KATHMANDU WEATHER
Horizontal Scroll Menu

सार्वजनिक यातायात उच्चपदस्थले पनि चढ्ने योग्य बनाउनुपर्छ : आशिष गजुरेल

२७ वैशाख, काठमाडौं । रास्वपाका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सार्वजनिक यातायातलाई उच्चपदस्थ अधिकारीहरूले समेत प्रयोग गर्नसक्ने गरी मर्यादित र भरपर्दो बनाउनुपर्नेमा जोड दिएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनमा उनले सार्वजनिक यातायातको सुधार नै समृद्धिको आधार भएको बताएका हुन् ।

 

 

 

सांसद गजुरेलले हालको सडक पूर्वाधार र लगानी निजी सवारी साधनमुखी भएकोमा चिन्ता व्यक्त गरे ।

उनले अबका सडक र यातायात प्रणाली ‘मानवमैत्री’ हुनुपर्ने र त्यसमा सार्वजनिक यातायातको भूमिका प्रमुख हुनुपर्ने बताए ।

 

 

 

सांसद गजुरेलले यातायात क्षेत्रमा देखिएका विकृति र सिन्डिकेटको अन्त्यका लागि सरकारले निगरानी गर्ने चेतावनीसमेत दिए ।

उनले सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनलाई दुरुस्त अवस्थामा राख्न र सडक सुरक्षाका मापदण्ड पालना गर्न व्यवसायीहरूलाई आग्रह गरे ।

यातायात क्षेत्रमा व्यवसायीहरूको १३ खर्ब रुपैयाँ लगानी रहेको र ११ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको तथ्यलाई स्मरण गराउँदै उनले यस क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

संघीय र प्रदेश सरकारबीच कार्यक्षेत्रको विषयमा देखिएका केही विवाद सुल्झाउन ‘सार्वजनिक यातायात प्राधिकरण’ मार्फत कानुनी सुधारको प्रक्रिया अगाडि बढिसकेको उनले बताए ।

उनले भने, ‘मैले सार्वजनिक बसमा यात्रा गरिरहँदा सर्वसाधारणले एक सांसदले यसरी यात्रा गर्छन् भन्ने विश्वास नै गर्न सकेनन् । यसले के देखाउँछ भने हामीले हाम्रो सार्वजनिक यातायातलाई अझै पनि सबैको रोजाइ र चढ्न योग्य बनाउन सकेका छैनौँ । हामीले नीतिगत तहमा काम गर्छौँ, तपाईंहरू व्यवस्थापनको तहमा काम गर्नुहोस् । सार्वजनिक यातायातलाई यस्तो बनाऔँ कि हामी सबैले आफ्ना निजी सवारी साधन छोडेर सार्वजनिक बस चढेर कार्यालय जान सकौँ ।’

यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन सीसीटीभी जडान, जीपीएस प्रणालीको कार्यान्वयन र डिजिटल भुक्तानीलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने नियम कार्यान्वयनका लागि छलफल भइरहेको र दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारका लागि सञ्चार नेटवर्क विस्तार गर्न सञ्चार मन्त्रालयसँग समन्वय भइरहेको पनि उनले बताए ।

सांसद गजुरेलले सडक सुरक्षा, सार्वजनिक यातायातमा सुधार र गुणस्तरीय पूर्वाधार निर्माणलाई आफूले प्रमुख एजेन्डा बनाएको उल्लेख गर्दै यी योजना सफल पार्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने

२७ वैशाख, काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

 

 

 

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४:०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उनले जानकारी दिए ।

उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान  छ ।

 

 

 

राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ :४५  बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ ।

त्यसअघि अपराह्न २:०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुनेछन् ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको  बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूचीे छ ।

यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरू पेस हुनेछन् ।

कांग्रेस केन्द्रीय कार्यालयमा ब्यानर : नेविसंघमा टिके प्रथा अन्त्य कहिले हुन्छ ?

२७  वैशाख, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को अधिवेशन माग गर्दै असन्तुष्ट विद्यार्थी नेता/कर्ताले पार्टी केन्द्रीय कार्यालयमा प्रश्नसहितको ब्यानर टाँगेका छन् ।

नेविसंघ नेता पुष्करविक्रम शाहीले नेविसंघमा टिके प्रथाको अन्त्य गरी नेतृत्व चयन कहिले सुरु हुन्छ भनेर पार्टी नेतृत्वलाई प्रश्नसहित ब्यानर टाँगिएको बताए ।

 

 

 

