रक्सौल , भदौ २२ –
भारतको रक्सौलमा मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय सुशील कुमार, १९ वर्षीय विशाल कुमार, २४ वर्षीय राजीव कुमार र २१ वर्षीय सोनू कुमार रहेका छन् ।
प्रहरीका अनुसार रक्सौल थाना क्षेत्रमा मोटरसाइकल चोरीका लागि रेकी गरिरहेको सूचनाका आधारमा एक्सिस बैंक नजिकबाट दुई जना शंकास्पद युवकलाई नियन्त्रणमा लिइएको थियो । उनीहरूसँग सोधपुछ गर्दा प्राप्त सूचनाका आधारमा आदापुर थाना क्षेत्रको बेलदरवा गाउँस्थित सोनू कुमारको घरमा छापा मारिएको थियो ।
छापाका क्रममा चोरी भएका मोटरसाइकलका पार्टपुर्जा, इन्जिन तथा अन्य सामान बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा प्रयोग भएको भनिएका तीन मोटरसाइकल र पाँच मोबाइल फोनसमेत नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका राजीव कुमारको यसअघि पनि आपराधिक गतिविधिमा संलग्नता रहेको र विभिन्न थानामा मुद्दा दर्ता भएको पाइएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको तथा गिरोहमा संलग्न अन्य व्यक्तिको खोजीका लागि छापा मार्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बारा , भदौ २२ –
जितपुर सिमरा उपमहानगरपालिका–७ छातापिप्रास्थित आर्मी ब्यारेक अगाडि पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सोमवार बिहान करिब ८ः१५ बजे पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ च २२७७ नम्बरको खाली बोलेरो पिकअप अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर सडकको दायाँतर्फ पल्टिएको थियो ।
दुर्घटनामा पर्साको वीरगंज महानगरपालिका–३० प्रसौनीटोल निवासी २२ वर्षीय चालक जैमुदिन अंसारी गम्भीर घाइते भएका थिए । उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा चिकित्सकले बिहान ८ः४५ बजे मृत घोषणा गरेका थिए ।
सहचालक पर्साको विश्रामपुर गाउँपालिका–९ निवासी २० वर्षीय स्वयम्भुला अंसारीको बायाँ हात र खुट्टामा चोट लागेको छ ।
उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो भने सडकमा अवरोध नभएको र पिकअप प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीमा कार्यरत दुई कर्मचारीविरुद्ध घुस मागेको आरोपमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार तत्कालीन सर्वेक्षक अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेविरुद्ध चन्द्रागिरि नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलानको काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको उजुरी परेको थियो।
उजुरीमाथि अनुसन्धान गर्दा साबिक मच्छेगाउँ-९ग तथा हाल चन्द्रागिरि-९ग मा रहेको जग्गाको भूमि प्रशासनसम्बन्धी अभिलेखअनुसार गर्नुपर्ने प्रक्रिया अघि बढाउनुपर्ने अवस्थामा सेवाग्राहीसँग रकमको बार्गेनिङ गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार दुवै कर्मचारीले सेवाग्राहीलाई आवश्यक काम नियमअनुसार सम्पन्न नगरिदिई हैरानी दिएको तथा आफ्नो निमित्त ५० हजार रुपैयाँ घुस मागेको पुष्टि भएको छ। उनीहरूले रकम प्रत्यक्ष रूपमा आफूले नलिई कार्यालय सहयोगीमार्फत लिन सहमति जनाएको पनि अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गतको कसुर भएको ठहर गर्दै आयोगले दुवै प्रतिवादीविरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गरेको छ।
आयोगले अमित कुमार श्रेष्ठ र हिरालाल पार्धेलाई ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा सोही दफाअनुसार बिगो बराबर जरिवानाको सजाय माग दाबी गरेको छ।
सभार:- प्रशासन डटकम
परवानीपुर, २२ भदौ –
