KATHMANDU WEATHER
Horizontal Scroll Menu

राज्यकोषमाथि पूर्वभिआईपीहरूको ‘उपचार मोह’: खर्च फिर्ताको माग गर्दै सर्वोच्चमा रिट

२४ बैशाख, काठमाडौं । राज्यकोषको ढुकुटी रित्याएर विदेशमा उपचार गराउने पूर्वविशिष्ट व्यक्तिहरू (भीआईपी) विरुद्ध सर्वोच्च अदालतमा कानुनी चुनौती सुरु भएको छ ।

जनस्वास्थ्य ऐनको उल्लंघन गर्दै विदेशमा उपचार गराएका पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्री लगायतका नेताहरूले लिएको खर्च फिर्ता गराउनुपर्ने मागसहित बिहीबार रिट निवेदन दर्ता भएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सरोज कुमार न्यौपानेले दायर गरेको उक्त रिटमा प्रचलित कानुनविपरीत राज्यकोषबाट गरिएको खर्च असुलउपर गर्न माग गरिएको छ । यस मुद्दाले दशकौँदेखि सरकारी खर्चमा विदेश सयर र उपचार गर्ने राजनीतिक संस्कारमाथि ठूलो नैतिक र कानुनी प्रश्न खडा गरिदिएको छ ।

रिट निवेदनमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनालका साथै पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ । रोचक कुरा के छ भने, त्यस्तै प्रकृतिको उपचार खर्च बुझेका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई भने यस मुद्दामा प्रतिवादी बनाइएको छैन। जनस्वास्थ्य ऐन २०७५ को दफा ३० ले स्पष्ट रूपमा विदेशमा उपचार गर्दा सरकारले खर्च उपलब्ध नगराउने व्यवस्था गरेको भए पनि मन्त्रिपरिषद्ले कार्यविधिको सहारा लिएर रकम बाँड्दै आएको थियो ।

सोही कार्यविधिलाई सर्वोच्चले गत वैशाख १४ गते नै संविधान र ऐनसँग बाझिएको भन्दै खारेज गरिदिएपछि अहिले खर्च फिर्ताको बहसले कानुनी रूप लिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले ‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि’ को दफा १२ (१) खारेज गरेसँगै पूर्वविशिष्टहरूको उपचार खर्चमाथि कानुनी लगाम लागेको थियो ।

स्वदेशमै गुणस्तरीय उपचार सम्भव हुँदाहुँदै पनि राज्यकोषमाथि भार थोपर्ने अभ्यासलाई रोक्न यो रिटले थप दबाब दिने देखिएको छ । बिहीबार दर्ता भएको यस निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ । यदि सर्वोच्चले खर्च फिर्ताको आदेश दिएमा, यसले नेपालको राजनीतिक इतिहासमा शक्तिशाली व्यक्तिहरूलाई कानुनको कठघरामा ल्याउने एक नयाँ नजिर स्थापना गर्नेछ ।

एसईईको नतिजा : धमाधम रुजु हुँदै, २९ भित्र सार्वजनिक गर्ने तयारी

२४ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख २९ भित्र ल्याउनेगरी काम भइरहेको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार इन्ट्री सकिएर रुजुगर्ने काम भइरहेको छ । ‘हिजोदेखि रुजु गरिरहेका छौं । काम धमाधम भइरहेको छ । २९ गतेभित्र नतिजा सार्वजनिक हुन्छ’, उनले भने ।

 

 

 

एसईई गत चैत १९ देखि २९ सम्म सञ्चलान भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । परीक्षा सकिए लगत्तै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको थियो ।

यसवर्ष परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु

२४ वैशाख, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ खिला नजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी पप्पु भनेर चिनिने ३६ वर्षीय श्याम ठाकुर रहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रहरीका अनुसार विहीबार बिहान ग १ ख ९४६७ नम्बरको बसले ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ठाकुरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

 

 

 

प्रहरीले दुर्घटनामा संलग्न बस र बसधनी पर्सा गाउँपालिका–२ का २७ वर्षीय मानिष कुमार महतोलाई नियन्त्रणमा लिएको जनाएको छ । बस चालक कविलासी नगरपालिका–१० सलेमपुरका ४५ वर्षीय बद्री मण्डल भने फरार रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंमा साउथ एसिया ट्रेड फेयर सुरु

