वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल शनिबार वीरगंज आएका छन् । गृह जिल्ला रौतहटको कार्यक्रम सकेर वीरगंज आएका नेता नेपालले हालै अदालतको आदेशबाट रिहा भएका नेकपा नेता मनोज चौधरीसँग भेटवार्ता गरेका हुन् ।
पूर्व प्रधानमन्त्री नेपाल वीरगंजस्थित पानीटंकीमा रहेको चौधरी निवासमै पुगेर भेट गरेका थिए । भेटका क्रममा उनले चौधरी पक्राउ परेको घटनाको विषयमा विस्तृत जानकारी लिँदै घटनाको वास्तविक अवस्थाबारे चासो व्यक्त गरेका थिए । नेता नेपालले चौधरीसँगको भेटमा पछिल्लो राजनीतिक अवस्था, पक्राउ प्रकरण तथा त्यसपछि विकसित घटनाक्रमबारे समेत छलफल गरेको बताइएको छ ।
यसअघि पनि नेता नेपालले मनोज चौधरी प्रहरी हिरासतमा रहेका बेला जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर भेट गरेका थिए । त्यसबेला उनले घटनाबारे जानकारी लिनुका साथै कानुनी प्रक्रियाप्रति चासो व्यक्त गरेका थिए ।
नेता चौधरी फागुन १९ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुभन्दा दुई दिनअघि फागुन १९ गते पक्राउ परेका थिए । पर्सा क्षेत्र नं. २ काे प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार समेत रहेका नेता चाैधरी उनी सवार गाडीबाट विस्फोटक पदार्थ जस्ताे देखिने शंकास्पद बस्तु फेला परेकाे आराेपमा मुद्दामा पक्राउ परेका थिए ।
पर्सा जिल्ला अदालतकाे आदेशमा पूर्पक्षका लागि वीरगंज कारागारमा रहेका चौधरी दुई महिना ६ दिनपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजकाे आदेशमा बिहिबार रिहा भएका थिए ।
चौधरीको रिहाइपछि उनलाई भेट्न पूर्व प्रधानमन्त्री नेपाल स्वयं वीरगंज पुगेपछि स्थानीय राजनीतिक वृत्तमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
वीरगंज । सशस्त्र प्रहरी बल नेपालले पर्सा र बारामा संयुक्त रुपमा सञ्चालन गरेको छापामारी अभियानमा भन्सार छली गरी ल्याइएका करिब १४ लाख ११ हजार रुपैयाँ बराबरका कपडा तथा किराना सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार मिति २०८३ वैशाख २६ गते प्राप्त विशेष सूचनाको आधारमा छापामारी गरिएको हो ।
जिल्ला बाराको विश्रामपुर गाउँपालिका–५ नकटुवा बिर्ताटोलस्थित गोठमा भन्सार छलि गरी कपडा भण्डारण गरिएको सूचनापछि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको टोली तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो ।
टोलीले करिब ११ लाख ७५ हजार ५ सय रुपैयाँ बराबरको १७ पोका कपडा बरामद गरेको जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।
त्यसैगरी पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा क्षेत्र नजिकका कच्ची घरहरूमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका किराना सामान लुकाइछिपाइ राखिएको सूचनापछि अर्को संयुक्त टोलीले खानतलासी गरेको थियो ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर भिखमपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन बोगटीको नेतृत्वमा गएको टोली, प्रहरी चौकी बलुवा र वीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले २ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरका किराना सामान बरामद गरेको जनाएको छ ।
बरामद सबै सामान थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
वीरगंज । पर्सा प्रहरीले सञ्चालन गरिरहेको “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान” अन्तर्गत लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ वैशाख २५ गते साँझ वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित चेकपोष्टमा भारतबाट नेपालतर्फ आउने पैदल यात्री तथा सवारी साधनहरूमा जाँच गर्ने क्रममा विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको हो ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, सेतो हेरोइन तथा प्रतिबन्धित ट्याब्लेट बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा २७ बर्षिय विकास कुमार साह, २३ बर्षिय कबिन पराजुली, २० बर्षिय सागर घिमिरे, २३ बर्षिय पूजा जिम्बा, २९ बर्षिय अन्जन थापा, १९ बर्षिय रमेश बम्जन, ३७ बर्षिय राजु बानिया र ५२ बर्षिय अलिहदन मियाँ रहेका छन् ।
