१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्रमा अनाधिकृत रुपले बनाइएका घर टहरामा पनि डोजर चलेको छ ।
काठमाडौं महानगरपालिकाले आज बिहानदेखि डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो । घर टहरा भत्काउन सुरक्षाकर्मीहरु र नगरप्रहरी परिचालन गरिएको छ ।
डोजर चल्दै गर्दा कतिपयले आफ्ना सामान ओसारिरहेका छन् । कतिपय भने आफू बस्दै आएको घर भत्किरहेको दृष्य हेर्न विवश भएका छन् ।
बल्खु नजिक पर्ने काठमाडौं महानगरपालिका वडा नम्बर ११ को वंशीघाट क्षेत्रका घर टहराहरुमा पनि आज नै डोजर चलेको छ । बल्खु र वंशीघाटसहित वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो ।
काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट बर्षौदेखि बसाबास भै आएका बस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी एकैपटक विभिन्न स्थानहरुमा डोजर चलाउने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
सरकारले डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि कतिपय स्थानका बासिन्दाहरु विहीबारदेखि नै बस्ती छाडेर हिँड्न थालेका थिए ।
सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउन सुरु गरेको हो ।
१८ वैशाख, काठमाडौं । देउनाथ पासवानले १५ वर्षदेखि ललितपुरको लुभुमा प्राकृतिक ग्यास उडिरहेको देखेका छन् । जमिनबाट स्वतः ग्यास निस्किनु र बल्नुलाई उनी ईश्वरीय कृपासँग जोडेरसमेत हेर्छन् । तर ईश्वरको कृपाबाट प्राप्त स्रोतको उचित उपयोग नहुँदा भने खिन्न छन् ।
‘यहाँका मान्छे खाना पकाउने एलपी ग्यासको सिलिन्डर पाउनलाई दौडधुप गरिरहेका छन् । तर कसैले जमिन मुनिबाट निस्किरहेको प्राकृतिक ग्यास उपयोग गर्न सकिने बनाइदिएको भए अरू देशको मुख ताक्नु पर्दैनथ्यो होला,’ आँखा तिरमिराउने घामलाई हत्केलाले छेक्दै देउनाथ भन्छन् । मित्र रामनाथ शाह पनि उनको कुरामा सहमति जनाउँछन् ।
कुराकानीकै क्रममा एक स्थानीय हातमा पानी भरिएको कित्ली लिएर आगो नजिक आउँछिन् । र, कित्ली आगोमाथि बसाउँदै आफ्नो गुनासो पोख्छिन्, ‘सरकारले हामीलाई त आधा सिलिन्डर मात्र ग्यास दिएको छ । ग्यास फारो गरेर चलाउन भए पनि पानी तताउन यहाँ आएकी हुँ ।’ जमिनबाट यत्तिकै निस्किरहेको प्राकृतिक ग्यासलाई सहज रूपमा प्रयोग गर्न मिल्ने बनाइदिएको भए जनतालाई राहत हुने उनको बुझाइ छ ।
लुभुको यस चौरमा बिहान र साँझपख मानिसहरूको भिड लाग्ने गर्छ । कोही खाना पकाउँछन्, कोही मकै पोल्छन्, पानी तताउँछन् । यस बाहेकको समय ग्यास विनाप्रयोजन उडिरहेको हुन्छ ।
हुन त, विपद र प्रकोपको समयमा यही ग्यास वरदान सावित हुने गरेको छ । कोभिड-१९ को लकडाउनको समयमा यहाँको ग्यास प्रयोग गरेर मानिसहरूले जीवन धाने । त्यसअघि २०७२ सालको भूकम्पको समयमा पनि मानिसहरूले टहरामा बसेर धेरै मानिसहरूले प्राकृतिक ग्यासको भरपूर उपयोग गरे । त्यस बाहेकका समयमा भने यो ग्यासको स्रोत उपेक्षित नै रह्यो ।
