काठमाडौं । नेपालमा परेको भारी वर्षा र बाढीको असर अब भारतका सीमावर्ती क्षेत्रहरूमा पनि देखिन थालेको छ। उत्तर प्रदेशको महाराजगञ्जमा गण्डकी (नारायणी) नदीबाट चार वटा र कुशीनगरबाट तीन वटा शव फेला परेका छन्।
अधिकारीहरूका अनुसार फेला परेका शवहरूमा पाँच जना महिला र दुई जना पुरुष रहेका छन्। नेपालमा आएको भीषण बाढीका क्रममा नदीले बगाएका यी शवहरू तीव्र बहावसँगै भारततर्फ बगेर आएको आशङ्का गरिएको छ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा गस्ती तथा निगरानी गर्ने क्रममा ती शवहरू बगिरहेको देखेको थियो।
उद्धार टोलीले मोटरबोटको सहायताले शवहरूलाई नदीबाट बाहिर निकाली महाराजगञ्ज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ। हालसम्म मृतकरूको पहिचान भने हुन सकेको छैन।
निचलौल तहसीलका उपजिल्लाधिकारी सिद्धार्थ गुप्ताले बीबीसी हिन्दीसँग भने, “बिहीबार दिउँसो गण्डक नदीबाट चार वटा शव फेला परेका छन्। जसमा तीन जना महिला र एक जना पुरुष छन्। यी शवहरू माथिल्लो तटीय क्षेत्र अर्थात् नेपालबाट बगेर आएको बलियो सम्भावना रहेको छ।”
उनले अगाडि भने, “हालसम्म शवहरूको पहिचान हुन सकेको छैन। हामी निरन्तर नेपाली प्रशासनको सम्पर्कमा छौँ। नदी किनारमा एसडीआरएफ, आरआरटी र एसएसबीका टोलीहरूले लगातार निगरानी गरिरहेका छन्।”
मृतकहरूको पहिचान गर्न र उनीहरूका आफन्तको खोजीका लागि एसएसबी, महाराजगञ्ज र कुशीनगर जिल्ला प्रशासन नेपालका सम्बन्धित अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेका छन्।
कुशीनगरका थप प्रहरी उपरीक्षक सिद्धार्थ वर्माले बीबीसी हिन्दीलाई दिएको जानकारी अनुसार, “कुशीनगरमा दुई महिला र एक पुरुष गरी तीन वटा शव फेला परेका छन्। तीनै वटा शवलाई फ्रिजरमा सुरक्षित राखिएको छ र पहिचानको प्रक्रिया अघि बढाइएको छ।”
नेपालमा भएको भारी वर्षा र बाढीका कारण गण्डकी नदीको बहाव निकै तीव्र छ। आउँदा दिनहरूमा अझै अन्य शवहरू भारततर्फ बगेर आउन सक्ने आशङ्का अधिकारीहरूले गरेका छन्।
महाराजगञ्ज र कुशीनगर प्रशासनले नदी तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
इलाका प्रहरी कार्यालय पोखरीयाको मातहत पर्ने बिन्दवासिनी प्रहरी चौकीका इन्चार्ज असई यादवको आर्थिक असुली आतंक मच्चाएको आरोप चौतर्फी चर्चाको बिषय बनेको छ। लत्ताकपडा को तस्कर देखि भैसी व्यापरी सम्म लाखौंको महिनवारी बुझेको आरोप अहिले लाग्दै आएको छ।
पर्साको ग्रामीण क्षेत्र र शहरी क्षेत्र जोड्ने मुख्य चौकमा पर्ने बिन्दवासिनी प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक प्रमोद यादव माथि सर्वसाधारण, सवारी चालक तथा व्यापारीसँग खुल्लमखुल्ला अवैध रकम असुल्ने गरेको आरोप लागेको छ।
भारतसँग जोडिएका मुख्य नाकाहरु अमरपाटी, प्रसौनी भाठा, सबैठवा, भिस्वा, जनकिटोला तथा लगायतका नाकाबाट भित्रिने लत्ताकपडा , हार्डवेयर , काजु, भारतीय खाद्य देखि भैसी व्यापारीहरूबाट मासिक १० हजारदेखि २५हजार रुपैयाँसम्म रकम असुलिने गरेको स्रोतको दाबी तथा स्थानीयको आरोप समेत रहेको छ।
