२२ वैशाख, इलाम । इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो । विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैँसी चराउँथे । एकापट्टि पानीको आल थियो । अन्त पानी सुके पनि यहाँ कहिल्यै सुक्थेन । वरिपरि घर थिएन । जङ्गल पनि थिएन । तर, दिउँसै रात परेजस्तो सुनसान हुन्थ्यो । त्यो बेला दिउँसै रातपर्ने अन्तु पोखरी आसपासमा अहिले मध्यरातसम्म उज्यालै हुन्छ ।
‘हामी केटाकेटी हुँदा २०–२२ भैँसी चराएको । अन्तु डाँडा, बुधेडाँडा, उनीउटार, तकपत, छिरुवातिरका भैँसी चराउन र पानी खुवाउन यहाँ ल्याइन्थ्यो’, स्थानीय खगराज घिमिरेले भने, ‘दुई बजेपछि अन्धकार हुने । मान्छे हिँड्नै डराउँथे । भैँसी चराउनेहरु ढाप पोखरी (अन्तु पोखरीको पुरानो नाम) मा पानी खुवाएर बेलैमा भैँसीलाई गोठ फर्काउँथे ।’
त्योबेला काशीनाथ घिमिरे (खगराजका बुवा), तारानिधि घिमिरे, तीलविक्रम नेम्वाङ लगायतका सीमित घर थिए । त्यो पनि पोखरीभन्दा निकै परपर । सडक संरचना थिएन । गोरेटो बाटो थियो । तर, अहिले त्यही ठाउँ विश्वमै नाम चलेको पर्यटकीय गन्तव्य भएको छ ।
पर्यटक डुङ्गा सयर गर्न र फिसिङ गर्न दिनहुँ आठ सयदेखि दुई हजारसम्म आउँछन् । साँझदेखि ‘स्पिकर’ बज्छ । मध्यरातसम्म म्युजिकमा झुम्छन् । खानु, पिउनु, नाज–गान गर्नु, क्याम फाएर गर्नु अन्तुको संस्कार भएको छ ।
चरन क्षेत्रबाट पर्यटकीय गन्तव्यसम्मको परिवर्तन २०४० सालदेखि सुरु हुन्छ । त्यतिबेला कृष्णप्रसाद भट्टराई जिल्ला पञ्चायत सभापति थिए । जिल्ला पञ्चायतले रु २० हजार दिएपछि पोखरी संरक्षण अभियान सुरु भयो । पोखरी संरक्षणमा स्थानीय पनि जुटे ।
‘पोखरीको पूर्व र पश्चिमतर्फ पर्खाल लगाइयो । पानी जमाइयो । सरसफाइ गरियो’, खगराजले भने, ‘विसं २०५९ मङ्सिर २७ गते जिल्ला प्रशासन कार्यालयमा अन्तु पर्यटन विकास केन्द्र संस्था दर्ता भयो । त्यही संस्थाको नेतृत्वमा २०६२/६३ सालतिर नेपाल सरकारले रु ५५ हजार र पछि रु एक लाख ७० हजार बजेट दियो । त्यसले पर्खाल लगाउने र पानी जमाउने थप काम भएको थियो ।’
पचासको दशकयता स्थानीय यो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन कस्सिएर लागेका थिए । पोखरी बनेपछि स्थानीय मिलेर सुरुमा भारतको मिरिकबाट भाडामा डुङ्गा ल्याए । पछि कोलकता गएर दुई डुङ्गा किनेर ल्याएपछि सञ्चालन भयो ।
विसं २०६२/६३ तिर तत्कालीन सभामुख सुवासचन्द्र नेम्बाङले परेवा उडाएर पोखरीमा डुङ्गा सञ्चालन सुरु गर्नुभएको हो । त्यतिबेला डुङ्गा समितिले सञ्चालन गरेको थियो । अहिले नगरपालिकाले लगानी बढाएर पालिका मातहत सञ्चालन गर्छ । र, राम्रो आम्दानी गरिरहेको छ ।
सङ्घीयतापछि स्थानीय सरकारको नजर अन्तुमा पर्यो । नगरपालिकाले अन्तुपोखरी र अन्तुडाँडाको पूर्वाधार विकास, संरक्षण र सौन्दर्यीकरणमा करिब रु पाँच करोड खर्च गरिसकेको पूर्वप्रमुख रणबहादुर राईले बताए ।
