२४ बैशाख, काठमाडौं । स्मार्ट टेलिकमको अर्बौँ रुपैयाँ हिनामिनाको गम्भीर आरोप खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वसञ्चारमन्त्री जगदिश खरेलले आफूविरुद्धको समाचारलाई नियोजित षड्यन्त्र भन्दै प्रस्टिकरण दिएका छन् ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्टीकरण दिँदै गल्ती नगरेकाले आफू कत्ति पनि विचलित नभएको उल्लेख गर्नुभएको छ । उहाँले यस्ता समाचारहरूले आफ्नो चरित्र हत्या गर्ने र राजनीतिक भविष्यमाथि प्रहार गर्ने दुस्साहस गरेको भन्दै त्यसको कडा शब्दमा भर्त्सना गर्नुभएको छ ।
अहिले कार्यक्रमको सिलसिलामा स्वीट्जरल्याण्डमा रहनुभएका खरेलले त्यहीँबाटै आफ्नो इमान र निष्ठामाथि प्रश्न उठाउनेहरूलाई ‘सोधे र खोजे’ हुने चुनौती समेत दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘मेरो इमान नै मेरो गन्तव्यका लागि पर्याप्त छ, सत्य कहिल्यै बदलिँदैन र लुक्दैन।’ उहाँले मिडियाले आफ्नो नाम जोडेर फेक न्युजफै लाएको र मिडिया ट्रायल मार्फत जनतामा भ्रम सिर्जना गर्न खोजेको आरोप लगाउँदै यसमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।
सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्दा भएका भनिएका हिनामिनाको विषयलाई लिएर अहिले विवाद चुलिएपछि खरेलले कानुनी उपचारको बाटो समेत रोज्ने चेतावनी दिनुभएको छ । कपोलकल्पित र भ्रामक प्रहारले आफू नडराउने बताउँदै उहाँले आफ्नो राजनीतिक यात्रालाई रोक्न खोज्ने समूहहरू सक्रिय रहेको दाबी गर्नुभएको छ ।
यो प्रकरणले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरिरहँदा खरेलले भने आफू छिट्टै स्वदेश फर्किएर सबै प्रश्नको डटेर सामना गर्ने र कानुनी रूपमै आफ्नो निर्दोषिता प्रमाणित गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
२४ बैशाख, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले कानुन र संघीय सरकारको परिपत्र विपरीत जम्बो निजी सचिवालय बनाएपछि कर्मचारीहरूले उनीहरूको तलब रोकिदिएका छन् ।
गत मंसिरमा मुख्यमन्त्री नियुक्त भएलगत्तै यादवले स्वकीय सचिव, कम्प्युटर अपरेटर र सवारीचालकदेखि कार्यालय सहयोगीसम्म गरी १० जनाको टोली सचिवालयमा भर्ती गरेका थिए । प्रदेशको ऐनले १४ जनासम्म राख्न पाउने व्यवस्था गरेको भए पनि संघीय सरकारले मितव्ययिता अपनाउन गरेको नयाँ निर्णयका कारण मुख्यमन्त्रीका कर्मचारीहरू अहिले तलबविहीन बन्न पुगेका हुन् ।
मुख्यमन्त्री कार्यालयका कर्मचारीहरूले संघीय सरकारको अर्थ मन्त्रालयले जारी गरेको खर्च कटौतीसम्बन्धी परिपत्रलाई आधार मान्दै तलब दिन अस्वीकार गरेका छन् । तत्कालीन मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश सरकारका मन्त्री र मुख्यमन्त्रीको सचिवालयमा बढीमा तीन जना मात्र नियुक्त गर्न पाइने स्पष्ट निर्देशन छ ।
तर, मुख्यमन्त्री यादवले सो सीमा नाघेर १० जना नियुक्ति गरेपछि लेखा शाखाले विगत दुई महिनादेखि तलबको फाइल अड्काइदिएको छ । कर्मचारीहरूले भोलि प्रक्रियाविपरीत भुक्तानी दिँदा आफैँ कानुनी झमेलामा फस्ने डरले फाइल अघि नबढाएको बताएका छन् ।