भ्रातृ संगठनहरूमा टिके प्रथा अन्त्य गरी नेतृत्व चयन पूर्ण रुपमा लोकतान्त्रिक पद्धतिबाट कहिले हुन्छ ?, विद्यार्थी संगठनप्रति वर्तमान पार्टी नेतृत्वको धारणा के हो ?, नेविसंघलाई कार्यगत स्वायत्तता प्रदान गर्ने विषयमा पार्टीले के भन्छ ?, पार्टी भित्रको भावनात्मक एकताको स्पष्ट खाका के हो ? भनेर सोधिएको प्रश्नसहित पार्टी केन्द्रीय कार्यालयको अगाडि ब्यानर टाँगिएको छ ।

नेपाली कांग्रेसले नेविसंघसहित विभिन्न भ्रातृ संगठनको केन्द्रीय कार्यसमितिको म्याद थप नगर्ने निर्णय गरेसँगै ती संगठन स्वतः विघटन भएका छन् ।

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनित

२७ वैशाख, काठमाडौं । रास्वपाले केन्द्रीय शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनित गरेको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले पाण्डेलाई शिक्षा विभाग प्रमुखमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

 

 

 

त्यस्तै स्टार्ट-अप विभागको प्रमुखमा डा प्रभात अधिकारी मनोनित भएका छन् ।
पार्टीको र्‍यापिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा वैकुण्ठ थापा र उपप्रमुखमा पूर्व डीआईजी विदुर खड्कालाई मनोनयन गरिएको छ ।

कांग्रेस सुदूरपश्चिम संकल्पः जनप्रतिनिधिको कामलाई थप प्रभावकारी बनाउने छौं

२७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मानवीयतालाई ध्यानमा राखेर कार्य गर्न केन्द्रीय सरकारलाई ध्यानाकर्षण गराउनुको साथै आफ्नो नेतृत्वमा सरकार रहेका स्थानीय तहमा प्रभावकारी कार्य गर्ने प्रतिवद्धता गरिएको छ ।

केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हिजो र आज कैलालीको धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय अन्तर्क्रियाबाट‍ १५ संकल्प पारित गरेको हो । स्थानीय तहमा कांग्रेसबाट निर्वाचित स्थानमा नागरिकमुखी नीति मार्फत उत्तरदायी र जवाफदेही सरकारको रूपमा थप प्रभावकारी ढङ्गले कार्य गर्ने संकल्प गरिएको छ ।

 

 

 

कानुनको कार्यान्वयनमा मानवीयतालाई केन्द्रमा राखेर काम गर्ने संघीय सरकारलाई समेत ध्यानाकर्षण गराउने संकल्प पारित गरिएको छ ।

कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारको नेतृत्चले नीति तथा कार्यक्रम मार्फत स्थानीय तहका सरकारका गतिविधिलाई थप नागरिकमैत्री, सुशासनयुक्त र परिणाममुखी बनाउने प्रतिवद्दता गरिएको छ ।
भूमिहिन दलित, सुकुम्वासी र अव्यबस्थित बसोवासीलाई व्यबस्थापन गर्दा सवैभन्दा पहिला नागरिकको आत्मसम्मानलाई ध्यान दिने प्रतिवद्दता गरिएको छ ।

 

 

 

जोखिम क्षेत्रमा बसोवास गरेका नागरिकको परिवारलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने गर्नुको साथै मुक्त हलिया, मुक्त कमैया, वादी समुदाय लगायतका लागि जीविकोपार्जनका लागि विशेष प्राथमिकताका कार्यक्रम संचालन गर्ने संकल्प गरिएको छ ।

स्थानीय सरकारबाटहुने सार्वजनिक सेवाप्रवाह थप सरलिकृत गर्ने संकल्प गरिएको छ । एक स्थानीय तहले गरेका असल अभ्यासलाई अन्य स्थानीय तहमा समेत ग्रहण गर्ने निर्णय गरिएको छ ।
संवैधानिक ब्यवस्था अनुसार असार १० गतेभित्र स्थानीय तहले अनिवार्य रूपमा बजेट पेश गर्न प्रतिवद्दता गरिएको छ ।