२४ वैशाख, काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकैथलोमा ल्याउने उद्देश्यसहित काठमाडौंमा साउथ एसिया ट्रेड फेयर सुरु भएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको साउथ एसिया ट्रेड फेयर वैशाख २८ गतेसम्म सञ्चालन हुने आयोजक इन्ट्रोडक्सन ट्रेड शोज नेपाल प्रा.लिले जनाएको छ ।

 

 

 

मेलामा भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्स लगायतका देशहरूका १५० भन्दा बढी प्रदर्शकहरू सहभागी छन् ।

प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवर्द्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहलकदमी समेत गर्ने उदेश्य राखेको समेत आयोजकले जनाएको छ ।

 

 

 

मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण लगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरूका स्टल राखिएका छन् ।

क्यूआर कोडसहितका थप १७ लाख थान लाइसेन्स छपाइ सुरु

२४ वैशाख, काभ्रेपलाञ्चोक । सुरक्षण मुद्रण केन्द्रमा दोस्रो चरणअन्तर्गत थप १७ लाख थान स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ सुरु भएको छ  ।

यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच गत वैशाख ४ गते क्युआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएको थियो । सरकारले पहिलो चरणमा छापिन बाँकी रहेका ‘ब्याकलग’ लाइसेन्स छपाइ सम्पन्न गर्नुका साथै दैनिक मागलाई प्राथमिकतामा राख्दै दोस्रो चरणको सम्झौता गरेको हो ।

 

 

 

सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले असार मसान्तभित्र १७ लाख थान लाइसेन्स छपाइ गर्ने लक्ष्य राखिएको जानकारी दिए । ‘पहिलो चरणको सम्झौताअन्तर्गत वैशाख पहिलो सातामै दैनिक ३१ हजार २२७ थानका दरले छपाइ गरी १२ लाख थान लाइसेन्स विभागलाई हस्तान्तरण गरिसकिएको छ,’ उनले भने ।

दोस्रो चरणको सम्झौताअन्तर्गत हालसम्म ८२४ थान अत्यावश्यक र २१ हजार ४८६ थान नियमिततर्फ गरी कुल २२ हजार ३१० थान लाइसेन्स छपाइ गरेर विभागलाई हस्तान्तरण गरिसकिएको छ ।

 

 

 

हाल वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश जानुपर्ने अवस्थाका विद्यार्थीहरूका लागि प्राथमिकताका आधारमा तत्कालै मुद्रण गरिने अत्यावश्यक लाइसेन्स १२९ थान रहेका छन् ।

त्यस्तै, नेपाल सरकारको नीतिबमोजिम लाइसेन्स नवीकरण वा ट्रायल पासको राजस्व भुक्तानी गरिसकेपछि यातायात व्यवस्था विभागबाट तथ्याङ्क प्राप्त भएको २४ घण्टाभित्रै प्रिन्ट सम्पन्न गरी बुझाउनुपर्ने दैनिक लाइसेन्स चार हजार ८१ थान छपाइ प्रक्रियामा रहेको केन्द्रले जनाएको छ ।

त्यसैगरी मुद्रणको प्रतीक्षामा रहेका पुराना आवेदनहरू (ब्याकलग लाइसेन्स) मध्ये ५० हजार ८९७ थान छापिसकिएको र हस्तान्तरणको प्रक्रियामा रहेको बताइएको छ ।

पहिलो चरणका लागि खरिद गरिएको कच्चा पदार्थ सकिएकाले दोस्रो चरणको छपाइका लागि आवश्यक कागजलगायत सामग्री खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरिएको उपसचिव तिमिल्सिनाले जानकारी दिए ।

‘ती सामग्री आउन करिब दुई साता लाग्ने भएकाले हाल अत्यावश्यक तथा २४ घण्टे सेवाअन्तर्गतका लाइसेन्स मात्र छापिएका छन्,’ उनले प्रस्ट पारे ।

केन्द्र र विभागबीच गत कात्तिक १२ गते छ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौता भएको थियो । विभाग र केन्द्रबीच प्रतिथान १९५ रुपैयाँ १७ पैसामा लाइसेन्स छपाइ गर्ने सम्झौता भएको हो ।

केन्द्रले हुलाक सेवा विभागसँगको सम्झौताअनुसार हालसम्म ३० लाख थान हुलाक टिकट छापेर हस्तान्तरण गरिसकेको जनाएको छ । थप ६० लाख थान टिकट छाप्ने सम्झौता प्रक्रियामा रहेको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३