KATHMANDU WEATHER
Horizontal Scroll Menu

सम्पत्ति विवरण सार्वजनिक भएपछि हर्कको व्यंग्य: “जनतासँग लसुन छैन, नेतासँग सुन नै सुन”वीरगंज । हिजो प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि देशभर राजनीतिक बहस चर्किएको छ। सार्वजनिक विवरणमा नेताहरूको सम्पत्ति, बचत तथा लगानीसम्बन्धी विवर

वीरगंज । हिजो प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि देशभर राजनीतिक बहस चर्किएको छ।

सार्वजनिक विवरणमा नेताहरूको सम्पत्ति, बचत तथा लगानीसम्बन्धी विवरण बाहिरिएपछि पारदर्शिता र आयस्रोतको विषय फेरि चर्चामा आएको हो। यही सन्दर्भलाई जोड्दै सांसद हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमा व्यंग्यात्मक टिप्पणी गरेका हुन्।

उनले “गरीब जनता सँग तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन, के गर्नु हौ त्यो सुन? म खान मिल्ने?” भन्दै नेताहरूको सम्पत्ति र सर्वसाधारण जनताको जीवनस्तरबीचको गहिरो असमानताप्रति प्रश्न उठाएका छन्।

उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा पुनः व्यापक बहस निम्त्याएको छ। कतिपयले यसलाई जनताको वास्तविक समस्यासँग जोडिएको टिप्पणी भनेका छन् भने कतिपयले राजनीतिक व्यंग्यका रूपमा प्रतिक्रिया जनाएका छन्।

टिचिङ अस्पतालमा ओलीको शल्यक्रियाः पित्तथैलीबाट २२ एमएमको पत्थरी निकालिँदै

३० चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सुरु गरिएको छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उनको पित्तथैलीमा देखिएको पत्थरी निकाल्न शल्यक्रिया प्रक्रिया अगाडि बढाइएको हो ।

शल्यक्रिया टोली र स्वास्थ्य अवस्था

अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार ओलीलाई सोमबार बिहानै शल्यक्रियाका लागि ‘अप्रेसन थिएटर’ मा लगिएको छ । डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकहरूको टोलीले उनको पित्तथैलीमा रहेको २२ एमएम आकारको ढुंगा निकाल्न शल्यक्रिया गरिरहेको छ । अस्पताल प्रशासनले शल्यक्रिया सम्पन्न भएपछि आधिकारिक स्वास्थ्य स्थिति सार्वजनिक गर्ने तयारी गरेको छ ।

हिरासतदेखि अस्पतालसम्म

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसका आधारमा प्रहरीले ओलीलाई गत चैत १३ गते भक्तपुरको गुण्डुस्थित निजी निवासबाट पक्राउ गरेको थियो । पक्राउ परेकै दिन स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हिरासतको सट्टा शिक्षण अस्पताल भर्ना गरिएको थियो । करिब दुई सातादेखि अस्पतालमै उपचाररत ओलीको स्वास्थ्य परीक्षणका क्रममा पित्तथैलीमा पत्थरी पुष्टि भएपछि चिकित्सकहरूले शल्यक्रिया गर्ने निर्णय लिएका हुन् ।

हिरासतमा रहेकै समयमा स्वास्थ्य जटिलताका कारण शल्यक्रिया गर्नुपरेकाले अस्पताल परिसरको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगंज इकाइमा सौरभको टिम विजयी, वरिष्ठ उपाध्यक्षमा कुश्वाहा

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगंज इकाइको निर्वाचनमा सौरव बर्नवाल नेतृत्वको टिम विजयी भएको छ। अध्यक्ष पदमा सौरभ वर्णवाल ७२ मतान्तरले विजयी भएका छन्।

निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा बिकाश कुमार कुशवाहा, उपाध्यक्षमा अजय पटेल, सचिवमा बब्लु चौधरी, सह–सचिवमा सुमित बर्नवाल र गौरव पटेल चयन भएका छन्।

त्यसैगरी कोषाध्यक्षमा दिपेन यादव तथा सह–कोषाध्यक्षमा सिद्धार्थ पाण्डेय निर्वाचित भएका छन्। सदस्यहरूमा सुशान्त सिंह, हिमांशु गुप्ता, जय प्रकाश पटेल, सौरव साह र अभिषेक गुप्ता रहेका छन्।

भारतीय गायिका आशा भोसलेको निधन

 २९ चैत,काठमाडौं । भारतीय संगीतकी प्रख्यात तथा महान् गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ।

पछिल्लो केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। गम्भीर अवस्थामा उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो।

परिवारका अनुसार भोस्लेको निधनको खबर उनका छोरा आनन्दले आइतबार पुष्टि गरेका हुन्। भारतीय सञ्चारमाध्यमहरूले पनि उनको निधनको समाचार सार्वजनिक गरेका छन्। उनको अन्त्येष्टि सोमबार गरिने परिवारले जनाएको छ।

आठ दशकभन्दा लामो संगीत यात्रामा भोस्लेले हजारौँ गीतमा स्वर दिएकी थिइन्। उनी भारतीय मात्र होइन, विश्व संगीतमा समेत अत्यन्त प्रभावशाली गायिकाका रूपमा चिनिन्छिन्। उनका गीतहरू पुस्तौँदेखि लोकप्रिय रहँदै आएका छन्।

सन् १९३३ मा जन्मिएकी भोस्लेले ९ वर्षको उमेरदेखि नै व्यावसायिक गायन सुरु गरेकी थिइन्। उनले सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी थिइन्। १९५० को दशकदेखि उनले बलिउडमा आफ्नै विशिष्ट पहिचान बनाउँदै धेरै संगीतकारहरूको पहिलो रोजाइकी गायिका बन्न सफल भइन्।