‘पोखरी वरिपरि हिँड्न नसकिने अवस्था थियो । हिलैहिलो । यहाँ आउने पर्यटक हिलोको पीरले पोखरी पस्न मन गदैनथे । खासै चहलपहल थिएन’, पूर्व प्रमुख राईले भने, ‘वरिपरि ट्रयाक बनाइयो । बत्ती लगाउने काम भयो । अहिले एकीकृत बस्तिको रुपमा काम अघि बढेको छ । विसं २०७४ मा हामी जनप्रतिनिधि भएर आउँदा खरले छाएका कटेज, होमस्टे अलि–अलि थिए । अहिले ठूलठूला होटल बनेका छन् । अन्तुमा हामीले करिब रु पाँच करोड खर्चेर पर्यटकीय ‘हब’ बनाएका हौं ।’
पोखरीभन्दा माथि अन्तुडाँडा छ । जहाँबाट झुल्केघाम हेरिन्छ । अन्तुपोखरी र अन्तुडाँडा पर्यटकका लागि पर्याय हुन् । २०७४ सालमा अन्तुडाँडासम्म पुग्ने बाटो थिएन । ‘छिपिटारदेखि अन्तु भन्ने थियो । तर, सडक डिभिजन कार्यालयले भञ्ज्याङ(पोखरीभन्दा तलको ठाउँ)सम्म सडक लगेपछि छोडेर पैसा फिर्ता गर्न लागेको थियो । स्थानीय सरकारमा हामी गएपछि सडक नभई भ्यू टावर पुग्न सकिँदैन भनेर बाटो माथि पु¥याउने काम गर्यौं’, उनले भने, ‘अन्तु डाँडाको टावर अव्यवस्थित थियो । सङ्घीय र स्थानीय सरकारको समन्वयमा व्यवस्थित बनाइयो । खेल मैदानबाट डाँडा पुग्ने बाटो हिलाम्मे थियो । सोलिङ/ग्राभेल गरियो । अहिले पर्यटक सजिलै माथि पुग्छन् ।’
अन्तुका अधिकांश क्षेत्रमा बत्तीको व्यवस्था गरिएको छ । त्यो बेला पर्यटकले टिकट काटेको आम्दानी एक वर्षमा रु एक लाख मात्र हुन्थ्यो । तर फोहरमैला धेरै । ‘आन्तरिक राजस्व बढाउन नगरपालिकाले आफ्नै कर्मचारी राखेर वार्षिक रु ५६ लाखसम्म राजस्व उठाउने काम गर्यो । पर्यटनसम्बन्धी मेला लगाइयो । प्रचारप्रसारको काम व्यापक भयो’, प्रमुख राईले भने ।
हाल सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले ‘ब्युटिफिकेशन’को काम गरिरहेको छ । अहिले सघनले चाहिँ ब्युटिफिकेशनको काम, दुई नम्बर गेटबाट आउने बाटो ढलाइ, फुट ट्रायल बनाउने काम, घेराबारा बनाउने काम र रोड विस्तारको काम गरिरहेको आयोजनाका सब–इन्जिनियर प्रकाश चापागाईंले बताए ।
अन्तु घुम्न आउने पर्यटक अहिले अन्तुपोखरीको सेरोफेरोमा घण्टौँ बिताउन थालेको व्यवसायी बताउँछन् । अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरे अहिले पर्यटक आउने ‘फ्लो’ बढेको बताउँछन् ।
‘दिनमा ८०० देखि दुई हजारसम्म पर्यटक आउँछन् ।अन्तु पर्यटन व्यवसायी सङ्घमा होटल कटेज र होमस्टे गरेर ११० वटा छन् । सामुदायिक होमस्टे ५० वटा छन् । नियमित सेवा दिने ३५ वटा छन्’, उनले थपे, ‘पर्यटन व्यवसायी सङ्घअन्तर्गतका होटलमा ३१० जना प्रत्यक्ष रोजगार छन् ।
चियाबारीका थुम्काभित्रका सुन्दर कटेज, होमस्टे, बोटिङ, सिजनेवल फिसिङ, घोडचढी, यहाँका प्रमुख आकर्षण हुन् । हाल अन्तु पोखरीमा चार वटा डुङ्गा सञ्चालन हुन्छ । एउटा डुङ्गामा चार जना बस्छन् । एक जनाले एकपटक पोखरी परिक्रमा गरेको रु ५० तिर्नुपर्छ ।
यो आम्दानी नगरपालिकाको हो । दिनभर डुङ्गा खाली बस्न पाउँदैनन् । सूर्याेदय–सूर्यास्त दृश्यावलोकनका लागि अन्तुडाँडा चर्चित छ । अघिल्लो दिन आएर अन्तुपोखरी डुलघुम गर्ने, रातिसम्म नाचगान गर्ने र भोलिपल्ट बिहानै उठेर अन्तु डाँडामा झुल्केघाम हेर्ने पर्यटकको समय कार्यतालिका हुन्छ ।
मेची राजमार्गको कन्यामस्थित छिपिटारबाट अन्तुको बाटो छुट्टिन्छ । त्यहाँबाट करिब ११ किलोमिटरमा रहेको अन्तुपोखरीमा अवलोकन गर्न लायक वस्तु धेरै छन् । सडक कालोपत्रे भएको छ । जिप, कार, भ्यान र मोटरसाइकलमा कन्यामबाट अन्तु जान सकिन्छ ।