त्यस्तै पर्साको वार्वा नाका देखि भिस्वा नाका र जानकीटोला बाट आउने अनेकौँ बस हरूमा कपडा लगाएत विभिन्न वस्तुहरू लुकाई छिपाई ल्याउने बसका चालक तथा तस्कर समूहले मोटो रकमको नजराना बुझाउँदै आएको कुरा पनि उठेको छ।
सीमावर्ती नाकाबाट अवैध रूपमा भित्रिएका सामान विरगन्ज सम्म पुग्ने क्रममा तिलावे पुल नजिक पोस्टमा नियन्त्रणमा लिएर रकम लिएपछि छाड्ने गरिएको स्रोतको दाबी छ। यसले तस्करी नियन्त्रणमा प्रहरीको भूमिका नै प्रश्नको घेरामा परेको स्थानीयको आरोप छ।
स्थानीय स्रोतका अनुसार बिन्द्वासनी चौकीको क्षेत्रमा पर्ने ठाउँमा चेकजाँचको नाममा आयआर्जनको माध्यम बनाइएको भन्दै व्यापक गुनासो बढ्दै गएको छ। तिलावे पुलमा विभिन्न बहानामा सवारीसाधन रोकी प्रतिगाडी १०० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म रकम असुली गरिने आरोप छ। रकम नदिने सवारी चालकलाई अनावश्यक दुःख दिने, लामो समयसम्म रोकेर राख्ने तथा कागजातमा अनावश्यक त्रुटि खोज्ने जस्ता व्यवहार हुने गरेको उनीहरूको भनाइ छ। यस लुटतन्त्र मच्चाउनमा ट्राफिक प्रहरी पनि पछि हटेका छैनन्।
बिन्दवासिनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रमोद यादव आर्थिक असुलीको कारोबार व्यवस्थापनका लागि आफै घुमुवा र आफैं इन्चार्ज को डबल भूमिका निर्वाह गर्दै आएका त्यस क्षेत्रका स्थानिय जानकारी गराउँछन्। असई यादवले दिन त दिन रातभरि आफैं अनेकौँ ठाउँमा पुगी रक्सी भठ्ठी देखी तस्कर र तस्करीको सामान बिक्री गर्ने पसलहरूमा पुगी आफैं रकम असुली गर्ने गरेका छन्।
त्यस क्षेत्रमा रहेका पसल हरु जसले राजस्व तिर्दै र बजारबाट सामान किनमेल गरी बिक्री गर्ने हरूको अहिले व्यापार चौपट भएको छ। केही पसले हरुले सिधै तस्कर सँग सामान ओसापसार गराएर कम मूल्यमा बिक्री गर्दा सरकारलाई कर तिर्ने पसलहरुको ब्यापार अहिले तलो स्तरमा पुगेको त्यस क्षेत्रका पसले जानकारि गराउँछन्।
स्थानीयको भनाइ अनुसार शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरी नै तस्कर सँग हातमा हात जोडी तस्करी गराइरहेको र प्रहरीनै तस्करको रक्षक बनेको जसले गर्दा तस्करको मनोबल उच्च बढेको छ।
स्थानीय व्यवसायी तथा सर्वसाधारणले यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्सा, मधेश प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी प्रधान कार्यालयले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी प्रमाणित भए कानुनबमोजिम कारबाही गर्न माग समेत गरेका छन्।
कलैया, बारा ।
रसुवामा आएको विनाशकारी बाढीपछि बारा जिल्लासँग सम्बन्धित १५ जना पुरुष सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक गरेको विवरणअनुसार उनीहरू रोजगारी, सरकारी सेवा तथा मालसामान ढुवानीलगायत विभिन्न कामको सिलसिलामा रसुवा पुगेका थिए।
भदौ १० गते बुधबार बिहान रसुवा जिल्लामा आएको बाढी तथा त्यसपछिको विपद्का कारण उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेको प्रशासनले जनाएको छ। सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित सुरक्षा निकायसँग समन्वय भइरहेको छ।
सम्पर्कविहीन हुनेमा को–को छन् ?
जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेहरूमा मदन स्याङबो लामा रहेका छन्। उनको उमेर खुलाइएको छैन। विवरणमा उनको ठेगाना मकवानपुरको छतिवडा गाउँपालिका–४, नयाँ डमर उल्लेख गरिएको छ। उनी जिल्ला प्रहरी कार्यालय रसुवामा प्रहरी नायब निरीक्षकका रूपमा कार्यरत रहेको जनाइएको छ।
परवानीपुर गाउँपालिका–५, बहुअरी निवासी ३५ वर्षीय नम नारायण सिंह रसुवा भन्सारमा ट्रक लिएर गएको अवस्थामा सम्पर्कविहीन भएका छन्।
त्यस्तै, कलैया उपमहानगरपालिका–२२, धोध टोलका २३ वर्षीय सत्य प्रकाश राम रसुवामा रहेको अवस्थामा सम्पर्कविहीन भएका छन्। आदर्श कोतवाल गाउँपालिका–१, चिउटाहाका २३ वर्षीय अंकित पटेल पनि रसुवामै रहेको अवस्थामा सम्पर्कविहीन भएका हुन्।
प्रसौनी गाउँपालिका–३का जितेन्द्र कुमार दास र कलैया उपमहानगरपालिका–२३का श्रीनिवास मण्डल पनि रसुवामा रहेका बेला सम्पर्कविहीन भएका छन्।
त्यसैगरी, जीतपुरसिमरा उपमहानगरपालिका–१६का रजित श्रेष्ठ त्रिशूली हाइड्रोपावर, रसुवामा काम गर्ने क्रममा सम्पर्कविहीन भएका छन्। करैयामाई गाउँपालिका–२का ३० वर्षीय धिरज चौधरी पनि रसुवामै रहेको अवस्थामा सम्पर्कविहीन भएका छन्।
सुवर्ण गाउँपालिका–५, औरैयाका रुपेश कुमार साह नौकुण्ड गाउँपालिका, रसुवामा कार्यरत रहेको अवस्थामा सम्पर्कविहीन भएका छन्। त्यस्तै, सुवर्ण गाउँपालिका–४, हरहियाका रमेश कुमार यादव पनि रसुवामा रहेका बेला बाढीपछि सम्पर्कविहीनको सूचीमा परेका छन्।
निजगढ नगरपालिका–९, शान्तिटोलका ३९ वर्षीय राज विष्ट त्रिशूली हाइड्रोपावरमा काम गर्ने क्रममा सम्पर्कविहीन भएका छन्। सोही वडाका दिनेश परिवार ट्रक–कन्टेनर चालक हुन्। उनी रसुवाबाट सामान ढुवानीका लागि गएको अवस्थामा सम्पर्कविहीन भएका जनाइएको छ।
कलैया उपमहानगरपालिका–६, आदर्शटोलका २८ वर्षीय देवेश भट्टराई अपर त्रिशूली–३बी परियोजनाको पहिरेबेँसी प्रोजेक्ट साइटमा कार्यरत रहेको अवस्थामा सम्पर्कविहीन भएका छन्।
सुवर्ण गाउँपालिका–१का २२ वर्षीय सुरज कुमार साह रसुवास्थित श्रीनाथ गण ब्राबल ब्यारेकमा कार्यरत थिए। उनी पनि बाढीपछि सम्पर्कविहीन भएका छन्।
त्यस्तै, निजगढ नगरपालिका–८का ५५ वर्षीय उत्तम न्यौपाने भदौ १० गते काठमाडौं हुँदै रसुवा गएको र त्यसपछि परिवारको सम्पर्कमा नआएको प्रशासनको विवरणमा उल्लेख छ।
आफन्तले विभिन्न निकायमा गराए जानकारी
सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि आफन्त तथा परिवारजनले जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC), इलाका प्रहरी कार्यालय महेन्द्र जय नगर, सशस्त्र प्रहरी बेस तेलकुवा तथा निजगढ र जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा जानकारी गराएका छन्।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार सम्पर्कविहीन सबै १५ जना पुरुष हुन्। उनीहरू विभिन्न रोजगारी, सरकारी सेवा, जलविद्युत् आयोजना तथा मालसामान ढुवानीको कामका लागि रसुवा पुगेका थिए।
खोजी तथा उद्धारमा समन्वय
प्रशासनले सम्पर्कविहीन व्यक्तिहरूको अवस्था पत्ता लगाउन सम्बन्धित सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको जनाएको छ।
परिवार तथा आफन्तमा चिन्ता बढिरहेका बेला प्रशासनले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित उद्धार तथा आपत्कालीन निकायमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।
