KATHMANDU WEATHER
Horizontal Scroll Menu

भृकुटी कागज कारखानाका श्रमिकहरूको ४० करोड बक्यौता माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२१ वैशाख, काठमाडौं । नवलपुरको गैँडाकोटस्थित ऐतिहासिक भृकुटी कागज कारखानाका ३३३ जना श्रमिकहरूले आफ्नो १३ वर्षदेखिको करिब ४० करोड रुपैयाँ बक्यौता पारिश्रमिक माग गर्दै सरकारलाई अल्टिमेटम दिएका छन् ।

‘सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिबार’ अभियानको नेतृत्वमा श्रमिकहरूले प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

१३ वर्षदेखिको प्रतीक्षा र श्रमिकको मृत्यु

विगत २०६७ सालदेखि व्यवस्थापकीय कमजोरीका कारण पूर्ण रूपमा बन्द भएको यस कारखानाका स्थायी श्रमिकहरूले लामो समयदेखि आफ्नो पसिनाको मूल्य पाउन सकेका छैनन् ।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार, न्यायको प्रतीक्षा गर्दागर्दै कतिपय श्रमिकहरूको मृत्युसमेत भइसकेको छ भने जीवित रहेकाहरू चरम आर्थिक संकटमा छन् । श्रमिकहरूले आफ्नो कुल ४० करोड रुपैयाँ बराबरको बाँकी तलब, भत्ता र सुविधा तत्काल एकमुष्ठ भुक्तानी गर्न माग गरेका छन् ।

६० बिघा जग्गाको पुनर्संरचना र विकासको माग

श्रमिकहरूले केवल आफ्नो तलब मात्र नभई, अलपत्र अवस्थामा रहेको कारखानाको ६० बिघा जग्गाको भविष्यका बारेमा पनि ठोस योजना अघि सारेका छन् । उनीहरूले सो बहुमूल्य राष्ट्रिय सम्पत्तिलाई झाडी र खण्डहर बनाउनुको साटो आधुनिक कृषि परियोजना, नयाँ उद्योग वा नमुना व्यवस्थित बजारका रूपमा विकास गर्न माग गरेका छन् ।

यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै रोजगारीका अवसरहरू सिर्जना गर्ने उनीहरूको विश्वास छ ।

५ दिने अल्टिमेटम र आन्दोलनको तयारी

अभियानका संयोजक गणेश सापकोटाले सरकारलाई आफ्ना मागहरू सम्बोधन गर्न ५ दिनको समय सीमा दिएका छन् ।
यदि तोकिएको समयभित्र सरकारले ठोस पहल नगरेमा र श्रमिकको बक्यौता भुक्तानीको सुनिश्चितता नगरेमा सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी ज्ञापनपत्रमार्फत दिइएको छ ।

चीन सरकारको सहयोगमा निर्माण भएको र पछि निजीकरण गरिएको यो कारखानाको अवस्थाले नेपालको औद्योगिक क्षेत्रको दुर्दशालाई चित्रण गरिरहेको श्रमिकहरूको भनाइ छ ।

आन्ध्र महासागरमा यात्रारत पानीजहाजमा हन्टाभाइरसको प्रकोप

२१ वैशाख, काठमाडौं । आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ।

 

 

 

दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयले एक बेलायती यात्रुमा संक्रमण पुष्टि भएको र उनलाई हाल आईसीयूमा राखेर उपचार भइरहेको बताएको छ । यसले गर्दा जहाजमा रहेका अन्य यात्रुहरूमा समेत सन्त्रास फैलिएको छ।

यस प्रकोपबाट मृत्यु हुने पहिलो व्यक्ति ७० वर्षीय पुरुष हुन् । उनलाई जहाजमै अचानक ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने जस्ता लक्षण देखिएका थिए र सेन्ट हेलेना टापु पुगेपछि उनको मृत्यु भएको थियो।

 

 

 

त्यसको केही समयपछि उनकी ६९ वर्षीया श्रीमतीमा पनि सोही लक्षण देखिएको र दक्षिण अफ्रिकी अस्पतालमा उपचारका क्रममा उनको पनि ज्यान गएको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।