अन्तुको झुल्केघामको याम भदौ अन्तिममा सुरु हुन्छ । मौसम खुले पुस–माघ र वैशाखसम्म यो सिजन रहन्छ । अन्तुबाट देखिने सूर्याेदय चित्ताकर्षक मानिन्छ । यहाँबाट सूर्याेदय हेर्न बर्सेनि सयौं स्वदेशी र विदेशी आउँछन् । ग्रामीण पर्यटनमा पूर्वको खचाखच रहने पर्यटकीय क्षेत्र भएको छ अन्तु ।
अन्तुबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिँगारिएको देखिन्छ । यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायत बजार वरिपरि झैँ लाग्छ । झापा, मोरङ, सुनसरी, सप्तरीलगायत धेरै गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु बढी आरामदायी छ ।
भारतको पश्चिम बङ्गालका सयौँ पर्यटक वर्षेनी यहाँ आउँछन्, दुई–चार रात बिताउँछन् र जान्छन् । तराई क्षेत्रमा गर्मी बढेकाबेला अन्तुको प्राकृतिक एयर कन्डिसनमा रमाउन आउनेको घुइँचो नै लाग्छ । नेपालकै पश्चिमी जिल्ला र भारतको पश्चिम बङ्गालबाट बढी पर्यटक आउँछन् । कतिपय स्कुलका विद्यार्थी समूहसमेत अध्ययन भ्रमणमा यहाँ आउने गरेका छन् ।
सूर्योदय नगरपालिकाले पर्यटनबाट नै आर्थिक समृद्धि खोजिरहेको कार्यवहाक नगरप्रमुख दुर्गा कुमार बरालले बताए । ‘अन्तु र कन्याम मात्र होइन यहाँका हरेक वडा हरेक गाउँ पर्यटकीय छन् । कृषिउपज, जडीबुटी, लोपन्मुख रेडपाण्डा, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थानले सूर्योदय पर्यटकीय ठाउँ हो । कोशी प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा गरेको छ । अन्तु र कन्याम हाम्रा प्रमुख गन्तव्य हुन् । तर, अन्य ठाउँलाई समेत पर्यटनमा विकास गर्दै लैजान्छौँ । हाम्रो आर्थिक समृद्धिको प्रमुख आधार नै पर्यटन हो’, उनले भने ।
२२ वैशाख, लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले स्कटल्याण्ड र प्रेस्टन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सुविधाका लागि राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविर गरेको छ ।
गैरआवासीय नेपाली संघ स्कटल्याण्डको समन्वयमा सोमबार स्कटल्याण्डमा शिविर गरिएको हो । दिउँसो ११ देखि ४ बजेसम्म भएको उक्त शिविरबाट करिब ८० जनाले सेवा लिएका छन् ।
उता, नेपाली समाज प्रेस्टनको समन्वयमा आइतबार पहिलोपटक सो क्षेत्रमा शिविर गरिएको छ । शिविरबाट करिब ३० जना लाभान्वित भएको दूतावासले जनाएको छ । प्रेस्टन र आसपासका क्षेत्रहरू म्यानचेस्टर, लिभरपुल, कार्लिस र बोल्टनमा बसोबास गर्ने सेवाग्राहीका लागि टार्गेट गरेर शिविर गरिएको थियो ।
नेपाली समाज प्रेस्टनका अध्यक्ष हरिकृष्ण कार्कीले पहिलोपटक आफ्नो समुदायमा आएर दूतावासले अत्यावश्यक राहदानी तथा कन्सुलर सेवा प्रदान गरेकामा दूतावासप्रति आभार प्रकट गरेका छन् ।
‘हामीले यसअघि कहिल्यै बेलायतमा नेपाली दूतावास भएको अनुभूति गर्न पाएका थिएनौं’, अध्यक्ष कार्कीले भने, ‘तर महामहिम कार्यवाहक राजदूत विपिन दुवाडीले पहिलोपटक हामीलाई सम्झिएर शिविर प्रवन्ध गरिदिनु भयो, धेरै ऋणी छौं ।’
