हराभरा , सुरक्षित र स्मार्ट बिरगंजतर्फ अग्रसर : बिपि उद्यान पार्क निर्माण तिब्र , प्रहरी बिट स्थापना
बैशाख २९ गते, वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकालाई हराभरा, सुरक्षित तथा आधुनिक स्मार्ट सिटीका रूपमा विकास गर्ने लक्ष्यसहित आदर्शनगरस्थित विपी उद्यान पार्क निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। महानगरपालिकाको सरसफाइ तथा हरियाली संयोजक जयप्रकाश खेतानको सक्रिय पहलमा पार्क निर्माणसँगै सौन्दर्यीकरण, हरियाली प्रवर्द्धन तथा सुरक्षा व्यवस्थालाई समेत प्राथमिकतामा राखिएको हो।
हाल पार्क क्षेत्रमा वृक्षारोपण, आकर्षक हरियाली व्यवस्थापन, पदमार्ग निर्माण, विश्रामस्थल तथा बालबालिकाका लागि खेल क्षेत्र निर्माण कार्य तीव्र गतिमा भइरहेको जनाइएको छ। पार्कलाई पारिवारिक घुमफिर, मनोरञ्जन र स्वास्थ्यप्रद वातावरणको केन्द्रका रूपमा विकास गर्ने उद्देश्य महानगरपालिकाले लिएको जनाएको छ।
यसैबीच पार्क क्षेत्रमा स्थायी प्रहरी बिट स्थापना गरिएको छ। प्रहरी बिट सञ्चालनमा आएपछि पार्कको सुरक्षा व्यवस्था थप सुदृढ भएको स्थानीयवासीले बताएका छन्। सार्वजनिक स्थलमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, नागरिकको सुरक्षामा सहजता तथा पार्कको संरक्षणमा प्रहरी बिट प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सरसफाइ तथा हरियाली संयोजक जयप्रकाश खेतानले वीरगञ्जलाई स्वच्छ, व्यवस्थित, हराभरा र प्रविधिमैत्री स्मार्ट सिटी बनाउने अभियानलाई निरन्तर अगाडि बढाइने बताएका छन्। उनले नगरको विकास केवल सरकारी प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै नागरिक, सामाजिक संस्था, व्यवसायी तथा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
“हरियाली र सरसफाइ केवल सौन्दर्यको विषय होइन, यो स्वस्थ जीवन र सभ्य शहरको पहिचान पनि हो,” खेतानले भने, “हामी सबैले आफ्नो शहरलाई माया गर्दै संरक्षण र विकासमा हातेमालो गर्नुपर्छ।”
स्थानीयवासीहरूले पनि विपी उद्यान पार्क निर्माणले वीरगञ्जको स्वरूप परिवर्तन हुँदै गएको प्रतिक्रिया दिएका छन्। पार्क निर्माण सम्पन्न भएपछि आन्तरिक पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा नागरिकको दैनिक जीवनशैलीमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
सप्तरी, २९ वैशाख :श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन् ।
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ घर भई हाल राजविराज नगरपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय मिँयालाई प्रहरीले सोमबार अपहरण, शरीर बन्धक र अपमानजनक व्यवहार आरोपमा पक्राउ गरेको हो ।
उनलाई मन्त्री यादवले हलुका सवारी चालक पदमा २०८२ चैत २७ गते नियुक्त गरेका थिए । नियुक्तिपत्रमा उनको नाम ‘मो. मुस्तकिम’ लेखिएको छ । प्रहरीको विज्ञप्तिमा भने उनको नाम ‘मुस्तकिम मिँया’ उल्लेख छ । तर ‘मो. मुस्तकिम’ र ‘मुस्तकिम मिँया’ एकै व्यक्ति रहेको स्रोतले बतायो ।
सप्तरी प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले मिँयामाथि सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।
मिँयाबाट पीडित भएको भन्दै एक व्यक्तिले प्रहरीमा दिएको किटानी जाहेरीमा एकान्त ठाउँमा बन्धक बनाई, डरत्रास देखाई, कुटपिट गरेको र शरीरको कपडा खोली नांगो बनाएर भिडियो खिचेको आरोप छ ।
उक्त भिडियो सामाजिक सन्जाल फेसबुकमा भाइरल भएपछि मुस्तकिम मिँयाको आलोचना सुरू भएको थियो भने राजनीतिक संरक्षणमा जोगाउन खोजिएको आरोप प्रहरी माथि लागेको थियो ।
