KATHMANDU WEATHER
Horizontal Scroll Menu

स्व. सुशील कुमार खेतानको स्मृतिमा मारवाडी प्रिमियर लिग–३, फागुन २९ देखि आदर्श रंगशालामा

वीरगञ्ज, २५ फागुन :

 

मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा हुन लागेको “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। ट्रफी सार्वजनिक कार्यक्रम वीरगञ्जको आदर्शनगरस्थित होटेल तृषलामा सम्पन्न भएको हो।

 

कार्यक्रम ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा मारवाडी युवा मञ्चका अध्यक्ष अनुज रुङ्टा लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

 

आयोजकका अनुसार स्वर्गीय सुशील कुमार खेतान (टिपु) को स्मृतिमा आयोजना हुन लागेको उक्त प्रतियोगिता यही फागुन २९ गते (१३ मार्च २०२६) देखि वीरगञ्जको आदर्शनगर रंगशालामा सुरु हुनेछ। प्रतियोगितामा कुल १० वटा टिम सहभागी हुनेछन् भने प्रतियोगिता अवधिभर २३ वटा खेल खेलाइने कार्यक्रम रहेको छ।

 

प्रतियोगितामा बीटीएस प्लास्टर्स, टाइगर्स, जगुआर, कञ्चनजंगा लगायतका टिमहरू सहभागी हुने आयोजकले जनाएको छ। उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई प्रतियोगिताको विजेता घोषणा गरिनेछ।

 

कार्यक्रम संयोजक केशव खेतानका अनुसार प्रतियोगिताले वीरगञ्जमा खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ। उनले स्थानीय खेलाडीहरूको उत्साहजनक सहभागिता रहने तथा खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति हुने अपेक्षा गरिएको बताए।

 

यसैबीच प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रम वीरगञ्जका विभिन्न धार्मिक तथा महत्वपूर्ण स्थानहरूमा समेत गरिएको थियो। मितेरी पुल, शंकराचार्य गेट, चिनीमिलस्थित पशुपतिनाथ मन्दिर तथा माइस्थान मन्दिरमा टिमका कप्तान तथा खेलाडीहरूको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको आयोजकले जनाएको छ।

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

शिकागो,२५ फागुन । इरानसँगको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ, जुन अघिल्लो हप्ताको अन्त्यतिरको मूल्यभन्दा करिब २४ प्रतिशत बढी हो । अ

मेरिकामा उत्पादन हुने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि प्रति ब्यारेल करिब ११६ डलर पुगेको छ, जुन अघिल्लो मूल्यभन्दा झन्डै २८ प्रतिशतले बढेको हो ।

 

मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण तेल उत्पादन र ढुवानीमा ठूलो जोखिम उत्पन्न भएपछि विश्व बजारमा तेलको मूल्य ह्वात्तै बढेको हो । विशेषगरी पर्सियन गल्फ क्षेत्रबाट विश्वभर तेल पठाउने प्रमुख समुद्री मार्ग स्ट्रेट अफ होर्मुज अहिले असुरक्षित बनेको छ ।

 

यो मार्गबाट दैनिक करिब १५ मिलियन ब्यारेल कच्चा तेल ढुवानी हुने गर्छ, जुन विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हो । युद्धका कारण मिसाइल र ड्रोन आक्रमणको खतरा बढेपछि धेरै तेल ट्याङ्करहरू यो मार्ग प्रयोग गर्न डराउन थालेका छन् ।

 

युद्धका क्रममा तेल तथा ग्यासका संरचनाहरू पनि निशानामा परेका छन् । इजरायलले तेहरानमा रहेको तेल भण्डारण स्थलमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन् । इजरायलले भने ती भण्डारण स्थलहरू इरानको सैन्य प्रयोजनका लागि प्रयोग भइरहेको दाबी गरेको छ ।

 

यसबीच इराक, कुवेत र संयुक्त अरब इमिरेट्सले तेल निर्यातमा समस्या देखिएपछि उत्पादन घटाएका छन्, जसले विश्व बजारमा आपूर्ति कम हुने चिन्ता बढाएको छ ।

 

इरानले दैनिक करिब १६ लाख ब्यारेल तेल निर्यात गर्ने गर्छ, जसको ठूलो हिस्सा चीनले खरिद गर्छ । यदि युद्धका कारण इरानको निर्यात प्रभावित भयो भने चीनले अन्य देशबाट तेल खोज्नुपर्ने अवस्था आउन सक्छ, जसले विश्व बजारमा थप दबाब सिर्जना गर्न सक्छ ।

 

यसैबीच प्राकृतिक ग्यासको मूल्य पनि केही बढेको छ, यद्यपि तेलको जस्तो ठूलो वृद्धि भने देखिएको छैन ।

 

तेलको मूल्य तीव्र रूपमा बढेपछि विश्व अर्थतन्त्रमा असर पर्ने चिन्ता बढेको छ । ऊर्जा महँगो हुँदा महँगी बढ्ने र उपभोक्ताको खर्च घट्ने सम्भावना हुन्छ । यसले विश्वका प्रमुख शेयर बजारहरूमा पनि असर परेको छ । जापानको निक्केई २२५ सूचकांक सोमबार ७ प्रतिशतभन्दा बढीले घटेको छ भने अन्य देशका बजारहरूमा पनि गिरावट देखिएको छ ।

 

विश्लेषकहरूले तेलको मूल्य लामो समयसम्म १०० डलरभन्दा माथि रहिरहेमा विश्व अर्थतन्त्रमा गम्भीर दबाब पर्न सक्ने चेतावनी दिएका छन् ।

