KATHMANDU WEATHER
Horizontal Scroll Menu

नर्सिङ होमको ‘लोकेसन म्याप’ देखि क्लिनिकमा मृत्युसम्म: के थियो गीता पाण्डे प्रकरणको रहस्य ?

९ बैशाख, काठमाडौं ।  बुटवलमा गर्भपतनका क्रममा भएको महिलाको मृत्यु प्रकरणमा जोडिएका दुई चिकित्सकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पाको बगनासकाली–२ ख्याहाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएपछि उनका श्रीमान् प्रकाश पाण्डेले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

यस घटनामा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा.सतिष रुपाखेती मंगलबार साँझ आफैँ प्रहरी कार्यालयमा उपस्थित भएपछि नियन्त्रणमा लिइएका हुन् ।

घटनाको विवरण अनुसार, चैत २७ गते गर्भ जाँचका लागि खत्री नर्सिङ होम पुगेकी गीतालाई डा.खत्रीले गर्भ असामान्य रहेको भन्दै थप उपचारका लागि वैशाख ४ मा बोलाएका थिए । तर, वैशाख ५ मा नर्सिङ होम पुग्दा उनलाई ‘लोकेसन म्याप’ दिएर बुटवलस्थित जोनल फार्मेसी क्लिनिक पठाइएको थियो। फार्मेसीले १६ हजार रुपैयाँ शुल्क तोकेर औषधि दिएपछि उनलाई पुनः इन्दु लेखा क्लिनिक पुर्‍याइएको थियो ।

सोही क्लिनिकमा डा. रुपाखेतीले जाँच र गर्भपतन गराउने क्रममा गीताको अवस्था जटिल बनेको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको पीडित पक्षको दाबी छ ।

मृतकका पति प्रकाश पाण्डेले चिकित्सकहरूले केवल आर्थिक लाभको उद्देश्य राखेर उपचारमा गम्भीर लापरवाही गरेको आरोप लगाएका छन् । उनले स्वस्थ रहेकी श्रीमतीलाई बेहोस भएपछि आफूलाई जानकारी नै नदिई लुम्बिनी सिटी अस्पताल पुर्‍याइएको र उपचारका रिपोर्टहरू समेत लुकाउन खोजिएको बताएका छन् ।

यसै प्रकरणमा प्रहरीले जोनल फार्मेसीकी सन्ध्या बस्नेत, निलम घर्ती मगर र इन्दु लेखा क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई पनि पक्राउ गरिसकेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ परेकाहरूमाथि अदालतबाट म्याद थप गरी घटनाको निष्पक्ष छानबिन भइरहेको छ ।

गृहमन्त्रीको संकट गरिहिँदा बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गृहमन्त्री सुधन गुरूङ विवादमा परेसँगै प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।

गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका बेला यता सिंहदरबारमा भने मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

 

विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको कम्पनीमा साझेदारी, सम्पत्ति विवरण नै लुकाएको जस्ता विवादमा सुधन परेका छन् । यस्तोमा प्रधानमन्त्री बालेनले क्याबिनेट बोलाएर केही ठोस निर्णय दिन लागेको चर्चा छ।

तर सुधनलाई सरकारबाट फिर्ता बोलाउने-नबोलाउने निर्णय रास्वपाको हातमा पनि छ । यसअघि श्रममन्त्री दीपक साहलाई रविकै सिफारिसमा बालेनले हटाएका थिए ।

 

यो विवादबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको कम्पनीमा साझेदारी, सम्पत्ति विवरण नै लुकाएको जस्ता विवादमा सुधन परेका छन् ।

यस्तोमा सुधनले पार्टी सभापति लामिछानेसँग उनको निवास बूढानीलकण्ठ पुगेर छलफल गरिरहेका छन् ।

 

उक्त छलफलमा प्रधानमन्त्रीले समेत स्पष्टीकरण सोधेको अवस्थामा रविले सम्भवत: सुधनलाई निकास दिन सुझाव दिन सक्ने बताइएको छ। सुधनलाई वालेन्द्रले केही निश्चित जिम्मेवारी दिएर गृहमन्त्री बनाएका थिए ।

