१० असाेज,डाेल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडामा वर्षासँगै भिरबाट खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
असोज ९ गते राति करिब ९ः४५ बजे त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडाका ३३ वर्षीय मनरुप केसी र ३८ वर्षीय चन्द्ररुप केसी बगर हरेलखोलास्थित गाईगोठमा सुतिरहेका थिए।
सोही क्रममा वर्षासँगै भिरबाट खसेको ढुङ्गाले लाग्दा मनरुप केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
ढुङ्गाले लागेर चन्द्ररुप केसीको ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बारा , १० असोज
बाराको परवानीपुर गाउँपालिका–२ स्थित रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। स्थानीयस्तरमै सुरक्षित तथा सहज प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको बर्थिङ सेन्टरको गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले रिबन काटेर औपचारिक रूपमा उद्घाटन गर्दै सञ्चालनमा ल्याएका हुन्।
बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै परवानीपुर–२ लगायत आसपासका गर्भवती महिलाले प्रसूति सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम हुने गाउँपालिकाले जनाएको छ। स्वास्थ्य संस्थामै सुरक्षित रूपमा सुत्केरी गराउने वातावरण तयार भएपछि ग्रामीण तथा आर्थिक रूपमा कमजोर परिवारका महिलालाई विशेष राहत पुग्ने अपेक्षा गरिएको छ।
बर्थिङ सेन्टर उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, वडा नं. २ का वडा अध्यक्ष महमदनुरुल होदा अंसारी, स्वास्थ्य शाखा प्रमुख जयकृष्ण मिश्र, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा तथा गाउँपालिकाका कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
गाउँपालिकाका अनुसार बर्थिङ सेन्टरबाट गर्भवती तथा सुत्केरी महिलालाई विभिन्न सुविधा उपलब्ध गराइनेछ। सेवा लिन आउने महिलाका लागि सुत्केरी सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ।
त्यसैगरी, बर्थिङ सेन्टरमा सुत्केरी हुने आमालाई यातायात खर्चबापत १ हजार रुपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको छ। नियमित गर्भजाँचलाई प्रोत्साहन गर्ने उद्देश्यले स्वास्थ्य संस्थामा प्रोटोकलअनुसार चार पटक गर्भजाँच गराई सोही बर्थिङ सेन्टरमा सुत्केरी गराउने महिलालाई थप ८ सय रुपैयाँ प्रोत्साहन रकमसमेत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म ल्याउन तथा घरसम्म लैजानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। यसले आर्थिक अवस्था कमजोर भएका तथा यातायातको सहज पहुँच नभएका परिवारलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।
बर्थिङ सेन्टरमा सुत्केरी हुने प्रत्येक आमालाई आमा तथा नवजात शिशुका लागि आवश्यक कपडा समेटिएको एक थान न्यानो सोला समेत निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ।
गाउँपालिकाले स्थानीय तहमा प्रसूति सेवा विस्तारसँगै गर्भवती महिलालाई नियमित गर्भजाँच गराउन र सम्भव भएसम्म स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहित गर्ने नीति लिएको जनाएको छ। बर्थिङ सेन्टर सञ्चालनले मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
स्थानीयस्तरमै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि प्रसूति सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुनुका साथै समयमै स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी आकस्मिक अवस्थामा एम्बुलेन्स सेवा उपलब्ध हुने भएकाले गर्भवती महिलाको सुरक्षित प्रसूति व्यवस्थापनमा सहयोग पुग्ने गाउँपालिकाको भनाइ छ।
समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार मुस्ताङमा बिहीबारदेखि निरन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा हिमपात भएको हो।
कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ। बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको हो। हिमपातका कारण उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन्।
