KATHMANDU WEATHER
Horizontal Scroll Menu

मधेस प्रदेशमा आत्महत्याका घटना बढ्दै, न्यूनीकरणका लागि समन्वित पहलको आवश्यकता

बीरगन्ज,१५ वैशाख । मधेस प्रदेश मा आत्महत्याका घटनाहरू भयावह रूपमा बढ्दै गएको देखिएको छ। प्रहरी तथ्याङ्कअनुसार दैनिक ३ देखि ४ जनासम्मले आत्महत्या गर्ने गरेको पाइएको छ।

प्रहरी प्रधान कार्यालयको विवरणअनुसार पछिल्ला तीन वर्षमा प्रदेशभर ३ हजार ३४८ जनाले आत्महत्या गरेका छन्। चालु आर्थिक वर्षमै ७९३ घटना दर्ता भएका छन्, जसमा पुरुष २८२, महिला ३०४ र बालबालिका २०७ रहेका छन्। बालबालिकामध्ये बालिकाको संख्या उल्लेखनीय रूपमा बढी छ।

जिल्लागत तथ्याङ्कअनुसार चालु वर्ष सिरहा, धनुषा, सर्लाही र रौतहटमा आत्महत्याका घटना बढी देखिएका छन् भने पर्सामा तुलनात्मक रूपमा कम संख्या रहेको छ। आर्थिक वर्ष २०८१/०८२ मा १,२६१ र २०८०/०८१ मा १,२९४ जनाले आत्महत्या गरेको तथ्याङ्कले समस्या निरन्तर बढ्दो रहेको संकेत गरेको छ।

गोविन्द थापालिया का अनुसार आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा पछिल्ला तीन वर्षमा ४९९ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको छ। विशेषज्ञहरूका अनुसार बेरोजगारी, मानसिक तनाव, पारिवारिक विवाद, दाइजो प्रथा, लागुऔषध सेवन तथा प्रेम सम्बन्धका जटिलताहरू आत्महत्याका प्रमुख कारण हुन्। बालबालिका र किशोर–किशोरीमा पनि सामाजिक तथा पारिवारिक दबाबले समस्या बढाएको देखिएको छ।

फकिरा महतो ले आत्महत्या प्रदेशकै गम्भीर सामाजिक समस्या बनेको भन्दै तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए। त्यस्तै, राजु पासमान ले गरिबी, सामाजिक विभेद र मानसिक स्वास्थ्य सेवाको कमी प्रमुख कारण रहेको उल्लेख गर्दै स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको बताए।

विशेषज्ञहरूले स्वरोजगार, मानसिक स्वास्थ्य सेवा विस्तार, जनचेतनामूलक कार्यक्रम र सामाजिक विभेद अन्त्यका नीति प्रभावकारी रूपमा लागू गर्न सके आत्महत्या घटाउन सकिने सुझाव दिएका छन्।

सडक विस्तारपछि वीरगञ्ज बजार अस्तव्यस्त, पूर्वमन्त्री प्रदीप यादवद्वारा स्थलगत निरीक्षण

वीरगञ्ज । वीरगञ्ज मुख्य बजार हुँदै गएको त्रिभुवन राजपथअन्तर्गतको सडक खण्डमा डोजर चलाइएपछि उत्पन्न अवस्थाको अवलोकन गर्न पूर्वमन्त्री प्रदीप यादवले बजार क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

सडक डिभिजन कार्यालयले मुख्य बजार क्षेत्रमा पर्ने सडक खण्डलाई दुवैतर्फ २५–२५ मिटर फराकिलो बनाउने कार्य अघि बढाएसँगै स्थानीय व्यवसायी तथा जग्गाधनीहरू आन्दोलित भइरहेका बेला पूर्वमन्त्री यादवले उनीहरूसँग भेटघाट गरेका हुन्।

सडक विस्तारका क्रममा मुख्य सडकमा पर्ने ठूला व्यापारिक भवन तथा स्थानीयका घरहरू भत्काइएपछि वीरगञ्जको मुख्य बजार क्षेत्र अस्तव्यस्त भई मलवामा परिणत भएको छ। निरीक्षणका क्रममा यादवले मुर्ली, घण्टाघर चौक तथा आदर्शनगरलगायतका क्षेत्रहरूको अवलोकन गरेका थिए।

 

 

 

उनले स्थानीय व्यवसायी तथा जग्गाधनीहरूसँग छलफल गर्दै उनीहरूको समस्या, गुनासा तथा सडक विस्तारका कारण परेको प्रत्यक्ष असरबारे जानकारी लिएका थिए।

