KATHMANDU WEATHER
Horizontal Scroll Menu

रास्वपा भित्रको विवाद उत्कर्षमा, जिल्ला अधिवेशन स्थगित गर्न माग

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको आन्तरिक विवाद थप चर्किएको छ। पालिका अधिवेशनदेखि देखिएको गुटगत प्रतिस्पर्धा जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा खुला रूपमा सतहमा आएको हो।

 

पार्टीका संस्थापक जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्त नेतृत्वको समूह र क्षेत्र नम्बर २, ३ तथा ४ का प्रतिनिधिसभा सदस्यहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य निकट समूहबीच लामो समयदेखि शक्ति संघर्ष चलिरहेको बताइन्छ।

 

यसअघि जेठ १७ गते सम्पन्न वीरगंज महानगरपालिकाको प्रथम अधिवेशनमा समेत दुवै पक्षबीच कडा प्रतिस्पर्धा देखिएको थियो। उक्त निर्वाचनमा पन्त पक्षका उम्मेदवार महमद महुदीन आलमलाई ४७ मतान्तरले पराजित गर्दै सांसद कानु, चौरसिया र शाक्य समर्थित उम्मेदवार दीपराज पटेल विजयी भएका थिए।

 

यही पृष्ठभूमिमा आइतबार तय गरिएको प्रथम जिल्ला अधिवेशनअघि शनिबारदेखि सुरु भएको निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै एक पक्षले अधिवेशन स्थगित गर्न माग गरेको छ।

 

वीरगंजस्थित होटल गेटवेमा जारी निर्वाचन प्रक्रियाकै क्रममा शनिबार अपराह्न सांसदत्रय कानु, चौरसिया र शाक्य पक्षका नेता–कार्यकर्ताले मधेश प्रदेश उपसभापति राधिका न्यौपाने साह कलवार तथा संगठन विभागका उपप्रमुख प्रमोदकुमार रायमाझीलाई ज्ञापनपत्र बुझाएका हुन्।

 

ज्ञापनपत्र बुझाउने टोलीमा पार्टी सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधीर पटेल तथा क्षेत्रीय सभापति राम आर्यलगायत सहभागी थिए।

 

असन्तुष्ट पक्षले जिल्लाका १४ वटै पालिका तथा विभिन्न विभागबाट प्रतिनिधि चयन गर्ने क्रममा पार्टी विधान र निर्धारित प्रक्रियाको पालना नभएको आरोप लगाएको छ। उनीहरूको दाबी अनुसार जिल्ला नेतृत्वले एकलौटी ढंगले आफ्ना निकट व्यक्तिहरूलाई प्रतिनिधि बनाउँदै अधिवेशनको संरचना प्रभावित पार्ने प्रयास गरेको छ।

 

पार्टी सदस्य महादेवप्रसाद कुर्मीले प्रतिनिधि छनोट प्रक्रिया पारदर्शी र विश्वसनीय नभएको आरोप लगाउँदै तत्काल अधिवेशन स्थगन गरी विवादित विषयहरू समाधान गर्नुपर्ने माग गरे। उनका अनुसार विभिन्न विभाग कहिले, कसरी र कुन आधारमा गठन गरिए भन्ने विषय स्पष्ट नभएको तथा सम्बन्धित निर्णय र माइन्युट सार्वजनिक नगरिएकाले कार्यकर्ताबीच आशंका बढेको छ।

 

यता जिल्ला सभापति तथा सांसद हरि पन्तले भने प्रतिनिधि चयन प्रक्रियामा कुनै प्रकारको अनियमितता नभएको बताएका छन्। उनले सम्पूर्ण प्रक्रिया पार्टी विधान, केन्द्रीय निर्देशन र निर्धारित कार्यतालिका अनुरूप अघि बढाइएको दाबी गर्दै निर्धारित मितिमै जिल्ला अधिवेशन सम्पन्न हुने स्पष्ट पारे। निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको उल्लेख गर्दै उनले कार्यकर्ताहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन्।

 

रास्वपा पर्साको नयाँ नेतृत्व चयनका लागि हुने जिल्ला अधिवेशनमा हालसम्म संस्थापक सभापति हरि पन्त र प्रतिनिधिसभा सदस्य सुशील साह कानु सभापति पदका प्रमुख आकांक्षीका रूपमा देखिएका छन्। अधिवेशनको पूर्वसन्ध्यामा देखिएको विवादले नेतृत्व चयनको प्रतिस्पर्धालाई थप रोचक र चुनौतीपूर्ण बनाएको राजनीतिक वृत्तमा चर्चा छ।