५३ वर्षीय स्थानीय श्याम नकर्मीले ग्यासको आवश्यकता र उपेक्षाको यस द्वन्द्वलाई नजिकबाट नियालेका छन् ।
उनी भन्छन्, ‘विपतको बेला मात्रै जमिनबाट निस्कने ग्यास सम्झिन्छन् । अरू बेला वास्ता गर्दैनन् । स्थानीय सरकारको समेत प्राथमिकतामा परेको छैन ।’ लागत अनुसारको नाफा प्राप्त नहुने भएपछि यसलाई यत्तिकै छाडिएको कुरा उनले कतैबाट सुनेका थिए ।
लुभुको यो दृश्य एक प्रतिनिधि घटना मात्र हो । यसरी नै विभिन्न निर्माणसम्बन्धी कार्यहरूमा जमिन खन्दा ग्यासको स्रोत भेटिएका अनेकन उदाहरण छन् ।
भूगर्भमा सञ्चित, उपभोक्ता वञ्चित
यस कोणबाट हेर्दा काठमाडौं उपत्यकामा प्राकृतिक ग्यासको ठूलो भण्डार भएको देखिन्छ । तर वास्तविकता विल्कुल उल्टो देखिन्छ ।
नेपाल आयल निगमले २८ फागुनयता उपभोक्तालाई खाना पकाउने (एलपीजी) ग्यास आधा सिलिन्डर मात्रै दिने निर्णय गर्यो ।
यो निर्णय मूलतः पश्चिम एसियामा जारी द्वन्द्वका कारण आयात प्रभावित भएपछि उपभोक्ताले ग्यास लुकाउन थालेपछि त्यसलाई रोक्न गरिएको निर्णय हो ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले देशमा खाना पकाउने ग्यास पर्याप्त मौज्दात रहे पनि ढुवानीमा अवरोध र उपभोक्ताको अत्यधिक खरिदले समस्या निम्त्याएको बताए ।
निगमको सो निर्णयपछि उपभोक्ताले ७.१ किलोग्राम अर्थात् आधा सिलिन्डर मात्र ग्यास पाउन थालेका छन् । जुन नेपालमा रहेको मौज्दातलाई लामो समय टिकाउने उद्देश्यप्रेरित निर्णय मानिएको छ ।
ग्यास अभावको हल्ला चलेदेखि नै काठमाडौं उपत्यकाका टेकु, कालीमाटी, बालाजु, सुन्धारा जस्ता मुख्य डिपोमा उपभोक्ताको लामो लाइन देखिए । कतिपय उपभोक्ताले दुई-तीन दिनसम्म सिलिन्डर नपाएको गुनासो गरे ।
राष्ट्रिय मानव अधिकार आयोगले फागुन २९ मा सरकारलाई पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न निर्देशन नै दियो । आयोगले कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि कारबाही गर्न पनि भनेको छ । अहिले मात्रै होइन, मुलुकले पटक-पटक यसैगरी खाना पकाउने ग्यासको अभाव भोग्दै आएको छ ।
लुभुमा जस्तै उपत्यकाका अन्य क्षेत्रहरू पनि प्राकृतिक ग्यासको स्रोतले सम्पन्न छन् । तर प्राकृतिक ग्यासका स्रोतको संरक्षण र उपयोग गर्नेतर्फ सरोकारवालाको ध्यान गएको देखिँदैन ।
जाइकाको रिपोर्टः उपत्यकामा ३० करोड घनमिटर मिथेन
सन् १९७८ मा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) र खानी तथा भूगर्भ विभागको संयुक्त अध्ययनले काठमाडौं उपत्यकामा प्राकृतिक ग्यासको भण्डार रहेको पुष्टि गरेको थियो ।
त्रिपुरेश्वर-टेकु क्षेत्रमा मात्र करिब ४ करोड ७० लाख घनमिटर मिथेन भण्डारण रहेकामा त्यो २० देखि ३३० मिटरको गहिराइमा रहेको अध्ययनले देखाएको थियो ।
