यालयमा कक्षा १२ बाट कक्षा १० सम्म झारिएको छ भने सोही वडाको गणेश आधारभूत विद्यालयलाई पनि कक्षा ८ बाट कक्षा ५ मा सीमित गरिएको छ ।

तिलोत्तमा–१३ को बभनी आधारभूत विद्यालय र तिलोत्तमा–१२ को सरस्वती आधारभूत विद्यालयलाई कक्षा ५ बाट कक्षा ३ सम्म सीमित गरिएको छ ।

यसैगरी तिलोत्तमा–६ को सत्यलक्ष्मी आधारभूत विद्यालयलाई पनि कक्षा ५ बाट कक्षा ३ सम्म झारिएको छ ।

मर्ज भएका विद्यालयहरुमा सेक्टर विद्यालयको रुपमा भौतिक संरचना प्रयोग गरेर अझै व्यवस्थित बनाइने नगरपालिकाका सामाजिक विकास शाखा संयोजक सेन्चुरीले बताए ।

निजी विद्यालयको छात्रवृतिमा कडाइ

समग्र शैक्षिक सुधारका लागि संस्थागत विद्यालयमा दिइने छात्रवृत्तिमा कडाइ गर्दै पारदर्शी बनाउने निर्णय नगरपालिकाले गरेको छ । निजी विद्यालयमा अध्ययन गरिरहेका २३ सय बढी विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सुनिश्चित गरिएको वडा नं ६ का अध्यक्ष गणेश पाठकले बताए । ‘संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति वितरणलाई थप व्यवस्थित बनाइएको छ, कुल २३ हजारभन्दा बढी विद्यार्थीमध्ये २३ सय भन्दा बढीले पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन्’, वडाध्यक्ष पाठकले भने, ‘छात्रवृत्तिलाई पारदर्शी र लक्षित वर्गले पाउनुपर्ने नीति बनाउन धेरै मेहेनत र संघर्ष गर्नुपर्‍यो ।’

छात्रवृत्तिमा भर्ना शुल्क, मासिक शुल्क र यातायात खर्चसमेत समावेश हुनेछ । छात्रवृत्तिलाई समावेशी बनाउँदै जेहेन्दार, विपन्न, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, अपाङ्ग तथा अल्पसंख्यक समुदायलाई प्राथमिकता दिइएको छ । छात्रवृत्तिमा पारदर्शिताका लागि पालिकाले आफैं प्रश्नपत्र तयार पार्नेलगायतका कार्यहरु गर्ने उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।

जनकपुरधामका विद्यालयलाई शुल्क विवरण बुझाउन ७ दिनको अल्टिमेटम

५ वैशाख,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ले पालिकाभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयलाई शुल्क निर्धारणसहित सम्पूर्ण विवरण अनिवार्य रूपमा पेस गर्न निर्देशन दिएको छ।

जनकपुरधाम उपमहानगरपालिका शिक्षा तथा खेलकुद विकास शाखा द्वारा जारी सूचनामा शैक्षिक तथा प्रशासनिक शुल्क, शैक्षिक सत्र २०८३ का लागि लागू हुने सम्पूर्ण शुल्क विवरण र आवश्यक कागजात सात दिनभित्र बुझाउन निर्देशन दिइएको हो।

नगर शिक्षा समितिको गत चैत ३० गतेको बैठकको निर्णयअनुसार यो निर्देशन जारी गरिएको हो। विद्यालय वर्गीकरण गर्दा संस्थागत विद्यालय मापदण्ड निर्देशिका २०६१ र विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०८१ अनुसार स्पष्ट आधार खुलाउनुपर्ने सूचनामा उल्लेख छ।

शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अञ्जु पाण्डे का अनुसार कक्षा १ देखि १२ सम्म प्रयोग हुने पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सिकाइ सामग्रीको विस्तृत सूची प्रकाशकको नाम र ठेगानासहित पेस गर्नुपर्नेछ।

उनका अनुसार विद्यालयमा हुने अनियमितता नियन्त्रण गर्न, शुल्क व्यवस्थापनमा पारदर्शिता कायम गर्न र शैक्षिक सामग्रीको विवरण स्पष्ट बनाउन यो कदम चालिएको हो। तोकिएको समयभित्र विवरण नबुझाउने विद्यालयलाई कारबाही गरिने चेतावनी पनि दिइएको छ।

पूर्णबहादुर खड्काद्वारा निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक आह्वान

५ वैशाख,काठमाडौं । पूर्णबहादुर खड्का ले नेपाली कांग्रेस को १४औँ महाधिवेशनबाट निर्वाचित निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। सर्वोच्च अदालतमा दायर गरिएको रिट खारेज भएपछि आगामी रणनीतिबारे परामर्श गर्न उनले बैठक आह्वान गरेका हुन्।

खड्काले शनिबार दिउँसो साढे ३ बजे गोल्फुटारस्थित आफ्नै निवासमा बैठक बस्ने गरी आह्वान गरेको सचिवालयले जनाएको छ। अदालतको निर्णयपछि उनी बिहानैदेखि निकटस्थ नेताहरूसँग आन्तरिक छलफलमा जुटेका थिए।