वीरगन्ज युथ कमिटीले आयोजना गरेको निःशुल्क शिविरबाट ३ सय ५० जना लाभान्वित

वीरगन्ज,२३जेठःवीरगन्ज–१० स्थित रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५० बढी विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । वीरगन्ज यूथ कमिटीले शुक्रबार विद्यालय परिसरमै आयोजना गरेको निःशुल्क आँखा तथा दन्त परीक्षण शिविरबाट विद्यार्थीहरु लाभान्वित भएका हुन् ।

 

वीरगन्ज यूथ कमिटीले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको उक्त शिविरमा मनोकामना डेन्टल क्लिनिक र वीरगन्ज सामुदयिक आँखा केन्द्रले प्राविधिक सहयोग गरेका थिए । ्

वीरगन्ज युथ कमिटीका संस्थापक अध्यक्ष विक्कीकुमार गुप्ताले आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने बताए।

बिवाइडी कार जाँचपास प्रकरण: रसुवागढीका भन्सार प्रमुख भट्टराईसहित नौ कर्मचारी जिम्मेवारीमुक्त

काठमाडौं। कर छलीको आशंकामा सशस्त्र प्रहरी बलले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका बिवाइडी ब्रान्डका विद्युतीय सवारी साधनहरूमाथि अनुसन्धान जारी रहेकै बेला अर्थ मन्त्रालयले ठूलो कदम चालेको छ।

 

मन्त्रालयले रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित नौ जना कर्मचारीहरूलाई जिम्मेवारीमुक्त गरेको छ। भन्सार यार्डमा सवारी साधन नै आइ नपुगी चीनतर्फकै भूभागमा गएर गाडीको जाँचपास गराएको भन्ने गम्भीर सूचना प्राप्त भएपछि भन्सार प्रमुख भट्टराईसहितका कर्मचारीहरूलाई जिम्मेवारीमुक्त गरेर भन्सार विभाग तानिएको हो।

 

अर्थ मन्त्रालयका जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले यस प्रकरणमा भन्सार प्रमुखसहित नौ जनालाई जिम्मेवारीमुक्त गरी विभाग तानिएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार यस विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्मिलित संयुक्त अनुसन्धान टोलीले विस्तृत छानबिन गरिरहेको छ।

 

यस संवेदनशील घटनालाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, भन्सार विभागका महानिर्देशक र मन्त्रालयका उच्च अधिकारीहरूबीच गम्भीर छलफल भएको र गहन अनुसन्धानका क्रममा दोषी देखिएका जोकोहीलाई पनि कडा कारबाही गर्न अर्थमन्त्री प्रतिबद्ध रहनुभएको सल्लाहकार ढुंगानाले स्पष्ट पार्नुभएको छ।

 

सशस्त्र प्रहरीले राजस्व छलीको आशंकामा देशका विभिन्न स्थानबाट हालसम्म ७ सय ७९ वटा बिवाइडी गाडीहरू नियन्त्रणमा लिइसकेको छ। यति ठूलो संख्यामा रहेका गाडीका सम्बन्धमा विस्तृत र निष्पक्ष छानबिन गर्न सरकारले एक विशेष समितिसमेत गठन गरेको छ।

 

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले छानबिन समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थलमै पुगेर द्रुत गतिमा स्थलगत अध्ययन सुरु गरिसकेको जानकारी दिनुभएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनको संख्या निकै ठूलो भएकाले राजस्व र भन्सार सम्बद्ध सबै कानुनी कागजातहरूको सुक्ष्म अध्ययन तथा प्रमाणीकरण गर्न केही समय लाग्न सक्ने विज्ञ दाहालले उल्लेख गर्नुभएको छ।

चेकिङको नाममा खुला असुली ! तेलकुवा ट्राफिक पोष्टमाथि गम्भीर आरोप भिडियाे ले प्रमाणित गर्दैै