सुधन र वालेन्द्र दुवै भदौमा भएको दमनमा संलग्न भएको आरोप लगाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने कुरामा एकमत थिए ।

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् ।

विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको कम्पनीमा साझेदारी, सम्पत्ति विवरण नै लुकाएको जस्ता विवादमा सुधन परेका छन् ।

 

यस्तोमा सुधनले पार्टी सभापति लामिछानेसँग उनको निवास बूढानीलकण्ठ पुगेर छलफल गरिरहेका छन् । उक्त छलफलमा प्रधानमन्त्रीले समेत स्पष्टीकरण सोधेको अवस्थामा रविले सम्भवत: सुधनलाई निकास दिन सुझाव दिन सक्ने बताइएको छ।

सुधनलाई वालेन्द्रले केही निश्चित जिम्मेवारी दिएर गृहमन्त्री बनाएका थिए । सुधन र वालेन्द्र दुवै भदौमा भएको दमनमा संलग्न भएको आरोप लगाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने कुरामा एकमत थिए ।

त्यसैगरी गत भदौको जेन-जी आन्दोलनपछि उनले रातारात लाखौँको शेयर किन्दा स्रोत खुलाउन नसकेको अर्को आरोप पनि सुधनलाई लागेको छ।

अनेक विवादपछि सुधनलाई प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार नै स्पष्टीकरण पनि सोधिसकेका छन् । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहलाई वालेन्द्रले स्पष्टीकरण नै नसोधी रविको सिफारिसमा सिधै बर्खास्त गरेका थिए ।

तर साहको भन्दा गम्भीर विवादमा मुछिएर अनेक प्रश्न उठे पनि सुधनलाई भने वालेन्द्रले स्पष्टीकरणको मौका दिएका छन् ।

नेतृत्व छाड्ने दबाबबीच एमालेका पोस्टरबाट हराउन थाले केपी ओली

काठमाडौं- संसद्को तेस्रो दल नेकपा एमालेले यही वैशाख ९ गते दिउँसो केन्द्रीय कार्यालय च्यासलमा कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवस मनाउनका लागि दुईवटा पोस्टर सार्वजनिक गर्‍यो ।

ती दुवै पोस्टरको समानता के छ भने अध्यक्ष केपी शर्मा ओली गायब भएका देखिन्छन् । सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीका शक्तिशाली अध्यक्ष पोस्टरबाट हराउन थालेपछि उनका समर्थकले चासो र चिन्ता जाहेर गर्न थालेका छन् ।

 

एमालेले सार्वजनिक गरेका दुवै पोस्टरमा कम्युनिस्ट आन्दोलनका दिवंगत हस्तीहरूको तस्बिर छ । एउटा पोस्टरको कुनामा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर राखिएको छ।

त्यसैगरी अर्को पोस्टरमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, तुल्सीलाल अमात्य र सहाना प्रधानलाई देखाइएको छ । जहाँबाट पनि ओली गायब छन् ।

 

तर, त्यही पोस्टरबाट अध्यक्ष ओली बेपत्ता छन् । यसअघि गत भदौमा ललितपुरको गोदावरीमा भएको दोस्रो विधान महाधिवेशन र मंसिर अन्तिम साता भएको ११ औँ महाधिवेशनस्थल ओलीमय देखिन्थे ।

विधान महाधिवेशनस्थलमा ओलीको पूर्ण कदको कटआउट नै उभ्याइएको थियो । जहाँ अन्य नेताभन्दा ओलीलाई आदर्श मान्दै फोटो खिचाउनेको भिड हुन्थ्यो।

तर भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबाट ओली एकाएक आदर्श व्यक्तिबाट ‘भिलेन’मा परिणत हुन पुगेसँगै परिदृश्य फेरिएको छ।

गत फागुन २१ को चुनावमा पनि एमाले पंक्तिले देशभरका कुनै पनि चुनावमा ओलीको तस्बिर कतै देखाएनन् । एमालेबाट उठेकाहरूले पनि सकेसम्म ओलीको नाम नै नलिई मतदातालई सम्बोधन गरे।

नयाँ भोटर भड्किने चिन्तामा रहेका उम्मेदवारहरूले सकेसम्म ओली र उनीसँग सम्बन्धित कुरालाई छल्ने प्रयास गरे।