कार्यक्रममा मधेश प्रदेशका पूर्व सांसद जन्नत अंसारी, वीरगञ्ज महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जयप्रकाश अग्रवाल, वडा नं. ९ का वडा अध्यक्ष जवाहर गुप्ता, वडा नं. ३० का वडा अध्यक्ष मनोज यादव, पूर्व वडा अध्यक्ष तुफान अंसारी, औषधि व्यवसायी प्रमोद सर्राफ तथा स्थानीय युवा नेताहरूको उपस्थिति रहेको थियो।

 

 

 

छलफलका क्रममा पूर्वमन्त्री यादवले सडक विस्तारबाट प्रभावित व्यवसायी र जग्गाधनीहरूको समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मुलुकको प्रतिव्यक्ति आयमा देखिएन सुधार

  • चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भए पनि प्रतिव्यक्ति आयमा सुधार देखिएको छैन।
  • प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत आर्थिक वर्षमा १ हजार ५३५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा पनि १ हजार ५३५ अमेरिकी डलर नै कायम छ।
  • प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन गत आर्थिक वर्षको १ हजार ९९४ अमेरिकी डलरबाट चालु आर्थिक वर्षमा २ हजार ४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।

१५ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार देखिएको छैन । प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत आर्थिक वर्षमा १ हजार ५३५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष २०८२/८३ मा पनि १ हजार ५३५ अमेरिकी डलर नै कायम रहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बढेको छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन चालु आर्थिक वर्षको अन्त्यमा २ हजार ४४ अमेरिकी डलर कायम हुने भएको छ ।

 

 

 

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन गत आर्थिक वर्षमा १ हजार ९९४ अमेरिकी डलर थियो । त्यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय सामान्य घटेको छ । यस्तो आय गत आर्थिक वर्षमा १ हजार ५१६ अमेरिकी डलर रहेकोमा यो आर्थिक वर्षमा १ हजार ५१३ अमेरिकी डलर रहने भएको छ ।

भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी, इच्छुकको विवरण संकलन जारी

१५ वैशाख, काठमाडौं । भूमि प्रशासन सम्बन्धी सेवाहरु अब स्थानीय तहबाट सुरु गर्ने तयारी गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालको भूमिसुधार, मालपोत र नापी कार्यालयहरुबाट प्रवाह हुँदै आएका सेवाहरु स्थानीय तहबाट गर्ने तयारी थालेको हो ।

 

 

 

त्यसैले मन्त्रालयले यी सेवा प्रवाह गर्न चाहने स्थानीय तहलाई आवश्यक पर्ने जनशक्ति तथा पूर्वाधारसहितको व्यवस्था आफैंले गर्ने गरी सेवा प्रवाहका लागि इच्छुक रहेको व्यहोरासहितको पत्र माग गरेको छ ।

मन्त्रालयको यही वैशाख १० गतेको पत्र अनुसार ७ दिनभित्र स्थानीय तहले भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहका लागि इच्छुक रहेको पत्र पठाउनुपर्ने छ ।

 

 

 

अहिले पालिकाहरुबाट पत्र आउने क्रम जारी छ । चितवनको भरतपुर महानगरपालिकाले यही वैशाख १४ गते मन्त्रालयमा पत्र पठाएर भूमि प्रशासन सम्बन्धी सेवा प्रवाह गर्न इच्छुक रहेको जानकारी दिएको छ ।

अन्य पालिकाहरुबाट पनि पत्र आउने क्रम जारी रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना अधिकारी राजेन्द्रप्रसाद गौतमले बताए ।

कानुन बन्नै बाँकी

पालिकाहरुले भूमि प्रशासन सम्बन्धी सेवा प्रवाह थालिसकेका छैनन् । किनभने त्यसका लागि कानुनी व्यवस्था भइसकेको छैन । कानुन नबनिसकेकाले अहिले नै भूमिसुधार, मालपोत र नापी कार्यालयहरु के हुन्छन् भन्ने निश्चित छैन ।

मन्त्रालयका सूचना अधिकारी गौतमका अनुसार अहिले मालपोत र नापी कार्यालयलाई गाभ्नेबारे अनौपचारिक छलफल भइरहेको छ ।

‘तिनलाई केकति काम दिने भन्ने कुरा ऐन बनेपछि मात्र थाहा हुन्छ,’ गौतमले भने, ‘अहिले कानुन नबनिसकेकाले ती कार्यालयहरुको भविष्यबारे ठ्याक्कै भन्न सकिएन ।’

तर कानुन नबन्दै मन्त्रालयले भूमि सम्बन्धी सेवा प्रवाह गर्न इच्छुक पालिकाहरुबाट पत्र मागेको हो । यसको कारणबारे सूचना अधिकारी गौतम भन्छन्, ‘कानुन बन्दै गर्दा पालिकाहरुबाट पनि विवरण आयो भने कानुन बन्नासाथ काम थाल्न सकिन्छ नि ।’