विश्व स्वास्थ्य संगठनले यस घटनालाई गम्भीरतापूर्वक लिँदै आन्ध्र महासागरमा भइरहेको यस जनस्वास्थ्य संकटमा अनुसन्धान र सहयोग सुरु गरेको विज्ञप्ति मार्फत जनाएको छ।

संगठनले प्रयोगशाला परीक्षण र महामारी सम्बन्धी अनुसन्धानहरू जारी रहेको बताउँदै भाइरसको आनुवंशिक संरचना पत्ता लगाउन वैज्ञानिकहरू सक्रिय रहेको जानकारी दिएको छ। डब्लुएचओले जहाज सञ्चालक र सदस्य राष्ट्रहरूसँग समन्वय गर्दै बिरामी परेका यात्रुहरूको उद्धार र बाँकी रहेकाहरूको जोखिम मूल्याङ्कनमा समेत सहयोग गरिरहेको छ।

डच झण्डा बोकेको यो पानीजहाज करिब तीन हप्ताअघि अर्जेन्टिनाको उशुआयाबाट प्रस्थान गरेको थियो जसमा विभिन्न देशका करिब १५० पर्यटकहरू सवार थिए। यो जहाजले अन्टार्कटिका, फकल्याण्ड टापु, दक्षिण जर्जिया र सेन्ट हेलेना जस्ता टापुहरूको भ्रमण गरिसकेको छ र आइतबार राति केप भर्डेको राजधानी प्रैयामा आइपुगेको छ।

बेलायती विदेश मन्त्रालयका प्रवक्ताले पनि आफ्ना नागरिकहरूको अवस्थाबारे स्थानीय अधिकारीहरूसँग नियमित सम्पर्कमा रहेको र आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहेको जानकारी दिएका छन्।

होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीको मानव अधिकार अवस्थाबारे अनुगमन गर्न माग

२१ वैशाख, काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीको मानव अधिकारको अवस्थाबारे अनुगमन गर्नुपर्ने आवाज संसदीय समितिमा उठेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा यो विषय उठेको हो ।

 

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले भने, ‘राज्यले सुकुमवासी समस्या समाधानको काम गरिरहँदा सञ्चारमाध्यममा केही कुरा अएका छन् ।’

तथापि, सरकारले होल्डिन सेन्टरमा राखेर त्यहाबाट व्यवस्थापन गर्ने भनेको उनले स्मरण गरे ।

 

 

 

‘होल्डिङ सेन्टरमा मानव अधिकारको संरक्षण भएको छ वा छैन । छैन भने सरकारलाई भन्नुपर्छ । आवश्यक पर्दा अनुगमनमा पनि जानुपर्छ,’ उनले भने ।

नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले पनि यो विषय उठाए ।

‘सुकुमवासी बस्ती उठाउने काम भयो । स्थानान्तरणका लागि समय दिन पुगेन वा दिइएन भन्ने आएको छ । आक्रमक भयो कि भन्ने छ । व्यवस्था नगरी विस्थापन गरिएकाले उनीहरू सरकारको सम्पर्कमा जान नचाहेको कुरा पनि आएको छ,’ उनले भने ।

नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सुकुमवासी पहिचान नगरी डोजर लगाइनु उचित नभएको बताइन् ।

उनले भनेकी छन्, ‘सूचना कम दिएर डोजर आतंक चलाएको जस्तो भयो । सुकुमवासी को हो, होइन छुट्याएर र उनीहरूको व्यवस्थापन गरेर भत्काएको भए चिलबिल हुने थिएन ।’

शर्माले पनि होल्डिङ सेन्टरमा अनुगमनमा जानुपर्ने बताइन् ।

कांग्रेस सांसद गीता गुरुङले पनि बिना सूचना सुकुमवासी बस्ती हटाउने काम भएको भनेर सरकारको ध्यानाकर्षण गरिन् ।

‘३६ वर्षका प्रधानमन्त्री र ५० वर्षका अर्थमन्त्री देशका लागि ठूलो परिवर्तन’ : वाग्ले

काठमाडौं,२१ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको राजनीतिक नेतृत्वमा आएको पुस्तान्तरणलाई ऐतिहासिक परिवर्तनको संकेत बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले युवा नेतृत्वले मुलुकको राजनीति र प्रशासनमा नयाँ सन्देश दिएको बताए।