उपत्यकामा प्राकृतिक ग्यास पानीमा घुलित अवस्थामा रहेको र त्यसमा ९० प्रतिशतभन्दा बढी मिथेनको सम्मिश्रण रहेको अध्ययन प्रतिवेदनको निष्कर्ष थियो । त्यो अध्ययनले उपत्यकाको केन्द्रीय तथा दक्षिणी भागमा २६ वर्ग किलोमिटर क्षेत्र (त्रिपुरेश्वरदेखि शंखमुलसम्म) ग्यास-समृद्ध क्षेत्रका रूपमा पहिचान गरेको थियो ।
त्रिपुरेश्वर-टेकु क्षेत्रमा मात्र करिब ४ करोड ७० लाख घनमिटर मिथेन भण्डारण रहेकामा त्यो २० देखि ३३० मिटरको गहिराइमा रहेको अध्ययनले देखाएको थियो ।
यस्तै, तीनकुने क्षेत्रमा १७ करोड घनमिटर मिथेन अनुमान गरेको जाइकाको अध्ययनले समग्र उपत्यकाभरि करिब ३० करोड घनमिटर मिथेन ग्यास रहेको भनेको थियो । विभागले यो ग्यास २० हजार घरधुरीलाई ३० वर्षसम्म घरेलु प्रयोगका लागि पर्याप्त हुने बताएको थियो ।
जाइकाले सन् १९८० मा ‘काठमाडौं उपत्यकाका प्राकृतिक ग्यासका स्रोतहरू’ को शीर्षकमा त्यो अध्ययनको प्रतिवेदन दिएको थियो । त्यो ग्यास जैविक अवशेषबाट बनेको र नियन्त्रित रूपले निकास गर्न सम्भव भएको पनि जाइकाको निष्कर्ष थियो । अध्ययनले उपत्यकाको प्लेइस्टोसिन कालको पुरानो तलाउ संरचनामा ग्यास जम्मा भएको वैज्ञानिक आधार देखाएको थियो ।
त्यसपछि सन् १९८३ मा संयुक्त राष्ट्रसंघीय विकास परियोजना (यूएनडीपी) र जाइकाको सहयोगमा टेकुको पचली क्षेत्रमा ५०० घनमिटर क्षमता भएका तीन वटा कुवा खनेर परीक्षण गरिएको थियो ।
ती कुवाबाट दैनिक १०० देखि १५० घनमिटर ग्यास उत्पादन भएको थियो । उत्पादित ग्यास पीभीसी पाइपमार्फत टेकु अस्पताल, गृह मन्त्रालय र पुरानो टेलिकम स्टेसनमा निःशुल्क वितरण गरिएको थियो । यसलाई ‘काठमाडौं ग्यास प्रोजेक्ट’ नामसमेत दिइएको थियो । यो प्रोजेक्ट ८ वर्षसम्म सञ्चालन भयो । तर प्राविधिक समस्याका कारण बन्द हुन पुग्यो ।
जाइकाले ३५ वर्षअघि टेकुमा ड्रिल गरेको कुवा अझै त्यही हालतमा छ ।
२०४९ सालमा भक्तपुरको टीकाथली क्षेत्रमा अर्को कुवा खन्दा ग्यास निस्किए पनि व्यावसायिक उत्पादन भने भएन ।
२०७९ साल साउन ४ गते बौद्धको जोरपाटीमा निस्किएको मिथेन ग्यास
खानी तथा भूगर्भ विभागले त्रिपुरेश्वर, तीनकुने, टेकु, कोटेश्वर, शंखमुल, इमाडोल, टीकाथली लगायतका १४ स्थानलाई ग्यास सम्भावित क्षेत्रका रूपमा संरक्षण गर्दै आएको छ ।
सन् २०१७ मा भूगर्भ विभागले टेकु पचलीमा उत्पादन परीक्षण सुरु गर्ने घोषणा गरेको थियो । ३५० मिटर गहिराइसम्म ड्रिल गर्ने, पानी र ग्यास छुट्याउने र ट्याङ्क, सिलिन्डर भर्ने प्रणाली स्थापना गर्ने योजना बने पनि कार्यान्वयन भएन ।
उपत्यकामा निर्माण कार्यको जग खन्दा वा बोरिङ गर्दा ग्यास बाहिर निस्कने घटना बारम्बार भएका छन् ।
उपत्यकाका जोरपाटी, महालक्ष्मी, भक्तपुर, कालीमाटी, टेकु, धुम्बाराही, कपन लगायतका क्षेत्रमा आगलागी र विस्फोटका घटना पनि भएका देखिन्छन् ।
अघि बढ्ला त उत्खनन ?