खोजतलासको क्रममा राजविराज नगरपालिका वडा नम्बर ८ बाट मिँयालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।मिँयाले आफू जेनजी आन्दोलनको अगुवा भएको दावी गर्दै जिल्लामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका थिए ।
२८ बैशाख, काठमाडौँ । प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउने लक्ष्यका साथ सरकारले आजदेखि देशभर ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहेताले वीर अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच सरसफाइमा सहभागी भएर यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन गरेकी छिन् । सरकारले आजदेखि जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयहरूमा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ बमोजिम अब सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल दिने गरी सरसफाइका स्पष्ट मापदण्डहरू कार्यान्वयनमा ल्याइनेछ ।
सरकारी कार्यालयहरूमा नियमित सफाइ र फोहोर व्यवस्थापनको ठोस पद्धति नहुँदा सेवा प्रवाह तथा कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा सरकारले यो कदम चालेको हो । यस मार्गदर्शनले सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न अनिवार्य भौतिक सुधार र व्यवहारिक परिवर्तनमा जोड दिएको छ ।
नयाँ मापदण्डअनुसार अब सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिह्नहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ भने कार्यालयका चर्किएका वा उक्किएका भित्ताहरूको तत्काल मर्मत र रङ्गरोगन गरिनेछ ।
विशेषगरी सेवाग्राहीको बढी चाप हुने मुख्य क्षेत्र र प्रवेशद्वारलाई आकर्षक राखिने योजना छ। शौचालयहरूलाई दुर्गन्धरहित बनाउँदै नियमित पानी र साबुनको व्यवस्था सुनिश्चित गरिएको छ भने महिलामैत्री शौचालयमा ‘स्यानिटरी डिस्पोजल’ सुविधा अनिवार्य गर्दै दैनिक सफाइको अभिलेख राख्नुपर्ने नियम बनाइएको छ । फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याउन दुई प्रकारका डस्टबिनको प्रयोग गरिनेछ भने खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।
अभियानलाई दिगो बनाउन प्रत्येक सरकारी निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने व्यवस्था गरिएको छ । कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा राख्नुपर्ने तथा अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने गरी कार्यसम्पादन सूचकहरू निर्धारण गरिएको छ । सेवाग्राहीले सम्मानित महसुस गर्ने गरी ‘हेल्प डेस्क’ को व्यवस्था र सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ ।
यस अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई सुम्पिएको छ, जसले मासिक रूपमा स्व–मूल्याङ्कन गरी प्रगति विवरण पेस गर्नुपर्नेछ । यो अभियानले सङ्घीय र प्रादेशिक कार्यालयका साथै देशभरका स्थानीय तह र सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्ने सरकारले जनाएको छ ।
२८ बैशाख, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले अघि सारेको पछिल्लो प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गरिदिएका छन्। आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानी प्रतिनिधिहरूबाट प्राप्त जवाफ चित्तबुझ्दो नभएको र प्रस्तावित योजना अमेरिकाका लागि मान्य नहुने स्पष्ट पारेका हुन् ।