यस विषयमा स्वयं मुख्यमन्त्री यादवले पनि सञ्चारकर्मीहरूसँगको भेटमा आफ्ना कर्मचारीले अहिलेसम्म पारिश्रमिक पाउन नसकेको भन्दै गुनासो गरिसक्नुभएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सचिवालयमा कमलदेव यादव, महेश्वर चौधरी, दिवस दुलाल र विद्यालाल राउत लगायतका व्यक्तिहरू कार्यरत छन् ।
संघीय सरकारको परिपत्र र प्रदेशको कानुनी प्रावधानबीच तालमेल नमिल्दा एकातिर सचिवालयको काममा असर परेको छ भने अर्कोतिर नियम मिचेर गरिएको नियुक्तिले सुशासनमाथि नै प्रश्न उठाएको छ ।
२४ बैशाख, काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका सुकुम्बासी बस्तीहरूमा प्रशासनले कडा कदम चालेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालन गरेको बस्ती खाली गराउने अभियानअन्तर्गत हालसम्म १९ वटा सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ । यसक्रममा २ हजार ६ सय ८७ वटा घरटहरा पूर्ण रूपमा ध्वस्त बनाइएको छ, जसले गर्दा दशकौँदेखि ती स्थानमा बस्दै आएका हजारौँ परिवारको बास खोसिएको छ ।
प्रशासनले सार्वजनिक गरेको विस्तृत तथ्याङ्क अनुसार भत्काइएका संरचनामध्ये ८ सय ९० वटा पक्की घर रहेका छन् भने १ हजार ७ सय ९७ वटा कच्ची टहरा रहेका छन् । यो अभियानका कारण १५ हजार ३ सय १६ जना नागरिक प्रत्यक्ष रूपमा विस्थापित भएका छन् । विस्थापित हुनेहरूमा ६ हजार ८ सय ५८ पुरुष, ५ हजार ३ सय २५ महिला, १ हजार ४ सय ३७ बालक र १ हजार ६ सय ९६ जना बालिका रहेका छन् ।
एकाबिहानै बस्तीमा डोजर पुगेपछि बालबालिका र महिलाहरूले आफ्नो अत्यावश्यक सामान समेत जोगाउन नपाएको भन्दै स्थानीय स्तरमा चर्को असन्तुष्टि र पीडा व्यक्त भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गा संरक्षण र शहरी सौन्दर्यकरणका लागि यो अभियान अनिवार्य रहेको बताए पनि, यति ठूलो संख्यामा नागरिकहरू विस्थापित हुनुले मानवीय संकटको प्रश्न उब्जाएको छ ।
विस्थापित भएका हजारौँ मानिसहरू अहिले खुला आकाशमुनि बस्न बाध्य छन् । सरकारले उनीहरूको वैकल्पिक व्यवस्थापनका बारेमा ठोस योजना सार्वजनिक नगर्दा ती परिवारहरूको भविष्य अन्योलमा परेको छ भने काठमाडौँका बाँकी सुकुम्बासी क्षेत्रहरूमा पनि त्रास फैलिएको छ ।
वाशिङ्टन- साउदी अरेबियाले एयर स्पेस नदिएपछि स्ट्रेट अफ हर्मुजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘प्रोजेक्ट फ्रीडम’ तुहिएको खुलासा भएको छ।
तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने वार्ता अघि बढेकाले पाकिस्तानको आग्रहमा अभियान रोकिएको बताएका थिए।
तर बिहीबार सार्वजनिक भएका रिपोर्टहरूमा साउदी अरेबियाका कारण अमेरिका पछि हट्न बाध्य भएको दाबी गरिएको छ।
अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो एयरस्पेस र एयरबेस प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि ट्रम्प पछि हट्न बाध्य भए ।
रिपोर्टअनुसार ट्रम्पले अचानक सामाजिक सञ्जालमार्फत् सैन्य अभियान घोषणा गरेपछि खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरू असन्तुष्ट बनेका थिए।
यसबारेमा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग ट्रम्पको छलफल भए पनि सहमति जुट्न सकेन।
अमेरिकाले दुई दिनमा केवल तीनवटा जहाजलाई मात्रै सुरक्षित रूपमा पार गराउन सक्यो । साउदीले अवरोध गरेपछि अन्ततः उनले एक दिनमै अभियान स्थगित गर्नुपरेको बताइएको छ।