शिविरबाट सेवाग्राहीलाई लन्डनसम्म जान आउन समय र पैसा वचत भएको कार्कीले बताए ।
दुवै घुम्ती शिविरमार्फत राहदानी नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमतिपत्र र पर्यटक भिसा जस्ता सेवा प्रदान गरिएको कार्यवाहक राजदूत विपिन दुवाडीले जनाए । ‘वर्तमान सरकारको ‘स्प्रिट’ बमोजिम सबै नेपालीलाई सहज तरिकाले सेवा प्रवाह गराउने हाम्रो उद्देश्य हो’, दुवाडीले भने, ‘सेवाग्राहीका आवश्यकता अनुसार प्राथमिकतामा राखेर हामीले अभियानकै रुपमा यसलाई अगाडि बढाएका छौं । यसबाट समय र यातायात खर्च समेत वचत भएको छ ।’
दूतावासले यही १० मे आइतबार आयरल्याण्डमा समेत शिविर गर्ने तयारी गरेको छ । दूतावासले केही साताअघि ब्रिटिश ओभरसिज टेरिटोरीका रुपमा रहेको केमन आइल्याण्डका नेपालीलाई लक्षित गरि शिविर गरेको थियो ।
सो क्रममा स्थानीय नेपालीहरुलाई त्यहांको सरकारका मन्त्रीहरु र गर्भनरसंग प्रत्यक्ष साक्षात्कार गराइ उनीहरुलाई आवश्यक सहयोग गरिदिन अपिल गरिएको दुवाडीले बताए ।
नेपालीहरु उल्लेख्य रहेको बेलायतको अल्डरसटमा शिविर गरिसकेको दूतावासले माग र आवश्यकता अनुसार संयुक्त अधिराज्य (यूके) का अन्य क्षेत्रहरुमा समेत शिविर गर्ने योजना बनाएको छ ।
२२ वैशाख, काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताको सचिवालयका सदस्य निरज कटुवालले वैशाख १५ गते बिहान करिब साढे दशबजे ह्वाट्सएप ग्रुपमा ‘जलेका गाडीको नाममा इन्धनको दुरुपयोग’ भन्दै एउटा सूचना प्रवाह गरे । जुन सूचनाभित्र स्वास्थ्य मन्त्रालयकै कर्मचारी संलग्न रहेको आरोप थियो ।
त्यही आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । एक साता लगाएर छानबिन गरेको समितिले मन्त्रीकै सचिवालयबाट प्रवाहित भएको सूचना झुटो भएको निष्कर्ष निकालेको छ ।
मन्त्री मेहताको सचिवालयको हवाट्स एप ग्रुपमा भनिएको थियो, ‘जलेका गाडीको नाममा इन्धन दुरूपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन ।’
मन्त्रीको सचिवालयबाट आएको सूचना विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तीव्र गतिमा फैलियो । यसले मन्त्रालयभित्र सरकारी कर्मचारीबाट नै ठूलो अनियमितता भएको सन्देश प्रवाह गर्यो ।
सचिवालयबाट उक्त विवरण बाहिरिएपछि मन्त्रालयको प्रशासन महाशाखामा कार्यरत उपसचिव मित्रप्रसाद घिमिरे आरोपको केन्द्रमा परे । जलेका गाडीका नाममा पेट्रोलको कुपन हिनामिना गरेको आरोप लगाउँदै उनीमाथि सामाजिक सञ्जालमा तीव्र आक्रमण सुरू भयो ।
लोकसेवा आयोगको तयारीका लागि पाठ्य सामग्री लेख्ने र प्रशिक्षकका रूपमा चिनिएका घिमिरेमाथि अचानक भ्रष्टाचारको आरोप लगाइयो । सामाजिक सञ्जालमा उनलाई लक्षित गर्दै अनेक टिप्पणी, आरोप र आलोचना फैलियो । मन्त्रीको सचिवालयबाट सार्वजनिक भएको अपुष्ट विवरणकै कारण उनी एकाएक विवादको केन्द्रमा तानिए ।
उक्त आरोप भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग जोडिएको थियो । आन्दोलनका क्रममा भदौ २४ गते राति काठमाडौंको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अराजक समूहले आगजनी गरेका थिए । आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए ।
पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने सचिवालयको जीकिर थियो ।
देशभरका स्वास्थ्य कार्यक्रमको अनुगमन र समन्वय गर्ने मुख्य निकाय रहेको उक्त मन्त्रालयको भवनमा भएको आगजनीले ठूलो क्षति पुर्यायो ।
विश्वकै तीनमध्ये एक वास्तुशिल्प चिनाउने स्वास्थ्य मन्त्रालयको भवन खण्डहर बन्यो । परिसरमा रहेका धेरै सरकारी सवारी साधन जलेर नष्ट भए । त्यसपछि स्वास्थ्य मन्त्रालयको कामकाज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनबाट भयो ।
गत मंसिरमा सिंहदरबारको दक्षिण–पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गणको खाली जग्गा र भवन फेला पर्यो । मंसिरबाट स्वास्थ्य मन्त्रालय सिंहदबार छिर्यो । अहिले टिनको डिब्बाबाट मन्त्रालय कामकाज सुरू भएको छ । कतिपय काम अझै परिषद्बाट नै भइरहेको छ ।
छानबिनले गर्यो आरोप खारेज
मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार, उक्त विषयको सत्यतथ्य पत्ता लगाउन १५ वैशाखमा सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।
समितिले जलेका सवारीसाधनका नाममा इन्धन निकासा भएको भन्ने दाबी गलत प्रमाणित गरेको बताएका छन् ।
डा. अधिकारीका अनुसार जलेका सवारीसाधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धन निकासासम्बन्धी अभिलेख (अर्धकट्टी), भुक्तानी विवरण लगायत कागजातहरूको अध्ययन र विश्लेषणपछि यस्तो निष्कर्ष निकालिएको हो ।
‘जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष समितिले निकालेको छ,’ डा. अधिकारीले भने ।
तर मन्त्रीको सचिवालयबाटै उक्त आरोप सार्वजनिक भएको विषयमा मन्त्रालय भने मौन देखिएको छ । बरु मन्त्रालयले दोष सञ्चारमाध्यमतर्फ मोड्ने प्रयास गरेको छ ।

डा.अधिकारीले जारी गरेको वक्तव्यमा अपुष्ट र भ्रम फैलाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । यस्ता विषय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नफैलाउन सबै सरोकारवालालाई अनुरोध गरेका छन् ।
मन्त्रालयले भने पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति प्रतिबद्ध रहेको दाबी गरेको छ ।
लगातार एक सातासम्म सामाजिक सञ्जालमा आरोप र आलोचनाको सामना गरेका घिमिरेले सामाजिक सञ्जालमार्फत लामो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।
घिमिरेले आरोपका कारण आफू र आफ्नो परिवारले गहिरो पीडा भोग्नुपरेको बताएका छन् । ‘कहिलेकाहीँ जीवनले यस्तो मोड ल्याउँछ, जहाँ सत्य भएर पनि आफूलाई प्रमाणित गर्नुपर्छ,’ उनले लेखेका छन्, ‘ निराशा, पीडा र अनेक प्रश्नहरुबीच पनि मैले सत्यप्रतिको विश्वास कहिल्यै गुमाइन् ।’
छानबिनपछि निर्दोष सावित भएको खबर सार्वजनिक हुँदा मन हलुका भएको घिमिरेले बताएका छन् । घिमिरेले अझ मजबुत संकल्पका साथ इमान्दारिता, पारदर्शिता र सेवाको मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री मेहताका काममा प्रश्न