कुनै बेला भारतीय नाकाबन्दी सामना गरेका र चुच्चे नक्सा जारी गराएर ‘हिरो’सावित ओलीका लागि अहिलेको अवस्थामा कम्ता प्रतिकूल छैन।

 

गत चैत १४ गते पक्राउ परेपछि रिहा भएका उनलाई अहिले एमालेबाटै बिदा गर्न महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल एकापसको प्रतिद्वन्द्वीता भुलेर संगठित भएको चर्चाबीच पार्टीका पोस्टरबाट उनी गायब भएका छन् ।

पार्टी कार्यालयमै हुने कार्यक्रमको पोस्टरबाट ओली गायब हुँदा प्रमुख अतिथि को हो भन्ने पनि खुलाइएको छैन । हाल पित्त थैलीको पत्थरीको शल्यक्रियापछि आराम गरिरहेका ओली च्यासल आउने-नआउने केही खुलाइएको छैन । यसअघि केन्द्रीय कार्यालयमा ओलीबिनाको कार्यक्रमको कल्पना पनि गर्न सकिँदैनथ्यो।

तर यस पटक कम्युनिस्ट पार्टीको स्थापना दिवस कार्यक्रमको पोस्टरबाट त ओली गायब छँदैछन्, उक्त दिवसको प्रमुख अतिथि को हो भन्नेसमेत एमालेले खुलाउन सकेको छैन ।

यो कार्यक्रमको आयोजक नै एमाले केन्द्रीय कार्यालय हो । तर पोस्टरमा न अध्यक्ष, न महासचिव न उपाध्यक्ष कसैको पनि विवरण छैन। अतिथिहरूको समेत सूची नराखी सार्वजनिक गरिएको यो ओलीबिनाको पोस्टरले एमालेको शक्ति संघर्ष पनि देखाएको छ।

पछिल्लो समय महासचिव पोखरेल पनि ओलीलाई बिदा गर्न जुटेका छन् । उनीसमेत ओली हटाउन जुटेपछि एमाले सचिवालयमा बहुमत संख्या बिदा गर्नुपर्ने पक्षमा देखिएको छ।

स्रोतका अनुसार अहिले ओलीसँग उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेत मात्रै उभिएका छन् । ओलीकै अन्य सहयोगी नेताहरूसमेत उनलाई बिदा गर्नुपर्ने पक्षमा देखिएका छन् ।

यस्तो थियो एउटा निर्णय

कुनै समय एमालेमा ओलीको साम्राज्य हुँदा जीवित नेतामा उनको मात्रै पोस्टर राख्नेसमेत निर्णय भएको थियो ।

३२ साउन २०८० मा एमालेले पार्टी र भ्रातृ संगठनका कार्यक्रममा आफ्ना जीवित नेतामध्ये अध्यक्ष ओलीकोमात्रै तस्वीर राख्न पाइने गरी सर्कुलर गर्ने निर्णय गरेको थियो । त्यसबेला सचिवालय बैठकमार्फत् एमालेले यस्तो निर्णय गरेको थियो ।

अध्यक्ष ओलीले त्यसबेला पार्टीको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा सार्वजनिक कार्यक्रम व्यवस्थापनसम्बन्धी सचिवालयको निर्णय सुनाएका थिए ।

 

उनले निर्णय सुनाएसँगै एमालेले औपचारिक रुपमा सर्कुलर पठाएको थियो। एमालेका तत्कालीन उपमहासचिव विष्णु रिमालले ३२ साउनमा उक्त सर्कुलर जारी गरेको बताएका थिए ।

त्यसबेला एमालेले पोस्टरहरूमा फोटो राख्दा पहिलो क्रममा पुष्पलाल श्रेष्ठको, दोस्रो क्रममा मदन भण्डारीको, तेस्रो क्रममा मनमोहन अधिकारीको तस्बिर राख्ने गर्‍थ्यो । त्यसबेला चौथो क्रममा जीवित नेतामध्ये ओलीको तस्बिर राख्न थालिएको थियो ।

