KATHMANDU WEATHER
Horizontal Scroll Menu

भट्ट र गोल्छाको मुद्दा सर्वोच्चको पेसीमा: एकल र संयुक्त इजलासमा हुँदैछ सुनुवाइ

२१ वैशाख, काठमाडौँ । प्रहरी हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र शेखर गोल्छाको मुद्दा आज सर्वोच्च अदालतको इजलासमा पुगेको छ ।

दुवै व्यवसायीका तर्फबाट उनीहरूका श्रीमतीहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदैछ ।भट्टको हकमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले मुद्दा हेर्दैछ भने गोल्छाको मुद्दा न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेशी चढेको छ ।

यी दुई व्यवसायी फरक(फरक कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा परेका हुन् । दीपक भट्टलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा चैत १९ गते पक्राउ गरिएको थियो भने शेखर गोल्छालाई शेयर बजारको कारोबारमा भएको ‘चलखेल ’ र धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा सीआईबीले हिरासतमा राखेको छ ।

आजको सुनुवाइले उनीहरूको हिरासत बसाई र कानुनी प्रक्रियाको आगामी दिशा तय गर्ने देखिएको छ ।

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी – यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो ।

नुन लिन बेनी आएको समयमा साथीहरूसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनोटमा भाग लिन पुग्नुभएका ७४ वर्षीय पूर्णबहादुर दुई सय युवामध्ये छिटो दौडिएर छनोट पनि भएका थिए । “हामी किशोर हुँदा भारतीय गोर्खा सैनिकमा भर्ती गराउन गाउँगाउँमा युवा खोज्दै आउँथे, म पनि गलेश्वरमा देखिँदा छनोट भएर पनि पल्टन नगएपछि सैनिक बोर्डका मान्छे तीन महिनापछि खोज्दै घरमै आएका थिए”, उनले भने, “हजुरबुबा र बुबाले सेनाको जागिरभन्दा भैँसी पाल्दा राम्रो हुने भनेर गोठको जिम्मा लगाएपछि नकार्न नसकेर जङ्गल पसेँ ।”

 

पण्डित र ज्योतिष पेसा गर्ने हजुरबुबा वसन्तले पूर्णबहादुरलाई भैँसीको जिम्मा लगाउँदा व्यवसाय फस्टाउने सुझाएपछि परिवारले सोही निर्णय गरेको उनले स्मरण गरे । भारतीय गोर्खा सैनिकमा भर्ती हुन नपाएकामा पूर्णबहादुरलाई पछुतो भने छैन ।

“हजुरबुबाले अनुमान गरेको जस्तै एउटा पाडोबाट सुुरु गरेको घुम्तीगोठमा भैँसीको सङ्ख्या ३६ वटासम्म पुग्यो”, पूर्णबहादुरले भने, “भैँसी, राँगा, पाडापाडी र घ्यू बेचेरै घरव्यवहार चलाएँ, खेतबारी जोडेँ, चार छोराछोरीलाई पढाएँ, ठाउँमा पुर्याएँ ।”

 

विसं २०२५ देखि घुम्तीगोठमा भैँसीपालन सुरु गर्नुभएका पूर्णप्रसाद गत पुसदेखि स्वास्थ्य र बुढ्यौलीका कारण भैँसी बेचेर मालिका गाउँपालिका–७ बिम खारामा रहेको जेठी छोरी माया शर्माको घरमा बस्न थालेका छन्।

सुुरुमा १३ वटा भैँसीलाई एक हजार ५०० रुपैयाँमा बिक्री गर्नुभएका पूर्णप्रसादसँग घुम्तीगोठ लिएर भैँसीसँगै बर्खामा हिमाल फेदीका बुकी र हिउँदमा बेँसी गर्दाका रमाइला र दुःखका अनुभूतिहरू छन् । पछिल्लोपटक एउटा भैँसीलाई ८५ हजार रुपैयाँसम्ममा बिक्री गरेको उनले सुनाए ।

जङ्गलमा जान नसक्ने र वन्यजन्तुले आक्रमण गर्ने साना पाडापाडीको स्याहारसुसार गर्नेदेखि दूध दुहुने, मोही पारेर घ्यू बनाउने काममा बिहानदेखि साँझसम्म व्यस्त हुनुपर्दा तीन वर्षमा घरपरिवारसँग भेट भएको पूर्णबहादुर सम्झिन्छन् । हिउँ परेको अवस्थामा भैँसी र पाडापाडीको स्याहारसुधार तथा आहारा व्यवस्थापनका लागि दुःख भएको उनको भनाइ छ ।

