२२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानका सात वटा ‘फास्ट बोट’ भनिने डुंगाहरुमा आक्रमण गरेको बताएका छन् ।
ट्रम्पले भनेका छन्, ‘हामीले सात वटा साना डुङ्गा (उनीहरूले फास्ट बोट भन्ने गरेका छन्) लाई ढालेका छौं । उनीहरूसँग अब यही मात्रै बाँकी छ ।’
प्राय: बन्दजस्तै बनेको यस जलमार्गबाट अलपत्र परेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेका बेला अमेरिकाले इरानका डुंगाहरुमाथि आक्रमण गरेको जनाएको हो । अमेरिकाले ‘प्रोजेक्ट फ्रिडम’ अभियान अन्तर्गत इरानी बोटहरुमा आक्रमण गरेको थियो ।
अमेरिकी सेनाले हेलिकप्टर प्रयोग गरेर ती डुङ्गामा आक्रमण गरेको जनाएको छ । तर इरानले भने अमेरिकी आक्रमणको प्रचार पूर्णरुपमा गलत भएको जनाएको छ ।
यसबीचमा अमेरिकी झण्डावाल एक जहाज स्ट्रेट अफ होर्मुज पार गर्न सफल भएको जनाइएको छ । एक ढुवानी कम्पनी मर्स्कका अनुसार, उसको अमेरिकी झण्डावाला एउटा जहाज अमेरिकी सैन्य सुरक्षा अभियान मार्फत सफलतापूर्वक स्ट्रेट अफ होर्मुज पार गर्न सफल भएको हो । ‘एलायन्स फेयरफ्याक्स’ नामक सो जहाज फेब्रुअरीदेखि खाडी क्षेत्रमा अलपत्र थियो ।
मर्स्कले आफ्नो व्यावसायिक जहाजको यात्रा कुनै अवरोध बिना सम्पन्न भएको र सबै चालकदल सुरक्षित रहेको जनाएको छ ।
अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि हवाई आक्रमण गरेयता स्ट्रेट अफ होर्मुज प्राय: अवरुद्ध छ । अमेरिका र इजरायलको आक्रमणको प्रतिउत्तरमा इरानले विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ओसारपसार हुने यो महत्वपूर्ण जलमार्ग अवरुद्ध गरेको थियो ।
अप्रिलको सुरुवातमा अमेरिका र इरानबीच युद्धविराम घोषणा भए पनि त्यसयता थोरै मात्र जहाजहरूले यो मार्ग प्रयोग गर्न सकेका छन् । साथै, अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नै नाकाबन्दी पनि लागू गरेको छ ।
फेब्रुअरीदेखि सुरु भएको अमेरिका–इरान युद्धपछि करिब २ हजार जहाजमा रहेका २० हजार नाविकहरू सो क्षेत्रमा फसेका छन् ।
यसअघि अमेरिकाले आफ्ना नौसेना विध्वंसक जहाज र अमेरिकी झण्डावाला व्यापारीक जहाजहरूले सोमबार जलडमरूमध्य पार गरेको दाबी गरेको थियो । इरानले यसलाई ‘पूर्ण रूपमा गलत’ भन्दै आफ्नो सेनाले अमेरिकी युद्धपोततर्फ चेतावनी स्वरूप गोली चलाएको बताएको छ, जसलाई अमेरिकाले अस्वीकार गरेको छ ।
२२ वैशाख, काठमाडौं । आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिककी डलर एकको खरिद दर १५१.८५ र बिक्री दर १५२.४५ रहेको छ । सोमबार खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ थियो
आज युरोको खरिद दर १७७.६८ र बिक्री दर १७८.३८ रहेको छ । सोमबार खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ थियो ।
यस्तै, आज पाउण्ड स्टर्लिङको खरिद दर २०५.६५ र बिक्री दर २०६.४६ रुपैयाँ रहेको छ । स्वीस फ्रयांकको एको खरिद दर १९३.७० र बिक्री दर १९४.४६, अष्ट्रेलियन डलरको एकको खरिद दर १०९.०४ र बिक्री दर १०९.४७ रुपैयाँ रहेको छ ।
जापानी येन १० को खरिद दर ९.६६ र बिक्री दर ९.७० रहेको छ भने दक्षिण कोरियन वनको १०० को खरिद दर १०.३१ र बिक्री दर १०.३५ रहेको छ ।

२२ वैशाख, काभ्रेपलाञ्चोक । बाढीबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीहरूले सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरबाहीपूर्ण तरिकाले माइक्रोबस चलाउने पाँच जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यात्रुहरूको जीउधनलाई समेत खतरा पुर्याइ सवारी चलाएको आरोपमा पक्राउ परेका ५ चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कार्यपलाञ्चोकको हिरासतमा राखी अनुसन्धान गरिरहेको एसपी कोमल शाहले जानकारी दिए ।
सोमबार साँझदेखि अविरल परेको पानीको कारण रोशी खोलाको बहाव बढ्न गई रोशी खोलाको बीच भागमा फसेका पाँचवटा माइक्रोबसका ८९ जना यात्रुहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहभागितामा राती १:०० बजे उद्धार गरि गन्तव्यसम्म पुर्याएको थियो ।
यो समय बीपी राजमार्ग भई यात्रा गर्दा जहिले पनि सूचना वा पूर्वजानकारी लिएर र प्रहरीको सुझावलाई समेत आत्मसात गरेर यात्रा गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ ।