त्यसैगरी कोरलानाका क्षेत्रमा हिमपात भइरहँदा लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा भएको छ भने बस्तीदेखि माथिका उच्च लेकमा आंशिक हिमपात भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए। वर्षा र हिमपातसँगै उपल्लो क्षेत्रमा चिसो बढ्न थालेको एक्याप प्रमुख पौडेलको भनाइ छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाका पूर्वसूचना अनुसार बिहीबारदेखि लगातार चार दिनसम्म भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने प्रक्षेपण गरिएको थियो। मुस्ताङको कोरलानाका क्षेत्रमा हिमपात हुँदा मुस्ताङका अन्य क्षेत्रमा निरन्तर वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मौसम प्रतिकूलताका कारण बाढीपहिरो, नदी कटानलगायत कारण सडक अवरुद्ध हुनसक्ने भएकाले मुस्ताङको काभ्रेभिरदेखि उपल्लो मुस्ताङका सडकमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी सूचित गरेको छ। सम्भावित विपद् तथा क्षति न्यूनीकरणका लागि बिहीबार रातिदेखि चार दिनसम्म साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म रातिमा यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिए।
त्यसैगरी, मुस्ताङको घरपझोङ गाउँपालिकाले वर्षाका कारण कालीगण्डकी नदी उच्च भई जोखिम सिर्जना हुनसक्ने भएकाले कालीगण्डकी तटीय क्षेत्रमा स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। घरपझोङ गाउँपालिकाले शुक्रबारदेखि माइकिङ गरी तटीय क्षेत्र आसपासका नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ।
यस्तै, वर्षाका कारण मुस्ताङका पुराना ढुङ्गा र माटोले निर्मित परम्परागत संस्कृतिका घरहरूमा वर्षाले जोखिम बढाएको छ। घरपझोङ–५ ठिनीका स्थानीय सरिता थकालीका अनुसार पुराना ढुङ्गा र माटोले बनेका घर निरन्तर वर्षा हुन थालेपछि समस्यामा परेका छन्। वर्षाले पुराना घर चुहिने र भत्किने डर भएकाले वर्षाबाट जोगाउन स्थानीयले घरको छत र गारोमा त्रिपाल र प्लास्टिकले ढाकेको जानकारी दिइन्।
देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अधिकांश बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमतीका हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
शनिबार पनि वर्षाको क्रम जारी रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। शनिबार राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती र मधेशका एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना छ।
महाशाखाले भारी वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार र राहतका काममा समेत असर पर्न सक्ने जनाइएको छ।
यस्तै, मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको बलियो न्यून चापीय प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टापछि क्रमशः कमजोर हुने सम्भावना छ। देशमा भने मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।
बारा, ०९ असोज । बाराको कोल्हवी नगरपालिका-३ जुगुवा टोलमा टिभी चलाउने क्रममा करेन्ट लागेर एक बालकको ज्यान गएको छ भने उनलाई बचाउन खोज्दा अन्य चार जना घाइते भएका छन्।
आज शुक्रबार दिउँसो १२ बजेको समयमा सोही स्थान बस्ने श्याम रामका १० वर्षीय छोरा आकाश राम आफ्नै घरमा टिभी चलाउन खोज्दा तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार घाइते बालकलाई उपचारका लागि दिउँसो १३:०५ बजे प्रादेशिक अस्पताल कलैया पुर्याइएकोमा चिकित्सकले इसिजी गर्दा बाटोमै मृत्यु भइसकेको घोषणा गरेका थिए।
प्रारम्भिक सोधपुछका क्रममा बालकलाई करेन्ट लागिरहेको अवस्थामा छुट्याउन र बचाउन खोज्दा अन्य चार जना छिमेकी तथा आफन्तसमेत करेन्ट लागेर घाइते भएको खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिएका।
घाइते हुनेहरूमा मृतकका ७० वर्षीया हजुरआमा ऐतबरिया राम (हातमा करेन्ट लागेको, तामागढी अस्पताल कोल्हवीमा उपचाररत, अवस्था मध्यम), मृतककी १२ वर्षीया दिदी निलम राम (हातमा करेन्ट लागेको, सिटी अस्पताल कोल्हवीमा उपचाररत, अवस्था मध्यम), सोही स्थानकी ४० वर्षीया फूल कुमारी राम (हातमा करेन्ट लागेको, तामागढी अस्पतालमा उपचाररत, अवस्था मध्यम) र ४१ वर्षीया अनिता शर्मा (हातमा करेन्ट लागेको, तामागढी अस्पतालमा उपचाररत, अवस्था सामान्य) रहेका छन्।
हाल थप अनुसन्धान तथा कानुनी मुचुल्काको कार्यका लागि ईलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक सबिन कुमार कार्कीको कमाण्डमा थप टोली परिचालन गरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