होर्मुज क्षेत्रमा सैन्य अभियान सञ्चालन गर्न अमेरिकालाई साउदी अरेबिया, जोर्डन, कुवेत र ओमान जस्ता देशहरूको सहयोग आवश्यक पर्छ।
ती देशहरूको अनुमतिबिना अमेरिकी लडाकु विमान, रिफ्युलिङ ट्यांकर र सपोर्ट एयरक्राफ्ट सञ्चालन गर्न कठिन हुने उल्लेख गरिएको छ।
अमेरिकाले मे ४ मा होर्मुज जलडमरूमध्यमा जहाज आवतजावत सुरक्षित बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरू गरेको थियो। तर एक दिनमै राष्ट्रपति ट्रम्पले उक्त अभियान रोक्न आदेश दिएका थिए।
संसारभरि करिब ३ हजार ९०० भन्दा बढी प्रजातिका सर्पहरू छन् । तीमध्ये करिब ६०० प्रजाति विषालु छन्, जुन कुल सर्पको करिब १५ देखि २० प्रतिशत हो । तर यी विषालु सर्पहरूमध्ये पनि करिब २०० प्रजातिले मात्र मानिसलाई गम्भीर खतरा पुर्याउन सक्छन् । धेरैजसो सर्पहरू विषालु हुँदैनन् र मानिसलाई हानि गर्दैनन् ।
नेपालमा कुल करिब ८९ प्रजातिका सर्पहरू पाइन्छन् । तीमध्ये करिब १७ देखि २२ प्रजाति विषालु छन् ।
सर्प देख्नेबित्तिकै डराउने र आत्तिने अनि त्यसलाई मारिहाल्ने प्रवृत्ति अझै कायम छ । तर सर्पदंश न्यूनीकरण र सर्प संरक्षणमा निरन्तर काम गरिरहेका कमल देवकोटा भन्छन्, ‘सर्पको आहार होइन मान्छे । यदि उसले खतरा महसुस गर्यो भने मान्छेलाई आक्रमण गर्छ ।’
नेपालमा पाइने मुख्य विषालु सर्पहरु कुन-कुन हुन् ? यिनीहरु कहाँ पाइन्छ ? सर्पको टोकाइबाट कसरी बच्ने ? सर्पदंश विज्ञ कमल देवकोटाको भनाइ यस्तो ।
नेपालमा पाइने मुख्य विषालु सर्पहरू
१. गोमन (कोब्रा)
सामान्य गोमन (चश्मा गोमन) : तराई क्षेत्रमा बढी पाइन्छ । लम्बाइ १.५ देखि २ मिटरसम्म हुन्छ । पछाडि चश्माजस्तो चिन्ह हुन्छ ।
चन्द्रनाग (एउटा गोलो थोप्लो भएको गोमन) : पहाडी क्षेत्रमा बढी भेटिन्छ । लम्बाइ १ देखि २ मिटर हुन्छ।
२. करेत
सामान्य करेत : तराईमा धेरै पाइन्छ । राति सक्रिय हुन्छ र घरभित्र पस्ने बानी हुन्छ । लम्बाइ १ देखि १.५ मिटर हुन्छ । शरीरमा कालो र सेतो ब्यान्ड भएको हुन्छ । नेपालमा ६ भन्दा बढी प्रकारका करेत पाइन्छन् ।
३. भाइपर
रसेल्स भाइपर (बाघे सर्प वा सुस्कार सर्प) : रुपमा तराईमा मुख्य पाइन्छ । यसको लम्बाइ १ देखि १.५ मिटरको हुन्छ । यसले स्वाँ-स्वाँ आवाज निकाल्छ ।
हरियो सर्प (हरियो पिट भाइपर) : पहाडी क्षेत्रमा बढी पाइन्छ । यसको रङ हरियो हुन्छ भने लम्बाइ ०.५ देखि १ मिटरको हुन्छ ।
४. राजगोमन (किङ कोब्रा)
यो संसारकै सबैभन्दा लामो विषालु सर्प हो। लम्बाइ ३ देखि ५ मिटर वा बढी पनि हुन सक्छ । यसको मुख्य खानेकुरा अन्य सर्पहरू नै हुन् । नेपालको तराईदेखि पहाडी क्षेत्र काठमाडौं, पोखरा, रामेछाप आदि क्षेत्रमा पाइन्छ । घरभित्र पसेर टोकेर मृत्यु भएको घटना छैन । उद्धार गर्ने क्रममा एउटा घटना भएको थियो ।
अन्य विषालु सर्पहरू
हिमालयन करेत, हिमाली भाइपर आदि पहाडी र उच्च क्षेत्रमा पाइन्छन् ।
सर्पको वासस्थान
तराई : सामान्य गोमन, करेत, बाघे सर्प बढी
पहाड : चन्द्रनाग, हरियो सर्प, हिमालयन करेत बढी
राजगोमन दुवै ठाउँमा भेटिन्छ ।
सर्पहरू पहिलेदेखि नै तराई, पहाड र हिमाल तीनै ठाउँमा थिए । जलवायु परिवर्तनले मात्र माथि सरेको होइन, पहिले पनि थिए । अहिले सामाजिक सञ्जालमा प्रचार हुने र उद्धार कार्य बढेकाले बढी देखिएको जस्तो लागेको हो ।
सर्पले मानिसलाई किन टोक्छ ?