जाइकाले प्रस्तुत गरेको उपत्यकाको ‘लोभलाग्दो’ अध्ययनका बाबजुद कार्यान्वयन पक्ष भने उति उत्साहजनक देखिएको छैन । त्यसमाथि, जाइकाले आजभन्दा ३५ वर्ष अगाडि अध्ययन गरेको काठमाडौं उपत्यका र आजको उपत्यकामा धेरै भिन्नता छ । आजको जनघनत्व र भौतिक संरचनाको तीव्र स्थापना ३५ वर्षअघिको काठमाडौंलाई नै विस्मित पार्ने प्रवृत्तिको छ ।
खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटा यही वास्तविकतालाई नै अध्ययनको जटिलताको रूपमा लिन्छन् ।
‘जाइकाको अध्ययन धेरै अघिको हो । अहिले काठमाडौंमा सघन बस्तीहरू बढेका छन् । यसकारण अध्ययन र उत्खनन गर्दा मानवीय पक्षलाई पनि विचार पुऱ्याउनु पर्ने हुन्छ । जुन आफैंमा जटिल काम हो ।’
पानीमा घुलेको ग्यास उत्पादन, संरक्षण र वितरण आफैंमा प्राविधिक रूपमा समेत कठिन कार्य हो । त्यसमाथि, मानवीय जोखिमलाई समेत ध्यान पुऱ्याउनु पर्ने भएकाले अहिले ती ग्यासका स्रोत भएका क्षेत्रहरूलाई तारबारले सुरक्षा प्रदान गर्नु सिवाय थप अध्ययन गर्न नसकिएको बास्कोटाको स्वीकारोक्ति छ ।
दैलेखमा ग्यास उत्खनन स्थल
यद्यपि, दैलेखमा पुष्टि भएका मिथेन ग्यास भण्डारबाट ग्यास उत्पादन गर्न सकिने कुरामा आशा राख्न सकिन्छ । मानवीय जोखिम कम हुनुको साथै यहाँको ग्यासमा अशुद्धिहरू पनि अत्यन्त कम रहेको कुरा सीजीएसको रिपोर्टले जनाएको छ ।
‘चट्टानमा ट्र्याप भएको ग्यास सजिलै निकाल्न सकिँदैन । तर पनि उपत्यकाको ग्यासभन्दा दैलेखको ग्यास भण्डारको अध्ययन र कार्यान्वयन थप आशाप्रद छ,’ बास्कोटा भन्छन् ।
विभागका उपमहानिर्देशक गणेशनाथ त्रिपाठी पनि बढ्दो शहरीकरण र मानवीय संवेदनशिलताकै कारण काठमाडौंको ग्यास परियोजनामा पुनर्मूल्यांकनको खाँचो देख्छन् । उनी भन्छन्, ‘यो प्रोजेक्ट अहिलेको समयमा आर्थिक रूपले कति लाभदायक र व्यावहारिक छ भन्ने बुझ्न पुन: अध्ययन गर्नु अनिवार्य भइसकेको छ ।’
यति ठूलो सम्भावनाका बाबजुद सरकार र माथिल्लो निकायबाट यो परियोजनालाई अगाडि बढाउने सन्दर्भमा हालसम्म कुनै ठोस कार्यक्रम भने नआएको त्रिपाठीले प्रष्ट पारेका छन् ।
काठमाडौंको जमिनमुनि लुकेको यो ‘ऊर्जा भण्डार’लाई आधुनिक प्रविधि र नयाँ अध्ययनका आधारमा उपयोग गर्ने कि जोखिमकै कारण थाती राख्ने भन्नेमा सरकार अझै अनिर्णित देखिएको छ ।
दैलेखले देखाएको आशा
नेपालमा पेट्रोलियम सम्भाव्यताको कुरा आउँदा सबैभन्दा पहिले दैलेखकै चर्चा हुन्छ । दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा चीनको सहयोगमा सम्भाव्यता अध्ययनको काम भइरहेको छ ।
गत असारमा आएको अध्ययनको प्रारम्भिक प्रतिवेदनले त्यहाँ ११२ अर्ब घनमिटर मिथेन ग्यास भण्डारण रहेको देखाएको थियो । सन् २०२६ फेब्रुअरीको अन्तिम प्रतिवेदनअनुसार ८०.७ अर्ब घनमिटर मिथेन ग्यास पुष्टि नै भएको छ ।
चाइना जियोलोजिकल सर्भे (सीजीएस) र सीएनपीसी सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले त्यहाँ ४ हजार १३ मिटर गहिराइसम्म ड्रिल गरेका थिए । यसबाट उत्पादित ग्यासले ५० वर्षसम्म नेपालको राष्ट्रिय माग पूर्ति गर्ने सम्भावना रहेको भनिएको छ ।
फेरि वैश्विक संकट निम्तिँदा नेपालमा इन्धन संकट देखा परेको छ । बजारमा ग्यासको अभावले कतिपय नेपाली चुलो नै निभिसकेका छन् । यस्तो विषम परिस्थितिमा नेपालको इन्धन परनिर्भरता हटाउन आफ्नै सम्भावनालाई साकार पार्ने काम गर्नुपर्ने आवश्यकता टट्कारो देखिएको छ ।