मन्त्री बनेको एक महिनामै मेहता पटक-पटक विवादमा परेकी छन् । स्वास्थ्य बीमा बोर्डको सदस्यमा जुनु श्रेष्ठलाई पुनः नियुक्ति गरिन् । आफैं विवादमा तानिने भएपछि नियुक्ति पत्र नै गायब बनाइन् । यो प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह १४ दिनमै पदमुक्त भए ।
तत्कालीन श्रममन्त्री साहले पदीय शक्ति दुरुपयोग गरी आफ्नी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमविपरीत सक्रिय गराएका थिए । साहले पदीय दुरुपयोग गरेको भन्दै पार्टीले मन्त्री पद खोस्यो । मन्त्रालय मातहतको निकायमा भएको गम्भीर विषयमा रास्वपाले मन्त्री मेहतालाई चेतावनी दियो ।
मन्त्रालयको नेतृत्व सम्हालेपछि स्वास्थ्य प्रणाली सुधारका दीर्घकालीन काममा ध्यान दिनुपर्ने ठाउँमा मन्त्री मेहताले सानातिना प्रशासनिक निर्णयमै समय खर्च मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
मन्त्रीको एक महिनाको गतिविधि हेर्दा हतारमा निर्णय गर्ने र केही समयपछि त्यही निर्णय सच्याउने प्रवृत्ति हावी भएको देखिन्छ । स्वास्थ्य कर्मचारीलाई दुई दिन बिदा दिने निर्णयदेखि काज सरुवामा काखापाखा गरेको उनीमाथी आरोप छ ।
सरकारले सार्वजानिक क्षेत्रमा हप्ताको दुई दिन बिदा दिँदा स्वास्थ्य मन्त्रालयले आइतबार सेवा सञ्चालन गर्ने निर्णय लियो । तर मन्त्री मेहताले आफूले गरेको उक्त निर्णयमा अडिग रहन सकिनन् । चिकित्सक संघ लगायतका स्वास्थ्यकर्मीका संगठनले दिएको दबाबका कारण मेहताले उक्त निर्णयलाई उल्टाउँदै आइतबार ओपीडी सेबा बन्द गर्ने निर्णय गरिन् । जसका कारण अहिले वीर, टिचिङ लगायका केन्द्रीय अस्पतालका सेवा झनै भद्रगोल बन्न पुगेको छ ।
औषधि व्यवस्थापनसँग सम्बन्धित निर्णयमाथि पनि प्रश्न छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालमाथि ५० वटा औषधिको मूल्य अस्वाभाविक रूपमा बढाएको आरोप लागेपछि उनलाई मन्त्रालय तानिएको थियो । घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिए पनि प्रक्रियागत कमजोरीका कारण समिति सुरुवातमै विवादमा परेको छ ।
विज्ञहरूसँग पर्याप्त परामर्श नगरी समिति बनाइएकाले केही विज्ञहरूले सदस्य बन्न अस्वीकार गरेपछि अर्को समिति गठन भयो । त्यो समितिले पनि अहिलेसम्म प्रभावकारी काम गर्न सकेको छैन ।
ढकाल महानिर्देशक रहँदा ११औँ तहका कर्मचारी भरत भट्टराई विभागअन्तर्गतको राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक थिए । तर मन्त्री मेहताले विभाग र प्रयोगशालाको संरचना स्पष्ट रूपमा नबुझी प्रयोगशालालाई विभागसरह समानान्तर निकाय ठानेर १०औँ तहकी कर्मचारी शिवानी खड्गीलाई निमित्त निर्देशक नियुक्त गरिन् ।
यो निर्णयले प्रशासनिक मर्यादा र पदानुक्रममाथि गम्भीर प्रश्न उठायो । ११औँ तहका वरिष्ठ कर्मचारीले १० औँ तहका कनिष्ठ कर्मचारीको निर्देशन मान्नुपर्ने अवस्था सिर्जना भएपछि कर्मचारी वृत्तमा चर्को असन्तुष्टि छ । विवाद बढेपछि मात्रै मन्त्रीले वास्तविक अवस्था बुझेर भट्टराईलाई हतार–हतार मन्त्रालय तानेकी थिइन् ।
२२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानका सात वटा ‘फास्ट बोट’ भनिने डुंगाहरुमा आक्रमण गरेको बताएका छन् ।
