२४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित जमलमा एसएलआर बन्दुकको ६ राउन्ड गोली फेला परेको छ ।
जमलस्थित राष्ट्रिय नाचघर अगाडिको नालीमा एसएलआरको लाइभ गोली ६ राउन्ड फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।
त्यस्तै चाचर २ पिस र एलएलआरको डमी गोली २ राउन्ड फेला परेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
पश्चिम बंगालको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को जितपछि मुर्शिदाबादको जियागञ्जमा भ्लादिमिर लेनिनको सालिक ढालिएको छ। जियागञ्जस्थित श्रीपत सिंह कलेज नजिकै रहेको उक्त सालिकमाथि मे ५ मा तोडफोड भएको हो।
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले सामाजिक सञ्जाल एक्समार्फत भाजपा समर्थक ‘गुन्डाहरू’ ले चुनावी जितको खुसीयाली मनाउने क्रममा सालिकमाथि चढेर क्षति पुर्याएको आरोप लगाएको छ।
सार्वजनिक भएको भिडियो फुटेजमा सालिकका टुक्राहरू भुइँमा छरिएको र आक्रमणकारीहरूले नाराबाजी गरिरहेको देखिन्छ। यस क्षेत्रबाट भाजपा उम्मेदवार गौरी शंकर घोष ३० हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्।
सालिक तोडफोडको घटनालगत्तै सीपीएमले प्रहरीमा उजुरी दर्ता गराएको थियो।
पार्टीका अनुसार उजुरी र विरोध प्रदर्शनपछि प्रहरीले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिसकेको छ।
सीपीएमले यस घटनालाई वैचारिक असहिष्णुताको संज्ञा दिँदै मे ८ मा सोही स्थानमा पुनः लेनिनको मूर्ति निर्माण गर्ने घोषणा गरेको छ।
२४ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने सुनसरी घर भएका ३२ वर्षीय राज कुमार तामाङ, काठमाडौं महानगरपालिका-१४ बस्ने दाङ घर भएका ३१ वर्षीय प्रकाश केसी, काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रे घर भएका ३३ वर्षीय डिल्लीमान तामाङ, ललितपुर गोदावरी नगरपालिका-१४ बस्ने पाँचथर घर भएका ४७ वर्षीय श्रीहाङ एकतिन र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने स्याङ्जा घर भएका २८ वर्षीय नमुना भण्डारी रहेका छन् ।
पक्राउ परेकामध्ये राज कुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५५ हजार रूपैयाँ, प्रकाशले अमेरिका पठाइदिन्छु भन्दै १२ जना पीडितहरूबाट ९३ लाख रूपैयाँ, डिल्लीमानले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १४ लाख ७५ हजार रूपैयाँ, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख २५ हजार रूपैयाँ र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ लिएको आरोप छ ।
पीडितहरूले पैसा बुझेपछि सम्पर्कविहीन भएको उजुरी दिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं कीर्तिपुरबाट, प्रकाशलाई काठमाडौं महानगरपालिका-२९ बाट र डिल्लीमानलाई काठमाडौं महानगरपालिका-१४ बाट मंगलबार तथा श्रीहाङलाई ललितपुर गोदावरी नगरपालिका-४ बाट र नमुनालाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
२४ वैशाख, गुल्मी । २५ वैशाख साँझदेखि कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको सरसफाइ एवं मर्मत गरिने भएको छ ।
साँझ ५ बजेदेखि सरसफाइ एवं मर्मत सम्भारका कार्य हुने भएकोले पावरहाउसका तीन वटै मेसिन पूर्ण रूपमा बन्द गरिने भएको छ ।
सरसफाइ एवं मर्मतका समयमा सुरुङमार्फत पावरहाउसमा जाने पानी डाइभर्ट गरी ड्यामका सबै गेट खोलिने केन्द्रले जनाएको छ ।
ड्यामका सबै गेट खोलिने भएकोले कालीगण्डकी नदीमा साविकको तुलनामा पानीको बहाव बढ्ने र नदीको सतह अस्थायी रूपमा उच्च हुने सम्भावना रहेको जनाइएको छ ।
त्यसैले सम्बन्धित निकायले नदी किनार तथा आसपासका बासिन्दा, निर्माण व्यवसायी तथा सर्वसाधारणलाई निर्माणजन्य सामग्री, उपकरण तथा अन्य वस्तुहरू सुरक्षित स्थानमा समयमै सार्न आग्रह गरेको छ।
उक्त समयमा नदी किनार क्षेत्रमा अनावश्यक रूपमा नजान विशेष अनुरोध गरिएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र ले मर्मत कार्यका कारण हुने अस्थायी जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ।
२४ वैशाख, काठमाडौं र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम सम्झौताका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धीत देशबाट जवाफ आउन ढिलाई भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका हुन् ।
उनले अहिले १३ देशसंगमात्रै द्विपक्षीय श्रम सम्झौता भएपनि १७८ देशमा नेपाली श्रमिकहरु रहेको उल्लेख गरे । मन्त्री यादवले वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्ने प्रयास भइरहेको पनि जानकारी गराए ।
श्रमका लागि विभिन्न देशमा जाने नागरिकमध्ये ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेको उनले बताए । मन्त्री यादवले विभिन्न देशमा महिला घरेलु श्रमिकहरु गैरकानूनी बाटोबाट जाने गरेकाले समस्या पर्दा राज्यले केहि गर्न नसकेको उल्लेख गरे ।
पछिल्लो समय युद्धका कारण विदेशमा मृत्यु भएका श्रमिकहरुको शव ल्याउन केही ढिलाइ भएको भन्दै अब भने ढिलाइ नहुने स्पष्ट उनले पारे ।
मन्त्री यादवले स्थानीय तहमा नै रोजगारी सिर्जना गर्नका लागि मन्त्रालय योजनाका साथ अघि बढिरहेको धारणा राखे ।
बैठकमा समिति सदस्यहरुले बैदेशीक रोजगारमा जाने नेपालीहरुलाई ठगिनबाट रोक्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने सुझाव दिएका थिए ।
बैठकमा समिति सभापति रहबर अन्सारीले मन्त्री यादवलाई समितिको यसअघिको निर्देशन तथा सुझावहरू हस्तान्तरण गरेका थिए ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३