इरानले आइतबार मात्रै पाकिस्तानका मध्यस्थकर्तामार्फत वासिङ्टनलाई एक नयाँ शान्ति प्रस्ताव पठाएको थियो। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त प्रस्तावमा सबै मोर्चामा जारी युद्धको अन्त्य र तेहरानमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू फुकुवा गरिनुपर्ने सर्त राखिएको थियो। विशेष गरी, अमेरिकाले इरानी तेल निर्यातमा लगाएको प्रतिबन्ध ३० दिनका लागि हटाउनुपर्ने र इरानी बन्दरगाहहरूमा कायम नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने माग इरानको थियो।
‘वाल स्ट्रिट जर्नल’ का अनुसार वार्ता निष्कर्षमा पुग्न नसक्नुको मुख्य कारण इरानको आणविक कार्यक्रम नै हो। अमेरिकाले इरानको युरेनियम भण्डार र आणविक गतिविधिमा कडा नियन्त्रणको माग राख्दै आएको छ, जसमा इरान अझै सहमत हुन सकेको छैन। ट्रम्पले इरानी प्रस्तावलाई ‘अपूर्ण’ भन्नुको पछाडि यी प्राविधिक र सुरक्षासम्बन्धी विषयहरू नै प्रमुख रहेको विश्लेषण गरिएको छ।
यसैबिच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको सङ्घर्ष अझै तार्किक निष्कर्षमा नपुगेको बताएका छन्। अमेरिका र इजरायलको साझा उद्देश्य इरानको आणविक सपनालाई पूर्ण रूपमा ध्वस्त पार्नु रहेको उल्लेख गर्दै उनले युद्ध अन्त्यको घोषणा गर्न हतार नगर्ने सङ्केत दिएका छन्।
इरानले पाकिस्तानको मध्यस्थतामा कूटनीतिक निकास खोज्ने प्रयास गरे पनि ट्रम्पको पछिल्लो कठोर प्रतिक्रियाले मध्यपूर्वमा जारी तनाव तत्काल मत्थर हुने सम्भावना क्षीण देखिएको छ। अब अमेरिकाले इरानमाथि थप दबाब बढाउँछ वा नयाँ सर्तसहितको काउन्टर प्रस्ताव पठाउँछ भन्नेतर्फ विश्व समुदायको ध्यान केन्द्रित भएको छ।
२८ बैशाख, माडी (चितवन) । चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुर स्थित दक्षिण सोमेश्वर कालिका धार्मिक समितिको आयोजनामा आगामी जेठ २ गते शनिबार “११औं शनि जयन्ति उत्सव” भव्य रूपमा आयोजना हुने भएको छ।
समितिले प्रत्येक वर्ष यही दिनलाई विशेष धार्मिक उत्सवका रूपमा विविध कार्यक्रमसहित मनाउँदै आएको छ। शनि देवप्रतिको आस्था, धार्मिक परम्पराको संरक्षण तथा स्थानीय कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले निरन्तर आयोजना हुँदै आएको उक्त उत्सव यस वर्ष झन् विशेष र आकर्षक ढंगले सम्पन्न गरिने आयोजकले जनाएको छ।
उत्सवका अवसरमा धार्मिक पूजा–आराधना, भजन प्रतियोगिता, दुना टपरी बनाउने प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा विशेष दोहोरी प्रस्तुति आयोजना गरिनेछ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित दोहोरी च्याम्पियन प्रकाश पराजुलीको विशेष प्रस्तुति रहनेछ।
समितिका अध्यक्ष युवा पण्डित सुदर्शन सुबेदीका अनुसार भजन प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः रु. ७ हजार, रु. ५ हजार र रु. ३ हजार निर्धारण गरिएको छ। त्यसैगरी दुना टपरी बनाउने प्रतियोगितामा प्रथम हुनेलाई रु. १ हजार ५ सय, द्वितीयलाई रु. १ हजार तथा तृतीयलाई रु. ५ सय पुरस्कार प्रदान गरिनेछ।
अध्यक्ष सुबेदीका अनुसार कार्यक्रमको अवसरमा शनि धामको विकास, संरक्षण तथा धार्मिक गतिविधिमा निरन्तर सहयोग पुर्याउँदै आएका विभिन्न समूह, संस्था तथा व्यक्तिहरूलाई सम्मान समेत गरिनेछ। उहाँले धार्मिक चेतना विस्तारसँगै स्थानीय कला, संस्कृति र मौलिक परम्पराको संरक्षण गर्ने उद्देश्यले उत्सवलाई निरन्तरता दिइएको बताए ।
पछिल्लो समय उक्त क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित बन्दै गएको उनको भनाइ छ । समितिले सम्पूर्ण श्रद्धालु, भक्तजन तथा स्थानीयवासीलाई कार्यक्रममा सहभागी भई उत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन आग्रह गरेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
