बिरगंज, पर्सा, ११ कार्तिक
झापा। झापाको नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले १५० ग्रामभन्दा बढी खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारा क्षेत्रमा बुधबार गरिएको कारबाहीका क्रममा १५०.१४० ग्राम खैरो हेरोइन बरामद भएको हो।
भारतबाट लागुऔषध ल्याएर कोशी प्रदेशका विभिन्न जिल्लामा आपूर्ति गर्ने समूहको निगरानी गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतको कुतुवाभिट्टाबाट मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा पुनः भारततर्फ भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा झापा गाउँपालिका–१ का ३० वर्षीय सलमान मिया र ३६ वर्षीय नसिम अक्तर मिया रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १५०.१४० ग्राम खैरो हेरोइन, नेपाली नम्बर प्लेटको मे ७ प ३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल, भारतीय नम्बर प्लेटको बीआर ३७ एए ५३८० नम्बरको होन्डा साइन मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोद, झापामा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
बिरगंज, पर्सा, ८ कार्तिक
बुधवार कार्तिक ६ गते सप्तरीको सुरुङ्गा नगरपालिका–९, टिकुलियामा दुर्गा पूजाको मूर्ति विसर्जन गरेर घर फर्किँदै गरेकी २५ वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ। घटनामा संलग्न रहेको आरोपमा तीन जना स्थानीय युवकविरुद्ध पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएको छ।
पीडित परिवारका अनुसार बुधबार राति करिब साढे ९ बजे स्थानीय मदरसानजिकै रहेको आँपको बगैँचामा घटना भएको हो।
गाउँमा आयोजित दुर्गा पूजाको मूर्ति विसर्जनका लागि बलान नदी लगिएको थियो। मूर्ति विसर्जनपछि ट्याक्टरमा फर्किने क्रममा डिजेल सकिएर गाडी बाटोमै रोकिएपछि ती महिला एक्लै पैदल घरतर्फ जाँदै थिइन्। सोही क्रममा बाटो छेउमा रहेका तीन जना युवकले उनलाई नियन्त्रणमा लिई मुख थुनेर नजिकैको आँपको बगैँचामा लगेको र पालैपालो जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ।
जाहेरीअनुसार आरोपितहरूले धाकधम्की दिँदै जबरजस्ती करणी गरेपछि पीडितलाई घटनास्थलमै बेहोस अवस्थामा छाडेर फरार भएका थिए। अबेरसम्म घर नफर्किएपछि खोजीमा निस्किएका स्थानीयवासी तथा आफन्तले उनलाई घटनास्थलबाट उद्धार गरेको पीडितले बताएकी छन्।
घटनापछि केही स्थानीय नेताले पीडित परिवारलाई विभिन्न प्रलोभन देखाएर घटना सामसुम पार्न खोजेको स्रोतको दाबी छ। यद्यपि, पीडित पक्षले बिहीबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै पीडितको स्वास्थ्य परीक्षण तथा घटनास्थल मुचुल्कालगायतका अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार घटनामा संलग्न रहेको आशङ्का गरिएका युवकहरूको पहिचान भइसकेको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
अनुसन्धान प्रभावित नहोस् र आरोपितहरू फरार हुन नपाऊन् भन्ने उद्देश्यले प्रहरीले थप विवरण गोप्य राखेर अनुसन्धान अघि बढाएको जनाएको छ।
नोट: घटनाबारे अनुसन्धान जारी रहेकाले आरोपितहरू दोषी ठहर भइसकेका छैनन्। उनीहरूको दोष अदालतबाट प्रमाणित हुन बाँकी छ।
बिरगंज, पर्सा, ७ कार्तिक
सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय गाडी (ईभी) र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