उनले ३६ वर्षका प्रधानमन्त्रीले देशको नेतृत्व गर्नु र आफू ५० वर्षको उमेरमा मन्त्रिपरिषद्को सबैभन्दा ‘वृद्ध’ सदस्य हुनु नै परिवर्तनको उदाहरण भएको उल्लेख गरे।

अर्थमन्त्री वाग्लेले विगतमा ८० वर्ष नपुगी नेतृत्वमा पुग्न नसकिने मानसिकता रहेको स्मरण गर्दै अहिलेको अवस्था देशका लागि सकारात्मक संकेत भएको बताए।

उनले सरकार भ्रष्टाचार, बिचौलिया प्रवृत्ति र पहुँचका आधारमा हुने कामप्रति कडा रूपमा प्रस्तुत हुने पनि स्पष्ट पारे। पहुँच र भनसुनको भरमा काम हुने पुरानो संस्कृतिको अन्त्यतर्फ सरकार अघि बढेको उनको भनाइ थियो।

निजी क्षेत्रलाई सम्बोधन गर्दै वाग्लेले मुलुक निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। तर, निजी क्षेत्रले पनि आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न आवश्यक रहेको उनको धारणा थियो।

उनले प्रशासनिक जटिलता र नियामकीय झन्झटले इमानदार व्यवसाय गर्न कठिन बनाएको स्वीकार गर्दै सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताए।

संसद् छलेर अध्यादेश ल्याउनु स्वेच्छाचारिताः सांसद सुहाङ नेम्वाङ

२१ वैशाख, काठमाडौं । नेकपा (एमाले) का युवा सांसद सुहाङ नेम्वाङले सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै संसद्लाई छलेर अध्यादेश ल्याउने कदमलाई संवैधानिक मर्यादा विपरीतको संज्ञा दिनुभएको छ ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले संसद्मा स्पष्ट बहुमत हुँदाहुँदै पनि कानुन निर्माणका लागि अध्यादेशको बाटो रोज्नु सरकार स्वेच्छाचारितातर्फ उन्मुख हुनु रहेको तर्क गर्नुभयो ।

जनप्रतिनिधिहरूको सर्वोच्च थलोलाई उपेक्षा गरेर शासन चलाउनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुने भन्दै उहाँले हिजोका गल्तीलाई नजिर बनाएर आज पनि सोही गल्ती दोहोर्‍याउन नहुनेमा जोड दिनुभयो ।

सुकुमबासी व्यवस्थापनका नाममा सरकारले देखाएको अमानवीय व्यवहारप्रति पनि सांसद नेम्वाङले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । काठमाडौं उपत्यका लगायतका क्षेत्रमा वैकल्पिक व्यवस्था नै नगरी डोजर चलाउनुले नागरिकको आत्मसम्मानमा चोट पुगेको उहाँको भनाइ छ ।

‘जसको कोही छैन, राज्य उसको अभिभावक बन्नुपर्छ,’ भन्दै उहाँले सर्वोच्च अदालतको आदेशविपरीत बालबालिका र वृद्धवृद्धाको बिचल्ली पार्ने कार्य तत्काल बन्द गर्न माग गर्नुभयो । वास्तविक सुकुमबासी र‘हुकुमबासी’ नछुट्याई गरिने यस्ता कारबाहीले अन्यायबाट अत्याचारतर्फको बाटो खन्ने उहाँले टिप्पणी गर्नुभयो ।

विगत ३६ वर्षमा १९ वटा भूमि आयोग बन्दा पनि समस्या समाधान नहुनु राज्यको लगानी खेर जानु रहेको नेम्वाङले औँल्याउनुभयो ।आफ्नो निर्वाचन क्षेत्र इलामको उदाहरण दिँदै उहाँले ७५ प्रतिशतभन्दा बढी नागरिकसँग धनीपुर्जा नभएको अवस्थामा उनीहरूलाई उठिबास गराउनु समाधान नभएको बताउनुभयो ।

समस्याको दीर्घकालीन र मानवीय समाधान खोज्न सरकारलाई आग्रह गर्दै उहाँले होल्डिङ सेन्टरमा राखिएका नागरिकको अवस्था बुझ्न संसदीय समितिका सदस्यहरूलाई स्थलगत अनुगमनमा जान समेत प्रस्ताव गर्नुभएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३