वीरगंज । वीरगंजस्थित बाल सुधार गृहबाट लागुऔषध कसुरमा सजाय भोगिरहेका १७ वर्षीय युवक फरार भएका छन्। युवक चार दिनदेखि फरार रहेको तथ्य सार्वजनिक भएको हो।
पर्सा प्रहरीले बाल सुधार गृहको झ्यालबाट हाम फालेर युवक फरार भएको पुष्टि गरेको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्र मल्लका अनुसार मंगलबार बिहान करिब साढे ५ बजेतिर १७ वर्षीय ‘क’ नाम गरेका युवक सुधार गृहबाट फरार भएका हुन्।
प्रहरीका अनुसार बिहानको समयमा बाल सुधार गृहको पछाडिपट्टिको झ्यालबाट उनी बाहिरिएका थिए। लागुऔषधसम्बन्धी कसुरमा अदालतको फैसलापछि उनलाई बाल सुधार गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ।
अदालतको फैसलापछि करिब एक साताअघि मात्रै उनलाई सुधार गृहमा ल्याइएको थियो। सर्लाहीको गोडैता नगरपालिका घर भएका ती युवक फरार भएलगत्तै प्रहरीले खोजी सुरु गरे पनि हालसम्म फेला पार्न नसकेको डीएसपी मल्लले जानकारी दिएका छन्।
फरार युवकको खोजीका लागि सम्भावित स्थानमा निगरानी बढाउनुका साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित बासुदेव खोलाले गत मंगलबार बगाएकी ११ वर्षीया सुमित्रा भोलनको शव आज (शुक्रबार) फेला परेको छ।
स्थानीय टीकाराम भोलनकी छोरी सुमित्राको शव आज बिहान बगाएको स्थानबाट करिब ७ किलोमिटर तल मकवानपुरकै मनहरी गाउँपालिका-३ लामीटारस्थित राप्ती नदीमा भेटिएको हो।
उनीसहित ४ बालिकलाई गत मंगलबार बासुदेव खोलाले भेलले बगाएको थियो। जसमध्ये १३ वर्षीया सीमा भोलन मात्र बाँचिन्। उनी त्यही दिन बाढीबाट निस्कन सफल भएकी थिइन्।
यसअघि बासुदेव खोलाको भेलमा सँगै बगेका ८ वर्षीया रोशनी स्याङ्ताङ र १२ वर्षीया विनिता भोलनका शव फेला परिसकेका छन्।
रोशनीको शव बगाएकै दिन भेटिएको थियो भने विनिताको शव हिजो बिहीबार फेला परेको हो।
खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, विद्यालय प्रशासन तथा स्थानीय बासिन्दा निरन्तर खटिएका थिए।
वीरगंज , भदौ ४ –
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक सीमा क्षेत्र खाली गराउने प्रक्रियाविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
बिहीबार न्यायाधीश ममता खनाल र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले यसअघि साउन २९ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको हो।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड काठमाडौंका तर्फबाट संगीता अर्याल पहाडीले जिल्ला प्रशासन कार्यालय पर्सालगायतलाई विपक्षी बनाएर प्रतिषेध, उत्प्रेषण तथा परमादेशसमेतको माग गर्दै रिट दायर गरेकी थिइन्। मुद्दा नम्बर ०८३–डब्लुओ–००८५ रहेको उक्त रिटमा बिहीबार सुनुवाइ गर्दै इजलासले यस्तो आदेश दिएको हो।
सुनुवाइका क्रममा निवेदकका तर्फबाट अधिवक्ताद्वय डा. गजेन्द्र अर्याल र राजेश पण्डितले बहस गरेका थिए। सडक डिभिजन कार्यालय हेटौँडालगायतका विपक्षीका तर्फबाट उच्च सरकारी वकिल कार्यालय वीरगंजका उपन्यायाधिवक्ता बुद्धिलाल श्रेष्ठ तथा वीरगंज महानगरपालिकाका तर्फबाट अधिवक्ताद्वय कमलमोहन पोखरेल र ईश्वर बरालले बहस गरेका थिए।
अदालतले सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ बमोजिम तत्कालीन सरकारले २०३४/०३/२० मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी राजमार्गको केन्द्र रेखादेखि दायाँ–बायाँ २५/२५ मिटर सडक सीमा तोकिसकेको उल्लेख गरेको छ।
यसैगरी, सर्वोच्च अदालतले समेत सडक सीमाभित्र बनेका संरचना हटाउने सम्बन्धमा जारी सूचना तथा कार्यकारबाही कानूनविपरीत नदेखिएको भन्दै मुद्दा नम्बर ०७६–डब्लुओ–०२७७ को रिट २०८१/११/२८ मा खारेज गरिसकेको नजिरलाई अदालतले आधार बनाएको छ।
त्रिभुवन राजमार्गको २५/२५ मिटर सडक सीमा परिवर्तन नभएको र उक्त क्षेत्र खाली गराउने प्रक्रियामा विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको अदालतले जानकारी दिएको छ।
सोही आधारमा यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश भएको अदालतले स्पष्ट पारेको छ।
गैँडाकोट । नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका वडा नं. १४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई वर्षीय बालक सिवान तामाङ दुई दिनपछि सकुशल फेला परेका छन् ।
मंगलबार बिहान हजुरआमा यामकुमारी आले मगर च्याउ खोज्न शंखदेवी सामुदायिक वनतर्फ जाने क्रममा सिवान पनि पछिपछि जंगलतर्फ पुगेका थिए । सोही क्रममा बाटो बिराएर उनी घनघोर जंगलमा हराएका थिए ।
सिवानका आमाबुवा रोजगारीका सिलसिलामा भारतमा रहेका कारण उनी विगत डेढ वर्षदेखि मामाघरमा बस्दै आएका छन् ।
बालक हराएको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए ।
रातदिन नभनी गरिएको व्यापक खोजीका क्रममा दुई दिनपछि बालकलाई सकुशल फेला पारिएको छ ।
बालक सकुशल भेटिएपछि खोजी अभियानमा संलग्न सुरक्षाकर्मी, जनप्रतिनिधि तथा स्थानीयवासीले राहतको महसुस गरेका छन् ।
बारा, भदौ ३
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मृतक बालिका जितपुरसिमरा–१ दसधुरी निवासी मनमती चौधरीकी ३ वर्षीया छोरी गरिमा चौधरी हुन्। उनी साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्।
बालिका हराएको सूचनापछि प्रहरीले खोजी गर्ने क्रममा मंगलबार साँझ जितपुरसिमरा–१ भक्तिनगरस्थित एक घरको खाली कोठामा मृत अवस्थामा फेला पारेको हो।
घटनापछि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो। प्रदेश प्रहरी कार्यालय वीरगंजबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेर जबरजस्ती करणी गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा जितपुरसिमरा–२ निवासी १६ वर्षीय सुमन थापा र ना.१ ज ७७५८ नम्बरको म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरिएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