दुर्घटनामा बाराको सुवर्ण गाउँपालिका–४ हर्दियाका ३७ वर्षीय रञ्जित रामको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका रामको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।
प्राप्त विवरणअनुसार हर्दियाबाट जनकपुरतर्फ जाँदै गरेको ईभी गाडी लालबन्दी क्षेत्रमा विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किएको थियो। दुर्घटनामा ईभी चालकसहित १२ जना घाइते भएका थिए। उनीहरूलाई उद्धार गरी सुरुमा लालबन्दीस्थित मोडल अस्पताल लगिएको थियो। गम्भीर अवस्थाका रञ्जितलाई थप उपचारका लागि वीरगञ्जस्थित एलएस न्युरो अस्पताल पठाइएको थियो।
दुर्घटनामा घाइते हुनेमा ईभी चालक महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय कामेश्वर सहनी, महागढीमाई–९ का ४८ वर्षीय राजेन्द्र राम तथा सुवर्ण गाउँपालिका–४ का ४५ वर्षीय भवन राम, ४० वर्षीय राजदेव राम, विनोद राम र ४७ वर्षीय रुदल राम रहेका छन्।
त्यस्तै, सुवर्ण गाउँपालिका–७ का ६३ वर्षीय हरिहर राम, कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय नन्दन राम र उमेश राम, पचरौता नगरपालिका–७ का ५५ वर्षीय रामसन्देय राम तथा सिम्रौनगढका ४० वर्षीय नवलकिशोर राम घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम र अन्यको सामान्य रहेको बताइएको छ।
दुर्घटनामा संलग्न ट्रकका चालक मोरङको बूढीगंगा गाउँपालिका–४ निवासी करिब ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखिएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरतर्फ ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्गको यातायात भने अवरुद्ध नभएको जनाइएको छ।
बिरगंज, पर्सा, ७ कार्तिक
काठमाडौं । अमेरिकामा बस्दै आएका एक व्यक्तिको काठमाडौंको कालिमाटीस्थित करोडौँ मूल्य पर्ने जग्गा नक्कली नागरिकता, राष्ट्रिय परिचयपत्र र सरकारी कागजात तयार पारेर बिक्री गरिएको प्रकरणमा १९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। प्रकरणमा जनप्रतिनिधि, सरकारी कर्मचारी, लेखापढी व्यवसायी तथा बिचौलियासमेत मुछिएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको हो। घटनाले जग्गाको स्वामित्व प्रमाणीकरण तथा सरकारी कागजात जारी गर्ने प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।
नक्कली नागरिकता र परिचयपत्र बनाएर जग्गा बिक्री
अनुसन्धानअनुसार अमेरिकामा बसोबास गर्दै आएका सुमित अग्रवाल (अडुकिया) को नाममा काठमाडौंको कालिमाटीमा रहेको १ रोपनी १३ आना जग्गा योजनाबद्ध रूपमा ठगी गर्ने गिरोहको निशानामा परेको थियो।
गिरोहले वास्तविक जग्गाधनीको व्यक्तिगत विवरण संकलन गरी उनकै नाममा नक्कली व्यक्ति खडा गरेको आरोप छ। त्यसपछि नक्कली नागरिकता, राष्ट्रिय परिचयपत्र र स्थायी लेखा नम्बर (प्यान) कार्ड तयार पार्नुका साथै बैंक खातासमेत खोलिएको अनुसन्धानबाट खुलेको छ।
यसरी तयार पारिएका कागजात प्रयोग गरी २०८२ माघ २७ गते कलंकीस्थित मालपोत कार्यालयबाट उक्त जग्गा पहिलो खरिदकर्ता दीपककुमार अग्रवालको नाममा नामसारी गरिएको अनुसन्धानमा उल्लेख छ।
अवैध कारोबार मिलाउन बिचौलिया र संलग्न कर्मचारीबीच २६ लाख ८० हजार रुपैयाँ कमिसन लेनदेन भएकोसमेत अनुसन्धानबाट खुलेको जनाइएको छ।
जग्गा दोस्रोपटक बिक्री गर्ने क्रममा खुल्यो रहस्य
नक्कली कागजातका आधारमा जग्गा नामसारी गरिए पनि उक्त कारोबार लामो समयसम्म लुकेर रहन सकेन।