प्रहरीका अनुसार विकास कुमार साह र कबिन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको थियो भने अन्य व्यक्तिहरूबाट समेत विभिन्न परिमाणमा लागुऔषध फेला परेको हो । साथै म.प्र.०३–०२८ प ७६५६ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुकाे ठेगाना प्रहरीले खुलाएकाे छैन ।
पक्राउ परेका सबैमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
वीरगंज । पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्दै गरेका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ निवासी २० वर्षीय अकतर हुसेन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत २०८३ वैशाख २५ गते साँझ करिब ७ बजे जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका–७ निवासी ३२ वर्षीय दिपेन्द्र कुमार गुप्ताको नाममा दर्ता रहेको प्र.२–०३–०१९ प ६३५० नम्बरको २२० सीसीको कालो–रातो रंगको पल्सर मोटरसाइकल वीरगंज महानगरपालिका–१३ स्थित नारायणी यातायात कार्यालय अगाडि पार्किङ गरी राखिएको थियो ।
सोही क्रममा मोटरसाइकलको लक तोडी चोरी गरी भाग्ने प्रयास भइरहेको अवस्थामा स्थानीयवासी र प्रहरीको संयुक्त सहयोगमा मोटरसाइकलसहित अकतर हुसेनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका हुसेनविरुद्ध चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
वीरगंज । पर्सा प्रहरीले वीरगंजस्थित विभिन्न क्यासिनोमा अनाधिकृत रूपमा प्रवेश गरी जुवातास खेलिरहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
वीरगंजका किङ क्यासिनो, फर्च्युन सिटी गेमिङ क्लब्स र क्यासिनो माहजोङमा नेपाली नागरिकहरू प्रहरीको मिलेमतोमा प्रवेश गरी जुवातास खेल्ने गरेको गुनासो उच्च तहसम्म पुगेपछि प्रहरीले छापामारी गरेको स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार राति करिब ११ः४० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त टोलीले वीरगंजका चार वटा क्यासिनोमा छापा मारेको हो ।
प्रहरीले किङ क्यासिनो, फर्च्युन सिटी गेमिङ क्लब्स र क्यासिनो माहजोङ लगायतका क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा भारत विहार घर बताउने २६ वर्षीय गणेश कुमार, ३८ वर्षीय संदिप कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव, ३६ वर्षीय ओमप्रकाश यादव तथा वीरगंज महानगरपालिका–३२ निवासी ३७ वर्षीय जमुदिन मियाँ अन्सारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरूको साथबाट ५ सय रुपैयाँ बराबरका क्वाइन, नेपाली रुपैयाँ ५ सय ५५, भारतीय रुपैयाँ १ हजार २ सय तथा दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
वीरगंजमा सञ्चालित सबै क्यासिनोमा नेपाली नागरिकको निर्बाध प्रवेश हुँदै आएको स्थानीयको आरोप छ । स्थानीय प्रहरीको संरक्षण र मिलेमतोका कारण यस्तो गतिविधि रोक्न नसकिएको गुनासो बढ्दै गएको बताइएको छ ।
स्रोतका अनुसार काठमाडौंसम्म गुनासो पुगेपछि तथा गृह मन्त्रालयबाट कडा निर्देशन आएपछि प्रहरीले अचानक छापामारी गरेको हो ।
क्यासिनोहरूमा मनोरञ्जनका नाममा युवतीहरू नचाउने, रातभर जुवातास सञ्चालन गर्ने तथा युवाहरूलाई आकर्षित गर्ने गतिविधि बढ्दै गएको स्थानीयले बताएका छन् । यसको असरले वीरगंजकाे लक्ष्मनवा, पिपरा र नगवा क्षेत्र लगायतका सयौँ युवा जुवाको कुलतमा फसेर आर्थिक संकटमा परेको दाबी गरिएको छ ।
कतिपय नेपालीहरूले नक्कली भारतीय आधार कार्ड बनाएर क्यासिनोमा प्रवेश गर्ने गरेको आरोपसमेत स्थानीयले लगाएका छन् । यस्ता गतिविधिबारे प्रहरी र क्यासिनो प्रशासन जानकार हुँदाहुँदै पनि प्रभावकारी कारवाही हुन नसकेको स्थानीयको गुनासो छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३