KATHMANDU WEATHER
Horizontal Scroll Menu

ऋण नतिर्ने सहकारीका ऋणीलाई अन्तिम चेतावनी: साँवा-ब्याज नतिरे कानुनी कारबाही हुने

२२ बैशाख, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विभिन्न समयमा समस्याग्रस्त घोषित सहकारीहरूबाट ऋण लिएर हालसम्म नतिर्ने ऋणीहरूलाई तत्काल कर्जा चुक्ता गर्न कडा निर्देशन दिएको छ ।

 

समितिले मङ्गलबार एक सार्वजनिक सूचना जारी गर्दै ऋणीहरूलाई आफूले लिएको कर्जाको साँवा, ब्याज र हर्जानासहितको सम्पूर्ण रकम समयमै भुक्तानी गरी जिम्मेवारी पूरा गर्न ताकेता गरेको हो । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीको प्रक्रियालाई तीव्रता दिन समितिले यस्तो कदम चालेको बुझिएको छ ।

 

पीडित बचतकर्ताहरूको रकम फिर्ता गर्ने कार्यलाई प्राथमिकतामा राखेको समितिले ऋणीहरूबाट असुली हुनुपर्ने रकम सङ्कलन नभएसम्म दायित्व फर्स्योट गर्न कठीन हुने स्पष्ट पारेको छ । यसका साथै, समितिले समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य तथा जमानीकर्ताहरूलाई समेत तत्काल समितिको कार्यालयमा सम्पर्क राख्न आह्वान गरेको छ ।

तोकिएको समयभित्र कर्जा भुक्तानी नगर्ने वा सम्पर्कमा नआउने व्यक्तिहरूलाई कानुन बमोजिम कडा कारबाहीको प्रक्रिया अगाडि बढाइने चेतावनी समेत सूचनामा दिइएको छ ।


 
 

एमआरपी कार्यान्वयन : जाँचपास नहुँदा वीरगञ्ज भन्सारमा रोकिए १४ सय बढी सवारी

२२ वैशाख, वीरगञ्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगञ्ज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित भएको छ ।

भन्सार विन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा एक सातादेखि अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल बाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँचपास हुनसकेको छैन ।

 

 

 

गत १५ वैशाखदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् । जसका कारण भारतको रक्सौलतर्फ मालवाहक सवारीसाधन रोकिने क्रम बढ्दो छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले दैनिक दुई सयभन्दा धेरै मालवाहक सवारीसाधन थपिने भएकाले पनि औसतमा एक हजार चार सय हाराहारीका सवारीसाधन जाँच प्रक्रिया रोकिएको बताए ।

 

 

 

‘हामी त भन्सार जाँचपासको प्रक्रिया गराउन तयार छौँ । तर, आयातकर्ता भन्सार जाँचपास गर्र्ने फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सरिक नहुँदा भन्सार जाँचपास रोकिएको हो,’ उनले भने, ‘भन्सार विभागले आवश्यक समन्वय गरिरहेको छ । छिट्टै यो समस्या अन्त्य हुने अपेक्षा राखेका छौँ ।’

गत १५ वैशाखदेखि आयातित एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) लागु गर्ने निर्णय भएको थियो । तर, सो प्रावधानको आर्यातकर्ता तथा निर्यातकताले विरोध जनाउँदै आइरहेका छन् । वीरगञ्जको एकीकृत सुरक्षा भन्सार जाँचचौकीको व्यवस्थापनको जिम्मेवारी पाएको टीआरएस हिमालयन लर्जी पार्क प्रालिका इन्चार्ज गणेश घिमिरेले भन्सार जाँचपास नहुँदा भारतीय सडकमा समेत मालवाहक सवारीसाधनको लाइन लागेको बताए ।

‘अहिले देखिएको समस्या जतिसक्दो छिटो समाधान होस् भन्ने चाहाना छ,’ उनले भने ।

वीरगञ्ज भन्सार कार्यालयले दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले यो समस्या लामो समयसम्म रहँदा राज्य र व्यवसायी दुवैलाई फाइदा नहुने भएकाले आवश्यक समन्वय गरेर टुङ्ग्याउन अनुरोध गरे ।

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, संसद् अधिवेशन आह्वानको तयारी

२२ बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले समसामयिक राजनीतिक तथा विधायिक गतिविधिलाई केन्द्रमा राख्दै मंगलबार मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

