महेन्द्रनगर, ४ फागुन । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ ।
तराईको कैलाली र कञ्चनपुर सदरमुकाममा भएका जिल्ला कारगारसँगै सेनाले पहाडी जिल्ला बैतडी र बाजुराबाहेक बाँकी सात जिल्लामा रहेका कारागारको सुरक्षा जिम्मेवारी लिएको नेपाली सेनाले जनाएको छ ।
सेनाको श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकका अनुसार वाहिनीअन्तर्गत रहेका कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङमा रहेका कारागारको सुरक्षामा सेना तैनाथ भइसकेको छ ।
बैतडीमा भने कारागार निर्माणाधीन अवस्थामा रहेकाले सेना खटिनु नपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाली सेनाको श्री नं ५ वाहिनी अड्डाअन्तर्गतका डोटी, कैलाली र अछाममा समेत कारागार सुरक्षार्थ सेना खटिएको छ । सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरुप सेना खटिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सागर बोहराले यहाँका सात जिल्लाका कारागार, विनमास्थल सुरक्षा र धनगढीस्थित आयल निगमको डिपोमा सेनाले सुरक्षा दिइरहेको जानकारी दिनुभयो ।
“बैतडी र बाजुराको कारागार भवन निर्माणाधीन छन्,” प्रहरी उपरीक्षक बोहराले भन्नुभयो, “गेटा विमानस्थल, बाजुराको कोल्टी विमानस्थल, डोटी र बझाङ विमानस्थलमा सुरक्षाका लागि सेना खटिइसकेको छ ।”
त्यसैगरी, निर्वाचन सुरक्षालाई लक्षित गरी केही सातायता नेपाली सेना सुदूरपश्चिमभर खटिएको छ । सेनाको टोलीले विभिन्न निर्वाचन क्षेत्रमा गस्तीलगायत सुरक्षा प्रबन्ध गरिरहेको सेनाले जनाएको छ ।
४ फागुन, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डेको उम्मेदवारी खारेजीको प्रक्रिया अघि बढेको छ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका पाण्डे विरुद्ध नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले निर्वाचन आयोगमा उजुरी दिएपछि उनको चुनावी भविष्य संकटमा परेको हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले माघ २७ गते निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पाण्डे विरुद्ध उजुरी दर्ता गराएको थियो। बैंक स्रोतका अनुसार पाण्डे र उनको कम्पनी आ.पी. ट्रेड प्रा.लि. ले करिब २० करोड रुपैयाँ कर्जा तिर्न नसकेपछि बैंकको सिफारिसमा कर्जा सूचना केन्द्रले उनलाई गएको माघ १८ गतेदेखि औपचारिक रूपमा कालोसूचीमा राखेको छ।
बैंकले पुस ६ गते नै ३५ दिने सार्वजनिक सूचना जारी गरी कर्जा चुक्ता नगरे कानूनी प्रक्रिया थाल्ने चेतावनी दिएको थियो। आफू कालोसूचीमा पर्ने निश्चित जानकारी हुँदाहुँदै पनि पाण्डेले माघ ६ गते मनोनयन दर्ता गराएको दाबी गर्दै बैंकले आयोगमा कारबाहीका लागि पत्राचार गरेको हो।
निर्वाचन कार्यालयको ७ दिने अल्टिमेटम
पाण्डे विरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले यसबारे छानबिन गरी प्रतिवेदन पठाउन पर्सा निर्वाचन क्षेत्र नं. ३ को कार्यालयलाई निर्देशन दिएको छ। निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार आयोगले कर्जा सूचना केन्द्रबाट पाण्डे कालोसूचीमा रहेको आधिकारिक जानकारी लिइसकेको छ।