ट्रम्पले भनेका छन्, ‘हामीले सात वटा साना डुङ्गा (उनीहरूले फास्ट बोट भन्ने गरेका छन्) लाई ढालेका छौं । उनीहरूसँग अब यही मात्रै बाँकी छ ।’
प्राय: बन्दजस्तै बनेको यस जलमार्गबाट अलपत्र परेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेका बेला अमेरिकाले इरानका डुंगाहरुमाथि आक्रमण गरेको जनाएको हो । अमेरिकाले ‘प्रोजेक्ट फ्रिडम’ अभियान अन्तर्गत इरानी बोटहरुमा आक्रमण गरेको थियो ।
अमेरिकी सेनाले हेलिकप्टर प्रयोग गरेर ती डुङ्गामा आक्रमण गरेको जनाएको छ । तर इरानले भने अमेरिकी आक्रमणको प्रचार पूर्णरुपमा गलत भएको जनाएको छ ।
यसबीचमा अमेरिकी झण्डावाल एक जहाज स्ट्रेट अफ होर्मुज पार गर्न सफल भएको जनाइएको छ । एक ढुवानी कम्पनी मर्स्कका अनुसार, उसको अमेरिकी झण्डावाला एउटा जहाज अमेरिकी सैन्य सुरक्षा अभियान मार्फत सफलतापूर्वक स्ट्रेट अफ होर्मुज पार गर्न सफल भएको हो । ‘एलायन्स फेयरफ्याक्स’ नामक सो जहाज फेब्रुअरीदेखि खाडी क्षेत्रमा अलपत्र थियो ।
मर्स्कले आफ्नो व्यावसायिक जहाजको यात्रा कुनै अवरोध बिना सम्पन्न भएको र सबै चालकदल सुरक्षित रहेको जनाएको छ ।
अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि हवाई आक्रमण गरेयता स्ट्रेट अफ होर्मुज प्राय: अवरुद्ध छ । अमेरिका र इजरायलको आक्रमणको प्रतिउत्तरमा इरानले विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ओसारपसार हुने यो महत्वपूर्ण जलमार्ग अवरुद्ध गरेको थियो ।
अप्रिलको सुरुवातमा अमेरिका र इरानबीच युद्धविराम घोषणा भए पनि त्यसयता थोरै मात्र जहाजहरूले यो मार्ग प्रयोग गर्न सकेका छन् । साथै, अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नै नाकाबन्दी पनि लागू गरेको छ ।
फेब्रुअरीदेखि सुरु भएको अमेरिका–इरान युद्धपछि करिब २ हजार जहाजमा रहेका २० हजार नाविकहरू सो क्षेत्रमा फसेका छन् ।
यसअघि अमेरिकाले आफ्ना नौसेना विध्वंसक जहाज र अमेरिकी झण्डावाला व्यापारीक जहाजहरूले सोमबार जलडमरूमध्य पार गरेको दाबी गरेको थियो । इरानले यसलाई ‘पूर्ण रूपमा गलत’ भन्दै आफ्नो सेनाले अमेरिकी युद्धपोततर्फ चेतावनी स्वरूप गोली चलाएको बताएको छ, जसलाई अमेरिकाले अस्वीकार गरेको छ ।
२२ वैशाख, काठमाडौं । आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिककी डलर एकको खरिद दर १५१.८५ र बिक्री दर १५२.४५ रहेको छ । सोमबार खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ थियो
आज युरोको खरिद दर १७७.६८ र बिक्री दर १७८.३८ रहेको छ । सोमबार खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ थियो ।
यस्तै, आज पाउण्ड स्टर्लिङको खरिद दर २०५.६५ र बिक्री दर २०६.४६ रुपैयाँ रहेको छ । स्वीस फ्रयांकको एको खरिद दर १९३.७० र बिक्री दर १९४.४६, अष्ट्रेलियन डलरको एकको खरिद दर १०९.०४ र बिक्री दर १०९.४७ रुपैयाँ रहेको छ ।
जापानी येन १० को खरिद दर ९.६६ र बिक्री दर ९.७० रहेको छ भने दक्षिण कोरियन वनको १०० को खरिद दर १०.३१ र बिक्री दर १०.३५ रहेको छ ।

हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३