KATHMANDU WEATHER
Horizontal Scroll Menu

वीरगंज लेखापढी व्यवसायी संघको नेतृत्वमा सन्नी पटेल निर्वाचित, प्यानलसहितको जित हासिल

वीरगंज । नेपाल लेखापढी व्यवसायी एशोसिएसन पर्सा जिल्ला अदालत कार्य समिति वीरगंजकाे अध्यक्षमा सन्नी पटेल निर्वाचित भएका छन् । शनिबार वीरगंजस्थित वीरगंज स्कुल अफ ल क्याम्पसको सभा हलमा सम्पन्न निर्वाचनमा पटेलले १२७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

 -

अध्यक्ष पदका अर्का उम्मेदवार अफताब आलमले ७० मत प्राप्त गरे भने चन्दु प्रसाद पटेलले ३३ मत ल्याउँदै तेस्रो स्थानमा रहे । निर्वाचनबाट उपाध्यक्षमा बिरबल कुमार यादव, सचिवमा नितेश गुप्ता, सह–सचिवमा बबिता कुमारी धानुक, कोषाध्यक्षमा धर्मेन्द्र कुमार साह निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरूमा सुमित कुमार साह, बिकेश महतो धानुक, लक्ष्मी साह, मणिभूषण कुशवाहा, राजेश प्रसाद यादव र अमिरा पासवान चयन भएका छन,भने पार्षदमा उपेन्द्र प्रसाद साह, अब्दुल हकिम राउत गदी र राजा बाबु पटेल निर्वाचित भएका छन । यस निर्वाचनबाट सन्नी पटेल नेतृत्वको प्यानल नै विजयी भएको छ ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित अध्यक्ष पटेलले आफ्नो कार्यकाल पारदर्शिता, व्यावसायिक अनुशासन र सेवा सुधारमा केन्द्रित रहने बताएका छन् । उनले लेखापढी व्यवसायलाई थप व्यवस्थित, मर्यादित तथा प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाउँदै सदस्यहरूको हकहित संरक्षणलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गरे ।

अध्यक्ष पटेलले भने, “लेखापढी व्यवसायीहरू न्यायिक प्रक्रियाको महत्वपूर्ण अंग हुन् । सेवाग्राहीलाई सहज, छरितो र विश्वसनीय सेवा दिनु हाम्रो दायित्व हो । मेरो नेतृत्वमा व्यवसायीहरूको क्षमता अभिवृद्धि, तालिम तथा समन्वयलाई विशेष प्राथमिकता दिइनेछ ।”

उनले पेशाभित्र देखिएका विकृति, अव्यवस्था र अनियमितता अन्त्य गर्दै संस्थालाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । साथै, जिल्ला अदालत तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै लेखापढी व्यवसायीहरूको गरिमा र भूमिका अझ सुदृढ बनाउने उनले बताए ।

७० लाखभन्दा बढी नगद र ५० करोडको क्रिप्टो कारोबारको खुलासा

मोतिहारी – भारतको मोतिहारी साइबर पुलिसले हवाला कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। भारत–नेपाल सीमावर्ती घोडासहन इलाकामा छापा मारेर पुलिसले ५६ लाख ७१ हजार भारतीय रुपैयाँ र १३ लाख ६७ हजार नेपाली रुपैयाँ नगद बरामद गरेको हो।

साइबर डीएसपी अभिनव पारासरका अनुसार पक्राउ परेकाहरूले मल्टिपल एकाउन्टमार्फत सीमामा करेन्सी मगाउने र विदेश पठाउने धन्दा चलाउँदै आएका थिए। स्थानीय थानाको सहयोगमा साइबर टोलीले विभिन्न ठाउँमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

५० करोडको क्रिप्टो कारोबार
बरामद मोबाइलमा बाइनान्स एप लगइन रहेको र त्यसबाट करिब ६ मिलियन USDT अर्थात् ५० करोड भारतीय रुपैयाँ बराबरको कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

“अभिनव पारासर, साइबर डीएसपी” “गिरफ्तार व्यक्तिहरूको मोबाइल जाँच गर्दा बाइनान्स एपमा ६ मिलियन USDT को ट्रान्जेक्सन देखिएको छ। यो रकम भारतीय मुद्रामा करिब ५० करोड हुन्छ। हवाला र क्रिप्टोको लिंकबारे थप अनुसन्धान भइरहेको छ।”_