पहिलो खरिदकर्ता दीपककुमार अग्रवालले नाफा कमाउने उद्देश्यले जग्गा अर्का व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाएका थिए। संयोगवश, दोस्रो खरिदकर्ताका रूपमा सम्पर्कमा आएका व्यक्ति वास्तविक जग्गाधनी सुमित अग्रवालका नजिकका साथी थिए।
जग्गा बिक्री हुन लागेको जानकारी पाएपछि उनले अमेरिकामा रहेका सुमितसँग सम्पर्क गरेर वास्तविकता बुझ्ने प्रयास गरे। सुमितले आफूले जग्गा बिक्री नगरेको र नेपालसमेत नआएको बताएपछि कारोबारको वास्तविकता बाहिर आएको हो।
आफूले खरिद गरेको जग्गा नै ठगीमार्फत बिक्री गरिएको थाहा पाएपछि पहिलो खरिदकर्ता पनि कानुनी प्रक्रियामा पुगेका थिए।
वडाध्यक्षदेखि मालपोतका कर्मचारीसम्म प्रतिवादी
सीआईबीको अनुसन्धानमा सरकारी कागजात तयार पार्ने तथा प्रमाणीकरण गर्ने विभिन्न निकायका व्यक्ति संलग्न रहेको आरोप लगाइएको छ।
मुद्दामा काठमाडौं महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरसहित वडा कार्यालयका कर्मचारी, जिल्ला प्रशासन कार्यालय तथा मालपोत कार्यालयका अधिकृत र कर्मचारी, लेखापढी व्यवसायी र बिचौलियालाई प्रतिवादी बनाइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका वडाध्यक्ष मानन्धर हाल हाजिर जमानीमा छुटेका छन्। घटनामा संलग्न रहेको आरोप लागेका चार जना भने अझै फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ।
सरकारी प्रमाणीकरण प्रणालीमाथि गम्भीर प्रश्न
नागरिक विदेशमा रहेको अवस्थामा उनको व्यक्तिगत विवरण दुरुपयोग गरी नक्कली पहिचान तयार पार्नु र सरकारी कार्यालयबाटै जग्गा नामसारी हुनुले नेपालको जग्गा प्रशासन तथा पहिचान प्रमाणीकरण प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
नागरिकता, राष्ट्रिय परिचयपत्र, करसम्बन्धी विवरण तथा जग्गाको स्वामित्व प्रमाणीकरण गर्ने प्रक्रियामा कमजोरी रहेमा संगठित गिरोहले त्यसको दुरुपयोग गर्न सक्ने जोखिम यस घटनाले देखाएको छ।
यद्यपि, मुद्दा अदालतमा दर्ता भइसके पनि प्रतिवादीहरूको दोष अदालतबाट प्रमाणित हुन बाँकी छ। घटनाको अन्तिम फैसला अदालतको न्यायिक प्रक्रियापछि मात्रै हुनेछ।
बिरगंज, पर्सा, ४ कार्तिक
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरस्थित ब्रह्मबाबा चौर नजिकको नहरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृत फेला पर्नेमा स्थानीय ५६ वर्षीय हरिनारायण सहनी रहेका छन्। प्रहरीका अनुसार सहनीका छोरा रामविनय सहनीले बुधबार बिहान करिब ६ बजे नहरमा बुबालाई मृत अवस्थामा देखेका थिए। त्यसपछि उनले शव नहरबाट निकालेर डिलमा राखी बिहान ६ः२० बजे इलाका प्रहरी कार्यालय जीतपुरलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमान्डमा इलाका प्रहरी कार्यालय जीतपुरबाट पाँच जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान तथा मुचुल्का तयार गर्न इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा थप प्रहरी टोलीसमेत खटिएको थियो।
प्रहरीले बिहान करिब ८ः१५ बजे घटनास्थलको प्रारम्भिक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो। पोस्टमार्टमपछि बिहान ११ः२५ बजे मृतकका छोरा विनय सहनीले शव बुझिलिएको प्रहरीले जनाएको छ।
सहनीको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि खुल्ने बताइएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