छलफलका क्रममा इन्द्रबहादुर बानियाँ र केदार कार्की लगायतका नेताहरू खड्का निवास पुगेका थिए। यस्तै, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले र उर्मिला थपलियाल सँग पनि परामर्श गरिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार अदालतको निर्णयपछि खड्काले आफ्नो आगामी कदमबारे निकटस्थहरूसँग छलफल गरी औपचारिक धारणा वक्तव्यमार्फत् सार्वजनिक गर्ने तयारी गरेका छन्। उनको आधिकारिक प्रतिक्रिया आइतबारसम्म आउने अपेक्षा गरिएको छ।

जीतपुरमा सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाइयो, डोजर देखेपछि व्यवसायी आफैँले भत्काए अवैध संरचना

४ वैशाख, (जीतपुर) बारा । बाराको जीतपुरस्थित गौशालाको नाममा रहेको सार्वजनिक जग्गालाई जीतपुरसिमरा उपमहानगरपालिकाले पूर्ण रूपमा खाली गराएको छ। लामो समयदेखि ६ लेन सडक नजिकै रहेको बहुमूल्य जग्गा ओगटेर बनाइएका अवैध संरचनाहरू नगरपालिकाले डोजर प्रयोग गरी हटाएको हो।

उपमहानगरपालिकाले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै वैशाख २ गतेसम्म अतिक्रमित संरचना हटाउन व्यवसायीहरूलाई समयसीमा (अल्टिमेटम) दिएको थियो। दिइएको समयभित्र केही व्यवसायीले स्वेच्छाले संरचना हटाए पनि अधिकांशले अटेरी गरेपछि नगरपालिकाको टोली बुधबार र बिहीबार डोजरसहित स्थलमा पुगेको थियो।

नगरपालिकाको टोली डोजर लिएर पुगेपछि सुरुमा व्यवसायीहरूले सामान्य प्रतिकार गर्ने प्रयास गरेका थिए। तर, नगर प्रहरी, सशस्त्र प्रहरी र जनपद प्रहरीको ठूलो उपस्थिति र कडाइपछि अवस्था नियन्त्रणमा आएको थियो। प्रशासनको कडा रुख देखेपछि व्यवसायीहरू आफैँले आफ्ना सामान र संरचना हटाउन थालेका थिए।

कस्ता संरचना हटे ?

अतिक्रमण हटाउने क्रममा गौशालाको जग्गामा सञ्चालित मासु पसल, खाजाघर, कबाड संकलन केन्द्र, भेटेनरी पसलका साथै गुट्खा, चुरोट र पेय पदार्थ बिक्री गर्ने दर्जनौँ पसलहरू पूर्ण रूपमा विस्थापित भएका छन्। वर्षौँदेखि अवैध रूपमा ओगटिएको यो क्षेत्र अहिले खुला भएको छ।

वर्षौँदेखि सोही स्थानमा आश्रित रहेका साना व्यवसायीहरूले भने आफ्नो रोजीरोटी गुमेको भन्दै चिन्ता व्यक्त गरेका छन्। विस्थापित व्यवसायीहरूले आफूहरूलाई उचित ठाउँमा व्यवस्थापन गरिदिन, भविष्यमा नगरपालिकाले सटर निर्माण गरेमा प्राथमिकता दिन र पुनः व्यवसाय सञ्चालनको अवसर प्रदान गर्न माग गरेका छन्।

उपमहानगरपालिकाले भने सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय सरकारको पहिलो दायित्व भएको बताउँदै गौशालाको जग्गालाई व्यवस्थित बनाइने र अतिक्रमण हटाउने अभियानलाई अन्य वडाहरूमा पनि निरन्तरता दिने स्पष्ट पारेको छ।

मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेन शाहको शुभकामना- नेपाल आमा हाँसेको हेर्न चाहन्छु

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण आमाहरूमा शुभकामना व्यक्त गर्दै आमा र मातृभूमि स्वर्गभन्दा पनि महान् रहेको बताएका छन्।

 शुक्रबार शुभकामना सन्देश जारी गर्दै  भनेका छन् ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’ 

 

उनले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्तिलाई उद्धृत गर्दै आमा र मातृभूमिको महत्त्व अतुलनीय रहेको उल्लेख गरेका हुन्। ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु,’ भन्दै उनले मातृभूमिप्रतिको आफ्नो भावनासमेत व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले आमाको काखलाई न्यानो र आमाको चरणलाई तीर्थजस्तै पवित्र रहेको उल्लेख गर्दै आमाहरू माया, त्याग र सृष्टिको अनुपम स्रोत भएको बताएका छन्।

 

मातातीर्थ औँसीको पावन अवसरमा उनले सम्पूर्ण आमाहरूप्रति सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दै उनीहरूको दीर्घायु र सुस्वास्थ्यको कामना गरेका छन्। साथै, ‘आमाको मुख हेर्ने दिन’ले सन्तानलाई आमाप्रति कृतज्ञ बन्न प्रेरित गर्ने उल्लेख गर्दै आमालाई सधैं खुशी राख्न र आफ्ना कर्ममार्फत आमालाई गर्व गर्ने वातावरण बनाउन सबैलाई आग्रह गरेका छन्।

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”

माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।

माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।

जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।

मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।

हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३