वीरगञ्ज । यातायात व्यवस्था कार्यालय वीरगञ्जमा मोटरसाइकल नामसारीका लागि पुगेका एक सेवाग्राही प्रहरी नियन्त्रणमा परेपछि कार्यालयको सेवा प्रवाह र प्रशासनिक कार्यशैलीमाथि पुनः प्रश्न उठेको छ। घटनापछि कार्यालय प्रमुख कुशेश्वर साहको नेतृत्वलाई लिएर पनि विभिन्न टिप्पणी हुन थालेका छन्।
प्राप्त जानकारीअनुसार वीरगञ्ज महानगरपालिका–१२ निवासी रामकुमार महतो मोटरसाइकल नामसारीका लागि आवश्यक कागजातसहित कार्यालय पुगेका थिए। उनले नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्र तथा अन्य उपलब्ध कागजातका आधारमा नामसारी प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरेका थिए।
सेवाग्राही पक्षका अनुसार कार्यालयका कर्मचारीसँग भएको विवादपछि प्रहरी बोलाइएको थियो। त्यसपछि महतोलाई नियन्त्रणमा लिई उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको बताइएको छ।
यता प्रहरीका अनुसार सेवाग्राहीले कार्यालयको नियमित कामकाजमा अवरोध पुर्याउने तथा होहल्ला गर्ने गतिविधि गरेपछि नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको हो। वडा प्रहरी कार्यालय श्रीपुरले सोही आधारमा अनुसन्धान भइरहेको जनाएको छ।
घटनापछि यातायात व्यवस्था कार्यालय वीरगञ्जको सेवा प्रवाह, सेवाग्राहीसँग गरिने व्यवहार तथा प्रशासनिक निर्णय प्रक्रियामाथि विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन्। केही स्थानीयले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउनुको सट्टा अनावश्यक दबाब र नियन्त्रणको वातावरण सिर्जना भएको आरोप लगाएका छन्।
यसअघि पनि कार्यालय प्रमुख कुशेश्वर साहसँग सम्बन्धित विवाद सार्वजनिक भएको भन्दै आलोचना हुने गरेको छ। करिब एक महिनाअघि यातायात कार्यालयमा भइरहेको भनिएको अनियमितता तथा भ्रष्टाचारसम्बन्धी केही प्रमाण सार्वजनिक गरेका हरिवंश साहलाई पनि पक्राउ गराइएको आरोप लागेको थियो। उक्त आरोपबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भएको छैन।
कलैया । बाराको महागढीमाई नगरपालिका–९, प्रिपरा बिर्तामा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार साँझ करिब ५ बजे आफ्नै खेतबाट घर फर्किने क्रममा अचानक परेको चट्याङ लाग्दा स्थानीय कपिलदेव साहकी करिब १२ वर्षीया छोरी सन्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको हो।
उक्त घटनामा स्थानीय मन्टु दासकी करिब ३० वर्षीया श्रीमती सरिता देवी दास घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। सामान्य उपचारपछि उनी डिस्चार्ज भएर घर फर्किएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको कमाण्डमा एउटा टोली तथा प्रहरी चौकी तेलकुवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी फर्किएको जनाएको छ।
१७ असार, काठमाडौँ । नेपाल आयल निगमले उपभोक्तालाई ठुलो राहत दिँदै पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार घटेर आएपछि निगमले आज बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास (एलपी ग्यास) को मूल्य उल्लेख्य मात्रामा घटाएको हो ।
नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ कटौती गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा र डिजेलमा २९ रुपैयाँ ४६ पैसा मूल्य घटेर आएपछि निगमले सोही अनुरूप मूल्य समायोजन गरेको हो ।
विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आए पनि स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुन नसकिरहेका बेला निगमले यो पटक भने उपभोक्तालाई प्रत्यक्ष फाइदा पुग्ने गरी मूल्य घटाएको हो ।
इन्धनसँगै आम उपभोक्ताको भान्छासँग जोडिएको खाना पकाउने एलपी ग्यासको मूल्यमा समेत प्रतिसिलिन्डर (१४.२ केजी) एक सय रुपैयाँ घटाइएको छ । यसअघि प्रतिसिलिन्डर दुई हजार एक सय ६० रुपैयाँ रहेको ग्यासको मूल्य अब उपभोक्ताले दुई हजार ६० रुपैयाँमै पाउनेछन् ।
यसैगरी, निगमले आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ घटाएसँगै अब नयाँ मूल्य प्रतिलिटर दुई सय २९ रुपैयाँ कायम भएको छ । आईओसीबाट हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा मूल्य घटेर आएको थियो ।
निगमले अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा पनि ठुलो कटौती गरेको छ । काठमाडौंका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर दुई सय ६५ अमेरिकी डलरले घटाएर एक हजार ५ सय ६६ डलर कायम गरिएको छ ।
उता पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको हकमा भने हवाई इन्धनको बिक्री मूल्य ‘ब्रेकइभन पोइन्ट’ (नाफा घाटा नहुने बिन्दु) मा कायम गरिएको निगमले जनाएको छ । जसअनुसार अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पोखरामा एक हजार एक सय डलर र भैरहवामा एक हजार ८५ डलर तोकिएको छ ।
निगमद्वारा जारी विज्ञप्तिमा हाल पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधार र आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएकाले सोही आधारमा स्थानीय बजारमा मूल्य समायोजन गरिएको जनाएको छ ।
वीरगंज १६ असार। सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म भन्सार वीरगंजका घुमुवा सशस्त्र प्रहरी सहायक हवलदार पशुपति दुबेको कारण सर्वसाधारण आतंकित बन्न पुगेका छन् भने तस्करहरु मालामाल हुदै गएका छन् ।
सशस्त्र प्रहरी गुल्म भन्सारका प्रहरी नायब उपरीक्षक विकास अधिकारीको प्रिय पात्रका रुपमा रहेका बिवादित घुमुवा पशुपति दुबेले नेपालबाट नेपालमै कुनै सामग्रीहरु ल्याउँदा विभिन्न बहाना बनाई डर धाक देखाई रकम असुल्ने गरेको घटना सार्वजनिक भएको छ ।
घटना गत बिहिवारको हो । वीरगंज महानगरपालिका वडा नं. १६ भिस्वा बस्ने पिंटु कुमार सोनी सहित ३ जनाले नेपालको विभिन्न स्थानहरुबाट कबाडको सामग्रीहरु खरिद गरी वीरगंजमा रहेका कबाडहरुमा विक्री गर्ने गरेका छन् । सोही क्रममा गत बिहिवार पिंटु कुमारले नेपालको मिर्चैया, गोलबजार, कटारी लगायतका स्थानहरुबाट बिग्रेका टिभी, युपिएसका किटहरु खरिद गरी बसबाट वीरगंज बसपार्कमा करिब राती ९ बजे ओर्ले । वीरगंज बसपार्कमा ओर्लेपछि एउटा टेम्पोमा सो सामानहरु लोड गरी वीरगंजको गहवा स्थित दुर्गाहल नजिकै रहेको कोठामा राख्न पुगे ।