निर्वाचन कार्यालयले माघ २९ गते नै पाण्डेलाई पत्र काट्दै कालोसूचीमा परेको विषयमा ७ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ। पाण्डेले फागुन ६ गतेभित्र बुझाउने जवाफका आधारमा उम्मेदवारी खारेजीका लागि आयोगमा अन्तिम सिफारिस गरिनेछ, निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए। पाण्डेको उम्मेदवारी मनोनयन दर्ता भइसकेपछि उजुरी परेकाले यसबारे अन्तिम निर्णय अब निर्वाचन आयोगको केन्द्रीय कार्यालयले नै गर्नेछ।
कालोसूचीको समाचार सार्वजनिक भएपछि उम्मेदवार पाण्डेले यसलाई मिडियाबाजीको संज्ञा दिँदै आफूले ३६ लाख कर्जा तिरिसकेको दाबी गर्दै आएका छन्। तर, सोमबारसम्मको कर्जा सूचना केन्द्रको रेकर्डमा उनको र कम्पनीको नाम अझै कालोसूचीमै देखिएको छ।
आयोगमा उजुरी परेपछि पाण्डेले बैंक व्यवस्थापनलाई किस्ताबन्दीमा ऋण तिर्ने सहुलियत दिन दबाब दिएका थिए। तर, बैंकले एकमुष्ट रकम चुक्ता नगरेसम्म कालोसूचीबाट नाम नहटाउने अडान लिएपछि उनी थप संकटमा परेका हुन्। फागुन ६ गतेभित्र कर्जा चुक्ता भएको आधिकारिक पत्र बुझाउन नसके उनको उम्मेदवारी स्वतः खारेज हुने कानूनी अवस्था छ।
कानूनी जटिलता र स्वघोषणाको प्रश्न
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) अनुसार कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार बन्न पूर्णतः अयोग्य रहन्छ। यसबाहेक ऐनको दफा १५ अनुसार मनोनयन दर्ता गर्दा उम्मेदवारले, म कालोसूचीमा छैन भनी स्वघोषणा गर्नुपर्ने हुन्छ। यदि पाण्डेले कालोसूचीमा पर्ने अवस्था हुँदाहुँदै गलत स्वघोषणा गरेको प्रमाणित भएमा ऐनको दफा १६ बमोजिम उनको उम्मेदवारी जुनसुकै बेला बदर हुन सक्छ।
यसअघि नेपाली कांग्रेसमा सक्रिय रहेका पाण्डे टिकट नपाएपछि मात्रै एमाले प्रवेश गरेका थिए। काठमाडौँमा कपडा र मोबाइलको व्यापार गर्ने उनले उच्च पदस्थ व्यक्तिहरूको अवैध धन परिचालन गर्ने गरेको र पछिल्लो समय व्यापार चौपट भएपछि राजनीतिक ओत खोजेको स्थानीयको आरोप छ।
निर्वाचनको मुखमा उम्मेदवार नै अयोग्य हुने स्थिति आएपछि एमालेभित्र पनि खैलाबैला मच्चिएको छ। यदि निर्वाचन अघि आयोगले निर्णय नगरे र पाण्डे निर्वाचित भएमा पनि सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको पद खारेज गर्ने कानू
नी ढोका खुल्लै रहनेछ।
ताराचन्द्र देवकोटा
काठमाडौं/ फागुन ४ गते
वीरता, धीरता, अदम्य साहस, शौम्य र गौरवले भरिएका अनेकौं गाथा, नेपाल राष्ट्रको एकीकरणदेखि हरेक राष्ट्रिय संकटलाई किनारा लगाउन खेलेको अग्रणी भूमिका, विश्व शान्ति स्थापनार्थ अन्तर्राष्ट्रिय क्षेत्रमा कमाएको छविले नेपाल राष्ट्रको गौरव उँचो पार्न सफल नेपाली सेनाले आफ्नो सेना दिवस-२०८२ तथा २६३ औं वार्षिकोत्सवलाई ‘बलियो एकता, सुरक्षित राष्ट्र’ का निम्ति फलदायी हुने गरी मनाएको छ । वार्षिकोत्सव कार्यक्रम नेपाली सेनाले खाली औपचारिकतामा मात्र सीमित गरेन ।
२६३ औं वार्षिकोत्सव अथवा सेना दिवस-२०८२ का अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै हाम्रो देश नेपालका गौरवका गाथा, परम्परा र संस्कृतिहरु चिन्न, गौरव गर्न र इतिहासका पाठबाट सिक्न सबै सैनिक तालिमहरुमा नेपाल र नेपालीको इतिहास अध्ययन-अध्यापन गराउन अह्राएबाट के प्रष्ट हुन्छ भने नेपाली सेना नेपाल राष्ट्रको स्वाधिनता, राष्ट्रिय एकता, जनताको सार्वभौम अधिकार र आफ्नो कर्तव्यप्रति अत्यन्तै सम्वेदनशील छ ।
