KATHMANDU WEATHER
Horizontal Scroll Menu

एकै दिन २ हजारभन्दा बढी चालक कारबाहीमा

काठमाडौँ,२० वैशाख । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूमाथि गरिएको कारबाहीबाट पछिल्लो २४ घण्टामा पाँच लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा दुई हजार १११ चालकलाई कारबाही गरिएको हो।कारबाहीमा परेकामध्ये १०९ जना मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक रहेका छन् भने नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १८४ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १०३, तीव्र गतिमा सवारी चलाउने २२२, लेन अनुशासन नमानेका १३८ तथा निषेधित क्षेत्रमा हर्न बजाउने ६७ चालक कारबाहीमा परेका छन्।

सडक पेटीमा सवारी पार्किङ गर्ने ८६, तोकिएको स्थानबाहेक यात्रु चढाउने–ओराल्ने ४२ र अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार १६० जनालाई समेत ट्राफिक प्रहरीले जरिवाना गरेको जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा र अनुशासन कायम गर्न नियमित निगरानी तथा कारबाहीलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।

लेखेको र बोलेकै कारण मिडियामाथि दमन बढ्यो : अध्यक्ष शर्मा

काठमाडाै,२० वैशाख । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपालमा प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेप र दमनका घटना बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित ऐक्यबद्धता र्‍यालीलाई सम्बोधन गर्दै शर्माले पत्रकार र सञ्चारमाध्यमहरू लेखेकै र बोलेकै कारण राज्य तथा गैरराज्य पक्षबाट दबाब र दमन झेल्न बाध्य भएको बताइन्।

उनका अनुसार नेपाल पत्रकार महासंघले गरेको पछिल्लो मिडिया मनिटरिङमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा उल्लेख्य वृद्धि देखिएको छ। गत वर्ष ७३ वटा घटना अभिलेख भएकोमा यस वर्ष यस्तो संख्या बढेर १३१ पुगेको उनले जानकारी दिइन्। अझै धेरै घटना सार्वजनिक नभएको पनि उनको भनाइ थियो।

अध्यक्ष शर्माले वर्तमान सरकारले सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गरेको आरोप लगाउँदै विज्ञापन र अन्य माध्यममार्फत मिडियालाई कमजोर बनाउने प्रयास भइरहेको बताइन्। यसले धेरै पत्रकारको रोजगारीसमेत प्रभावित भएको उनको भनाइ थियो।

कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले प्रेस स्वतन्त्रता केवल कानुनमा उल्लेख गरेर मात्र सुरक्षित नहुने उल्लेख गर्दै व्यवहारमा पनि त्यसको सम्मान र संरक्षण आवश्यक रहेको बताए।

उनले लोकतन्त्र र प्रेस स्वतन्त्रता बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको स्मरण गराउँदै आगामी पुस्ताका लागि अझ सशक्त र सुरक्षित प्रेस वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। साथै, प्रेसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नियन्त्रण गर्ने कुनै पनि प्रयासप्रति बार एसोसिएसन सचेत रहने उनले बताए।

विद्यार्थी भर्ना र शुल्क विवाद सुल्झाउन आज सिंहदरबारमा छलफल हुँदै

२० वैशाख ,काठमाडौँ । विद्यालय क्षेत्रको सुधार तथा सङ्घ र स्थानीय तहबिचको समन्वयलाई थप प्रभावकारी बनाउन सरकारले विशेष पहल सुरु गरेको छ ।

यसै सिलसिलामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०८३ को प्रारम्भमा देखिएका विद्यार्थी भर्ना र शुल्क सम्बन्धी विवादहरू समाधान गर्न आज सोमवार काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीहरूसँग सिंहदरबारमा विशेष छलफल आयोजना गरेको हो ।

नयाँ शैक्षिक सत्र सुरु हुने सङ्घारमा मापदण्ड विपरीतको शुल्क असुली, वार्षिक शैक्षिक क्यालेन्डरमा देखिएको अन्यौलता र आगामी रणनीतिका विषयमा जनप्रतिनिधिहरूलाई एकै ठाउँमा राखेर साझा धारणा बनाउन मन्त्रालयले यो तत्परता देखाएको हो ।