सोही क्रममा सशस्त्र प्रहरी गुल्म भन्सारका घुमुवा पशुपति दुबे र सुनिल यादव पुगी टेम्पो सहितका कबाडका सामग्रीहरु कहाँ बाट ल्याएको भनि सोधखोज गर्दा पिंटुले नेपालबाटै एक–दुई वटा गरी खरिद गरी ल्याएको र यही बेंच्छु भन्दा घुमुवा दुबेले अनावश्यक झमेला खडा गरी रकमको मोरमोलाई गरे । पिंटुले हामीहरु नेपालबाटै किनेको र नेपालमै बेंच्ने हो, १०÷११ हजारको मात्र कबाडको सामान हो भन्दै पैसा दिन अस्विकार गरे पछि घुमुवा दुबेले टेम्पो सहित कबाडका सामानहरु सशस्त्र प्रहरी गुल्म भन्सारमा लगे ।
त्यहाँ लगेपछि घुमुवा दुबे र यादव सम्पर्क बिहिन बने पछि पिंटु सहितका व्यक्तिहरु सो समय गुल्ममा रहेका सशस्त्र प्रहरीका सई सुरेश घलान लगायतका प्रहरीहरु सँग हारगुहार गर्दा समेत कुनै सुनवाई नभए पछि घर फर्के ।
भोली पल्ट शुक्रवार पिंटु पुनः गुल्ममा पुग्दा वीरगंज छपकैया निवासी कबाडका तस्कर शेख तमन्ना सँग भेट भयो । तमन्नाले बिचौलिय बनी म तिमीहरुको गाडी र कबाड छोडाई दिन्छु भन्दै पिंटु सँग ५ हजार लिए र सशस्त्रका सई घलानलाई रकम बुझाए पछि टेम्पो दिउँसो करिब ३ः३० बजे छुट्यो तर कबाड भने हालसम्म गुल्म मै राखिएको पिंटुले गुनासो गरे ।
तमन्नाले आज, भोलीमा कबाड छोडाई दिन्छु भन्दै पिंटु सँग बारम्बार वाचा गरेपनि हालसम्म कबाडहरु नछुटेको पिंटुले बताए । पिंटु सँग तमन्नाले कबाड छोडाई दिने भन्दै रकम लिएको र सो रकम सई घलान सरलाई दिएको भनि फोन मार्फत कुरा गरेको अडियो रेकर्डहरु यस अनलाईन सँग सुरक्षित रहेको छ ।
पाठकवृन्द, नेपालको विभिन्न स्थानहरुमा घुमी–घुमी एकाधवटा कबाडको सामान किनी नेपालमै बेंचेर आफ्नो जिवनयापन गर्ने व्यक्तिहरुलाई यसरी दुःख दिन मिल्छ ?
सीमावर्ती जिल्ला पर्सामा सशस्त्र प्रहरी भित्रकै केही ‘घुमुवा’को गतिविधिले तस्करी मौलाएको भन्दै गम्भीर आरोपहरू सार्वजनिक हुदै आएको छ ।
सुशासनको नारा बोकेको बालेन नेतृत्वको सरकारका गृह मन्त्री सुधन गुरुङबाट तस्करी नियन्त्रणका लागि कडाइ गर्ने निर्देशन आए पनि व्यवहारमा त्यसको प्रभाव कमजोर देखिएको भन्दै स्थानीय स्तरमा प्रश्न उठ्न थालेको छ ।
सशस्त्र प्रहरी संगठनको निति नियमलाई धज्जी उडाउदै अवैध रकमको लागि गरिखाने निम्न वर्गका व्यक्तिहरुलाई दुःख दिने, मार्ने काम गरेका बदनाम घुमुवा पशुपति दुबे र सुनिल यादव माथि सशस्त्र प्रहरीको माथिल्लो निकायबाट कारवाही गर्न पिंटुले माग गरेका छन् ।
