काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु भएको छ ।
देशभरका ३८७ संस्थाबाट १५ सयभन्दा बढी मतदाता सहभागी छन् । महाधिवेशन तीन दिनसम्म चल्नेछ ।
महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्नेछ । महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदका दाबेदारमा पुण्यप्रसाद सिटौला (सरोज), हरिशरण केसी (हुस) र केदार क्षेत्रीको नाम चर्चामा छ ।
भजनी (कैलाली)- हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको छ । यहाँ विसं २०७७ मा तीन ‘प्याकेज’ मा निर्माण सुरु भएको थियो । २९ किलोमिटर सडकमध्ये हालसम्म दुई प्याकेजका काम सम्पन्न भएका छन्, तर टीकापुरको अस्नेहरी हुँदै खक्रौलासम्मको ११ किलोमिटर सडक पाँच वर्षसम्म सम्पन्न हुन नसक्दा समस्या भएको हो ।
स्थानीय निरा काफ्लेले निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न नहुँदा धुलो र सडकमा रहेका गिट्टीले निकै समस्या भइरहेको गुनासो गरिन् । “धुलोका कारण कार्यालय पुग्दासम्म लुगा र अनुहार कुरुप बन्ने गरेको छ । सडकमा गिटी हालेर छोडेको पनि महिनौँ भयो, जसले गर्दा गाडी चलाउन निकै गाह्रो हुन्छ । यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ”, उनले भनिन् ।
समयमा काम सम्पन्न नहुँदा सडक आसपासमा बसोबास गरिरहेका नागरिकलाई झनै सास्ती छ । गर्मीयाममा धुलो तथा वर्षायाममा हिलोले स्वास्थ्यमा असर र दुर्घटनाको जोखिम रहेको स्थानीय सुन्दरलाल चौधरीले बताए । “गाडी गुड्दा उड्ने धुलो घरभित्रसम्म पुग्छ । त्यहीँ धुलो खानेकुरामा मिसिन्छ”, उनले भने, “पटकपटक ताकेता गर्दा सरोकार भएका पक्षले ध्यान दिँदैनन् । वर्षौंदेखि मारमा परेका छौँ ।”
विसं २०७७ असार १४ गते सम्झौता भएर २०७९ पुस १३ गते सम्पन्न गर्नुपर्ने आयोजनाको म्याद तीनपटक थप भइसकेको छ । अन्तिमपटक थपिएको म्याद पनि गत फागुन २५ गते सकिएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यान्वयन कार्यालय धनगढीका इन्जिनियर प्रमोद चौधरीले जानकारी दिएका छन् ।
रु ३३ करोड २० लाख ६६ हजार ६३० को लागतमा निर्माण सुरु भएको योजनाको काम रायमाझी लाग्वा जगदम्बा जेभीले गर्दै आएको छ । केही वर्ष अर्को ठेकेदारमार्फत आयोजनाको काम गरे पनि समयमा सम्पन्न नभएपछि जेभी आफैँले काम गर्ने कम्पनीका निर्देशक भरत रायमाझीले जानकारी दिए ।
“अरुको भर पर्दा काममा ढिलाइ भएको हो । अब आफैँ खटिन्छौँ”, उनले भने । यस्तै, टीकापुर नगरपालिका–७ सत्ती हुँदै भजनी नगरपालिका—३ ठेकिपुरसम्मको साढे १० किलोमिटर सडकको अवस्था झनै खराब छ । हुलाकी राजमार्गमा पर्ने यो सडकको निर्माण ठेक्का सम्झौता पनि २०७७ सालमै भएको हो ।
चार ‘प्याकेज’मा ठेक्का भएको आयोजनाको तेस्रो ‘प्याकेज’सम्मको काम सम्पन्न भइसकेको छ । समग्रमा सडकको प्रगति ५० प्रतिशत रहेको जनाइएको छ । यस खण्डमा कालिका जोशी जेभीले रु ३२ करोड ६२ लाख ३९ हजार ६३८ मा ठेक्का लिएको थियो ।
भजनी नगरपालिका—८ का कालुराम पाण्डेले यहाँ पनि ठेकेदारको लापरबाहीले काम समयमै सम्पन्न हुन नसकेको बताए । कालिका जोशी जेभीका निर्देशक गणेश जोशीले विगतमा भुक्तानीमा समस्या हुँदा समयमा काम सम्पन्न गर्न नसकिएको जानकारी दिए ।
काठमाडौं- परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छ । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षणई थालेको उक्त कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ जना कर्मचारी ‘टेबुलेसन’मा व्यस्त छन् । वैशाख २९ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ ।
‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ मा परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था छ । गत वर्ष नियमित र स्तरवृद्धितर्फ गरी पाँच लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
भद्रपुर (झापा)- जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । झापाको बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् ।
जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवार सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका बिरामी परेका हुन् ।
बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा प्रारम्भिक उपचारपछि नौ जनालाई दमकस्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले जानकारी दिए ।
उनका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ । यसैबीच, प्रहरीले जङ्गली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ ।
काठमाडौं- मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनअन्तर्गत आज ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाबारे विमर्श भएको छ । सम्मेलनमा स्वदेशी र विदेशी विज्ञ तथा अभियन्ताहरूले संविधानमा व्यवस्था गरिएअनुसार ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई सरकार, निजी क्षेत्र र हरेक परिवारले पालना गर्नुपर्नेमा जोड दिइएका छन् ।
कार्यक्रममा दक्षिण एसियाली ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष छत्र प्रधानले नेपालको संविधानको धारा ४१ मा राज्यबाट ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सुरक्षा तथा धारा ४३ मा आर्थिक रूपमा विपन्न र असहाय नागरिको सामाजिक सुरक्षाको हकको प्रबन्ध गरिएकाले त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । केन्द्र सरकार र विभिन्न स्थानीय तहले सामाजिक सुरक्षा भत्ता, सरकारी अस्पतालमा निःशुल्क सेवा, यातायातमा छुट, घरदैलो स्वास्थ सेवा प्रदान गरिएका बारे कार्यक्रममा अवगत गराइएको थियो ।
बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले पालिकाले नागरिक आरोग्य केन्द्रलगायत ज्येष्ठ नागरिकलाई स्वास्थ्य र सामाजिक सुरक्षामा विशेष महत्व दिएको बताइन् । जनसङ्ख्याविद् प्रा डा पदमप्रसाद खतिवडाले २०५८ मा ज्येष्ठ नागरिकसम्बन्धी नीति र २०६३ मा कानुन आइसकेको उल्लेख गर्दै नेपालले नीतिगत तहमा उदाहरणीय काम गरेको बताए । पूर्वराजदूत उदयराज पाण्डेले समूह र परिवारमा सँगै बस्दा सम्मान, प्रेरणा र सुरक्षा प्रदान गरिनुपर्नेमा जोड दिए ।
जनसङ्ख्या अध्येता चेतन अधिकारीले सञ्चारमाध्यमले राजनीतिक विषयलाई बढी महत्व दिँदा ज्येष्ठ नागरिकका विषय ओझेलमा परेको विश्लेषण गरे । प्रतिष्ठनका कार्यकारी निर्देशक डा दीपेन्द्र श्रेष्ठले दुईदिने सम्मेनलनका निष्कर्षलाई समापनसत्रमा घोषणापत्रका रूपमा सार्वजनिक गरिने जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरिएको उक्त सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वउद्योगमन्त्री केशवप्रसाद बडाल, पूर्वशिक्षामन्त्री रघुजी पन्तलगायत सहभागी थिए । ‘ज्येष्ठ नागरिकको अनुभव लिऔँ, सभ्य समाजको निर्माण गरौँ’ भन्ने नाराका शनिबार सम्मेलन सुरु भएको थियो ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३