सेना दिवस-२०८२ अथवा २६३ औं वार्षिकोत्सवलाई नेपाली सेनाले नेपाली मन-मुटु र माटोसँग जोडिने गरी विभिन्न खेलकुद, सामाजिक क्रियाकलाप, युवा प्रोत्साहन कार्यक्रम गरेरमात्र मनाएन, ‘मिलिट्री टु मिलिट्री’ सम्बन्ध समुधुर राख्ने उद्देश्यका साथ मित्र राष्ट्रका सैनिकहरुलाई समेत निमन्त्रणा गरेर उनीहरुले बोलाउँदा आफू जाने र आफुले बोलाउँदा मित्र राष्ट्रका सेनाहरु आउने परम्परालाई निरन्तरता दिएको छ । यस पटकको सेना दिवस कार्यक्रममा नेपाली सेनासहित मित्र राष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीबाट सांगीतिक प्रस्तुति दिइनुलाई मित्र राष्ट्रबीचको सुमुधुर सम्बन्धको निरन्तरताको प्रयासका रुपमा हेरिनुपर्दछ । यसले मित्र राष्ट्रहरुसँगको कुटनीतिक सम्बन्धलाई समेत बलियो बनाउन मद्दत पुग्नेछ । मित्र राष्ट्रका सैनिकहरु राष्ट्रिय सेवा दल अन्तर्गतको एनसीसी ‘युवा आदान-प्रदान’ कार्यक्रममा भाग लिनको निम्तिसमेत आएका थिए । यसले युवा वर्गलाई आफ्नो देशको राष्ट्रियता, स्वाधीनता र जगेर्नामा थप प्रेरित गर्ने विश्वास लिन सकिन्छ ।
वि. सं. १८१९ मा स्थापना भएको नेपाली सेनाले स्थापनाकालदेखि नै मुलुक, नागरिक र संविधानप्रति प्रतिबद्ध भई संविधानले तोकेको जिम्मेवारी निष्ठापूर्वक पूरा गरेका कारण आमनागरिकको भरोषा र विश्वास पाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतको भनाई छ । ‘नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि मुलुक र नागरिकको रक्षार्थ संविधान अनुसार चल्न तयार रहँदै आएको छ र अटुटरुपमा रहिरहने छ’ सैनिक प्रवक्ता सहायकरथी बस्नेतले प्रष्ट पारे- ‘मुलुकको समग्र सुरक्षासँगै विपत् व्यवस्थापन र राष्ट्र निर्माण (पूर्वधार विकास), कला-संस्कृति र ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षणमा पनि नेपाली सेना सदैव समर्पित छ ।’
भदौ २३ र २४ गते (२०८२) भएको जेन-जी पुस्ताको प्रदर्शनमा नेपाली सेनाले उच्च सुझबुझ नदेखाई राष्ट्र, जनता र संविधानप्रतिको आफ्नो दायित्व भुलेर अघि बढेको भए २५ गतेदेखि मुलुकको अवस्था, व्यवस्था र हविगत के हुन्थ्यो ? नेपाली सेनामाथि आशंका गर्नेहरुले गहनरुपमा गम्भीर भएर विश्लेषणमात्रै गरिदने हो भने उनीहरुले पनि भन्नेछन्- ‘नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव ।’ संगठनभित्र केही कमीकमजोरी हुन सक्छन्, त्यसलाई उसले सुधार्नुपर्छ । तर, नेपाली सेना राष्ट्र, जनभावना र संविधानविपरीत चल्दै-चल्दैन भन्ने कुरा उसले बारम्बार पुष्टि गर्दै आएको छ ।
राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाले आफूलाई सुरक्षा संगठनमात्र होइन, राष्ट्रिय एकताको बलियो खम्बाका रुपमा कायम राख्दै आमनागरिकको विश्वास र भरोषा आर्जन गरेको छ । १७ औं शताब्दीको विश्वव्यापी रुपमा राज्यसत्ता कब्जा गर्ने औपनिवेशवादलाई सीमामै छेकेर नेपालको राष्ट्रियता अक्षुण्ण राख्न सफल नेपाली सेनालाई सेना दिवस-२०८२ तथा २६३ औं वार्षिकोत्सवका अवसरमा वीरता-धीरता, अदम्य साहस, शौम्य र गौरवले भरिएका थप गाथा कोर्न सफलता मिल्दै जाओस्, शुभकामना !