वार्षिक दुई सय लिटरसम्म घ्यू बिक्री गर्नुभएका उनी असोज कात्तिकमा पोषिलो घाँस प्रशस्त पाइने र बुकीमा मौसम सफा हुँदा मनमोहक दृश्यले फुरुङ्ग पर्थे । एकपटक जिरवाङ, सिमकोश, धुरीखर्क, हिले, बगर हुँदै धवलागिरि हिमालको फेदीमा रहेको बुकीसम्म गोठ लगेर पुगेका पूर्णबहादुरको गोठमा एकैपटक ब्वाँसोले आक्रमण गरेर ११ वटा भैँसी मारिदिएको अझै बिर्सनुभएको छैन ।

गोठको सुरक्षाका लागि कम्तीमा दुईवटा भोटे कुकुर पाल्ने गर्नुभएको थियो । गाउँअनुसार चरन क्षेत्र बाँड्ने भएकाले लेकमा अन्य गोठालासँग कमै भेटघाट हुन्थ्यो । घुम्तीगोठका लागि आवश्यक खाद्यान्न समयसमयमा परिवारका सदस्यहरूले जङ्गलमै पुर्याइदिन्थे । रेडियो र मोबाइल साथी हुन् । पूर्णबहादुरले पछिल्लो समय बुकी र चरन क्षेत्रमा अनावश्यक काँडाधारी वन तथा झारपात फैलिन थालेको अनुभव सुनाए ।

पछिल्लो समय बसाइँसराइका कारण खेतबारी बाँझिएकाले गाउँ वरपर पनि व्यवस्थित रूपमा भैँसीपालन गर्न सकिने सम्भावना रहेको पूर्णबहादुरको सुझाव छ । विदेशमा गर्ने दुःख आफ्नै गाउँठाउँमा गर्न सकेमा स्वरोजगारका साथै आत्मनिर्भर भइने उनको सुझाव छ ।

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा मनाइँदै आइएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ । बर्सेनि वैशाख शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम्म मनाइने बनेपाको उक्त जात्रा आइतबार साँझ सकिएको हो ।

करिब दुई हजार ५०० वर्षअघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्रामा चण्डेश्वरी देवीलाई रथमा राखी शनिबार ऐतिहासिक सहर बनेपाको पुरानो बजारमा रथारोहण गराई आइतबार साँझ मन्दिरमै लगिएपछि जात्रा सम्पन्न भएको हो ।

 

विशेषगरी स्थानीय नेवार समुदायले मनाउने यस जात्रा बनेपालीका लागि ठूलो चाड हो । जात्राको पहिलो दिन बिहीबार बिहानैदेखि हरेक घरबाट चण्डेश्वरी देवीको पूजाअर्चना गर्ने र साँझ हनुमान ढोकाबाट ल्याइने तरबार सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरूलाई १२ वटा बोका बलि दिई ‘सरकारी पूजा’ गरिएपछि औपचारिक रूपमा जात्रा सुरु भएको थियो ।

भोलिपल्ट शुक्रबार सबेरै हजारौँको सहभागितामा जलेश्वर महादेवसम्म मत पूजा (चिराग यात्रा) गरिएको थियो भने सोही दिन बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको रथलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथलाई स्थानीय युवाहरूले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्याएका थिए । यस्तै भोलिपल्ट तुलसीको काठद्वारा निर्मित उक्त रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाली सोही खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखी रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसादहरू झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाएका थिए ।

 

तेस्रो दिन आइतबार साँझ लायकु भन्ने स्थानबाट वकुटोल हुँदै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिएको हो । त्यसअघि ‘कलंदान’ (बलि दिएका बोकाको मासु फ्याँक्ने) गरिएको थियो । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज हुने गर्दछ भने बूढापाकाले टोलटोलमा बसी बिहानबेलुका भजन गाएका थिए भने जात्रा अवधिभर सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको निकै भीडभाड देखिएको थियो ।

‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने गरेको तथा ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । सरकारको तर्फबाट समेत पूजा गर्ने भएकाले पनि यसको महत्वले अझ व्यापकता पाएकामा बनेपाली गर्व गर्ने गरेका छन् ।

चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको हो । जात्रा अवधिभर बनेपा नगरमा सार्वजनिक बिदा दिइएको थियो ।

सभामुख अर्यालले बोलाए प्रमुख सचेतकहरूको बैठक, समसामयिक विषयमा छलफल हुने

२१ वैशाख, काठमाडौँ । सङ्घीय संसद्को कामकारबाहीलाई थप प्रभावकारी बनाउन र समसामयिक राजनीतिक विषयमा साझा समझदारी जुटाउन सभामुख डोलप्रसाद ९डीपी० अर्याल सक्रिय हुनुभएको छ ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलहरूबीच समन्वयकारी भूमिका निर्वाह गर्दै सभामुख अर्यालले सोमबार मध्यान्ह १२ बजे सिंहदरबारमा प्रमुख सचेतक र सचेतकहरूको विशेष बैठक बोलाउनुभएको हो ।