चुनावी ब्यानर-पोस्टर तुरुन्त हटाउन वीरगञ्ज महानगरको आग्रह

वीरगंज - वीरगञ्ज महानगरपालिकाले प्रतिनिधि सभा निर्वाचन २०८२ को मत परिणाम आइसकेपछि चुनावी प्रचार सामग्री हटाउन आग्रह गरेको छ।

 

महानगरपालिकाले जारी गरेको सूचनामा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूले चुनाव प्रचारका क्रममा प्रयोग गरेका ब्यानर, पोस्टर, पर्चा, फ्लेक्स तथा होर्डिङ बोर्डहरू महानगरका विभिन्न स्थानमा अझै राखिएको उल्लेख गरिएको छ।

 

नगर क्षेत्रको सौन्दर्य र सरसफाइ कायम राख्ने उद्देश्यले ती सबै प्रचार सामग्री सम्बन्धित दल तथा उम्मेदवारहरूले आफैं हटाउन महानगरपालिकाले अनुरोध गरेको छ।

 

साथै महानगरको सरसफाइ अभियानमा सहयोग गर्न सबै राजनीतिक दल र सरोकारवालासँग अपिल गरिएको छ।

 

महानगरपालिकाले यस कार्यमा सबै पक्षबाट सकारात्मक सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरेको छ । 

इन्स्पेक्टरको ‘बडिगार्ड’ भन्दै बारामा तीन प्रहरीको दादागिरी, सर्वसाधारणलाई धम्की दिएको आरोप

कलैया । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत तीन जना प्रहरी जवानले आफूहरू प्रहरी निरीक्षक (इन्सपेक्टर) का बडिगार्ड भएको धाक लगाउँदै सर्वसाधारणमाथि धम्की, दादागिरी र अवैध गतिविधि गर्ने गरेको आरोप सार्वजनिक भएको छ। घटनापछि स्थानीय स्तरमा प्रहरीको आचरणमाथि गम्भीर प्रश्न उठ्न थालेको छ।

 

स्रोतका अनुसार अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका प्रहरी निरीक्षक सुरेशराज भट्टका बडिगार्ड सुजित यादव, उजुरी शाखाका प्रहरी निरीक्षक दिपेन्द्र यादवका बडिगार्ड आशिष यादव तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक दिलीप थापाका बडिगार्ड मोहन यादवले आफूहरू इन्सपेक्टरका नजिकका प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने, धाक देखाउने र दबाब सिर्जना गर्ने गरेको आरोप लागेको हो।

 

पीडित पक्षका अनुसार फागुन २० गते राति ती तीनै जना प्रहरीले एक व्यक्तिलाई सामूहिक रूपमा फोन गरी अशोभनीय तथा अपमानजनक भाषा प्रयोग गर्दै धम्की दिएका थिए। आफूहरू प्रभावशाली प्रहरी अधिकारीका बडिगार्ड भएको भन्दै डर देखाएर चुप लाग्न दबाब दिएको समेत पीडितले बताएका छन्।

 

स्थानीय स्रोतका अनुसार ती प्रहरी जवानहरूले विभिन्न बहानामा मुद्दा मिलाइदिने नाममा आर्थिक लेनदेन गर्ने, तस्करीमा संलग्न व्यक्तिहरूसँग साँठगाँठ राख्ने र सर्वसाधारणमाथि दबाब दिने गतिविधि गर्दै आएको चर्चा लामो समयदेखि चल्दै आएको छ। तर प्रहरी संगठनभित्रकै भएकाले धेरै पीडित खुला रूपमा बोल्न नसकेको स्थानीयको भनाइ छ।

 

ती प्रहरीहरूले आफ्नो पद र सम्बन्धको दुरुपयोग गर्दै ‘हामी इन्सपेक्टरको बडिगार्ड हौं, जे पनि गर्न सक्छौं’ भन्ने शैलीमा व्यवहार गर्ने गरेको गुनासो समेत आएको छ। यस्तो गतिविधिले प्रहरीप्रति सर्वसाधारणको विश्वास कमजोर हुने खतरा बढेको ।

 

यस विषयमा प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले घटनाबारे जानकारी आएको बताउँदै सत्यतथ्य छानबिन गरी दोषी देखिए कडा विभागीय कारबाही गरिने बताएका छन्। उनले प्रहरी संगठनभित्र अनुशासनहीनता सहन नहुने समेत बताएका छन्।

 

‘यदि कसैले प्रहरीको नाम वा पदको दुरुपयोग गरेर सर्वसाधारणलाई धम्की दिएको पाइएमा त्यस्ता व्यक्तिमाथि कडा कारबाही हुन्छ,’ प्रहरी उपरीक्षक कुँवरले भने।

सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक : खुल्यो वीरगञ्जको सडक २५/२५ मिटर विस्तार गर्ने बाटो

वीरगञ्ज । सर्वोच्च अदालतले त्रिभुवन राजपथ (काठमाडौँ–पथलैया–वीरगञ्ज भन्सार) अन्तर्गत वीरगञ्ज क्षेत्रको सडक विस्तार सम्बन्धी रिट निवेदन पूर्ण रूपमा खारेज गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ ।

 

सर्वोच्चको फैसलासँगै सडक विभागलाई विस्तार कार्य अगाडि बढाउन बाटो खुलेको छ । अदालतले मुख्य सडकका जग्गाधनीहरूको सम्पत्ति हक र क्षतिपूर्ति मागलाई अस्वीकार गर्दै लामो समयदेखि विवादित रहेको सडक विस्तारको मुद्दालाई निकास दिएको छ ।

 

गत वर्ष फागुन २८ गते न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले सुनाएको फैसलाको पूर्ण पाठ आइतबार मात्र सार्वजनिक भएको हो । फैसलाले सडक विस्तारलाई कानुनसम्मत ठहराउँदै स्थानीय निवासीहरूको दाबीलाई खारेज गरेको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३