दिउँसो ३ बजे बस्ने तय गरिएको उक्त बैठकमा संघीय संसदको अधिवेशन आह्वानका विषयमा राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय हुन सक्ने स्रोतले जनाएको छ । यसैदिन राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका आठवटै अध्यादेश जारी गरिसकेकाले अब संसद अधिवेशन बोलाउने प्रक्रिया अघि बढाउने सरकारको तयारी देखिएको छ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहितका महत्वपूर्ण विधेयकहरू कार्यान्वयनमा आएपछि कार्यसूची व्यवस्थापनका लागि संसद अधिवेशन आवश्यक भएको निष्कर्षमा सरकार पुगेको बुझिएको छ ।

संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने

२२ वैशाख, काठमाडौं । ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार राखिएको छ । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत यस्तो व्यवस्था गरेको हो ।

मंगलबार जारी अध्यादेशअनुसार ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि ४ जना उपस्थित हुनुपर्छ ।

 

 

 

अध्यादेशको दफा ६ को उपदफा (४) मा संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र कम्तीमा तीनजना सदस्यहरू गरी कम्तीमा चारजना उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या मानिने व्यवस्था छ ।

संवैधानिक परिषद्मा रहने छ जना सदस्यमध्ये चारजनाको उपस्थितिले कूल सदस्यको बहुमत भई गणपूरक संख्या पूरा हुने भनिएको छ ।

 

 

 

संवैधानिक परिषद्का अध्यक्ष र कम्तीमा तीनजना सदस्य उपस्थित भएको बैठकमा अध्यक्ष र दुईजना सदस्य गरी कम्तीमा तीन जनाको निर्णय परिषद्को निर्णय मानिने व्यवस्था  अध्यादेशको दफा ६ को उपदफा (५) को स्पष्टीकरणको खण्ड (ग) मा छ ।

अध्यक्ष र पाँचजना सदस्य गरी परिषद्को पूर्ण (छ जना) उपस्थित हुँदा यो संख्या बिजोर नभई जोर भएकोले कुनै प्रस्ताव उपर निर्णय गर्दा मत बराबर अर्थात् तीन/तीनको संख्या भएको खण्डमा परिषद्को अध्यक्ष सहमत भएको पक्षमा बहुमत भएको मानेर निर्णय गर्ने व्यवस्था अध्यादेशमा छ ।

गणपूरक संख्याको आधारमा संवैधानिक परिषद्को बैठक बसेको बैठकमा समेत सर्वसम्मत हुन नसके बहुमतवाट निर्णय गर्न सक्ने व्यवस्था छ ।

संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने ६ सदस्यीय संवैधानिक परिषद् सर्वोच्च संवैधानिक निकाय हो ।

परिषद्को सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेता रहन्छन् ।

क्रिकेट विश्वकप लिग टु : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

२२ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ ।

आसिफ र आरिफ शेख दाजुभाइ ब्याटिङमा चम्किँदा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो ।

 

 

 

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए भने अर्जुन कुमालले ४८, आरिफ शेखले ४३ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।

शतक बनाउनबाट ६ रनले चुकेका आसिफले ९७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । ठूलो सट हान्ने चक्करमा ३५औं ओभरको तेस्रो बलमा आसिफ बाउन्ड्री लाइन नजिक क्याचआउट भएका थिए । ओडीआईमा आसिफको यो १४औं अर्धशतक हो । ६६ ओडीआई खेल खेल्दा आसिफले एक शतक र १४ अर्धशतक बनाएका छन् ।

 

 

 

अर्का ओपनर विनोद भण्डारी दोस्रो ओभरमा खाता नखोली आउट भएपछि आसिफले अर्जुन कुमालसँग मिलेर दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरेका थिए । लगातार दोस्रो खेलमा अवर पाएका अर्जुनले वान डाउनमा खेल्दै संयमित ब्याटिङ गरेपनि अर्धशतकबाट दुई रनले मात्र चुके । उनले ८७ बल खेल्दै ४ चौका मदतमा ४८ रन बनाए ।

यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४२ बल खेल्दै १ चौका मदतमा ३३ रन जोडे । गुल्सनले २३ बलमा २ चौका प्रहार गरी १७ रन बनाए । कप्तान रोहित पौडेलले १६ बल खेलेर ९ रन मात्र बनाए । नन्दन यादव २ र सन्दीप लामिछाने १ रनमा आउट हुँदा करण केसीले खाता खोल्न सकेनन् ।

४९ ओभरमा २३७-९ को स्थितीमा रहेको नेपालका लागि आफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै स्कोर बढाएका थिए । तर अन्तिम ओभरको पाँचौ बलमा आरिफ आउट भएपछि नेपाल एक बल अगाडि अलआउट भयो । आरिफले २४ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे ।

ओमानका लागि नदिम खानले सर्वाधिक ३ र तथा सकिल अहमदले २ विकेट लिए ।

जितेन रामानान्डी, हसनैनन शाह र आर्यन विष्टले समान १ विकेट लिए ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३