सभामुखकी प्रमुख स्वकीय सचिव मुना कुँवरका अनुसार, यो बैठक विशेषगरी संसद्को आगामी कार्यदिशा र दलहरूबीच देखिन सक्ने असमझदारीलाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको हो । सत्ता पक्ष र प्रतिपक्ष दुवैलाई एउटै टेबुलमा राखेर छलफल गर्दा संसदीय अभ्यास थप परिपक्व हुने विश्वास लिइएको छ ।

संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र (नेपाली कम्युनिस्ट पार्टी), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता शक्तिहरूको उपस्थिति रहेकाले सदनलाई बिजनेस दिने र नीतिगत बहसलाई तीव्रता दिने विषयमा यो बैठक निर्णायक हुने देखिएको छ ।

विशेष गरी महत्त्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने र जनसरोकारका मुद्दामा सदनमा एकमत हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै सभामुख अर्यालले यो अग्रसरता लिनुभएको हो । सिंहदरबारमा हुने यस छलफलले संसद्को आगामी बैठकहरूलाई थप सौहार्दपूर्ण र उपलब्धिमूलक बनाउने अपेक्षा गरिएको छ ।

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको विस्तृत र वैज्ञानिक रूपरेखा सार्वजनिक गरेको छ । पार्टीले ‘सही तरिकाले, सही ठाउँमा, सही व्यक्ति’ छान्ने परिपाटी स्थापित गर्न १३ बुँदे विशिष्ट उद्देश्यसहितको कार्यविधि तयार पारेको हो ।

रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई पूर्णतः प्रविधिमैत्री र मापनयोग्य बनाउन विभिन्न मापदण्डलाई निश्चित भाराङ्क तयार पारेको छ ।

 

लिडरसिप एकेडेमी (२५): आकांक्षीहरूको नेतृत्व परीक्षण र वैचारिक स्पष्टताका लागि लिडरसिप एकेडेमीको प्रशिक्षण र नतिजालाई अनिवार्य गरिएको छ । यसमा उत्तीर्ण हुनेले मात्र आगामी चरणमा प्रवेश पाउनेछन् ।

पोलिटिकल प्रोक्सिमिटी (२५): विगतको राजनीतिक पृष्ठभूमि, साङ्गठनिक आबद्धता, जनसम्बन्ध र विजयको सम्भाव्यताका आधारमा वस्तुपरक मूल्याङ्कन गरिनेछ ।

 

समावेशिता (१०): संविधानको भावना अनुसार महिला, दलित, सीमान्तकृत, युवा र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न १० प्रतिशत अङ्कभार छुट्ट्याइएको छ ।

प्रारम्भिक निर्वाचन (४०): पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सदस्यहरूको मताधिकार सुनिश्चित गर्न प्रारम्भिक निर्वाचनलाई सबैभन्दा बढी भार दिइएको छ ।

‘क्यान्डिडेट क्लब’ र ‘ल्याटरल इन्ट्री’को व्यवस्था
उम्मेदवार बन्न इच्छुक व्यक्तिले सर्वप्रथम पार्टीको ‘क्यान्डिडेट क्लब’मा आवेदन दिनुपर्नेछ । पालिका र वडा तहका लागि छुट्टाछुट्टै क्लब गठन गरिनेछन् । पार्टीले नयाँ र योग्य व्यक्तिलाई समेट्न विशेष प्रवेशको व्यवस्था समेत गरेको छ, जसमा प्रतिष्ठित र विज्ञ व्यक्तिलाई ‘कुलिङ पिरियड’को अवधि पूरा नभए पनि आवेदन दिने बाटो खुला गरिएको छ ।

मतदान प्रक्रियालाई सुरक्षित बनाउन रास्वपाले आधिकारिक एपमार्फत ‘अनलाइन मतदान’को प्राथमिक विधि अपनाउने भएको छ । तथ्याङ्कमा छेडछाड नहोस् भन्नका लागि ‘ब्लकचेन’ वा सोसरहको प्रविधि प्रयोग गरिने रूपरेखामा उल्लेख छ । मनोवैज्ञानिक प्रभाव कम गर्न ‘ब्लाइन्ड भोटिङ’ प्रणाली लागू गरिनेछ, जसमा मतदान नसकिएसम्म अन्य खण्डको प्राप्ताङ्क गोप्य राखिनेछ ।

पार्टीले उम्मेदवार छनोटमा हुने आर्थिक लेनदेन, गुटबन्दी र धाँधलीविरुद्ध ‘शून्य सहनशीलता’को नीति लिएको छ । आचारसंहिता उल्लङ्घन गर्ने जो-कोहीलाई तत्काल निष्कासन गर्ने र उम्मेदवारी खारेज गर्ने कडा व्यवस्था गरिएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३