१८ बैशाख, सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र त्यसपछिको शङ्कास्पद मृत्यु प्रकरणमा जिल्ला अदालतले १४ जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको छ। घटनाको १३ महिना १० दिनपछि मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको एकल इजलासले बलात्कारमा संलग्न, घटना लुकाउने सहयोगी र दोषीलाई जोगाउन पञ्चायती गर्नेहरूलाई कैद र जरिवानाको फैसला सुनाएको हो ।
२०८१ माघ २७ गते राति शौच गर्न निस्केकी रिंकुमाथि भएको सामूहिक बलात्कारको घटनालाई स्थानीय जनप्रतिनिधि र भद्रभलादमीले प्रहरीमा पुग्न दिएनन्। वडासदस्य नथुनी साहको अगुवाइमा बसेको ‘पञ्चायती’ ले दोषीहरूलाई जरिवाना गराई घटना सामसुम पार्ने दुस्साहस गरेको थियो। वडासदस्य साह, रामकृपाल मण्डल, विन्देश्वर साह र रामदेव सदायसहितका व्यक्तिहरूले रु एक लाख ५१ हजार जरिवाना तोकेर जघन्य अपराधलाई ‘मिलापत्र’ गराउन खोजेका थिए।
अदालतले जनप्रतिनिधिको ओहदामा रहेर अपराधलाई प्रश्रय दिने वडासदस्य साहलाई थप ६ महिनासहित १४ महिना कैद र अन्य मतियारहरूलाई आठ महिना कैद तथा सात हजार जरिवानाको सजाय सुनाएको छ। अदालतले आफ्नो फैसलामा जनप्रतिनिधिले कानुनको संरक्षण गर्नुपर्नेमा उल्टै अपराधलाई प्रश्रय दिएको भन्दै कडा टिप्पणी गरेको छ।
जरिवाना रकम बाँडफाँटमा विवाद भएपछि माघ ३० गते रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। बाहिरबाट ढोका बन्द भएको अवस्थामा शव भेटिनु र त्यसअघि नै गाउँमा ‘मिलापत्र’ को नाटक मञ्चन हुनुले घटनालाई थप शङ्कास्पद बनाएको थियो।
न्याय निरूपणका क्रममा अदालतले पीडितको हकवालालाई प्रतिवादीहरूबाट जनही रु ३५ हजार क्षतिपूर्ति भराउनुका साथै थप क्षतिपूर्ति शुल्क बुझाउनुपर्ने आदेश दिएको छ। घटनामा प्रत्यक्ष संलग्न तीन नाबालकलाई समेत दोषी ठहर गरिएको छ।
यो फैसलाले समाजमा जरा गाडेको ‘पञ्चायती प्रथा’ र अपराधलाई गाउँमै लुकाउने प्रवृत्तिविरुद्ध कडा सन्देश दिएको छ। कानुन हातमा लिई पीडितलाई न्यायबाट वञ्चित गराउने जनप्रतिनिधि र मतियारहरूलाई भएको यो सजायलाई कतिपयले ढिलो भए पनि पीडित परिवारले न्यायको अनुभूति गरेको रूपमा हेरेका छन्। अधिकारकर्मीहरूले यो मुद्दालाई समाजमा हुने यस्ता विभत्स अपराध र न्यायमा गरिने खेलबाडको विरुद्धमा एउटा ‘नजीर’ का रूपमा लिएका छन्।
१८ बैशाख, काठमाडौँ । विश्व शान्तिका प्रतीक तथा भगवान् विष्णुका नवौँ अवतारका रूपमा पुजिने सिद्धार्थ गौतमको २५७०औँ जन्मजयन्ती आज देशभर श्रद्धापूर्वक मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन पर्ने यो पावन तिथिमा बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण संयोग परेकाले यस दिनको विशेष महत्त्व छ। आजको दिन बुद्धका कालजयी सन्देश ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ लाई आत्मसात गर्दै विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा अर्पण गरिरहेका छन्।