सोमबार,।नेकपा एमालेले वीरगंज महानगरपालिका वडा नम्बर–३ को चुनावी वडा भेला सोमबार सम्पन्न भएको छ। वडा कमिटीका उपाध्यक्ष प्रकाश नेपालको अध्यक्षतामा सम्पन्न भेलामा सहभागीहरूले फागुन २१ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।
भेलालाई सम्बोधन गर्दै उम्मेदवार रिमा कुमारी यादवले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताइन्। उनले जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम ल्याउने र क्षेत्रको समग्र विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्।
“स्थानीय तहदेखि संघीय तहसम्मको समन्वयमा योजनाबद्ध विकास अघि बढाउँछु,” उनले भनिन्, “किसान, युवा, महिला र गरिब समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याइनेछ।”
मालपोत चौकमा आयोजित भेलामा पार्टीका नेताहरूले पर्सा क्षेत्र नम्बर–२ बाट उम्मेदवार रिमा यादवलाई विजयी बनाउन आग्रह गरेका थिए। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव, जिल्ला सचिव महेश दास, क्षेत्र नम्बर–२ का संयोजक मनोज कुशवाह, वडा अध्यक्ष वैजु सुवर्णकार, नेता खैरुदिन हवारी, महानगर उपाध्यक्ष लियाकत अली, नविदिन हवारीलगायतले मन्तव्य व्यक्त गर्दै पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।
त्यस्तै, राजेशमान सिंहले शुभकामना सन्देश दिँदै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरेका थिए। उनले विकासका योजनामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
भेला सम्पन्नसँगै एमालेले वीरगञ्ज–३ मा चुनावी अभियान थप तीव्र बनाउने जनाएको छ। स्थानीय नेताहरूका अनुसार घरदैलो, भेटघाट तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिँदै मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने निर्णय गरेको छ । भेलाको सहजीकरण निरन्जन मिश्रले गरेका
थिए।

वीरगन्ज ।
नेकपा एमाले पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादवले वीरगञ्ज–१६नागवामा सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले “सम्पर्क कार्यालयले मतदाता भेटघाट, घरदैलो र अन्य चुनावी गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउन सहयोग पुर्याउनेछ। यस मार्फत हामी जनता र उम्मेदवार बीचको संवादलाई थप सुदृढ बनाउने प्रयासमा छौं।” उनले मतदातासँगको प्रत्यक्ष संवाद र समस्या बुझ्ने कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा समृद्ध वीरगंज निर्माणको लक्ष्यका साथ कार्यालय सञ्चालनमा ल्याइएको बताए । नागवाबासीको सक्रिय सहभागिता, सुझाव र साथ–सहयोगले हाम्रो अभियानलाई अझ सशक्त बनाउने विश्वास लिएको बताए।
- स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
- बहुअरावामा अगुवा भेला तथा विभिन्न पार्टी परित्याग गरि सयौ कार्यकर्ता रिमा यादवलाई जिताउन एमालेमा प्रवेश
- नेकपा एमालेको घरदैलो तथा जनतादर्शन कार्यक्रम सम्पन्न;शिक्षा,स्वास्थ,बिकास पहिलो प्राथमिकता;रिमा यादव
- जगरनाथपुर गाउँपालिकामा Gen–Z को २१ सदस्यीय कमिटी गठन, अमर किशोर ठाकुर लोहार अध्यक्ष
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३