संकल्पको पूर्ण पाठः

सुदुरपश्चिम संकल्प
नेपाली कांग्रेसले परिकल्पना गरेको समुन्नत नेपालको प्रमुख आधार नै गाउँ र नगरको समुन्नति हो। संविधानत: जनताका प्रत्यक्ष सरोकारका विषयहरूमा तत्काल सेवा प्रवाहगर्ने जिम्मेवारी जनताको घर-आगनमा रहेको स्थानीय सरकारलाई भएको कुरालाई हृदयङगम गर्दै,
नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, नेपाली कांग्रेस पार्टीको संकल्प र प्रतिज्ञा, सुशासनका मापदण्ड र जनताप्रतिको उत्तरदायीत्व र जवाफदेहीतालाई पुर्ण रुपमा आत्मसात गर्दै नेपाली कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारको नेतृत्चले नीति तथा कार्यक्रम मार्फत स्थानीय तहका सरकारका गतिविधिलाई थप नागरिकमैत्री, सुशासनयुक्त र परिणाममुखी बनाउन प्रतिवद्ध रहदैँ,
नेपाली कांग्रेस, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा २०८३ वैशाख २६ र २७ गते सुदुरपश्चिमको धनगढीमा भएको सुदुरपश्चिम प्रदेशस्तरीय स्थानीय सरकारका जनप्रतिनिधि तथा पार्टीका स्थानीय र जिल्ला तहका नेतृत्वबीचमा भएको संवाद, विषयगत छलफल र विस्तृत अन्तरक्रियाको आधारमा सुदुरपश्चिमका स्थानीय सरकारको नेतृत्व र पार्टीको नेतृत्व यो भेलाले निम्न १५ संकल्प गर्दछ।
संकल्पहरू
१. संविधानप्रदत्त नागरिकको स्वतन्त्रता र अधिकारलाई संरक्षण गर्दै नागरिकमुखी नीतिमार्फत उत्तरदायी र जवाफदेही सरकारको रूपमा थप प्रभावकारी ढङ्गले कार्य गर्ने।
२. असल शासन, विधि र जवाफदेहिता एक-अर्काका अभिन्न अंगको रुपमा लिदैं, विधिमा टेकेर मात्र निर्णयहरू गर्ने मान्यतामा दृढ रहँदै, र कानूनको कार्यान्वयन गरिरहँदा मानवियतालाई केन्द्रमा राखेर काम गर्ने कुरामा प्रतिवद्ध रहँदै संघीय सरकारलाई समेत यसतर्फ ध्यानाकर्षण गराउने।
३. स्थानीय सरकारबाट सहज, सुलभ र समय सापेक्ष सेवा पाउनु नागरिकको अधिकार हो भन्ने मान्यता दोहोर्‍याउदै सार्वजनिक सेवाप्रवाह थप सरलिकृत गर्ने। अपाङ्गता भएका व्यक्ति, अशक्त, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला, दीर्घ रोग भएका नागरिक र विपन्न वस्तिमा घर-आगनमा सेवा दिने प्रयासलाई थप व्यबस्थित र प्रभावकारी बनाउने।
४. स्थानीय सरकार गठन भए पश्चात् भएका जनहितका कार्यहरू र असल अभ्यासलाई श्रव्य दृष्य सामाग्री बनाई नागरिक समक्ष बुँदागत रूपमा सुसूचित स्पष्ट गर्दै अघि बढ्ने। एक स्थानीय तहले गरेका असल अभ्यासलाई अन्य स्थानीय तहमा समेत ग्रहण गर्ने। यो अवधिमा भएका व्यवस्थापकीय कमजोरीहरु पहिचान गरेर त्यसको निदानका लागी ध्यान र प्रयास केन्द्रित गर्ने।
५. संवैधानिक ब्यबस्था अनुरूप असार १० गते भित्र अनिबार्य रूपमा बजेट सभामा पेश गर्न थप प्रतिवद्ध रहँदै नीति तथा कार्यक्रम अनुसार बजेट तर्जुमा गर्ने। योजना तर्जुमा गर्दा अनिवार्य रुपमा सात चरण पुरा गरेर यथार्थपरक, तथ्यमा आधारित र परिणाममुखि बनाउने। खर्चको मापदण्ड बनाई कार्यविधि बमोजिममात्र गर्ने। वित्तिय अनुशासनमा विशेष ध्यान दिने। शुन्य बेरुजु स्थानीय तहका लागि विशेष अग्रसरता लिने।
६. प्रोजेक्ट वैंकमार्फत मात्र योजना तर्जुमा गर्ने कुरालाई कडाइका साथ लागु गर्ने। टुक्रे योजना भन्दा पनि परिणाम आउने किसिमका योजना छनोट गर्ने कुरामा थप प्रतिवद्ध रहने।
७. योजना तर्जुमा गर्दा अनिवार्य रुपमा स्थानीय पार्टी समिति, आम नागरिक, नागरिक समाज, विभिन्न विषयका विज्ञसंग समेत संवाद र परामर्श गर्ने र सुझाबलाई आत्मसात गर्ने। पार्टी सरकार समन्वय संयन्त्रलाई प्रभावकारी बनाउन हरेक २ महिनामा नियमित संवाद गर्ने।
८. जनताको करबाट उठेको राजस्वलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्ने कुरमा दृढ रहने। निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा वाहिर गइ अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम नगर्ने,गर्न नदिने। सार्वजनिक सेवा र नागरिक हितको आधारमा कर र उद्यम व्यवसाय मैत्री कर प्रणाली लागु गर्ने।