सर्पहरू आक्रमक हुँदैनन्, उनीहरू डराउँछन् र आफूलाई बचाउन टोक्छन् । जब मानिसले सर्पलाई कुल्चिन्छ, छुन खोज्छ वा उद्धार गर्दा उसलाई दुखाइन्छ भने तब मात्र टोक्छन् ।
धेरैजसो सर्प मानिस देख्नेबित्तिकै भाग्न खोज्छन् । राजगोमन पनि सामान्यतया अर्को बाटो लाग्छ ।
घरआँगन वा खेतबारीमा सर्प देखिए के गर्ने ?
घरआँगन वा खेतबारीमा सर्प देखिए मार्ने होइन । सर्प मार्नु गलत हो र पर्यावरणका लागि पनि हानिकारक छ । सर्पले मुसा, कीरा आदि खाएर हामीलाई फाइदा पुर्याउँछन् ।
त्यसैले सर्प देखिए शान्त रहनुपर्छ, तयसको नजिक जानु हुँदैन । स्थानीय सर्प उद्धार समूह, वन कार्यालय वा नगरपालिकालाई खबर गर्नुपर्छ । टाढाबाट हेरेर छोडिदिनुपर्छ । उनीहरू आफैं जान सक्छन् ।
सर्पको टोकाइबाट बच्ने मुख्य उपायहरू
सर्पको सम्भावित वासस्थानमा सावधानी अपनाउने
सर्पहरू प्राय झाडी, घाँस, ढुंगाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन् । यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनुपर्छ । विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकाले यो बेला बढी सतर्कता अपनाउनुपर्छ ।
उचित पोसाक लगाउने
जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा, र लामो प्यान्ट लगाउनुपर्छ । खुल्ला खुट्टा हिँड्नु हुँदैन । तराई मधेशतिर भुइँतला, दलान वा आँगनमा राखिएका जुत्ता वा बुटभित्र सर्प लुकेर बसेको हुनसक्छ । त्यसैले जुत्ता, बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनुपर्छ ।
हातखुट्टा जोगाउने
झाडी वा अँध्यारो ठाउँमा हातखुट्टा राख्नुअघि राम्ररी जाँच्ने । ढुंगा वा काठ उल्ट्याउँदा सावधानी अपनाउनुपर्छ, किनभने त्यहाँ सर्प लुकेको हुनसक्छ।
रातको समयमा सावधानी अपनाउने
केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन् । राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने ।
घर वरपर सफा राख्ने
घर वरपर झाडी, काठको थुप्रो, र फोहोर नराख्ने । जमिनका प्वालहरू भए पुर्ने । सर्पको आश्रय हुने ठाउँहरू हटाउने । घरको झ्याल ढोकामा जाली राख्ने ।
सर्पलाई नछुने वा नजिस्काउने
सर्प देखेमा टाढैबाट बाटो फेर्ने । सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने । सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुनसक्छ । त्यस्तो अवस्थामा नचलाउने ।
सुत्ने ठाउँको व्यवस्थापन गर्ने
भुइँमा सुत्नुपरेमा झुलको प्रयोग गर्ने । सकेसम्म पलङ वा खाटमा मात्रै सुत्ने । सुत्नु अघि सुत्ने ठाउँ वरपर सर्प छ कि छैन राम्रोसँग हेर्ने । विशेषगरी यस खालका सावधानी तराई तथा गर्मी ठाउँमा बढी आवश्यक हुन्छ । घर वरिपरि जंगल, झाडी भएका ठाउँमा बढी सावधानी अपनाउनुपर्छ ।
सर्पको पहिचान र जानकारी राख्ने
आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने । विषालु र अविषालु सर्पहरूको भिन्नताबारे आधारभूत ज्ञान राखिराख्नुपर्छ ।
खेतबारीमा काम गर्दा सावधानी अपनाउने
खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने । खेत बारीको झाडीमा सर्प लुकेको हुनसक्छ । पोखरी, तलाउ, खोला, नदीनालामा विषालु सर्प पनि हुन सक्छन् । यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने ।
सर्पले डसेमा के गर्ने ?