सुरुवाती चरणमा नृत्यप्रधान गीतमा सीमित देखिए पनि पछि उनले आफ्नो गायन दायरा विस्तार गर्दै गजल र शास्त्रीय शैलीमा समेत उत्कृष्टता प्रस्तुत गरिन्। उमराव जान र इजाजत जस्ता फिल्मका गीतहरू उनका चर्चित र कालजयी प्रस्तुति मानिन्छन्।

उनले फिल्मफेयर अवार्ड सात पटक जितेकी थिइन् भने ‘दिल चीज क्या है’ र ‘मेरा कुछ सामान’ गीतका लागि दुई पटक राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेकी थिइन्।

सन् २०२३ मा दिएको एक अन्तर्वार्तामा उनले समकालीन संगीतबारे टिप्पणी गर्दै पुराना गीत र शास्त्रीय संगीतबाट आफू अझ बढी प्रभावित हुने बताएकी थिइन्। उनले वर्तमान गीतमा उत्कृष्ट शब्दको कमी भएको बताउँदै पुराना संगीतले नै आफूलाई सिकाइ र प्रेरणा दिने उल्लेख गरेकी थिइन्।

आशा भोस्लेको निधनसँगै भारतीय संगीतले एक युग गुमाएको छ।

जनकपुर चुरोट कारखाना सञ्चालनमा आएपछि प्रदेश सरकारको भवितव्य के ?

२९ चैत,काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेका सात प्रमुख सरकारी उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले अघि बढाएको जनाएको छ। औद्योगिक क्षेत्रको पुनर्जीवन, रोजगारी सिर्जना तथा आन्तरिक उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत उद्योग सञ्चालन गर्ने योजना अघि सारिएको हो।

सरकारले गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना लिमिटेड, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट, हेटौँडा कपडा उद्योग र उदयपुर सिमेन्ट लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित आवश्यक प्रक्रिया सुरु गरेको जनाएको छ।

यी उद्योगहरू कुनै समय नेपालको औद्योगिक विकासका आधारस्तम्भ मानिन्थे। तर व्यवस्थापन समस्या, वित्तीय संकट, प्रविधिको अभाव तथा नीतिगत कमजोरीका कारण लामो समयदेखि बन्द अवस्थामा छन्। अर्थ मन्त्रालयले पहिलो चरणमा विस्तृत लेखापरीक्षण (डिटेल अडिट) तथा सम्पत्ति–दायित्व मूल्यांकनको काम अघि बढाएको छ।

सरकारका अनुसार यस प्रक्रियाबाट उद्योगहरूको वास्तविक अवस्था पत्ता लगाई लगानीको सम्भाव्यता अध्ययन गरिनेछ। त्यसपछि निजी क्षेत्रलाई आकर्षित गर्ने गरी साझेदारीको ढाँचा तयार पारिनेछ। पीपीपी मोडलमार्फत सञ्चालन गर्दा निजी क्षेत्रको दक्षता, प्रविधि र व्यवस्थापन क्षमता उपयोग हुने अपेक्षा गरिएको छ भने सरकारी स्वामित्व कायम राख्दै दीर्घकालीन सञ्चालन सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

यसैबीच, देशभरका बन्द उद्योग पुनः सञ्चालन गर्ने तयारी सार्वजनिक भएसँगै मधेश प्रदेश सरकार पनि प्रभावित हुने देखिएको छ। लामो समयदेखि जनकपुरस्थित जनकपुर चुरोट कारखानाको भवनबाट सञ्चालन हुँदै आएका प्रदेश सरकारका कार्यालयहरू विस्थापित हुन सक्ने सम्भावना बढेको छ।

हाल सो परिसरमा मुख्यमन्त्री, मन्त्रीदेखि विभिन्न प्रशासनिक निकायका कार्यालय र आवास सञ्चालनमा छन्। उद्योग पुनः सञ्चालनमा आएमा प्रदेश सरकारले वैकल्पिक संरचना खोज्नुपर्ने अवस्था सिर्जना हुन सक्छ।

यसअघि तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सीमित रूपमा उत्पादन पुनः सुरु गर्ने प्रयास गरेका थिए। तर उक्त पहल पूर्ण रूपमा सफल हुन सकेन। पछिल्लो राजनीतिक परिवर्तनसँगै पुनः उद्योग सञ्चालनको विषयले प्राथमिकता पाएको हो।

सरकारले स्थिर राजनीतिक अवस्थाको फाइदा उठाउँदै औद्योगिक क्षेत्र सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ। उद्योग पुनः सञ्चालनसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। विशेषगरी उदयपुर सिमेन्ट र हेटौँडा कपडा उद्योग सञ्चालनमा आएमा निर्माण र वस्त्र क्षेत्रमा आत्मनिर्भरता बढ्ने विश्वास गरिएको छ।

यद्यपि, विगतमा यस्ता प्रयासहरू सफल हुन नसकेको अनुभव रहेकाले यसपटकको पहल प्रभावकारी हुन्छ वा हुँदैन भन्ने विषयमा सरोकारवालाहरू सतर्क छन्। निजी क्षेत्रको सहभागिता, पारदर्शी प्रक्रिया तथा दीर्घकालीन व्यवसायिक योजना निर्माण सरकारका लागि चुनौतीपूर्ण हुने स्थानीय व्यवसायीहरूको भनाइ छ।

बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने सरकारी प्रयासलाई देशको औद्योगिक पुनर्जागरणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३