छापामारीमा नगद गन्ने मेसिन र मोबाइल फोनहरू पनि बरामद भएका छन्।

नक्कली कागजातबाट छोकडा आयात प्रकरण: अग्रवाल ‘मोहरा’, मुख्य योजनाकार विमल र दीपक

वीरगञ्ज । नक्कली कागजात (किर्ते) खडा गरी ‘सिम्भिन इन्टरनेशनल’को नाममा १०० टन छोकडा आयात गर्न खोजेको आरोपमा वीरगञ्जबाट व्यापारी नविन अग्रवाल पक्राउ परे पनि यस प्रकरणका मुख्य योजनाकार अरू नै रहेको तथ्य बाहिर आएको छ ।
स्रोतका अनुसार पक्राउ परेका अग्रवाल यस घटनामा केवल ‘मोहरा’ मात्र हुन् । वीरगञ्जस्थित रुङ्गटा मार्केटमा सामान्य मोबाइल चार्जर र खुद्रा चिनियाँ सामानको पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका अग्रवाललाई सामान्य आर्थिक प्रलोभनमा पारी उनको नाममा फर्म दर्ता गरिएको पाइएको छ ।
यस प्रकरणको पर्दा पछाडि ३३ सुन तस्करी प्रकरणमा समेत जोडिएका
अन्डरवर्ल्डका कुख्यात खेलाडी विमल पोदार र दीपक मल्होत्राको मुख्य हात रहेको दाबी गरिएको छ । नाताले अग्रवालको सानिमाको छोरा पर्ने पोदारले अग्रवालको सोझोपन र पारिवारिक नाताको फाइदा उठाउँदै उनको नाममा ‘सिम्भिन इन्टरनेशनल’ दर्ता गराएको खुलेको छ । सोही फर्ममार्फत प्रतिबन्धित छोकडा आयात गर्ने र नक्कली कागजात तयार पारेर वीरगञ्ज भन्सारमा पेश गर्ने सम्पूर्ण खेल पोदार र मल्होत्राले नै रचेको स्रोतको भनाइ छ ।
सरकारी छाप र हस्ताक्षर किर्ते गरी भन्सारमा कागजात पेश भएको रहस्य बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अग्रवाललाई नियन्त्रणमा लिएको थियो । यसैबीच, सीआईबीले यस घटनाको थप सूक्ष्म र गहिरो अनुसन्धान गरेमा टी.के. जैन र कमल मालपानी जस्ता अन्य व्यापारीहरूको नाम पनि यस्ता काण्डमा तानिन सक्ने निकट स्रोतले दाबी गरेको छ ।

मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका ले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु गरेको छ। मसाज सेन्टरको नाममा अवाञ्छित गतिविधि भइरहेको भन्ने गुनासो बढेपछि महानगरले मंगलबारदेखि अभियान अघि बढाएको हो।
नगर प्रहरी इन्चार्ज हरि भुषाल का अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अनुगमन महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ। अनुगमनका लागि नेपाल प्रहरी सँगको समन्वयमा नगर प्रहरी परिचालन गरिएको छ।
अनुगमन टोलीले सञ्चालक तथा कर्मचारीको विवरण, नाबालिका प्रयोग भए/नभएको लगायतका विषयमा जाँच गरिरहेको छ। साथै, सञ्चालन अनुमति, दर्ता, कर भुक्तानीको अवस्था, सेवा सञ्चालनको प्रकृति तथा आचारसंहिताको पालना भए/नभएको विषयमा विशेष ध्यान दिइएको नगर प्रहरी इन्चार्ज भुषालले जानकारी दिनुभयो।
नाबालिका प्रयोग गरिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिइएको छ। हालसम्म अनुगमन गरिएका दुई स्पा सेन्टरमा नाबालिका प्रयोग भएको भेटिएको छ।
अहिलेसम्म करिब एक दर्जनभन्दा बढी मसाज तथा स्पा सेन्टरहरूको स्थलगत अनुगमन सम्पन्न भइसकेको पनि भुषालले जानकारी दिनुभयो। प्रारम्भिक अनुगमनका क्रममा केही स्थानमा आवश्यक कागजात अपूर्ण रहेको तथा सञ्चालन प्रक्रिया मापदण्डअनुसार नभएको पाइएको छ।
मापदण्ड नपुर्‍याउने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यवसायमाथि कानुनबमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ। महानगरले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिँदै व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन पहल गर्ने जनाएको छ। साथै, नागरिकलाई शंकास्पद गतिविधिबारे जानकारी गराउन पनि आग्रह गरिएको छ।

संविधान छलेर सेनाको आडमा शासनको प्रयास भईरहेका प्रभु साहको आरोप

काठमाडाै,२० वैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाउँदै विधि, संविधान र लोकतान्त्रिक अभ्यासको उल्लङ्घन भएको टिप्पणी गरेका छन्।

सिराहाको गोलबजारमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै साहले वर्तमान सरकार जनताको अपेक्षा विपरीत बल प्रयोग र दमनको बाटोमा गएको आरोप लगाए। उनका अनुसार राज्यले गरिब, सुकुम्बासी र असहाय नागरिकमाथि कठोर व्यवहार गर्दै उनीहरूलाई विस्थापित गर्ने काम गरिरहेको छ।

साहले सरकारले संसद् छलेर अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति अपनाएको भन्दै यसले संसदीय लोकतन्त्रको अवमूल्यन गरेको बताए। उनले विगतमा यस्तै अभ्यासका कारण राजनीतिक क्षति व्यहोर्नुपरेको उदाहरण पनि स्मरण गराए।

उनका अनुसार जनताले पुराना दलप्रति असन्तुष्टि जनाउँदै नयाँ शक्तिलाई अवसर दिएका भए पनि अहिलेको सरकार अपेक्षित सुधार गर्न असफल भएको छ। उनले सरकारको कार्यशैलीलाई ‘अव्यवस्थित र दिशाहीन’ भन्दै आलोचना गरे।

साहले सुकुम्बासी बस्ती हटाउने अभियानमा सेना र बल प्रयोग गरिएकोप्रति पनि आपत्ति जनाउँदै यसले संविधान र मानव अधिकारको उल्लङ्घन गरेको आरोप लगाए। उनका अनुसार उचित विकल्प नदिई गरिने विस्थापन मानवीय दृष्टिले स्वीकार्य हुन सक्दैन।

धार्मिक स्थलहरू र सामाजिक संरचनामा असर पर्नेगरी गरिएको गतिविधिप्रति पनि उनले असन्तुष्टि जनाउँदै सरकारलाई संवेदनशील बन्न सुझाव दिए।

अन्त्यमा साहले वर्तमान प्रणालीमा सुधार नभएसम्म देशले स्थायित्व नपाउने दाबी गर्दै जनताको पक्षमा नयाँ राजनीतिक आन्दोलन आवश्यक रहेको बताएका छन्।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३