विशेष गरी केही संस्थागत विद्यालयहरूले कानुनको उल्लंघन गर्दै शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क लिने गरेको जनगुनासो बढेपछि मन्त्रालयले हालै मात्र गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन समेत दिइसकेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने यस महत्वपूर्ण बैठकमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डङ्गोल, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनका साथै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्षहरूको सहभागिता रहनेछ ।

छलफलमा शिक्षा र गृह मन्त्रालयका उच्च अधिकारीहरू समेत सहभागी भई विद्यालयहरूबाट भइरहेका पछिल्ला गतिविधि र अनियमितता रोक्न ठोस कदम चाल्ने तयारी गरिएको छ ।

सङ्घीय सरकार र स्थानीय तहबिच भर्ना अभियान र पठनपाठन सुरु गर्ने मितिमा देखिएको भिन्नताले विद्यार्थी र अभिभावकमा ठुलो अन्यौलता सिर्जना गरेको छ ।

सङ्घीय सरकारले वैशाख १५ गतेदेखि भर्ना सुरु गरी २१ गतेबाट पठनपाठन सुरु गर्न निर्देशन दिएको भए तापनि काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले भने वैशाख ११ गतेबाटै नयाँ भर्ना र १५ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न परिपत्र जारी गरेका थिए ।

आजको यो छलफलले ती भिन्नताहरूलाई सम्बोधन गर्दै विद्यालय प्रशासनलाई जिम्मेवार बनाउन र विद्यार्थी भर्ना प्रक्रियालाई थप व्यवस्थित एवं पारदर्शी बनाउन महत्त्वपूर्ण दिशा निर्देश गर्ने अपेक्षा गरिएको छ ।

अनामनगरको करिडोरमा भत्काईयो भाइरल ७ तले घरः कागजात घरको भित्तामा, प्रशासनको एक्सन मैदानमा

 काठमाडौंको अनामनगरस्थित धोविखोला करिडोरमा आइतबार दिउँसोको दृश्य निकै तनावपूर्ण देखियो ।

सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको भन्दै स्थानीय एक साततले भवनमा महानगरको डोजरले प्रहार गर्न थालेपछि त्यहाँको वातावरण कोलाहलमय बनेको छ । एकातिर सुरक्षाकर्मीले घरभित्रका सामान बाहिर निकालिरहेका थिए भने अर्कोतिर डोजरका दुईवटा फलामे पञ्जाहरूले साततले संरचना भत्काउन सुरु गरिसकेका थिए ।

सरकारी पक्षले जग्गाको स्वामित्व सार्वजनिक भएको दाबी गरिरहँदा घरधनीको आक्रोश र बिलौनाले भने कानूनी छिद्र र कार्यान्वयनको शैलीमाथि गम्भीर प्रश्न उब्जाएको छ ।

घरधनी इन्द्र चाम्लिङले आफ्नो सम्पत्तिको रक्षाका लागि अनौठो तरिका अपनाएका थिए— उनले जग्गाको लालपूर्जा र आधिकारिक नक्सापासका कागजातहरू सबैले देख्ने गरी घरकै भित्तामा टाँसेका थिए । आफूसँग वैधानिक प्रमाण रहेको र उच्च अदालतले समेत उक्त जग्गा सरकारी नभएको आदेश दिइसकेको दाबी चाम्लिङले गरिरहँदा पनि डोजर रोकिएन ।

‘पूर्जा र नक्सा हातमा हुँदाहुँदै घरमा डोजर चल्नु अन्याय हो,’ भन्दै उनले न्यायको याचना गरे पनि सुरक्षा घेराका बीच महानगरको अभियानले निरन्तरता पायो । विकास र सुशासनका नाममा गरिएका यस्ता ‘एक्सनहरूले कानूनी कागजात र व्यवहारिक कार्यान्वयनबीचको खाडललाई पुनः सतहमा ल्याइदिएको छ ।

नारायणगढ-मुग्लिन सडकको तुइन खोलामा पहिरो, सवारी आवागमन प्रभावित

२० वैशाख, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा सवारी साधन आवागमन प्रभावित भएको छ ।

उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको हो ।

 

 

 

बिहान ५ः४५ बजे पहिरो खसेपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।

प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडकको पहिरो हटाउन डोजर मगाइएको छ । पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३