नवजीवन केन्द्रबाट सुरु हुँदैछ सन्देशको नयाँ जीवन

१५ वैशाख, रोल्पा । २०७० वैशाख १९ गते रोल्पा नगरपालिका-१० धवाङ-धाङ्सी जन्मिएका सन्देश बुढामगरका दुवै हात चल्दैनन् । यो उनको जन्मजात समस्या हो ।

साधारण किसान परिवारका आमा-बुबा खेतीकिसानी र ज्यालामजदुरी गरेर घरखर्च चलाउँदै आएका छन् । त्यसैले सन्देशले आर्थिक अभावका कारण समयमै राम्रो उपचार पाएनन् ।

 

 

 

सन्देश नेपाल राष्ट्रिय आधारभूत विद्यालयका कक्षा-५ का विद्यार्थी हुन् । एक महिनाअघि उनी परीक्षा दिन अर्को वडाको हिमालय मावि पुगेका थिए ।

२०८२ चैत ८ गतेदेखि सुरु भएको पालिकास्तरीय वार्षिक परीक्षामा सहभागी भए । त्यही परीक्षाबाट उनको जीवनले नयाँ मोड लियो । रोल्पाबाट ५ कक्षाको परीक्षा दिएका दुवै हात नचल्ने सन्देश अहिले पढाइका लागि काठमाडौं आएका छन् ।

 

 

 

जब शिक्षकको नजरमा परे

काठमाडौं जाँदै गर्दा सन्देश बुढामगर ।

सन्देशले परीक्षा दिइरहेको शिक्षक खिम बुढामगरले नियालिरहेका थिए । खिम बुढामगर परीक्षा सञ्चालनका लागि खटिएका निरीक्षक हुन् ।

उनै शिक्षकले २०८२ चैत १० गते आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिएको भिडियो सार्वजनिक गरे ।

शिक्षकले सार्वजनिक गरेको उक्त भिडियोले धेरैको ध्यान खिच्यो । उनलाई सहयोग गर्न धेरै व्यक्ति तयार देखिए । अब उनी खगेन्द्र नवजीवन केन्द्रमा अध्ययन गर्ने भएका छन् । शिवम सिमेन्ट लिमिटेडको सहयोगमा १२ कक्षासम्म सन्देशले नवजीवन केन्द्रमा पढ्न पाउने भएका हुन् ।

 

शिवम सिमेन्ट लिमिटेडका प्रमुख केशव अर्याल सन्देशलाई लिन आइतबार रोल्पा घरमै पुगेका थिए । उनीहरुको टोलीले रोल्पाबाट सन्देशलाई सोमबार काठमाडौं लिएको शिक्षक खिम बुढामगरले जानकारी दिए । ‘मैले जुन उद्देश्यले भिडिओ सार्वजनिक गरेको थिएँ त्यो सपना पूरा भएको छ’, उनले भने  ।

सन्देशका बुबा रामु बुढामगरले पनि खुसी व्यक्त गरेका छन् । ‘मेरो छोराको अध्ययन र भविष्यका लागि शिवम सिमेन्टस लिमिटेड र खगेन्द्र नवजीवन केन्द्रले सबै व्यवस्थापन गरिदिएको छ’, उनले भने, ‘अध्ययन र उपचारका लागि म पनि सन्देशसँगै काठमाडौं गएको छु ।’

सन्देशले अध्ययन गरेको विद्यालयका शिक्षकहरुले उनीमा असाधारण क्षमता रहेको बताउँ छन् । उनले खुट्टाले लेखेका अक्षरहरु सुन्दर छन् । उनको अन्य प्रस्तुति पनि राम्रो रहेको विद्यालयको भनाइ छ ।

सन्देशले कठिन परिस्थितिमा पनि आफूले अध्ययन गरिरहेको र काठमाडौंसम्म गएर राम्रो स्कुलमा पढ्न पाउँछु भन्ने कहिल्यै नसोधेको बताएका छन् ।

‘मेरो जन्मजात नै दुवै हात नचल्ने समस्या भएपनि कहिल्यै मैले कमजोर ठानिनँ’, सन्देशले भने, ‘ काठमाडौं जस्तो ठाउँमा गएर पढ्न पाउछु भनेर कल्पना गरेको थिइनँ ।’

उनले काठमाडौमा पढ्न पाउँदा आफू हर्षित भएको सुनाए । आफ्नो कमजोरीलाई नै शक्तिमा बदल्ने अठोट गरे ।

सन्देशको घरमा बुवा रामु र आमा तीर्थमायाका साथ दुई दिदी र एक भाइ छन् ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३