रसुवाको बाढीपछि बारासहित विभिन्न जिल्लाका नागरिक प्रभावित भएको अवस्थामा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने मागसमेत बढेको छ।
काठमाडौँ, १० भदौः रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कूल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ ।
बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत् आपूर्तिमा हुनसक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हालसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न प्राधिकरण सफल भए पनि बाढीबाट भएको ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र बनाइएको छ ।
प्रारम्भिक विवरणअनुसार बाढीका कारण ४३१.१ मेगावाट क्षमताका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भई विद्युत् प्रणालीबाट बाहिरिएका छन् । त्यस्तै, निर्माणाधीन १५ वटा जलविद्युत् आयोजनामा कूल ४७० मेगावाट क्षमतामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रसारणतर्फ त्रिशूली २२० केभी ३ बी हब सबस्टेशन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । विभिन्न १३२, ६६ तथा २२० केभी प्रसारण लाइन र टावरमा समेत क्षति पुगेको छ । बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ भने नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको छ ।
मन्त्री श्रेष्ठका अनुसार विभिन्न विद्युत् आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा मजदूर सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ ।
उद्धार तथा विद्युत् सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका १५ वटाभन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । थप उद्धार तथा प्राविधिक टोलीसमेत प्रभावित क्षेत्रमा खटाइएको मन्त्री श्रेष्ठले बताउनुभएको छ ।
वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने, क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना गर्ने र सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजी र उद्धार गर्ने काम स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँगको समन्वयमा भइरहेको छ । मन्त्री श्रेष्ठले अहिले मानवीय सुरक्षा, खोज तथा उद्धार र अत्यावश्यक विद्युत् सेवा पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । क्षतिको विस्तृत विवरण सङ्कलन तथा प्राविधिक मूल्याङ्कनको कामसमेत भइरहेको उहाँले जानकारी दिनुभयो ।
“अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौँ । तर, यति ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ”, मन्त्री श्रेष्ठले भन्नुभयो ।
वीरगञ्ज । सार्वजनिक निकायसँग रहेको सूचना माग्नु नागरिकको संवैधानिक अधिकार हो। तर प्रादेशिक अस्पताल पोखरिया, पर्साका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले सार्वजनिक अस्पतालको आर्थिक विवरण माग गर्दै पुगेका धर्मेन्द्र प्रसाद यादवको निवेदन दर्ता गर्नसमेत अस्वीकार गरेको आरोप लागेको छ।
यादवले आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालको आन्तरिक स्रोतबाट भएको आम्दानी, खर्च, बैंक दाखिला, खरिद, भुक्तानी, बिल–बिजक, लेखापरीक्षण तथा बेरुजुसहितका विवरण माग गर्दै निवेदन लिएर अस्पताल पुगेका थिए।
तर निवेदन दर्ता गराउन खोज्दा निमित्त मेसु रौनियारले दर्ता गर्न अस्वीकार गर्दै आफूलाई अपमानजनक तथा दबाबपूर्ण शैलीमा जवाफ दिएको यादवको दाबी छ। यादवका अनुसार रौनियारले, “दर्ता गर्दैनौँ, के गर्छौ र?” भन्दै निवेदन लिन अस्वीकार गरेका थिए।