–सर्पले डसेमा सर्वप्रथम कति पनि आत्तिनु हुँदैन र सर्पले डसेको बिरामीलाई आत्मबलसहित सान्त्वना प्रदान गर्नु पर्दछ ।
–सकभर सर्पलाई नमार्ने । मोबाइल छ भने सर्पको फोटो खिचेर राख्ने, जसले गर्दा उपचार प्रक्रियामा धेरै नै मद्दत पुग्छ ।
–सकभर सर्पले डसेको भागलाई नचलाइकन हल्का तरिकाले ब्यान्डेज अथवा उपलब्ध कपडा वा डोरीले बाँधेर चल्न दिनुहुँदैन । जति चलायो त्यति नै विष शरीरमा फैलिन्छ ।
–सर्पले डसिहालेमा जति सकिन्छ छिटो उपलब्ध यातायातको साधन मोटरसाइकल, अटोरिक्सा वा एम्बुलेन्सबाट बिरामीलाई नजिकैको सर्पदंश उपचार केन्द्रमा पुर्याइहाल्नु पर्दछ ।
–सर्पले डसेको ठाउँमा थप संक्रमण नहोस् भन्नका लागि साबुन पानीले धुन पनि सकिन्छ ।
–सर्पदंश केन्द्र टाढा छ भने सर्पदंश केन्द्र पुग्नुपूर्व थप क्षति नहोस् भन्नका लागि बिरामीलाई श्वास फेर्न सहज होस् भनी आवश्यकता अनुसार नजिकैको अस्पतालमा लगि तालिम प्राप्त स्वास्थकर्मीद्वारा श्वास नलीलाई सुरक्षित गर्न इन्टिुबेट समेत गर्न सकिन्छ ।
–सर्पले डसेको लक्षण देखिएमा सँगै सुतेको वा सँगै रहेको व्यक्तिलाई पनि सर्पदंश केन्द्रमा लैजानुपर्छ किनकी कहिलेकाहीँ सर्पले दुवै व्यक्तिलाई डसेको हुन सक्छ ।
–सर्पले डसेमा शरीरमा कसिलो कपडा वा गरगहनाहरू खोल्नुपर्दछ र खुकुलो बनाउनुपर्छ ।
–एम्बुलेन्स, प्रहरी, सर्प उद्धारकर्ताको नम्बर राख्ने र सर्पले डसेमा तुरुन्तै जानकारी गराउने ।
–सकभर सर्पदंश केन्द्रमा पुग्ने बेलासम्म उपलब्ध भएसम्म बाटोमा स्वास्थकर्मीलाई पनि बिरामीसँगै लैजाने ।
के नगर्ने ?
–सर्पले डसेमा डोरीले हातखुट्टा कसिलो गरी नबाँध्ने, उपचारको नाममा झारपात नहाल्ने, छालालाई काट्ने, मुखले चुस्ने जस्ता काम गर्नुहुँदैन ।
–धामीझाँक्रीकोमा लैजाने, झारफुक गर्ने जस्ता काममा लागेर समय खेल फाल्नुहुँदैन ।
–बिरामीलाई तत्काल केही पनि खाने कुराहरू खुवाउनु हुँदैन र सुत्न पनि दिनुहुँदैन ।
–कहिलेकाहीँ अविषालु सर्प देखिएर पहिचान भए ता पनि यो विषालु सर्प पनि हुन सक्ने भएकाले घरमा बस्ने वा उपचारमा नजाने गर्नुहुँदैन ।
–प्राथमिक उपचारका नाममा समय नष्ट गर्न हुँदैन किनकि सर्पदंशका लागि एन्टिभेनम बाहेकको अरू कुनै उपचारको विकल्प हुँदैन ।
–सर्पले डसिहालेमा धेरै हलचल गर्ने, आत्तिने र अनावश्यक कुराहरू सोच्नु हुँदैन । यसो गरेमा शरीरमा विष अझ बढी फैलने गर्दछ ।
ध्यान दिनुपर्ने कुरा
समयमा अस्पताल पुगेर उपचार (एन्टीभेनम) पाए भने धेरैजसो केसमा ज्यान बचाउन सकिन्छ । त्यसैले नजिकैको स्वास्थ्य चौकी वा अस्पतालको सम्पर्क नम्बर राख्नुपर्छ । सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम औषधि उपलब्ध हुने ठाउँको जानकारी राख्नुपर्छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३