त्यसबेला ओलीले आफ्ना भित्रिया विष्णु रिमालमार्फत् उक्त निर्णय सार्वजनिक गर्न लगाएका थिए ।

‘…एमालेको केन्द्रीय उद्योग तथा बाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको हालेको सार्वजनिक कार्यक्रम व्यवस्थापनसम्बन्धी निर्णय सार्वजनिक गर्नु भयो’, उनले भनेका थिए, ‘उहाँको उद्घोषलाई हलभरी उपस्थित सयौँको संख्याका उद्यमी, व्यवसायी र आमन्त्रित विभिन्न तह तथा तप्काका व्यक्तिहरूले ताली बजाएर स्वागत गर्नुभयो । सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी निर्णय भएको छ। कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने…।’

एमालेको प्रचार सामग्रीबाट हट्यो ओलीको तस्बिर: पार्टीमा ‘ओली बा’ युगको अन्त्य

८ बैशाख, काठमाडौँ । कुनै समय नेकपा (एमाले) का हरेक ब्यानर, पोस्टर र चोक–चोकका होर्डिङ बोर्डमा अनिवार्य देखिने अध्यक्ष केपी शर्मा ओलीको तस्बिर बिस्तारै पार्टीका आधिकारिक प्रचार सामग्रीबाट ओझेल पर्न थालेको छ ।

कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको नयाँ प्रचार सामग्रीमा अध्यक्ष ओलीको तस्बिर नहुनुले पार्टीभित्र उनको एकलौटी ‘सान’ र ‘क्रेज’ बिस्तारै विलय हुँदै गएको संकेत गरेको छ ।

बुधबार च्यासलमा हुने विशेष कार्यक्रमको प्रचारमा कम्युनिस्ट पार्टीका संस्थापक सदस्यहरूसहित जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीलाई मात्र स्थान दिइएको छ, जहाँ वर्तमान शक्तिशाली अध्यक्ष ओली भने पूर्ण रूपमा गायब देखिएका छन् ।

यो परिवर्तनले एमालेको दुई वर्षअघिको त्यो निर्णयलाई पनि चुनौती दिएको छ, जसमा सचिवालय बैठकले सार्वजनिक कार्यक्रमहरूमा पार्टी अध्यक्षबाहेक अरू कसैको फोटो प्रयोग नगर्ने गरी पाँच बुँदे कडा मापदण्ड नै जारी गरेको थियो ।

कुनै बेला ‘सबैभन्दा ठूलो फोटो अध्यक्षकै हुनुपर्ने’ सर्कुलर जारी गरेको पार्टीले अहिले आफ्नै स्थापना दिवसमा जीवित नेतृत्वलाई भन्दा इतिहासका पात्रहरूलाई मात्र अगाडि सार्नुलाई निकै अर्थपूर्ण मानिएको छ । गत फागुनको निर्वाचनमा पनि अधिकांश उम्मेदवारहरूले ओलीको तस्बिरबिनै चुनावी मैदानमा जानु र स्वयं ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाहिर चुनावी सभालाई सम्बोधन नगर्नुले पार्टीभित्र उनको व्यक्तित्व र प्रभाव खुम्चिँदै गएको थप पुष्टि गर्दछ ।

पछिल्लो समय एमालेभित्र नेतृत्व परिवर्तनको बहसले उचाइ लिइरहेका बेला प्रचार सामग्रीबाट अध्यक्षको तस्बिर हट्नुलाई केवल प्राविधिक संयोग मात्र मान्न सकिने अवस्था छैन । विगतमा ‘ओली बा’ को नारामा रम्ने कार्यकर्ता र पार्टी पंक्तिले अहिले सामूहिक नेतृत्व र ऐतिहासिक विरासतलाई प्राथमिकता दिन थालेको यो दृश्यले एमालेको आगामी राजनीतिक दिशा परिवर्तन हुन लागेको स्पष्ट पार्छ ।

भित्ताहरूबाट ओलीको तस्बिर हट्दै जाँदा एमालेमा एउटा शक्तिशाली एकल नेतृत्वको युग बिस्तारै इतिहासमा विलय हुन थालेको राजनीतिक विश्लेषकहरूको ठम्याई छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३