११असोज, बारा। बाराको पचरौता नगरपालिकामा मोटर जडान गरिएको धाराबाट पानी खाने क्रममा करेन्ट लागेर एक २५ वर्षीय युवकको मृत्यु भएको छ।
मृतक महागढीमाई नगरपालिका-८ बेतौना बस्ने हकबुला देवनका २५ वर्षीय छोरा राजु देवन रहेका छन्।
प्रहरीका अनुसार, पचरौता नगरपालिका-८ बाझोपटी स्थित साथी दुर्गा प्रसाद यादवको घरमा गएका देवन धारामा पानी खाने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाइते लगत्तै दुर्गा प्रसादका भाइ बालेश्वर यादवले उनलाई एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएका थिए। तर, अस्पतालका चिकित्सकले इसीजि (ECG) परीक्षण गरी उनलाई मृत घोषणा गरेका हुन्।
प्रादेशिक अस्पताल कलैयाको शवगृहमा राखिएको मृतकको शव असोज ११ गते दिउँसो पोष्टमार्टमपश्चात निजका दाजु इजहारुल देवानले बुझेर लगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनाबारे प्रहरी टोलीले घटनास्थल मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको छ।
११ असाेज,पर्सा । पर्साको धोबिनी गाउँपालिकामा चोरी गर्न घर पसेका तीन युवाले वृद्धाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धोबिनी गाउँपालिका–५ का १८ वर्षीय चन्दनकुमार पटेल, १८ वर्षीय रामु पासवान र घलथरिया भनिने १८ वर्षीय राजकपुर बैठा रहेका छन् । प्रहरीका अनुसार उनीहरूले असोज ५ गते राति करिब ११ः३० बजे राजकपुर बैठाको घरमा गाँजा सेवन गरी चोरी गर्ने योजना बनाएका थिए ।
त्यसपछि राति करिब २ः३० बजे श्रीनिवास साह तुराहाको दुईतले पक्की घरको पछाडिको पर्खालबाट माथिल्लो तलामा चढेर झ्यालबाट घरभित्र प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरूले घरको स्टिलको दराज तोडेर नगद तथा गरगहना चोरी गर्नुका साथै अर्को कोठामा रहेको टिनको बाकसको ताल्चासमेत फुटाइरहेका बेला आवाज सुनेर ६२ वर्षीया लखरजिया देवी माथिल्लो तलामा पुगेकी थिइन् ।
त्यसक्रममा तीनै जनाले उनलाई देखेपछि कर्तव्य गरी हत्या गरेको र घरमा रहेका गरगहना तथा नगद चोरी गरी फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पोखरियासहितको प्रहरी टोली, अनुसंधान अधिकृत र तालिमप्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनास्थल तथा लासजाँच मुचुल्का तयार गरी शव परीक्षणका लागि नारायणी अस्पताल वीरगंज पठाएको थियो । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनै जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
राजन कुमार बानिया
पर्सा, १० असोज
आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पर्साको धोबीनी गाउँपालिकामा अध्यक्ष पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ। निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न बाँकी रहे पनि गाउँपालिकाको नेतृत्वका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र रूपमा सक्रिय व्यक्तिहरूको नाम चर्चामा आउन थालेको हो।
हाल धोबीनी गाउँपालिकाको अध्यक्षमा मदन प्रसाद चौहान रहेका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा चौहान ३ हजार ९१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी वशिष्ठनारायण प्रसाद कुर्मीले ३ हजार ७१ मत प्राप्त गरेका थिए।
आगामी निर्वाचनलाई लिएर अहिले नै विभिन्न व्यक्तिहरूले आफ्नो राजनीतिक सक्रियता बढाउन थालेका छन्। युवा नेता सुदिल पटेल, सन्तोष पटेल, सुरेश प्रसाद कुर्मी, राजु पटेल र सदाम हुसेनलगायतका नाम अध्यक्ष पदका सम्भावित आकांक्षीका रूपमा स्थानीय राजनीतिक वृत्तमा चर्चामा छन्।
चर्चामा रहेका व्यक्तिहरूले शिक्षा, रोजगारी, कृषि, पूर्वाधार तथा स्थानीय विकासका विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्। उनीहरूको राजनीतिक सक्रियता र स्थानीयस्तरमा बढ्दो उपस्थितिले आगामी निर्वाचनलाई लिएर चासो बढाएको छ।
धोबीनी गाउँपालिकाको आगामी नेतृत्वलाई लिएर विभिन्न राजनीतिक दलभित्र पनि सम्भावित उम्मेदवार र चुनावी रणनीतिबारे छलफल हुन थालेको बताइएको छ। दलगत समीकरण, स्थानीय राजनीतिक सम्बन्ध तथा उम्मेदवारको व्यक्तिगत प्रभावले आगामी निर्वाचनको वातावरणमा प्रभाव पार्न सक्ने स्थानीय राजनीतिक वृत्तको आकलन छ।
यद्यपि, निर्वाचनको औपचारिक प्रक्रिया सुरु भइनसकेको अवस्थामा अध्यक्ष पदका लागि चर्चामा रहेका नामहरूलाई अन्तिम उम्मेदवारका रूपमा लिन सकिने अवस्था छैन। दलहरूले उम्मेदवार छनोट तथा आधिकारिक निर्णय गर्न बाँकी रहेकाले आगामी दिनमा आकांक्षीको संख्या र समीकरणमा समेत परिवर्तन आउन सक्ने देखिन्छ।
राजन कुमार बानिया
पर्सा, ११ असोज
पर्साको धोबीनी गाउँपालिका–३ हरिहरपुरमा वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार दिपक पटेलले स्थानीय मन्दिरलाई सहयोग गरेका छन्।
पटेलले मन्दिरमा आवश्यक पर्ने १ थान चुलो र १ थान ग्यास सिलिन्डर सहयोग गरेका हुन्। उक्त सामग्री बलिराम साधुलाई हस्तान्तरण गरिएको जनाइएको छ।
मन्दिरमा धार्मिक तथा सामाजिक गतिविधिका क्रममा खाना पकाउन आवश्यक पर्ने सामग्रीको अभावलाई ध्यानमा राख्दै सहयोग गरिएको पटेलको भनाइ छ।
सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीयवासी तथा मन्दिरसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले मन्दिरका लागि आवश्यक सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका थिए।
पटेलले आगामी दिनमा पनि आफ्नो क्षेत्रका सामाजिक तथा सामुदायिक आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने बताएका छन।
रौतहट, असोज ११ –
लालबकैया नदीमा हाम फालेर बेपत्ता भएका बाराका २७ वर्षीय युवक सचिन्द्र यादवको २७ घण्टापछि शव फेला परेको छ ।
सिम्रौनगढ नगरपालिका–११ कटहरियाका यादवको शव शनिबार अपराह्न करिब ४ बजे घटनास्थलबाट १०–१२ किलोमिटर टाढा फतुवा क्षेत्रस्थित नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलमा पुगेपछि मोटरसाइकलबाट ओर्लिएर यादव नदीमा हाम फालेका थिए । उनी दाइ सिकिन्द्र यादवसँग उपचारका लागि कचोर्वाबाट गरुडा जाँदै थिए ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी थालेको थियो । नदीको तीव्र बहाव र गहिराइका कारण खोजीमा कठिनाइ भए पनि निरन्तर खोजीका क्रममा शव फेला परेको हो ।
प्रहरीका अनुसार मानसिक रूपमा अस्वस्थ रहेको बताइएका यादवको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