यादवले बताएअनुसार रौनियारले कर्मचारी अभावको कारण देखाउँदै सूचना मागसम्बन्धी निवेदन दर्ता गर्न समय र जनशक्ति नभएको बताएका थिए। त्यस क्रममा उनले सूचना माग्ने व्यक्तिको परिचयमाथिसमेत प्रश्न उठाउँदै “तिमी को हौ? हाम्रो एडिटर हो कि अख्तियारको कर्मचारी? हामीले सबै कुरा दिनैपर्छ?” भनेको यादवको दाबी छ।
यादवका अनुसार आफूले संविधानले सुनिश्चित गरेको सूचनाको हक प्रयोग गर्दै सार्वजनिक अस्पतालको आर्थिक विवरण मागेको बताएपछि रौनियारले आफू सात महिनादेखि तलब नपाएको विषयसमेत उठाएका थिए। रौनियारले, “संविधानमा उल्लेख छ भने हाम्रो तलब प्रत्येक महिना हाल्ने र पाउनुपर्ने हो। म सात महिनादेखि तलब पाएको छैन, खोइ त?” भन्दै प्रतिप्रश्न गरेको यादवले बताए।
यादवको दाबीअनुसार कुराकानीको अन्त्यतिर रौनियारले “हामी दर्ता पनि गर्दैनौँ र सूचना पनि दिँदैनौँ, जे गर्नु छ गर्नु” भन्ने जवाफ दिएका थिए।
अनुमति लिएपछि मात्रै सूचना दिने भनाइ
समाचार तयार पार्ने क्रममा निवेदन दर्ता नगर्नुको कारणबारे मेसु रौनियारसँग सम्पर्क गर्दा उनले मन्त्रालय र क्लिनिकबाट अनुमति पत्र ल्याएपछि मात्रै सूचना दिने तथा निवेदन दर्ता गर्ने जवाफ दिएको यादवले बताए।
यादवका अनुसार सम्बन्धित निकायसँग बुझ्दा सूचना उपलब्ध गराउने अधिकार सम्बन्धित सार्वजनिक निकायमै रहेको जानकारी पाएपछि रौनियारले अस्पतालमा नगरपालिका अधिकृत, अस्पताल समिति अध्यक्ष, मेयरलगायतलाई बोलाएर बैठक बसेपछि मात्रै निवेदन दर्ता गर्ने अर्को जवाफ दिएका थिए।
यस घटनाले सार्वजनिक निकायमा सूचना माग्ने प्रक्रियामाथि नै प्रश्न उठाएको छ—नागरिकले सार्वजनिक निकायसँग सूचना माग्दा निवेदन दर्ता गराउनसमेत अन्य निकायको अनुमति आवश्यक पर्छ?
संविधानले सुनिश्चित गरेको सूचनाको हक
नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयमा सूचना माग्ने र पाउने हक सुनिश्चित गरेको छ।
यादवले मागेको सूचना अस्पतालको आन्तरिक आम्दानी तथा खर्चसँग सम्बन्धित छ। सार्वजनिक अस्पतालमा संकलन भएको रकम कति आयो, कहाँबाट आयो र कहाँ खर्च भयो भन्ने विषयमा पारदर्शिता खोज्नु नै आफ्नो सूचनाको मागको मुख्य उद्देश्य रहेको यादवले बताएका छन्।
यदि माग गरिएको सूचना कानुनबमोजिम उपलब्ध गराउन नमिल्ने हो भने त्यसको कानुनी आधारसहित लिखित रूपमा जानकारी दिनुपर्ने हुन्छ। तर निवेदन नै दर्ता नगर्ने हो भने त्यसको कानुनी आधार के हो भन्ने प्रश्नसमेत उठेको छ।
त्यसैगरी, सार्वजनिक पदमा रहेका अधिकारीले सूचना माग्न आएका नागरिकसँग गर्ने व्यवहार र प्रयोग गर्ने भाषामाथिसमेत प्रश्न उठेको छ। नागरिकको सूचनाको अधिकारलाई सहज बनाउनुको सट्टा निवेदन दर्ता प्रक्रियामै अवरोध सिर्जना गरिए त्यसले सार्वजनिक निकायको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाउनु स्वाभाविक हुन्छ।
अब प्रश्न प्रादेशिक अस्पताल पोखरियाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारतर्फ सोझिएको छ—नागरिकले संविधानले दिएको सूचनाको हक प्रयोग गर्दै निवेदन लिएर आउँदा त्यसलाई दर्तासमेत नगर्नुपर्ने अवस्था किन आयो? माग गरिएको सूचना दिन नमिल्ने हो भने त्यसको स्पष्ट कानुनी आधार के हो?
सार्वजनिक अस्पतालसँग सम्बन्धित आर्थिक विवरणमा नागरिकले चासो राख्नु र पारदर्शिता खोज्नु स्वाभाविक भएकाले यस विषयमा अस्पताल प्रशासनको स्पष्ट जवाफ आवश्यक देखिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