बाराको परवानीपुर गाउँपालिका–३ स्थित परवानीपुर बजारमा सटर खाली गराउने विषयलाई लिएर जग्गा खरिदकर्ता दुई पक्षबीच पछिल्लो पाँच महिनादेखि विवाद चर्किएको छ । स्थानीय शोचन यादव र रामबाबु रौनियारबीच स्वर्गीय भक्तबहादुर श्रेष्ठको परिवारबाट खरिद गरिएको जग्गामा निर्माण गरिएका करिब एक दर्जन सटरको स्वामित्व र खाली गराउने विषयमा विवाद भएको हो । श्रेष्ठको परिवारको स्वामित्वमा रहेको तत्कालीन प्रविण पिक्चर प्यालेस सिनेमा हल रहेको करिब ७ कठ्ठा जग्गा अंशबण्डा र लामो समयसम्म चलेको विवादपछि विभिन्न व्यक्तिले खरिद गरेका थिए। सोही क्रममा रौनियारले पूर्वपट्टिको करिब साढे ३ कठ्ठा तथा शोचन यादव र ओमप्रकाश यादवले पश्चिमतर्फ कित्ताकाट भएको करिब साढे ३ कठ्ठा जग्गा खरिद गरेको बताइएको छ । जग्गा खरिदपछि सिनेमा हल जीर्ण भएर भत्किएसँगै उक्त क्षेत्रमा माटो पुर्ने र सटर निर्माण गर्ने काम भएको थियो । यही सटरको स्वामित्व र भाडा असुलीलाई लिएर अहिले दुई पक्षबीच विवाद उत्पन्न भएको हो ।
‘७० लाख खर्च गरेर सटर बनाएँ, अहिले खाली गर्न दबाब’
शोचन यादवले आइतबार परवानीपुरमा पत्रकार सम्मेलन गर्दै आफूले जग्गा खरिद गरेपछि करिब ७० लाख रुपैयाँ खर्च गरेर माटो पुरी सटर निर्माण गरी भाडामा लगाएको दाबी गरे। उनका अनुसार आफूहरूले २०७५ सालमा जग्गा खरिद गरेका थिए। त्यसको एक वर्षपछि अर्थात् २०७६ सालमा पुरानो सिनेमा हल जीर्ण भएर भत्किएपछि खाली रहेको स्थानमा माटो पुरी करिब एक दर्जन सटर निर्माण गरिएको थियो। तर, २०८२ सालमा रौनियारले श्रेष्ठ परिवारबाट आफूले पनि जग्गा खरिद गरेको भन्दै उक्त क्षेत्रमा रहेका सटरमाथि समेत आफ्नो दाबी गरेपछि विवाद सुरु भएको यादवको भनाइ छ। ‘जग्गा खरिद गर्दा सटर खाली गर्ने सहमति भएको थियो भन्ने कुरा भए पनि त्यसपछि आफूले लाखौँ रुपैयाँ खर्च गरेर सटर निर्माण गरेको हुँ,’ यादवले भने, ‘अहिले जग्गा खरिद गरेको आधारमा सटरसमेत आफ्नै भएको भन्दै खाली गर्न दबाब दिइएको छ।’ यादवले सटर खाली गराउने विषय देवानी प्रकृतिको विवाद भएको भन्दै प्रहरी प्रशासनबाट आफूलाई दबाब दिनु उचित नभएको जिकिर गरेका छन्।
न्यायिक समितिमा पनि पुगेको थियो विवाद
सटर तथा जग्गा सम्बन्धी विवाद समाधानका लागि रौनियारले परवानीपुर गाउँपालिकाको न्यायिक समितिमा समेत निवेदन दिएको बताइएको छ। न्यायिक समितिले दुवै पक्षलाई सामाजिक रूपमा सहमति गराउने प्रयास गरे पनि सहमति हुन नसकेपछि अदालतबाट कानुनी निकास खोज्ने अवस्था आएको यादवले बताएका छन्। तर, पछिल्लो समय रौनियारले प्रहरी प्रशासनमा उजुरी दिएर सटर खाली गराउन दबाब दिन थालेको यादवको आरोप छ। इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन लामाको भूमिकामाथि प्रश्न उठाउँदै यादवले प्रहरीमार्फत सटर खाली गर्न वा रौनियारसँग भाडा लिएको देखिने गरी सम्झौता गर्न दबाब दिइएको आरोप लगाए। ‘सटर खाली गराउने विषय देवानी प्रकृतिको हो। अदालतले सटर खाली गर्न स्पष्ट आदेश दिएको छैन,’ यादवले भने, ‘प्रहरीबाट दबाब आएपछि आफूले पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा सार्वजनिक गर्न बाध्य भएको हुँ।’ उनले विवादको समाधान सामाजिक छलफलबाट निकाल्न वा अदालतबाट कानुनी निर्णय गराउन रौनियारलाई आग्रह गरेका छन्।
प्रहरी निरीक्षक लामाको भनाइ– ‘अदालतको फैसला भएको जग्गा हो’
