KATHMANDU WEATHER
Horizontal Scroll Menu

नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

काठमाडाै,२० वैशाख । पहिरोका कारण बिहान अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। वर्षासँगै आज बिहान दुई स्थानमा पहिरो खस्दा यातायात केही समय प्रभावित बनेको थियो।

सडकखण्डको तुइन खोला र पानीधारा क्षेत्रमा ढुङ्गासहितको पहिरो खसेपछि बिहान करिब ५:४५ बजेदेखि यातायात एकतर्फी रूपमा मात्र सञ्चालन भएको थियो। पहिरोका कारण लामो दूरीका सवारी साधन रोकिएका थिए।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार भरतपुरबाट डोजर मगाएर पहिरो हटाएपछि अहिले सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

प्रहरीका अनुसार पानीधारामा खसेको पहिरो भने बिहानै हटाइएको थियो। सडक पूर्ण रूपमा खुलेसँगै यातायात सहज बनेको छ।

सरकारले बाटो सच्च्याओस्, विकासको नाममा जनतालाई नहटाओस् : सीके राउत

काठमाडाै,२० वैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल नीति र व्यवहार सुधार गर्न चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राउतले सरकार बनेको सय दिन नपुग्दै विकासको नाममा अपनाइएका कदमहरूमाथि प्रश्न उठाएका हुन्। उनका अनुसार विकास केवल सडक, फुटपाथ वा भौतिक संरचनामा सीमित नभई नागरिकको आधारभूत जीवन, आवास र सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो।

राउतले राजधानीमा गरिब, मजदुर तथा सीमान्तकृत समुदायलाई हटाएर निर्माण गरिने संरचनालाई ‘नवधनाढ्यहरूको विलासिता’ भन्दै आलोचना गरेका छन्। राज्यको वास्तविक अर्थ जनता भएको उल्लेख गर्दै उनले सरकार जनताको सेवाका लागि जिम्मेवार कर्मचारीसरह भएको टिप्पणी गरेका छन्।

उनले राज्यका निकायहरूलाई आफ्नो अधिकार र सीमाभित्र रहन आग्रह गर्दै शक्ति र सत्ताको अहंकार खतरनाक हुने चेतावनी दिएका छन्। साथै, इतिहासले पनि शक्ति केन्द्रमा बसेकाहरूलाई अति आत्मविश्वासका कारण पतन गराएको उदाहरण दिएको उनको भनाइ छ।

राउतले निर्णय गर्दा “गोल्डेन रुल” अपनाउन सुझाव दिँदै कुनै पनि नीतिको प्रभाव आफ्नै परिवार र बालबालिकाको दृष्टिबाट सोच्नुपर्ने बताए। नेपाल र अन्य देशबीच नागरिकप्रति राज्यले गर्ने व्यवहारमा ठूलो अन्तर रहेको उल्लेख गर्दै उनले नेपालमा नागरिक अधिकार कमजोर बन्दै गएको टिप्पणी गरेका छन्।

सरकारले जनताको संरक्षण गर्नुपर्ने ठाउँमा उल्टै उनीहरूलाई विस्थापित गर्ने प्रवृत्ति देखिए भविष्यमा गम्भीर परिणाम निम्तिन सक्ने उनको चेतावनी छ।

सशस्त्रका नवनियुक्त आईजीपी पौडेललाई गृहसचिवले फुली लगाउने

२० वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नननियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन् ।

१८ वैशाखमा चार वर्षे पदावधिका कारण राजु अर्याल अनिवार्य अवकाशमा गइसकेका छन् । उनको ठाउँमा सरकारले पौडेललाई आईजीपी बनाउने निर्णय गरिसकेको छ । शनिबारदेखि नै आईजीपी खाली भए पनि दुई दिन सार्वजनिक बिदा भएका कारण पौडेलले सोमबार मात्रै फुली लगाउने भएका हुन् ।

 

 

 

गृह मन्त्रालय स्रोतका अनुसार, पौडेलले गृहसचिव राजकुमार श्रेष्ठको हातबाट दर्ज्यानी चिन्ह लगाउने छन् । निवर्तमान गृहमन्त्री सुधन गुरुङले अब आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गरिने बताएका थिए ।

जसकारण अब आईजीपीले कसको हातबाट दर्ज्यानी चिन्ह लगाउलान भन्ने चासो उठेको थियो । तर यो बीचमा गुरुङ आफैं मन्त्रीबाट हटेपछि भने उनले बोलेको विषय कार्यान्वयन नहुने भएको छ ।

 

 

 

गृहसचिव श्रेष्ठले आईजीपी पौडेललाई दर्ज्यानी चिन्ह लगाउने गरी गृह मन्त्रालयले तयारी गरेको छ । सोमबार बिहान पौने ९ बजे फुली लगाउने कार्यक्रम रहेको गृह मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो ।

त्रिवि सेवा आयोगका अध्यक्ष भट्टराईको राजीनामा

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले पदबाट राजीनामा दिएका छन्। उनले शनिबार राजीनामा दिएको पुष्टि गर्दै आफू पदमुक्त भएको जानकारी दिएका हुन्।

भट्टराईलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सेवा आयोगको अध्यक्षमा नियुक्त गरेको थियो।

हालको सरकार राजनीतिक नियुक्तिहरू खारेज गर्ने तयारीमा अघि बढेसँगै विश्वविद्यालय क्षेत्रका उच्च पदाधिकारीहरू राजीनामा दिन थालेका छन्। सोही उद्देश्यअनुसार तयार पारिएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले हालै जारी गरिसकेका छन्।

यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पनि राजीनामा दिइसकेका छन्। त्यस्तै संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पनि केही दिनअघि पद त्याग गरेका थिए।

विश्वविद्यालय पदाधिकारीहरूको लगातार राजीनामाले उच्च शिक्षाको प्रशासनिक संरचनामा ठूलो परिवर्तन देखिएको छ।

प्रेस स्वतन्त्रताको पक्षमा पर्सामा प्रभातफेरी,

बीरगन्ज,२० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले बीरगन्जमा प्रभातफेरी कार्यक्रम आयोजना गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याएको छ।

घण्टाघरबाट सुरु भएको प्रभातफेरी बीरगन्जका मुख्य सडकहरू परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर समापन गरिएको थियो। कार्यक्रममा पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सञ्चार संस्थासँग आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि विभिन्न चुनौती थपिँदै गएको बताए। उनले संघीय संसद्मा विचाराधीन मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमनसम्बन्धी प्रस्तावित कानुन तथा सूचना प्रविधिसम्बन्धी व्यवस्थाप्रति महासङ्घले गम्भीर चासो व्यक्त गरेको जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले स्वतन्त्र, जिम्मेवार र सुरक्षित पत्रकारिताका लागि कानुनी तथा नीतिगत वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३