मोरङ,२० वैशाख । विराटनगर विमानस्थलमा सुरक्षा जाँचका क्रममा स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुई जना यात्रु पक्राउ परेका छन्। फरक–फरक दिनमा काठमाडौँ जान लागेका यात्रुहरूबाट ठूलो रकम बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। उनीहरूबाट कुल २६ लाख ९८ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पहिलो घटना शुक्रबार साँझ भएको हो। बुद्ध एयरमार्फत काठमाडौँ जान लागेका सुनसरी धरान–१८ का ३५ वर्षीय दिलीप तामाङलाई सुरक्षाकर्मीले शंका लागेपछि जाँच गरेका थिए। जाँचका क्रममा उनको ब्यागबाट स्रोत खुलाउन नसकेको ११ लाख रुपैयाँ फेला परेको थियो।
त्यसको भोलिपल्ट शनिबार दिउँसो श्री एयरलाइन्सबाट काठमाडौँ जान लागेका भारतीय नागरिक ३६ वर्षीय मोहिदिल अलि पनि ठूलो रकमसहित पक्राउ परेका हुन्। भारतको माल्दा जिल्ला निवासी अलिको झोलाबाट प्रहरीले १५ लाख ९८ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर रकमको स्रोतबारे अनुसन्धान अघि बढाएको छ। बरामद नगदसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ।
काठमाडौं,२० वैशाख । सरकारले हालै जारी गरेको राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेशले नेपाल राष्ट्र बैंकका गभर्नर तथा सरकारी बैंकका पदाधिकारीहरूलाई असर नगर्ने भएको छ।
११० वटा कानुन संशोधन गर्ने उद्देश्यसहित ल्याइएको अध्यादेशमा नेपाल राष्ट्र बैंक ऐन समावेश नगरिएकाले गभर्नर विश्वनाथ पौडेल आफ्नो पदमा यथावत रहने स्पष्ट भएको हो। अध्यादेशपछि गभर्नरसमेत पदमुक्त हुन सक्ने चर्चा चले पनि त्यसलाई कानुनी आधार नपुगेको देखिएको छ।
यस्तै नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायतका पदाधिकारीहरू पनि अध्यादेशको प्रभावबाट बाहिर रहने भएका छन्।
यी पदाधिकारीहरू बैंक तथा वित्तीय संस्था ऐनअन्तर्गत बनेका नियमावलीमार्फत नियुक्त हुने भएकाले उनीहरूको नियुक्ति र पदमुक्ति प्रक्रिया फरक कानुनी व्यवस्थाअन्तर्गत पर्ने बताइएको छ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार अध्यादेशले ऐनअन्तर्गत प्रत्यक्ष नियुक्त हुने पदहरूलाई मात्र समेटेको छ भने नियमावली वा विनियमावलीमार्फत नियुक्त हुने पदाधिकारीहरूलाई समावेश गरिएको छैन।
काठमाडौं,२० वैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पत्रकारहरूले चुनौतीपूर्ण परिस्थितिमा पनि सत्य बाहिर ल्याउने साहस देखाएको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गरेका हुन्।
उपराष्ट्रपति यादवले पछिल्लो समय सञ्चारमाध्यमको स्वरूप तीव्र रूपमा बदलिएको भन्दै सामाजिक सञ्जालले सूचना प्रवाहलाई छिटो बनाएको बताए। तर, एल्गोरिदमको प्रभावका कारण सत्य समाचार ओझेलमा पर्न सक्ने र भ्रामक सामग्री फैलिन सक्ने चुनौती बढेको उनको भनाइ छ।
उनले पत्रकारिता र नागरिक दुवैसमक्ष सत्य पहिचान गर्ने, जिम्मेवार सञ्चार प्रवर्द्धन गर्ने तथा विवेकपूर्ण सूचना छनोट गर्ने चुनौती थपिएको उल्लेख गरे।
संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता पत्रकारको मात्र नभई सम्पूर्ण नागरिकको अधिकार भएको उनले बताए। “सत्य जान्ने, विचार व्यक्त गर्ने र सूचित निर्णय गर्ने अधिकार सबै नागरिकको साझा अधिकार हो,” उनले सन्देशमा उल्लेख गरेका छन्।
उपराष्ट्रपति यादवले नेपाली पत्रकारहरूले आर्थिक दबाब, राजनीतिक हस्तक्षेप र गलत सूचनाको चुनौतीबीच पनि आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको भन्दै प्रशंसा गरे। उनले संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकारलाई सुरक्षित राख्दै पत्रकारिता निर्भय र जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।
काठमाडौं,२० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ।
चेन्नईमा सम्पन्न खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफमा चेन्नईले १६० रनको लक्ष्य १८.१ ओभरमै केवल २ विकेट गुमाएर पूरा गर्यो।
यस जितसँगै चेन्नईले ९ खेलबाट ८ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। पराजित मुम्बई भने ९ खेलमा ४ अंकसहित नवौँ स्थानमा रहेको छ।
आईपीएल अन्तर्गत आज हुने खेलमा दिउँसो सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स आमनेसामने हुनेछन् भने बेलुका पञ्जाब किङ्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ।
काठमाडौं,२० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाखको अन्तिम साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको छ भने अहिले टेबुलेसनको काम भइरहेको छ।
बोर्ड स्रोतका अनुसार वैशाख २८ वा २९ गतेभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएको छ। “सबै उत्तरपुस्तिका जाँच सकिएको छ, अहिले नतिजा तयारीको अन्तिम प्रक्रिया चलिरहेको छ,” स्रोतले जनाएको छ।
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। अघिल्ला वर्षहरूमा परीक्षा सकिएको करिब तीन महिनापछि नतिजा आउने गरे पनि यसपटक बोर्डले छोटो समयमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो।
२०८२ सालको एसईईमा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३