२२ वैशाख, इलाम । घरदेखि पैदल १५ मिनेटको दूरीमा रहेको गाईगोठमा दीपेश मोदी र उनकी पत्नी सुशिला अधिकारी सधैंझैँ आइतबार बिहान पुगेका थिए । रगतले लत्पतिएको विभत्स अवस्थामा काली गाई लडिरहेको देखेर मोदी दम्पती स्तब्ध भए ।
गोठमा बाँधिएका अन्य ३ गाई र २ वटा बाछाबाछीलाई छोडेर काली गाईको घाँटीका पाँच स्थानमा धारिलो हतियार प्रहार भएको थियो टाउकोमा पनि गहिरो घाउ थियो ।
दीपेशले घरपरिवार र छरछिमेकीलाई खबर गरे । गौहत्या भएको खबरले सूर्योदय नगरपालिका–१, गोर्खे बजार नै स्तब्ध बन्यो । वडा प्रतिनिधि, पालिका र प्रहरीलाई तत्काल खबर गरियो ।
परम्परागत रूपमा गाईपालन गर्दै आएका मोदी परिवारले गाई मृत्युको जुठो बारिरहेका छन् । १३ औं दिनमा सुध्याइँ कार्य गर्ने तयारी गरिएको छ ।
गत वर्ष मात्र सो गाई ७५ हजार रुपैयाँमा खरिद गरेको दीपेशले बताए । साउन महिनामा ब्याउने गाईलाई निर्ममतापूर्वक हत्या गरिएको भन्दै दीपेशले भने, ‘गर्भवती गाईको हत्या गरिएको छ, यो जघन्य अपराधलाई राज्यले गम्भीरतापूर्वक लिएर अनुसन्धान गरोस् ।’
आफूलाई हत्याको सन्दर्भमा कसैमाथि पनि शंका नरहेको सुशिला अधिकारीले बताइन् । उनले भनिन्, ‘हत्याको शंका कसैमाथि पनि छैन, तर हत्यारालाई प्रहरीले चाँडोभन्दा चाँडो खोजी गरोस् । हाम्रोमा जस्तो घटना अरूकोमा नदोहोरियोस् ।’
पशु चिकित्सकसहित घटनास्थलमा पुगेर पोस्टमार्टम गरी गाईको सद्गत गरिएको अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय पशुपतिनगरका निमित्त कार्यालय प्रमुख जीवनकुमार कार्कीले बताए । गौहत्याको अनुसन्धान तथा अभियुक्त खोजी कार्य भइरहेको उनले जानकारी दिए ।
इलामका जिल्ला प्रहरी प्रमुख एसपी कुलदीप चन्दले घटनाबारे सघन अनुसन्धान भइरहेको बताए । उनले भने, ‘गौहत्या अपराध हो । गर्भवती गाईको क्रूरतापूर्वक हत्या भएको छ । अनुसन्धानमा प्रहरीले कुनै पनि कसर बाँकी राख्दैन ।’
सामाजिक सञ्जालमा यतिबेला हत्याको चर्को विरोध भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गाईको हत्यारा पत्ता लगाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।
पत्रकार मनोज अधिकारी फेसबुकमा लेख्छन्, ‘गौहत्यालाई सामान्य रूपमा नलिऔँ, दोषीमाथि तत्काल कारबाही होस् ।’
अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता झलनाथ घिमिरे लेख्छन्, ‘आमाको हत्या कदापि स्वीकार्य छैन, गौहत्याको निष्पक्ष छानबिन र कारबाही होस् ।’
२२ वैशाख, काठमाडौं । ५० वर्षमा पहिलोपटक भारतका कुनै पनि राज्यमा वामपन्थीको सरकार नरहने भएको छ । वामपन्थी दलहरूको अन्तिम बलियो आधार मानिएको केरल पनि यसपटक उनीहरूको हातबाट फुस्किएको छ ।
विधानसभा निर्वाचनबाट केरल राज्यको सत्तामा कांग्रेस नेतृत्वको यूडीएफ गठबन्धन १० वर्षपछि फर्किएको छ ।
कुल १४० सिट रहेको केरलमा कांग्रेस पार्टी एक्लैले ६३ सिट जितेको छ । कांग्रेसको सहयोगी इन्डियन युनियन मुस्लिम लीगले २२ सिट जितिसकेको छ भने सहयोगी अन्य दलले १७ सिट हासिल गरेका छन् ।
अर्कोतर्फ वामपन्थी दलहरूले ३५ सिट मात्र जितेका छन् । यस अवस्थाले केरलमा वामपन्थी सत्ता गुम्ने निश्चित भएको छ ।
केरलमा सन् २०१६ देखि २०२६ सम्म दुई कार्यकाल वामपन्थी सरकार थियो । केरल गुमेपछि भारतका कुनै पनि राज्यमा वामपन्थी दलको सरकार नरहने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
समाचार एजेन्सी आईएएनएसका अनुसार सन् १९७० को दशकपछि पहिलो पटक भारतका कुनै पनि राज्यमा वामपन्थी दलको सरकार हुनेछैन ।
सन् १९७७ मा पश्चिम बंगालमा सीपीआई–एम को सरकार बनेको थियो, जुन २०११ सम्म कायम रहेको थियो । त्यसपछि राज्यमा तृणमूल कांग्रेसको सरकार गठन भयो । हालैको विधानसभा निर्वाचनमा पश्चिम बंगालमा तृणमूल कांग्रेस ८१ सिटमा खुम्चिँदा भाजपाले २०६ सिट जितेको छ । पश्चिम बंगालमा कम्युनिस्ट पार्टीले २ सिट मात्र जितेको छ ।
त्यसैगरी, सन् १९९८ देखि २०१८ सम्म त्रिपुरामा पनि लेफ्ट फ्रन्टको सरकार थियो । सन् २०१८ मा उक्त राज्य पनि भाजपाको नियन्त्रणमा गएको थियो ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