९. रोजगार वैंक, उद्यम विकास केन्द्र तथा उद्यम मेला मार्फत उद्यम र रोजगारीको वातावरण बनाउने। स्थानीय कच्चा पदार्थको प्रयोग, रोजगारी सिर्जनालाई कर सहुलियत दिने व्यबस्था लागु गर्ने। उत्पादनशील क्षेत्र र उद्यममा महिलाको सहभागिता अभिवृद्धी तथा स्वरोजगार सुनिश्चित गर्न तथा महिलाको परम्परागत सीप ज्ञानलई उद्यमसंग जोड्न “उद्यमी आमा” जस्ता कार्यक्रम संचालन गर्ने। वैदेशिक रोजगारबाट फर्केका व्यक्तिको सिप उपयोगगरी उद्यम संचालन गर्न ‘श्रमदेखि उद्यमसम्म कार्यक्रम संचालन गर्ने।
१०. नागरिको मौलिक हकको रुपमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत विषयमा स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी रहेको छ। सशर्त र संघीय कार्यक्रममा सिमित नभै शिक्षा र स्वास्थ्यमा आन्तरिक लगानीमा प्राथमिकता दिई गुणस्तरीय शिक्षा सुधारका सिर्जनात्मक कार्यक्रम र स्वास्थ्य सेवालाई विशेष प्राथमिकतामा राख्दै सवैलाई स्वास्थ्य बिमा, घरमै सेवा मार्फत नागरिकको स्वास्थ्यको विशेष ख्याल राख्ने। सुदुरपश्चिम क्षेत्रका पर्यटकीय स्थलको प्रवर्द्धन गर्दै प्रदेश समुन्नतिसंग जोड्न साझा पहलकदमी लिने। कला र खेलकुदमार्फत युवा पुस्तालाई जोड्ने।
११. सुदुरपश्चिम प्रदेशभित्र बसोवास गरिरहेका भूमिहीन दलित, सुकुम्वासी र अब्यबस्थित बसोवासीको कानून बमोजिम समस्या समाधान गर्न लगत संकलन, प्रमाणीकरण, जग्गा नापी र पूर्जा वितरण लगायतका कार्यका लागि पहलकदमी लिने। भूमिहिन दलित, सुकुम्वासी र अव्यबस्थित बसोवासीलाई व्यबस्थापन गर्दा सवैभन्दा पहिला नागरिकको आत्मसम्मानलाई ध्यान दिई जोखिम क्षेत्रमा बसोवास गरेका नागरिकको परिवारलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने। मूक्त हलिया, मुक्त कमैया, वादी समुदाय लगायतका लागि जीविकोपार्जनका लागि विशेष प्राथमिकताका कार्यक्रम संचालन गर्ने।
१२. जन्मदर्ता, मृत्युदर्ता, स्वास्थ्य विमा दर्ता र नवीकरण लगायतका सेवा “अनलाईन वा आगनबाट” र आधारभूत स्वास्थ्य जाँच घरआगनमै गर्ने ‘घर आगन सेवा संचालनमा ल्याउने। नेपाली कांग्रेसको पहलकदमी र नेतृत्वमा आएको स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन “बिमा ब्राण्डिङ” गर्ने। सिकलसेल एनिमिया, थालसिमिया प्रभावित नागरिक र समुदायमा “सिकलसेल विशेष कार्यक्रम” संचालन गर्ने।
१३. घरेलु तथा महिलामाथि हुने हिंसा, छुवाछुत, जातीय, लैंगिक, सामाजिक विभेद नियन्त्रण, बाल विवाह, छाउपडी, बोक्सी लगायतका सामाजिक कुरिती र अन्धविश्वासको नियन्त्रण र सामाजिक सदभाव तथा समभाव सृजना गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्ने। धुम्रपान, मध्यपान, लागू पदार्थ दुर्व्यसन जस्ता सामाजिक विकृतिको नियमन र नियन्त्रणलाई प्राथमिकतामा राख्ने। स्थानीय भाषा, लिपी, संस्कृतिको संरक्षण र प्रवर्द्धनको अगुवाई गर्ने।
१४. कानून, योजना र बजेट निर्माणका क्रममा स्थानीय तहसंग समन्वय गर्न तथा कर्मचारी सरुवा छिटो गर्ने र दुर्गममा कर्मचारी खाली हुने अबस्था अन्त्य गर्न प्रदेश र संघ सरकारलाई ध्यानाकर्षण गराउने। संघीयता कार्यान्वयका लागि बाधक रहेका कानून परिमार्जन गर्न, बनाउनुपर्ने कानून बनाउन तथा संघले अनुसूची ९ को साझा अधिकारको बिषयमा स्पष्ट बनाउन संघीय सरकारलाई आग्रह गर्ने।
१५. संघीयता र संविधानको मर्म बमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको “तीन स” अनुरुप समुन्नतिको मार्गमा अगाडी बढ्न यो भेला संघ र प्रदेश सरकारलाई अपिल गर्दै त्यसमा आफु समर्पित रहने संकल्प गर्दछ।
२०८३ वैशाख २७

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३