वीरगंज भन्सार क्षेत्रबाट रातीको समयमा तस्करहरु सँग बदनाम घुमुवा दुबेले महिनवारी लिई निर्वाध रुपमा तस्करी गराई रहेको समाचार स्रोतले जनाएको छ । घुमुवा दुबेले सर्वसाधारणहरुले आफ्नो घरायसी प्रयोजनका लागि सामानहरु ल्याउँदा रोकी दुःख दिईरहेका छन् भने भन्सार मातहतमा पर्ने ईनर्वा, छपकैया, श्रीसिया, ड्राईपोर्ट नाकाहरुबाट घुमुवा दुबेलाई मासिक नजाराना बुझाएर दिनहुँ रातीको समयमा कपडा, हार्डवेयर, किराना, स्याउ, रक्सी, माछा लगायतका सामग्रीहरु निर्वाध रुपमा तस्करी भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घुमुवा दुबेले सर्वसाधारणहरुलाई दुःख दिईरहेको र तस्करहरुलाई छुट दिने गरेको भन्दै सशस्त्र प्रहरीको माथिल्लो निकायमा गुनासाहरु बढे पछि उनलाई केही दिनका लागि सशस्त्र प्रहरी बल १३ नं. गणमा तानिएको थियो तर पछि सशस्त्रका प्रहरी अधिकृतहरु सँग साँठगाँठ गरी पुनः भन्सारमै घुमुवाको रुपमा खटाईएको प्रहरी स्रोतको भनाई रहेको छ ।
गत शनिवार नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ्ग प्रहरी प्रशासनलाई खबरै नगरी पर्साको विभिन्न नाकाहरुको अनुगमन गर्दा तस्करी बारे स्थानियहरु सँग राम्ररी बुझी प्रजिअ र प्रहरी उपरीक्षकहरुलाई पूर्ण रुपमा तस्करी रोक्न निर्देशन दिएको भए पनि सशस्त्र प्रहरी गुल्म भन्सार क्षेत्रबाट बदनाम घुमुवा दुबे र यादव जस्ता प्रहरीहरुको सेटिङ्गमा निर्वाध रुपमा तस्करी भई रहेको स्थानियहरुको भनाई रहेको छ ।
यस तर्फ गृहमन्त्री र सशस्त्र प्रहरी महानिरीक्षकको ध्यान पुग्न अति आवश्यक रहेको स्थानियहरुको माग रहेको छ । समाचार स्रोत साभार - dainikbirgunj.com
दृष्टिविहीन व्यवसायीहरू विगत नौ दिनदेखि माइतीघरमा धर्नामा छन् ।
सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका उनीहरू सरकारले व्यवसाय गर्न नदिएको कारण धर्नामा बस्नुपरेको बताउँछन् ।
सरकारले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यवसायीहरूको उचित व्यवस्थापन गर्नुपर्ने या आफूले गरेको व्यवसायलाई निरन्तरता दिन पाउनुपर्ने उनीहरूको माग छ ।
सरकारले वेवास्ता गर्दा पनि आफूहरू विभिन्न पेशा व्यवसाय गरेर जिविकोपार्जन गरिरहेको अवस्थामा फेरि रकार तगारो बनेर उभिएको उनीहरूको गुनासो छ ।
धर्नामा सहभागी दृष्टिविहीन विष्णु उपाध्याय दृष्टिविहीनहरू आधारभूत अधिकार सुनिश्चित गर्नका लागि पनि धर्नामा बस्नुपर्ने अवस्था आएको बताउँछन् ।
उनकाअनुसार दृष्टिविहीन नागरिकका लागि गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नु सरकारको दायित्व हो । तर सरकारले आफैँ स्वरोजगार भईरहेकाहरुलाई पनि दुःख दिने गरेको उहाँको भनाइ छ ।
सकारले सम्मानजनक ढंगले दृष्टिविहीनहरूको व्यवस्थापन गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनको माग छ ।
- वीरगंज महानगरपालिकाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम सम्पन्न
- होर्मुजमा फेरि बल्झियो युद्धको घाउ, धरापमा अमेरिका-इरान युद्धविराम
- सरसफाइकर्मीको आन्दोलनबारे कार्यवाहक प्रमुख आलमको तत्काल समाधान गर्न निर्देशन
- भेनेजुएलाको भूकम्पमा देखिएको हृदयविदारक घट्नाः छोरीलाई बचाउन भग्नावशेषमुनि च्यापिएकी आमाको मृत्यु
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