बारा जिल्लाको कलैया–बरियारपुर सडक खण्डस्थित अस्थायी ट्राफिक पोष्ट तेलकुवामा कार्यरत ट्राफिक प्रहरी माथि चेकिङको नाममा खुलेआम असुली तथा लुटधन्दा चलाएको गम्भीर आरोप सार्वजनिक भएको छ ।

 

स्थानीय स्रोतका अनुसार सो पोष्टका इन्चार्ज ट्राफिक प्रहरी हवलदार मौजेलाल जयसवाल र ट्राफिक सहायक हवलदार अर्जुन कुमार यादवले विशेषगरी भारतीय नम्बर प्लेटका मोटरसाइकल, कार तथा धान लोड गरेका टयाक्टरहरुलाई अनावश्यक दुःख दिँदै रकम असुल्ने गरेको आरोप छ ।

 

आजको काठमाडौँ बुलेटिन सँस्था द्वारा सार्वजनिक गरिएको भिडियाेले त्यस क्षेत्रको वास्तबिक बिषय झल्काएको देखिन्छ। भिडियाे मा गरीएको कुराकानी र हातमा रहेको १०० रुपैयाँको रकमले हुने गतिविधी लाई नै प्रष्ट पारेको छ। 

 

 सामान्य कागजी प्रक्रिया वा सानो –सानो बहाना बनाई सवारी साधन रोकी चालकहरू माथि दबाब सिर्जना गरी रकम असुल्ने कार्य भइरहेको बताइएको छ ।आरोप अनुसार, अस्थायी ट्राफिक पोष्ट तेलकुवाले दैनिक रूपमा चेकिङको नाममा करिब १५ हजार रुपैयाँसम्म असुली गर्ने गरेको स्थानीयहरुले दाबी गरेका छन् । साथै, माथिल्लो तहसम्म मासिक ‘भागबण्डा’ बुझाउनुपर्ने दबाबका कारण यस्तो अवैध गतिविधि बढ्दै गएको समेत बताएका छन् ।

 

ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख दीपक केसीलाई सो ट्राफिक पोष्टबाट मासिक १० हजार रुपैयाँ बुझाउनुपर्ने बाध्यता रहेको ट्राफिक प्रहरी स्रोतले दाबी गरेको छ ।यस प्रकारको गैरकानुनी क्रियाकलाप प्रति सरोकारवाला निकायको ध्यान नगएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । 

 

ट्राफिक प्रहरीको यस्तो गतिविधि तुरुन्त रोक्न र दोषी प्रहरीहरु माथि कडा कारबाही गर्न स्थानीयहरुले सम्बन्धित निकाय सँग माग गरेका छन् ।ट्राफिक प्रहरीले चेकिङ्गको नाममा सर्वसाधारणलाई दुःख दिने र रकम असुलने कार्य बन्द गरी असुली कार्यमा संलगन माथि तत्काल छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाए आन्दोलन गर्न बाध्य हुने स्थानियले जानकारी गराए।

नम्बर प्लेट लेखन सम्बन्धी विशेष अभियान, ११ सवारी साधन नियन्त्रणमा ।

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी साधनमा नम्बर प्लेट स्पष्ट राख्नुपर्ने नियम कार्यान्वयनका लागि विशेष अभियान सञ्चालन गरेको छ।

 

 

 

मिति २०८३ जेठ २१ गते रतुवामाई नगरपालिका–४ स्थित आमबारी चोकको हुलाकी सडक खण्डमा प्रचौ झुर्किया मोरङ र अस्थायी ट्राफिक प्रहरी पोस्ट दाम्राभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधनहरूको चेकजाँच गरेको थियो।

 

चेकजाँचका क्रममा नम्बर प्लेट नभएका, मेटिएका तथा स्पष्ट रूपमा नदेखिने ११ वटा बस, माइक्रोबस, ट्रक, ट्याक्टर, टिपर तथा दुईपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ती सवारी साधनका नम्बर प्लेट तत्काल स्पष्ट रूपमा लेख्न लगाइएको थियो।

 

साथै, नम्बर प्लेट स्पष्ट नहुँदा हुने जोखिम, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालनाको महत्वबारे चालकहरूलाई सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ।

 

ट्राफिक प्रहरीले सुरक्षित यात्राका लागि सवारी साधनमा नम्बर प्लेट स्पष्ट राख्न र ट्राफिक नियमहरूको पूर्ण पालना गर्न सबै सवारी चालकलाई आग्रह गरेको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३