यता, इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन लामाले आफूले कुनै पक्षलाई प्रभावित पार्ने गरी काम नगरेको बताएका छन्। उनका अनुसार २०८२ सालमा अदालतबाट फैसला भई अंशमा प्राप्त भएको जग्गा रौनियारले खरिद गरेको र खरिदपछि हकभोग गर्न नसकेको भन्दै प्रहरीसमक्ष आएपछि आवश्यक प्रक्रिया अघि बढाइएको हो। ‘अदालतबाट फैसला भएर अंशमा प्राप्त भएको जग्गा रौनियारले खरिद गरेको देखिन्छ,’ लामाले भने, ‘खरिद गरेपछि हकभोग गर्न नपाएको भन्दै प्रहरीमा आएपछि आवश्यक प्रक्रिया अघि बढाइएको हो।’ उनले प्रहरीको भूमिका कानुनबमोजिम शान्ति सुरक्षा कायम गर्ने तथा विवादका विषयमा आवश्यक प्रक्रिया अघि बढाउने रहेको बताए।
रौनियार भन्छन्– ‘जग्गासँगै संरचनाको मूल्य पनि तिरेर किनेको हुँ’
रौनियारले भने आफूले जग्गा मात्र नभई जग्गामा रहेका भौतिक संरचनासमेतको मूल्य तिरेर जग्गाधनीबाट खरिद गरेको दाबी गरेका छन्। उनका अनुसार अदालतको फैसलापछि अंशमा आएको जग्गा खरिद गर्दा जग्गामा रहेको भौतिक संरचनाको समेत मूल्य निर्धारण गरी रकम भुक्तानी गरिएको थियो। ‘मैले जग्गाधनीसँग जग्गा खरिद गर्दा त्यहाँ रहेका भौतिक संरचनाको समेत पैसा तिरेको हुँ,’ रौनियारले भने, ‘जग्गा खरिद गरेपछि पनि हकभोग गर्न नपाएपछि प्रहरी प्रशासनमा गएको हुँ।’ यस विषयमा दुवै पक्षले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन्। जग्गाको स्वामित्व, सटर निर्माणमा भएको लगानी तथा सटरमाथिको अधिकारसम्बन्धी विवादको अन्तिम टुंगो भने सम्बन्धित कानुनी प्रक्रियाबाट हुने देखिन्छ। यता, प्रहरी प्रशासनले समेत देवानी विवादमा आफ्नो भूमिका कति सम्म हुनु पर्ने हो भन्ने प्रश्न उठेकाले घटनाले थप चर्चा पाएको हो ।
रौतहट । रौतहटको देवाही गोनाहीमा मोटरसाइकल चोरी गर्न आएका चोरहरू चोरी गर्न नपाउँदै आफ्नै मोटरसाइकल र चप्पल छाडेर फरार भएका छन्।
देवाही गोनाही नगरपालिका–४ गोनाही टोलमा आइतबार मध्यराति करिब १२ बजेतिर चार जनाको समूह मोटरसाइकल चोरी गर्न पुगेको थियो। घरअगाडि राखिएका चार वटा मोटरसाइकल चोरी गर्ने प्रयास भइरहेको अवस्थामा घरका सदस्यले थाहा पाएपछि उनीहरू भागेका थिए।
चोरहरू भाग्ने क्रममा स्थानीयले प्रतिकार गरेपछि उनीहरूको समूहमा रहेको एउटा मोटरसाइकल घटनास्थलमै छुटेको हो।
स्थानीय रामाप्रवेश कुर्मीका अनुसार आफू घरमा नभएको समयमा चार जना व्यक्ति घरअगाडि रहेको बैठक कोठामा राखिएका मोटरसाइकल चोरी गर्न आएका थिए। उनका दाइ रामकिशोर प्रसाद पटेलले चोरहरूको गतिविधि थाहा पाएपछि होहल्ला गर्दै प्रतिकार गरेका थिए।
प्रहरीका अनुसार राति करिब १ बजेतिर रामकिशोर घरबाहिर निस्कँदा एक जना अपरिचित व्यक्तिलाई देखेपछि सोधपुछ गरेका थिए। त्यसपछि ती व्यक्ति भाग्ने क्रममा मोटरसाइकल छाडेर फरार भएका हुन्।
चोरहरूले घटनास्थलमै भारतीय नम्बर प्लेट बीआर ०६ एएफ २५५१ नम्बरको मोटरसाइकल र एक जोर प्लास्टिकको चप्पल छाडेका छन्।
प्रहरीले उक्त मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय देवाही गोनाहीमा राखेको छ। मोटरसाइकल कसको हो भन्ने पहिचान गर्नुका साथै चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चोरी गर्न आएका व्यक्ति आफ्नै मोटरसाइकल र चप्पलसमेत छाडेर भागेपछि घटना अहिले देवाही गोनाही क्षेत्रमा चर्चाको विषय बनेको छ।
- वीरगन्जको क्यासिनोमा प्रहरीको छापा: गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना जुवा खेलिरहेको आरोपमा पक्राउ
- सिम्रौनगढ नाकामा तस्करीको साम्राज्य ! प्रहरी निरीक्षक साहमाथि डिआइजीको नाममा रकम उठाएको गम्भीर आरोप
- बाढीले घरसहित बगाएको थियो चन्डिकालाई, ११ दिनपछि जीवितै भेटिइन्
- प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा ११४ किलो गाँजा बरामद, एक पक्राउ
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