इसापूर्व ५६३ मा रुपन्देहीको लुम्बिनी उद्यानमा राजा शुद्धोधन र माता मायादेवीको कोखबाट जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा मानवीय दुःखको अन्त गर्ने संकल्पका साथ दरबार त्यागेका थिए। त्यही त्याग र तपस्याको फलस्वरूप उनले बुद्धत्व प्राप्त गरे। आजको दिन लुम्बिनी, स्वयम्भू, बौद्ध र नमोबुद्धलगायतका पवित्र स्थलहरूमा लामा एवं बौद्ध धर्मगुरुहरूद्वारा विशेष पूजापाठ, प्रवचन र परम्परागत विधिपूर्वक बुद्ध जयन्ती मनाइँदै छ।
राजकुमारका रूपमा जन्म लिएर पनि मानिसले भोग्नुपर्ने जन्म, मृत्यु, जरा र व्याधिको चक्रलाई नजिकबाट नियालेका बुद्धले शान्ति र निर्वाणको मार्ग देखाए। आजको दिन उनले दिएको ‘मध्यम मार्ग’ र ‘अष्टाङ्गिक मार्ग’ को शिक्षालाई मनन गर्ने दिनका रूपमा समेत लिइन्छ। बुद्धका शिक्षाहरू केवल धार्मिक विश्वास मात्र नभई आजको द्वन्द्वग्रस्त विश्वमा मानवीय एकता र सहअस्तित्वका लागि अनिवार्य आवश्यकता बनेका छन्।
नेपालको भूमिमा जन्मिएका बुद्ध विश्वकै लागि शान्तिको पर्याय हुनु हाम्रा लागि ठुलो गौरवको विषय हो। आजको अवसरमा चैत्य, गुम्बा र विहारहरूमा दीप प्रज्वलन, शान्ति पदयात्रा र बुद्धको जीवनीमा आधारित विविध कार्यक्रमहरूको आयोजना गरिएको छ। बुद्ध जयन्तीले विविधतामा एकता र सबै प्राणीप्रति दयाभाव राख्ने बुद्धको सन्देशलाई पुनः स्मरण गराएको छ।
बुद्धको २५७०औँ जयन्तीका अवसरमा आज देशका मुख्य बुद्ध विहारहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। हिंसा, घृणा र द्वन्द्वबाट टाढा रही मैत्रीभावले मात्र विश्वमा दिगो शान्ति स्थापना गर्न सकिन्छ भन्ने बुद्धको दर्शनलाई आजको बदलिँदो परिस्थितिमा थप सान्दर्भिक मानिएको छ।
१८ वैशाख,काठमाडौं । काठमाडौं महानगरपालिका ले बल्खु क्षेत्रमा अनाधिकृत रूपमा बनाइएका घरटहरा हटाउन डोजर चलाएको छ। वडा नम्बर १४ अन्तर्गत पर्ने उक्त क्षेत्रमा आज बिहानदेखि डोजर प्रयोग गरी संरचना भत्काउने कार्य सुरु गरिएको हो।
महानगरले नगरप्रहरी र सुरक्षाकर्मी परिचालन गर्दै अतिक्रमित बस्ती हटाउने अभियान अघि बढाएको हो। डोजर चलिरहँदा केही स्थानीयवासी आफ्ना सामान सुरक्षित स्थानतर्फ सारिरहेका छन् भने कतिपयले आफ्नै घर भत्किँदै गरेको दृश्य असहाय भएर हेर्न बाध्य भएका छन्।
यसैक्रममा बल्खु नजिकै पर्ने वडा नम्बर ११ को वंशीघाट क्षेत्रमा पनि आजै डोजर चलाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं का अनुसार वडा नम्बर १५ को स्वयम्भु, वडा नम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ अन्तर्गत पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायत अतिक्रमित क्षेत्रहरूमा पनि चरणबद्ध रूपमा संरचना हटाइनेछ।
प्रशासनले यसअघि नै सूचना जारी गर्दै वैशाख १८ बिहान ७ बजेदेखि एकैपटक बस्ती खाली गराउने जनाएको थियो। नदी किनार तथा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका बस्तीलाई हटाउने क्रममा मानवीय उद्धार र सम्भावित विपद् जोखिमलाई ध्यानमा राखिएको जनाइएको छ।
डोजर अभियान सुरु हुने सूचना सार्वजनिक भएपछि केही बासिन्दा विगत बिहीबारदेखि नै बस्ती छाड्न थालेका थिए। यसअघि वैशाख १२ गतेदेखि थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन भइसकेको थियो। अब बाँकी क्षेत्रहरूमा आजबाट निरन्तर रूपमा डोजर अभियान अघि बढाइने प्रशासनले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३